१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

नपुछ मेराे आँसु, छातीभित्र मूल फुटेको मान्छे हुँ!

गजल

१) गजल

सागर बनी आँसु बग्यो, भेटिएन किनारा देखिएन,

जलिरह्यो बस्ती सारा, कतै उज्यालो तारा देखिएन।

मान्छेले मान्छेको रगत ... समय आयो कस्तो,

मायाको कुनै फूल फुल्ने सुन्दर चौतारा देखिएन।

नदीको नीलो पानीमा रगतको रङ घोलिएपछि,

देशको छाती चिर्दा पनि न्यायको पहरा देखिएन।

अपराधीको महलमा आज उत्सवको रौनक छ,

निर्दोषको आँखाभित्र आशाको सहारा देखिएन।

शान्ति हरायो बस्तीबाट, त्रासले डेरा जमाएपछि,

हजारौँ मुहार खोज्दा पनि हाँसोको धारा देखिएन।

२) गजल

नखोज मेरो अस्तित्व, आफैँभित्र हराएको मान्छे हुँ,

सान्त्वना नदेऊ मलाई, पीडाभित्र कराएको मान्छे हुँ।

हाँसोको बस्ती लुटियो, खुसी कतै हराएपछि,

नपुछ मेराे आँसु, छातीभित्र मूल फुटेको मान्छे हुँ।

मिठा वचनले छलेर जब आफ्नैले पराई बनाए,

नअँगाल मलाई अब, विश्वासघातले जलेको मान्छे हुँ।

नजोड टुक्रिएका सपना, जोडिन सम्भव छैन अब,

आफ्नै अस्तित्वको भग्नावशेषमा बाँचेको मान्छे हुँ।

प्रकाशित: १५ कार्तिक २०८३ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App