झिल्काकार सुरेशकुमार पाण्डेको झिल्का कवितासङ्ग्रह 'आँगन' को समीक्षा कार्यक्रम भएको छ। राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रममा कृतिका सम्पादक समेत रहेका साहित्यकार एवम् झिल्का साहित्य समाज नेपालका अध्यक्ष वसन्त अनुभवले उक्त झिल्का काव्यकृतिको समीक्षा गरेका थिए।
समीक्षाको क्रममा समीक्षक वसन्त अनुभवले आँगन एउटा पुस्तक मात्र नभएर सामाजिक, राजनैतिक, सांस्कृतिक चेतना ल्याउने महत्त्वपूर्ण दस्तावेज भएकाे बताए।
आँगनले देशमा विद्यमान सामाजिक, राजनीतिक एवम् सांस्कृतिक कुरुपता मात्र नदर्शाई सुधारका लागि आह्वान पनि गरेको उनले बताए।
कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाले शुभकामना मन्तव्य दिँदै झिल्काकार पाण्डे बहुमुखी प्रतिभाको धनी भएको उल्लेख गरे। पाण्डेका हरेक सिर्जना अत्यन्त गहन र मर्मस्पर्शी हुने गरेको बताए। पाण्डेको अन्य कृतिहरूमा झैँ यस कृतिमा पनि वर्ग संघर्ष, विद्रोह र सामाजिक, राजनैतिक द्वन्द्व, चेतनाका कुरा रहेको उल्लेख गरे।
एउटा हिन्दी भाषाको सहित ३ लघुकथासङ्ग्रह, २ गजलसङ्ग्रह र एउटा झिल्का कवितासङ्ग्रह प्रकाशन गराइसकेका पाण्डेका संयुक्त सङ्ग्रह थुप्रै प्रकाशित छन्। 'आँगन' उनको छैटौँ एकल कृति हो।
कार्यक्रममा विशिष्ट अतिथि पुरुषोत्तम खनालले शुभकामना मन्तव्य राख्नुका साथै कृतिकार सुरेशकुमार पाण्डेले कृतिबारे बाेलेका थिए। साथै परिवारका तर्फबाट धन्यवाद मन्तव्य साहित्यकार हरिप्रसाद पाण्डेले दिएका थिए।
परिषद्का अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा सचिव घनश्याम केसीकाे सञ्चालनमा भएकाे कार्यक्रममा पदमप्रसाद शर्मा, डा. टिकाराम उदासी, दीपक शर्मा समीर, सविन प्रियासन, नरेशजङ्ग राणा लगायतका साहित्यकारहरू एवम् सर्जकका पारिवारिक सदस्यहरूको उपस्थिति थियाे।
प्रकाशित: ३१ श्रावण २०८३ ०७:४१ आइतबार





