१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

स्त्री चेतनाको प्रतिध्वनि

पुस्तक

नेपाली कविताको इतिहास बदलिँदो समय चेतनाको इतिहास हो। वैदिक मन्त्रहरूको ध्वन्यात्मक प्रवाह हुनु पहिल्यै यो भूगोलमा सम्भवतः प्रकृतिपूजक, आदिवासी र त्यसपछिका मानव समुदायको मौलिक जीवनचर्यात्मक गाथाहरूले गुन्जायमान थियो।

छन्द, अलङ्कार र रसको तुलनात्मक प्राधान्यप्राप्त परम्परागत कवितामा आज आधुनिक गद्य कवितासम्म आइपुग्दा यसले भाषागत स्वतन्त्रता, विम्बात्मक र बहुसन्दर्भ राजनीतिक आयामहरूसहित आएको छ। यही ऐतिहासिक प्रवाहबिच उभिएर डा. अस्मिता विष्टको कवितासंग्रह ‘ब्ल्याकहोलमा गीतहरू’ नेपाली कविताको समकालीन प्रचलित धारा समाएर प्रकाशित छ, जसले विष्टलाई स्वच्छन्दतावादी विम्बात्मक शैलीको कविका रूपमा चिनाएको छ।

‘ब्ल्याकहोल’ले मानवीय हृदयको अन्धकार, सामाजिक दमनको दाग र आत्म–संघर्षको गर्तलाई प्रतीकात्मक रूपमा देखाउँछ। ब्रह्माण्डको त्यो अन्धकारपूर्ण खाडल, जहाँ प्रकाशको विलय हुन्छ तर त्यो अकल्पनीय अन्धकार गर्तबाट पनि गीतहरूको प्रस्फुटन हुने काल्पनिकता छ। यो प्रतीकले कविताको केन्द्रीय सत्तालाई स्थापित गर्न सक्षम छ। यसले अत्यधिक अन्धकार, दमन, वियोग र सामाजिक शून्यताको गहिराइबाट प्रेम, विद्रोह र जीवनको ज्योतिको जन्म सम्भव देख्छ। यसले नेपाली कविताको परम्परागत लय समात्दै ‘तमसो मा ज्योर्तिगमय’ अर्थात् अन्धकारबाट उज्यालोको आन्दोलनमा विचार खर्चिन्छ, जुन समकालीन नारीवादी र प्रतिरोधी कवितासँग मेल खान्छ।

विषयवस्तुको दृष्टिले संग्रह विविध र सशक्त छ। मूलतः प्रणयचेतना यसको हृदय हो, तर साधारण ‘रोमान्टिक’ प्रेमको आधारस्तरबाट उक्लिएर लाक्षणिक, दार्शनिक र विद्रोही तहमा बहस निर्माण गर्न खोजेको छ। ‘नीरमायाहरू’, ‘नियतिको धारमा रेटिएका तिमी’, ‘कुरूप सभ्यता’, ‘हिंस्रक छाया’, ‘दुस्मन प्रेमीको खोजीमा’, ‘आधुनिक पिँजडा’जस्ता कविताले प्रेमको परम्परागत धरातलमा एउटा कम्पन प्रवाह गर्दै पुरुष–सत्ताको जन्जिर तोड्ने सुक्ष्म भाव पैदा गर्छन् तर त्यो विद्रोह तरल स्वरूपमा देखा परेको छ। पाठकले यसको ठोस स्वरुपको अपेक्षा गर्छ।

नारीवादी चेतना यस संग्रहको अर्को प्रमुख धारा हो, नारीलाई थोत्रो विम्बमा कैद गर्ने नेपाली समाजलाई चुनौती दिँदै पहिचान, उत्पीडन र मुक्तिको विद्रोहलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। यसले नेपाली कविताको समकालीन नारीवादी प्रवृत्तिको प्रतिरोधी स्वरलाई निरन्तरता दिएको देखिन्छ। ‘आमाहरू निरीह हुँदैनन्’जस्ता बलशाली काव्य रूप यो संग्रहले बोकेर ल्याएको छ। ‘मेटामोर्फोसिस’ त्यो कविताले जसले आफ्नो संसारको बागडोर आफ्नै मुट्ठीमा बोकेर हिँडेकी बादशाहको रूपान्तरित कथा बक्छ। ‘दोहोरो मृत्यु’, ‘हरेक युगमा जन्मिन सक्छ कुपात्र’, ‘बग्न देऊ’ शीर्षकका कवितामार्फत विष्टले परम्परागत पितृसत्तात्मक समाजले नारीमाथि थोपरेका सीमा तोड्न प्रतिरोधी स्वर ओकलेकी छन्।

कृतिमा स्त्रीको उपस्थिति अत्यन्त सशक्त र बहुआयामिक छ। कविताहरूले नारीलाई करुणाको प्रतिमूर्ति मात्रै नभएर एक सचेत र विद्रोही अस्तित्वका रूपमा प्रस्तुत गरेका छन्। विष्टले नारी देह र मनका सूक्ष्म अनुभूतिको मात्र चर्चा नगरी सामाजिक संरचनामा नारीको भूमिका र अधिकारबारे पनि बौद्धिक विमर्श गरेकी छन्। प्रश्न गर्ने, प्रतिरोध गर्ने र आफ्नो अस्तित्व पुनःनिर्माण गर्ने चेतनशील सत्ताको खोज गरेकी छन्। ‘आधुनिक समयको सुविधाहरू फेसबुक, ह्वाट्सअप र स्न्यापच्याटलाई पुँजीवादले खोलिदिएको सुरक्षित स्वर्ग’ बताउँदै ‘आफ्नै आमाको लाम्टोलाई रगताम्य पार्दा पनि सन्तुष्ट नभएका राक्षसहरू झम्टिरहन्छन् हरेक मासुका डल्लाहरूमा’ जस्ता अभिव्यक्तिले कविताहरू विद्रोह र आक्रोशले सगरमाथा टेकेका छन्। यसरी कविताहरू संवेगात्मक जति नै वैचारिक रूपमा पनि सशक्त छन् भन्ने पुष्टि गर्छ।

संक्षिप्त भूमिकामा निबन्धकार कुमारी लामाले कवितालाई ‘अस्तित्वबोधको तीक्ष्ण चेतना’को रूपमा उल्लेख गरेकी छिन्। स्त्री अस्तित्वबोध प्रबल स्वरूपमा देखा परे पनि यसले समग्र मानव अस्तित्व विनिर्माणमा चासो राख्छ। ‘तिम्रो अनुपस्थितिमा म अनन्त रात भएकी छु...’ भनिने हरफहरूले ‘प्रेम वर्षामा रुझिरहेका हामी’जस्ता कविताहरूको लयलाई सहयोग गर्छन्। कवितामा रक्त सम्बन्ध र त्यसका उहापोह पनि देखा पर्छन्। ‘बाके रहर’ कवितामा पुत्री प्रेमको विलौना र स्मृतिहरू प्रस्फुटन हुन्छ भने ‘बिदाइ आमा’ कविताले मातृत्व र तमाम सम्झनाहरूको लेखाजोखा गर्छन्। ‘समयको चौतारी’ कविता दिदी सहेलीप्रति समर्पित छ।

विष्टको काव्यभाषा र शैलीशिल्पले परम्परागत, सरल र सुस्पष्टसँगसँगै केही विखण्डित र बहुस्तरीय लय लिएर आएको छ। गद्यकविताको स्वतन्त्र प्रवाह जीवित छ। विम्ब र प्रतीकहरू प्रशस्त छन् तर चल्तीका सामग्री बढी देखिन्छन्। फूल, नदी, चरा, आकाश, बादल, आगोजस्ता चलनका विम्ब रूपले कवितालाई साधारण बनाउने जोखिम लिएको छ। कुनैकुनै वाक्य अधुरा, टुक्रिएका वा असम्बद्धजस्ता देखिन सक्छन्।

आजको कविका लागि स्वशैलीको निर्माण, एक प्रकारको नवीन विम्बविधान सिर्जना गर्नुपर्ने बाध्यात्मक दायित्व छ। यसैलाई सङ्केत गरेर कवि विप्लव प्रतीकले भूमिकामा ‘कविहरूले चयन गर्ने विषय उस्तै देखिन सक्छ, सबै कुरा भनिसकिएकोजस्ता लाग्न सक्छन्’ भनेर लेखेका छन्  तर भाषामा प्रखरता र शब्द छनोटमा निखारता हुनु यो कृतिको अर्को मुख्य विशेषता हो। कविता शब्दहरूको थुप्रो नभएर एउटा कलात्मक संरचना हो भन्ने सन्दर्भमा प्रशस्त काम भएको देखिन्छ।

पाठकहरू कवितामा पसेर आफ्नै अनुभवसँग जुध्न बाध्य हुन्छन्। उज्यालोको वास्तविक अर्थ बुझ्न अँध्यारोमा हराउनु आवश्यक हुन्छ भनेजस्तो यी कविताले मानव अतीतका प्रशस्त घुम्तीहरूमा लैजान्छन्। विचारले मात्रै थिचिएका हरफबाट निस्किने चेष्टा गरेका यी कविता मानवीय संवेदनालाई स्पर्श गर्न लालयित छन्। 

प्रकाशित: १४ चैत्र २०८२ ०८:१६ शनिबार