मानिसलाई जन्मले महान् बनाउँदैन। उसको सार्थक कर्म र सिर्जनाले मात्रै जीवनको अर्थपूर्णता कायम गर्छ। साहित्यकार पनि त्यस्तै हुन्छन्। उनको जीवनभन्दा अमर बन्ने शक्ति भनेकै सिर्जना हो। यही सत्यलाई पुष्टि गर्ने नाम हुन् बी.बी. थापा। उनी गीतकार मात्र होइनन्, गजलकार मात्र पनि होइनन्, उनी एक साहित्यकार हुन्, जसको परिचय नै उनको कलम हो। उनको शब्द सिर्जनाको गीत र गजल हो।
थापाको साहित्यिक जीवन अनेक आयामले भरिपूर्ण छ। कतै गीत बनेर, कतै गजल बनेर त कतै कविता बनेर अनेक रूप र रङ्गमा उनी फुलेको देखिन्छ।सङ्गीतकारहरूले कालजयी उनका केही गीत संगीतमा ढालेका छन्। प्रायः सबै लोकप्रिय गायकगायिकाले स्वर दिएका छन्। यसरी उनका सिर्जनाले नेपाली सांगीतिक आकाशमा छुट्टै उज्यालो आयाम थपेको छ।
गीत लेखनको क्षेत्रमा मेरो लेखन यात्रा लामो छैन। मेरो उमेरभन्दा बढी वर्षहरू गीत लेखनमा बिताएका वरिष्ठ गीतकार बी.बी. थापासँगको सामिप्य उनका सिर्जनाहरूले गरेको म ठान्दछु। जुन बेला म गीत लेख्ने प्रयास गर्दै गर्दा "म तिम्रो शहर छोडी टाढाटाढा जादैछु", थाहै थिएन दिल, आगोबिना पनि जल्दो रहेछ", "किन आउँछ याद तिम्रो, सधैंसधैं साँझमा" जस्ता सदाबहार गीतहरू साक्षी राखेर मैले गीत लेख्न सिक्दै गएँ।
वि.सं. २०७६ सालमा उनले एकैसाथ २७ गीतिएल्बम सार्वजनिक गरेका छन्। ‘आसक्ति’ (गीतिसङ्ग्रह) र ‘दिल एक धड्कन अनेक’ (गजलसङ्ग्रह) उनका प्रकाशित कृति हुन्। यिनै कृतिहरूको परम्परामा आएको ‘गजल एक से एक’ भने उनको सिर्जनात्मक यात्राको नवनिर्मित शिखर हो।
यो गजलसंग्रहका गजलहरू धेरै पटक पढेँ। आफ्नै लेखनमा व्यस्त भएकाले केही लेख्न पाइरहेको थिइनँ। यो आलेख लेख्दै गर्दा केही समयदेखिको हुटहुटी आज बल्ल केही मत्थर भएको अनुभूति गरेको छु।
‘गजल एक से एक’ जीवन र समाजका विविध आयामको जीवन्त अभिलेख हो। प्रेम-विछोड, पीडा-सन्तोष, देश-परदेश, आशा-निराशा, आरोह-अवरोह जस्ता भावनात्मक तह यसले समेटेको छ।
“मेरो आँसु खसाएर, के सप्रिन्छ तेरो ऐ जिन्दगी,
थोरै मलाई हँसाएर, के बिग्रिन्छ तेरो ऐ जिन्दगी।”
यी हरफ गुनासो मात्र होइनन्, जीवनसँगको आत्मसंवाद हुन्, जसले पाठकलाई आफ्नै भोगाइ सम्झाइदिन्छ।
थापाका गजलहरूमा अपूर्ण प्रेमको पीडा र त्यसले जन्माउने आत्मसन्तोष दुवै भेटिन्छन्:
“आधा सही मैले तिम्रो साथ पाएँ, आधा सही तिमीसँग समय बिताएँ।”
यो पंक्तिमा अधुरो सहयात्राले पनि सन्तोषको उज्यालो दिन सक्ने गहिरो अनुभूति छ।त्यस्तै शब्द र स्वरको सम्बन्धलाई उनले यसरी दार्शनिक ढङ्गमा उनेका छन्:
“शब्द पानी हो अनि रङ्ग हो स्वर,
शब्द मूल हो अनि अङ्ग हो स्वर।”
शब्दमा जीवन र स्वरमा आत्मा भेट्ने उनको दृष्टि अद्वितीय छ।
थापाका गजलहरू व्यक्तिगत अनुभूतिमा मात्रै सीमित छैनन्। समाजको विडम्बना र जीवनको कठोर यथार्थ पनि प्रकट गर्छन्:
“ नबुझेरै प्रेमको मर्म, अवसान हुन्छन्,
नजानेरै हुन्छन् कति, जानाजान हुन्छन्।”
यी हरफहरूले त्रुटिपूर्ण निर्णय र विफल जीवनलाई सुन्दर कलात्मक आवरणमा उजागर गरेका छन्।
त्यस्तै,
“सुनकै भए पनि दरबार छोड्नुपर्छ,
सबैले एकदिन संसार छोड्नुपर्छ।”
यस पंक्तिले मृत्युको सत्य र कर्मको अमरत्वलाई स्मरण गराउँछ।
उनको गजलमा मतला, मकता, रदिफ, काफिया, बहर, सेर, तखल्लुस आदिको सुन्दर तालमेल पाइन्छ। उनका गजलहरू पढ्दा मात्र होइन, सुन्दा पनि लयात्मक मिठास अनुभव हुन्छ। यही छन्दीय शुद्धता र शिल्पीपन नै उनको गजलको विशेषता हो।
हरदम समयले उनकै याद लिएर आउँछ,
आँखाले सधैं आँसु सौगात लिएर आउँछ।
थाहा नहोस् भन्छु उनी फुलेको खबर कतै,
मौसमले उनकै सुवास साथ लिएर आउँछ।
भौतिक अनुपस्थितमा मनको गहिराइमा सम्झनाको तरङ्गहरूछल्किंदै पोखिएको यी हरफहरूले छुट्टै आनन्द दिन्छ। मेरो पछिल्लो कृति "औँसीको जून" उपन्यासको कथामा थापाको यो गजल सुटुक्क समावेश गरेको छु। जुन उपन्यास छिट्टै प्रकाशनमा आउँदै छ।
थापाका कतिपय गजलमा आध्यात्मिक चेत झल्किन्छ:
“एउटै बिन्ती बिसाएँ प्रभु, तिम्रै शरणमा आई,
दर्शन गरेँ भगवान तिम्रो, चरणमा शिर झुकाई।”
यी पंक्तिहरूले भौतिक संसारको आरोह–अवरोहपछि अन्ततः आध्यात्मिक शरण नै मानवको अन्तिम आस्था हुने विचार प्रतिविम्बित गर्छ। त्यस्तै उनको लेखनमा साहसी र स्वतन्त्रता पनि छन्। उनले आफ्ना भावना कुनै आडम्बर वा भयबिना अभिव्यक्त गर्छन्:
“राखेर खुलै दैलो नलाई आएँ,
प्रेमका सबै चिनो जलाई आएँ।”
यस्तो बेपरवाह अभिव्यक्ति नै उनको मौलिकताको सुन्दर पहिचान हो।
‘गजल एक से एक’ गजलसङ्ग्रह मात्रै होइन। यो जीवन दर्शन, समाजको प्रतिबिम्ब र प्रेमवियोगको दर्पण हो। यसमा शब्दको जादु, स्वरको माधुर्य र भावनाको गहिराइ एकैसाथ मिसिएका छन्।
बी.बी. थापाले यस कृतिबाट नेपाली गजल साहित्यलाई नयाँ उचाइमा पुर्याएका छन्। उनका गजलहरू सुगन्धित फूलझैँ छन्। जसले समाजमा सकारात्मक विचार र सौन्दर्य फैलाउँछन्।
त्यसैले, यो कृति नेपाली गजल परम्परामा एक महत्वपूर्ण मीयोको रूपमा अगाडि आएको छ।
एउटा साहित्य अनुरागीको हैसियतले म आदरणीय बी.बी.थापाको यस अनुपम योगदानप्रति हार्दिक बधाई र सफलताको शुभकामना अर्पण गर्दछु।
प्रकाशित: १४ आश्विन २०८२ ११:२६ मंगलबार





