एफएम रेडियोमा बाबाको अन्तर्वार्ता थियो। घरबाट निस्कने बेला उहाँले गर्विलो स्वरमा भन्नुभएको थियो, ‘आज मेरो अन्तर्वार्ता छ, घरका सबैले सुन्न नबिर्सनु नि!’
हजुरबा, हजुरआमा, आमा र हामी तीनैजना दिदीबहिनी ठीक समयमा रेडियो अगाडि जम्मा भयौं। आमा बडो उत्सुकताका साथ ट्युनिङ गर्दै स्टेसन मिलाउँदै हुनुहुन्थ्यो।
अन्ततः रेडियोबाट परिचित दुरुस्त आवाज गुञ्जियो, ‘यो रेडियो आवाज हो। ११० थोप्लो शून्य मेगाहर्जबाट म छिरिङ भलाकुसारी कार्यक्रमका साथ उपस्थित छु। आज हाम्रा अतिथि हुनुहुन्छ – नेपाली समाज र संस्कृतिबारे कलम चलाउने प्रखर बौद्धिक व्यक्तित्व सौरभ!’
बाबाको नाम सुन्नासाथ हजुरबा-हजुरआमा र आमाको अनुहारमा गर्वको चमक फैलियो। म खुसीले चिच्याउनै लागेकी थिएँ, आमाले ओठमा चोर औँला राखेर चुप बस्ने सङ्केत गर्नुभयो। हामी सबै सासमा सास रोकेर रेडियोको आवाजमा डुब्यौं।
सामान्य सञ्चोविसञ्चोको औपचारिकता र एउटा छोटो विज्ञापनको विश्रामपछि कार्यक्रम मूल विषयमा प्रवेश गर्यो।
सञ्चालकले सोधे, ‘सौरभजी, तपाईंका लेखहरूमा प्रगतिशील र आधुनिक समाजको वकालत प्रष्ट देखिन्छ। अलिकति तपाईंको पारिवारिक पृष्ठभूमिबारे जान्न पाइन्छ कि? घरमा कोको हुनुहुन्छ?’
बाबाले उत्तिकै गम्भीर र सुसंस्कृत स्वरमा जवाफ दिनुभयो, ‘मेरो परिवारमा आमा, बुबा, श्रीमती र दुईटी छोरी छन्।’
‘दुईटी छोरी!’
रेडियोको आवाज कानमा ठोकिनासाथ भान्साकोठा जस्तै शान्त भएको बैठक कोठामा भूकम्प गयो। आमाले झसङ्ग हुँदै जिब्रो टोक्नुभयो। हजुरआमाले तल्लो ओठ लेभ्य्राउँदै भन्नुभयो, ‘के भन्या यसले? एउटी छोरीलाई कहाँ फेरिदिएछ यसले?’
आफ्नो चश्मा नाकको डाँडीमा सार्दै लामो सुस्केरा हाल्नुभयो, ‘खुब ठुलो प्रगतिशील र विद्वान् पल्टिन्थ्यो, समाजको डरले एउटी छोरी त रेडियोमै निलिदिएछ!’
क्षणभरमै बैठक कोठाको त्यो उमङ्ग सन्नाटामा बदलियो। बाबाको बाँकी अन्तर्वार्ता सुन्ने धैर्य कसैमा रहेन। आमा खिन्न अनुहार लिएर भान्सातिर लाग्नुभयो, हजुरबा र हजुरआमा मन अमिलो पार्दै तुलसीको मोठतिर निस्कनुभयो।
हामी तीन दिदीबहिनी भने कुनामा बसेर एक अर्काको अनुहार हेरिरह्यौं। हाम्रो मनमा एउटै प्रश्न घुमिरह्यो, बाबाको त्यो ‘सभ्य र प्रतिष्ठित’ संसारबाट आखिर हामीमध्ये कसलाई मेटाइएको थियो? हामी अलमलिएनौं, बरु एउटा अनौठो सङ्कल्प गर्यौं।
बाबा रेडियोमा अन्तर्वार्ता दिएर, एउटा ठुलो युद्ध जितेको सिपाहीझैं छाती फुलाउँदै गेटभित्र पस्नुभयो। उहाँको अनुहारमा अझै 'सेलिब्रेटी' भएको चमक बाँकी नै थियो।
हामी तीनैजना दिदीबहिनीले उहाँलाई मूल ढोकामै रोकेर बडो शिष्टताका साथ स्वागत गर्यौं। ठुली दिदीले मुस्कुराउँदै बाबाको हातमा एउटा काँचको कचौरा थमाइदिइन्। त्यसमा तीनवटा चिट थिए।
बाबाले अचम्म मान्दै सोध्नुभयो, ‘के हो यो?’
मैले बडो विनम्रताका साथ भनेँ, ‘बाबा, रेडियोमा तपाईले दुईटी छोरी मात्र भन्नुभयो। हामी तीन जना छौँ। यो कचौरामा हामी तीनैजनाको नाम छ। तपाई आफैँ एउटा चिट तान्नुस् र जसको नाम निस्कन्छ, उसलाई आजैबाट 'छोरी होइन' भनेर घोषणा गरिदिनुस्। त्यसपछि तपाईको प्रतिष्ठित परिवारमा दुईटी छोरी मात्र बाँकी रहनेछन्।’
म केहीबेर रोकिएँ अनि फेरि भनेँ, ‘हामी चाहन्छौँ, तपाईंको विद्वता र प्रगतिशील छविमा कुनै दाग नलागोस्।’
हाम्रो कुरा सुनेर भर्खरै 'समाज र संस्कृति' माथि रेडियोमा प्रवचन दिएर आएका विद्वान् बाबाको अनुहारको चमक एकाएक गायब भयो। बाबा चिट तान्न नसकी काँपेको हात लिएर ढोकाको संघारमै अक्क न बक्क भई उभिरहनुभयो।
उहाँको निधारमा पसिनाका साना थोपाहरू टल्किन थाले।
प्रकाशित: २० जेष्ठ २०८३ ०९:५७ बुधबार





