इतिहास कुनै समाजको विगतको अभिलेख मात्र होइन, वर्तमानको आधार र भविष्यको मार्गदर्शक पनि हो। आफ्नो इतिहास, संस्कृति र पहिचान जोगाउन नसक्ने समाजले समयसँगै आफ्नो मौलिक अस्तित्व पनि गुमाउँदै गएको आजको तीतो यथार्थ हाे।
आज तीव्र शहरीकरण, आधुनिकीकरण र विश्वव्यापीकरणको प्रभावले स्थानीय सम्पदा, भाषा, संस्कृति, परम्परा र जनस्मृतिहरू क्रमशः ओझेलमा पर्दै छन्। यस्तो अवस्थामा स्थानीय इतिहासको खोज, तथ्यगत अभिलेखीकरण र नयाँ पुस्तामा त्यसको हस्तान्तरण गर्नु आजको आवश्यकता हाे। याे हाम्रो सांस्कृतिक दायित्व र ऐतिहासिक जिम्मेवारी पनि हो।
यही जिम्मेवारी आत्मसात् गर्दै सञ्चाकर्मी तथा इतिहास, संस्कृति क्षेत्रमा रुचि राखी खाेज कार्यमा लागिरहेका हरिसुन्दर छुकांले तयार गरेको ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ कृति स्थानीय इतिहास लेखनको क्षेत्रमा उल्लेखनीय उपलब्धिका रूपमा आएको छ।
यो पुस्तक एउटा गाउँ/ वडाको परिचय मात्र होइन, ताथलीको सभ्यता, सामाजिक विकास, धार्मिक आस्था, सांस्कृतिक जीवन, पुरातात्त्विक सम्पदा, लोकविश्वास र लाेकस्मृति समेट्ने दस्तावेज हो।
कुनै समाजको इतिहास राजाहरूको शासन, युद्ध वा दरबारका घटनामा सीमित हुँदैन। इतिहास खेतबारीमा पसिना बगाउने किसानमा पनि हुन्छ, गुठी सञ्चालन गर्ने समुदायमा पनि हुन्छ, मन्दिरका घण्टामा पनि हुन्छ, चट्टानमा कुँदिएका अक्षरमा पनि हुन्छ, जात्रा, पर्व, लोकगीत, किंवदन्ती, आहान र जनश्रुतिमा पनि उत्तिकै जीवित हुन्छ।
नेपालमा स्थानीय इतिहास लेखनको परम्परा अझै कमजोर छ। राष्ट्रिय इतिहासका ठूला अध्यायहरू लेखिए पनि गाउँगाउँका इतिहास, स्थानीय सभ्यता र सांस्कृतिक विकासक्रम भने अझै पर्याप्त रूपमा दस्तावेजीकरण हुन सकेका छैनन्।
भक्तपुर इतिहास, कला र संस्कृतिको राजधानीका रूपमा परिचित छ तर विडम्बना भक्तपुरको इतिहासबारे गरिएका अधिकांश अध्ययन भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, सूर्यविनायक र मध्यपुर थिमिका केही सीमित क्षेत्रमै केन्द्रित देखिन्छन्।
जिल्लाका ताथली, सुडाल, छालिङ, तेलकोट, नगरकोट, झौखेल, गुन्डु, दुवाकोट, बागेश्वरी, खरिपाटी लगायतका ऐतिहासिक बस्तीका अनेकौँ सम्पदा अझै अनुसन्धानको प्रतीक्षामा छन्। यस अर्थमा ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ ले स्थानीय इतिहास लेखनको दायरा विस्तार गरेको छ। यसले इतिहास दरबारभित्र मात्र होइन, गाउँबस्तीको जनजीवनमा पनि जीवित हुन्छ भन्ने सन्देश दिएको छ।
ताथली, चाँगुनारायण नगरपालिका वडा नं . ९ काे एउटा प्रशासनिक वडा होइन; यो लिच्छवि र मल्लकालीन सभ्यताको पदचाप बोकेको ऐतिहासिक बस्ती हो भन्ने पुस्तकबाट थाह पाइन्छ। यहाँका मठमन्दिर, देवस्थल, गुठी, चट्टान अभिलेख, पोखरी, जात्रा, कृषि परम्परा, नेवारी संस्कृति र सामाजिक संरचनाले यसको ऐतिहासिक गरिमा प्रमाणित गर्छन्।
विभिन्न सन्दर्भ स्राेतकाे भरपुर उपयोग गरी तयार गरिएको याे पुस्तकले ताथलीको भूगोलबाट यात्रा सुरु गर्दै इतिहास, धर्म, संस्कृति, लोकविश्वास, सामाजिक संरचना, परम्परागत जीवनशैली र वर्तमान अवस्थासम्म क्रमबद्ध रूपमा पाठकलाई डोर्याएकाे छ।
झण्डै २०० पृष्ठको यस पुस्तकलाई तीन मुख्य खण्डमा विभाजन गरी ६२ लेख समेटिएका छन्। भूगोल, धार्मिक सम्पदा, पुरातात्त्विक महत्त्व, ऐतिहासिक अभिलेख, जात्रा, गुठी व्यवस्था, कृषि, लोकसंस्कृति, लोकविश्वास, परम्परा, सामाजिक परिवर्तन लगायतका विषय व्यवस्थित ढङ्गले प्रस्तुत गरिएको छ। यस पुस्तकलाई एउटै विषयमा सीमित राखिएको छैन; बरु ताथलीको समग्र परिचय दिने कोसिस गरिएको छ। यही कारण यो पुस्तक सन्दर्भ सामग्रीका रूपमा पनि उपयोगी बनेको छ।
यस कृतिको सबैभन्दा उल्लेखनीय पक्ष लेखकको अनुसन्धानशीलता हो। खाेजकर्ता छुकांले उक्त भेगमा प्राप्त गरेका शिलालेख, चट्टान अभिलेख, ऐतिहासिक दस्तावेज, प्रकाशित सामग्री, स्थानीय अभिलेख, जनश्रुति र मौखिक इतिहासलाई सकेसम्म खोजी, तुलना र समेट्ने इमानदार प्रयास गरेका छन्।
स्थानीय इतिहास लेखनमा स्रोत जुटाउनु नै सबैभन्दा कठिन काम हो। कतिपय सामग्री नष्ट भइसकेका हुन्छन्, कतिपय निजी सङ्ग्रहमा हुन्छन् र कतिपय मौखिक रूपमा मात्र जीवित हुन्छन्। यस्तो अवस्थामा उपलब्ध स्रोतलाई संयोजन गरी पुस्तक तयार गर्नु आफैँमा प्रशंसनीय अनुसन्धान कार्य हो।
पुस्तकको विशेष आकर्षण ताथलीका चट्टान अभिलेख हुन्। हाल पहिचान भएका अभिलेखहरूसहित भूपतीन्द्र मल्ल, प्रताप मल्ल, जगतज्योति मल्ल र जितामित्र मल्लसँग सम्बन्धित अभिलेखको चर्चा पुस्तकमा गरिएको छ।
यी अभिलेख पुरातात्त्विक सामग्री मात्र पक्कै होइनन्; तिनीहरूले तत्कालीन राजनीतिक, धार्मिक र सामाजिक अवस्थाको जानकारी दिन्छन्। यस्ता अभिलेखको संरक्षण आजको आवश्यकता हो।
यस पुस्तकको अर्को बलियो पक्ष भनेको इतिहाससँग जोडिएका किंवदन्ती, आहान, जनश्रुति, मिथक, स्थाननाम, लोकविश्वास र मौखिक परम्परा सिलसिलेवार रूपमा उनेर प्रस्तुत गर्नु हो।
लेखकले ती सामग्रीलाई अन्धविश्वासका रूपमा प्रस्तुत गरेका छैनन्; बरु इतिहास खोज्ने एउटा सांस्कृतिक स्रोतका रूपमा लिएका छन्। धेरै लिखित इतिहास हराइसकेका समाजमा मौखिक इतिहासले नै हराएका कडी जोड्ने काम गर्छ। यही कारण पुस्तक तथ्य र लोकस्मृतिबीच सन्तुलित देखिन्छ। पुस्तकको भाषा यसको अर्को विशेषता हो। भाषा न त अत्यधिक प्राज्ञिक र दुर्बोध छ, न त पूर्ण रूपमा पत्रकारितामुखी।
पत्रकारिता क्षेत्रमा लागिरहेका लेखकले अनुसन्धानका तथ्यलाई सरल, प्रवाहपूर्ण र पाठकमैत्री शैलीमा प्रस्तुत गरेका छन्। यसले पुस्तकलाई विद्यार्थीदेखि अनुसन्धानकर्ता र सर्वसाधारणसम्म सबैका लागि उपयोगी बनाएको छ। केही पृष्ठकाे रङ्गीन तस्बिरहरूको प्रयोगले पुस्तकलाई थप जीवन्त बनाएको छ। मन्दिर, अभिलेख, सम्पदा, सांस्कृतिक गतिविधि र अन्य दृश्य सामग्रीले पाठकलाई ताथलीसँग प्रत्यक्ष साक्षात्कार गराउँछन्।
पुस्तक पढ्दै जाँदा एउटा प्रश्न उठ्छ, यस्ता सम्पदाको व्यवस्थित खोज र संरक्षण गर्ने जिम्मेवारी कसको हो? यो जिम्मेवारी मुख्यतः पुरातत्त्व विभाग, स्थानीय सरकार, विश्वविद्यालय र इतिहास अनुसन्धान संस्थाहरूको हो। ताथली जस्ता ऐतिहासिक बस्तीमा रहेका अभिलेख, चट्टान, पुरातात्त्विक स्थल, देवस्थल र सांस्कृतिक सम्पदाको वैज्ञानिक अध्ययन, डिजिटल अभिलेखीकरण, संरक्षण र प्रकाशनमा राज्यको सक्रियता अपरिहार्य छ। यस पुस्तकको अर्को उज्यालो पक्ष यसको प्रकाशन प्रक्रिया हो।
चाँगुनारायण नगरपालिका–९ ले यस कृतिको प्रकाशन गरेर स्थानीय सरकार सडक, भवन र पूर्वाधार निर्माण गर्ने निकाय मात्र होइन, इतिहास, संस्कृति र पहिचान संरक्षणको पनि अभिभावक हो भन्ने सन्देश दिएको छ।
यदि प्रत्येक वडा र स्थानीय तहले आफ्ना ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाको यस्तै दस्तावेज तयार गर्ने हो भने नेपालका सयौँ ओझेलमा रहेका इतिहास सुरक्षित हुनेछन्।
आजका बालबालिका र युवा पुस्ताले फरक तरिकाले वा सूचना प्रविधिमार्फत, एआईमार्फत विश्वको इतिहास पढिरहेका छन् तर आफ्नै गाउँको इतिहास धेरैलाई थाहा छैन। यस्तो अवस्थामा यस्ता पुस्तक विद्यालय, पुस्तकालय र स्थानीय पाठ्यसामग्रीका रूपमा उपयोग गर्न सके इतिहास पुस्तान्तरणको अभियानले सार्थकता पाउनेछ। आफ्नो गाउँ चिन्ने पुस्ताले मात्र आफ्नो संस्कृति जोगाउन सक्छ।
पुस्तकले ताथलीको भूगोल, इतिहास, धर्म, संस्कृति, मूर्त तथा अमूर्त सम्पदालाई समग्र रूपमा प्रस्तुत गरेको छ। विशेषगरी भैलः प्याखं (भैल नाच) को प्रारम्भ, नवदुर्गा नाच सिकाइने ऐतिहासिक स्थल, ऐतिहासिक नगर भक्तपुर र ताथलीबीचको सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध, चट्टान अभिलेख, प्राचीन गढी, मठमन्दिर, गुठी परम्परा, जात्रा–पर्व, लोकविश्वास, जनश्रुति तथा ताथलीको सामाजिक विकासक्रम जस्ता विषयलाई प्रमाण, सन्दर्भ र स्थानीय स्मृतिका आधारमा समेटिएको छ।
‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ स्थानीय परिचयात्मक पुस्तकका साथै ताथलीको ऐतिहासिक चेतना, सांस्कृतिक पक्ष र सामाजिक विकासक्रमलाई एउटै कृतिमा समेट्ने प्रयास हो।
लेखक हरिसुन्दर छुकांको अनुसन्धानशीलता, तथ्य सङ्कलनको मेहनत र स्थानीय इतिहासप्रतिको पहिलो पाइला भएकाले पक्कै पनि केही सुधार देखिएको छ।
किंवदन्ती र अभिलेखलाई ऐतिहासिक तथ्यसँग उन्ने इमानदार प्रयासका बाबजुद पनि लेखक छुकां कहीँकतै हतारिएकाे देखिएका छन् तैपनि इतिहास र अभिलेखलाई अभिलेखिकरण गर्ने उनको प्रतिबद्धता भने पुस्तककाे प्रत्येक पृष्ठमा अनुभव गर्न सकिन्छ।
यस पुस्तकले उक्त क्षेत्रकाे थप अध्ययन र अनुसन्धानका लागि नयाँ ढोका खोल्छ। याे पुस्तककाे शक्ति हो। साँच्चै भन्ने हो भने, ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ ताथलीका लागि गौरव, भक्तपुरका लागि सन्दर्भ र नेपालको स्थानीय इतिहास लेखनका लागि प्रेरणादायी दस्तावेज बनेको छ।
समग्र रूपमा 'ताथली' स्थानीय इतिहास लेखनको दृष्टिले महत्त्वपूर्ण र प्रशंसनीय कृति हो। तथापि आगामी संस्करण अझ समृद्ध बनाउन निम्न पक्षमा ध्यान दिन सकिन्छ, प्रत्येक ऐतिहासिक तथ्य, अभिलेख र जनश्रुतिका स्रोतलाई फुटनोट वा सन्दर्भ सूचीमार्फत अझ स्पष्ट रूपमा उल्लेख गरिएको भए अनुसन्धानात्मक विश्वसनीयता थप बलियो हुने थियो।
ताथलीको भौगोलिक नक्सा, सम्पदा नक्सा तथा विभिन्न ऐतिहासिक घटनाहरूको कालक्रम समावेश गरिएको भए पाठकलाई विषय बुझ्न अझ सहज हुने थियो। पुस्तकको भाषा सरल र सहज भए पनि केही स्थानमा शब्द चयन, वाक्य संरचना तथा सम्पादनलाई अझ परिष्कृत गर्न सकिन्छ।
आगामी संस्करणमा थप अनुसन्धान, नयाँ अभिलेख र विस्तृत सन्दर्भहरू समेटिँदै गए यो कृति ताथली मात्र होइन, समग्र भक्तपुरको स्थानीय इतिहास अध्ययनका लागि अझ महत्त्वपूर्ण सन्दर्भग्रन्थका रूपमा स्थापित हुने सम्भावना प्रबल छ।
पुस्तक : ताथली : भूगाेलदेखि लाेकसंस्कृतिसम्म
लेखक : हरिसुन्दर छुकां
प्रकाशक : चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथली
संस्करण : प्रथम, २०८३
प्रकाशित: ११ श्रावण २०८३ १३:३३ सोमबार





