३१ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

ढाका टोपी

लघुकथा

मेरो जन्म पाल्पाको मखन टोलमा भएको हो। नाम अमन खान हो। हाम्रो पुस्तालाई नेपालका भाषाविदरूले "चुरैटे" भन्ने नाम दिए। व्यापारको सिलसिलामा यो सम्प्रदाय नेपाल आइपुगेर यही नै स्थायी बसोबास गरेका रहेछन्। डोरीमा  काँचका चुरा न फुट्ने गरेर बाँधेर काँधमा झुण्ड्याएर अरू पनि स्वास्नीमान्छेका प्रशोधनका साधन सानो फलामको ट्याङ्कामा बोकेर घरघरै बेच्दै हिँड्ने यिनको पेसा थियो। व्यापार गर्दै जाँदा रसद पानी, बास पाइने ठाउँमा पुगेर यिनीहरू स्थायी समूहको रूपमा बसोबास गर्थे।

अमन खानले आफ्नो परिचय खुलाउँदै " जातले म मुसलमान हुँ। मेरा बाल्यकालका साथीहरू कृष्ण,राम, हरि र सुदर्शन हुन्। सानो बेलामा हजुरबाबा मलाई "हामी मुसलमान हौं। तिमी कसैको घरमा गएर पनि केही नखानु। हाम्रो धर्मले त्यसो भनेको छ" भन्नुहुन्थ्यो।

हजुरबाको कुरा सुन्दा त्यसो किन भनेको होला भनेर मलाई अचम्म लाग्थ्यो। उहाँ साथीहरूको घरमा पुजा भएको बेला नजानु। प्रसाद नखानु। दसैंको बेला उनीहरूको घरमा मासु नखानु" आदि गर्नुहुन्थ्याे।

तर मलाई हजुरबाको कुराले कत्ति पनि छुँदैन थियो। साथीहरूको घरमा सत्यनारायणको पुजा भएको बेला निधारमा रातो टीका प्रसाद लाएर सेल, पुरी र अपुङ्गो खाँदै म अग्रीम पंक्त्तिमा बसेर भजन गाउँथे।

पञ्चामृत खाएर हात टाउकोमा दल्थें। अनि मनमनै "मेरी आमालाई केही दुख नहोस् " भनेर भगवानसँग पुकारा गर्थें। साथीहरूको घरमा सबैले मलाई माया गर्थें। मेरो घरमा "इदको" बेला साथीहरूलाई हजुरआमाले पकाएको हलाहल गरेको मासुको कवाफ र सेवहीको खीर खान लान्थे। मीठी मानेर खान्थे।

मेरीआमाको नाम सलमा वानु र अब्बावाको नाम हुसेन हो। मेरो अब्बाले टेलरिङ्को काम गर्नु हुन्थ्याे रे। महिलाको ब्लाउज धेरै राम्रो सिउनुहुन्थ्यो रे। एकदिन एउटी लक्ष्मी श्रेष्ठ नाम गरेकी  केटी ब्लाउज सिउन आइछन्। आउजाउ गर्दा गर्दै ती दुईको मन मिलेर गहिरो प्रेममा बाँधिएछन् तर त्यो रिस्ता कट्टर मुसलमानलाई मन परेन अनि त्यो जोडीसँगै आत्महत्या गरेर मर्न लागेको सलमाको फुपाले थाह पाएर उनीहरूको विरादरी पुरेतसँग लक्ष्मी श्रेष्ठलाई सलमा बानु भन्ने नाम दिएर मुसलमान बनाएर उनीहरूको निकाह गरिदिए।

बाल्यकालदेखि यस्ता घटनाहरू आफ्नो समुदायमा देख्दै र भोग्दै आएको अमन खान त्यसमा परिवर्तम ल्याउन चाहन्थ्यो। मैले अमन खानलाई स्वस्थानी पूर्णिमाको दिन साली नदीमा भेटेको हुँ। त्यसबेला उसकाे निधार र प्रसादको टिकाले राताम्मे थियो भने शिरमा छड्के ढाका टोपी।

प्रकाशित: ३१ श्रावण २०८३ ११:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App