४ श्रावण २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

आकाशमा उड्ने चरा पनि बास बस्ने धर्तीमै हो!

मुक्तक

१) मुक्तक

मपाईंत्वको महत्त्व कहाँ? स्वाभिमान खुल्दैन भने

समाजको अगाडि निर्धक्क मुस्कान खुल्दैन भने

तिमी आफूले शिखर चुमेर के गर्छौ महोदय,

जब, जननी र जन्मभूमिको पहिचान खुल्दैन भने।

२) मुक्तक

आफन्त बिचको सम्बन्ध चिसिन थालेको हो कि

आफ्नै भाइ देखेर भाइ खिचिन थालेको हो कि

धर्म र संस्कारलाई अन्धविश्वासको नाम दिई,

गाईको दूधमा पनि थोरै रगत मिसिन थालेको हो कि!

३) मुक्तक

थोरै भरोसा दिई राख्नु विवशताले हारेकोलाई

सहानुभूति देखाइदिनु आफ्नैले पर सारेकोलाई

बाध्यतामा परेर नै आत्मसम्मान गुमाएको होला,

अनगिन्ती लान्छनाहरू नि:शर्त स्वीकारेकोलाई।

४) मुक्तक

थोरै खुसी भए पुग्छ ठूलो रहर गर्दिनँ म

आकाशका तारा झार्छु भन्नेको भर गर्दिनँ म

खुसी मिले बाँडी दिउँला, दुख एक्लै झेली दिउँला,

ढुक्क बस्नु, विपत्तिमा तिमीलाई खबर गर्दिनँ म।

५) मुक्तक

प्रगति कसको भएको छ र धेरै क्रोध गरेर

हरेक कुरामा मनमुटाव र प्रतिशोध गरेर

आकाशमा उड्ने चरा पनि बास बस्ने धर्तीमै हो,

कोही तल झरेको छैन हजुर अनुरोध गरेर।

प्रकाशित: ३ श्रावण २०८३ ०७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App