संस्कृति, सम्पदा र इतिहास समेटिएको नयाँ पुस्तक पाठकमाझ आएको छ। कर्णाली प्रदेशको कालिकोटस्थित पचालझरना गाउँपालिका-५ स्थित बाँझकोटमा रहेको देहेडू र यससँग जोडिएको परम्परा, संस्कृति तथा लोकविश्वास समेटेर ‘देहेडू: अलौकिक ऊर्जा’ नामक पुस्तक तयार भएको छ।
गोपीकृष्ण ढुंगाना र डीबी नेपाली ‘दमु’ यस पुस्तकका लेखक हुन्। फलामको लौरो हजारौं दर्शकले हेर्दाहेर्दै पिटिक्क पार्ने अलौकिक शक्ति यस कृतिको मुख्य विषय हो। पुस्तक इम्प्रिन्ट पब्लिशर्सबाट प्रकाशित भएको हो। पुस्तकमा देहेडू जात्रा, कुमाल समुदायको जीवनशैली, वंशावली, सामाजिक जीवन, धार्मिक विश्वास, संस्कार तथा स्थानीय लोककथालाई विभिन्न प्रसङ्ग र स्थलगत अध्ययनका आधारमा प्रस्तुत गरिएको छ। देहेडूलाई प्रकृति, कुलदेवता, आस्था र मानव जीवनको सम्बन्धका रूपमा पुस्तकले व्याख्या गरेको छ।
पुस्तकको मुख्य आकर्षणका रूपमा देहेडू जात्रामा धामीले फलामे लठ्ठी हातले भाँच्ने परम्पराको वर्णन गरिएको छ। पुस्तकमा यस घटनालाई स्थानीय समुदायको आस्था, साधना र पुर्खाको आशीर्वादसँग जोडेर प्रस्तुत गरिएको छ।
लेखकहरूले यस परम्पराले आधुनिक विज्ञानसमेतका लागि जिज्ञासा सिर्जना गर्ने दाबी गरेका छन्। देहेडू जात्रालाई नेपालमा मात्र नभई विश्वकै लागि विशेष र दुर्लभ सांस्कृतिक परम्परा बनाउन सकिने सम्भावनासमेत पुस्तकमा औंल्याइएको छ। यसको संरक्षण र प्रचारप्रसारबाट कर्णालीको मौलिक संस्कृति तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
लेखकद्धय ढुंगाना र नेपालीले लामो अनुसन्धान, स्थलगत अध्ययन, भेटघाट र संकलनबाट पुस्तक तयार गरेको बताएका छन्। पुस्तकमा देहेडूले विश्व रेकर्ड राख्ने साथै यही संस्कृति, सम्पदा र इतिहासले नेपाललाई विश्वमा चिनाउने पर्याप्त आधार पनि दिएको छ। पुस्तकले देहेडू परम्परालाई दस्तावेजीकरण गर्दै भावी पुस्तालाई स्थानीय इतिहास, संस्कृति र लोकजीवन बुझ्न महत्त्वपूर्ण सामग्री उपलब्ध गराउने अपेक्षा गरिएको छ।
प्रकाशित: २९ भाद्र २०८३ १३:४१ सोमबार

