२ कार्तिक २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

दूर क्षितिजभित्र दसैंतिहार

सम्झनाको भयङ्कर आँधीमाझ दसैंतिहार गुज्रदै छन् केही साल यता। त्यसो त दशैंतिहार बाल्यकालमा जसरी महत्त्वका लाग्थे त्यो घट्दै जाने रहेछ मानिसको भोगाइको उचाइ र जीवनको आयतनसँगै। यो मेरो मात्र अनुभव नहोला। अर्को कुरा हामी पहाडमा जन्मेर हुर्कने अनि पहाडी मलकाजको गुण बोक्नेहरूसँग दशैंको विशिष्टता अलि फरक छ अर्थात् अविस्मरणीय छ। अहिले म सम्झन्छु। महिनौं अघिदेखिको भव्य तयारी।

दसैंतिहारका लागि अनिवार्य नयाँ लुगा चाहिने त्यो पनि बालिघरे ठुलदाइले पुरानो तन्नामा कुम्लो पारेर बोकी ल्याएको कल (लुगा सिलाउने मेसिन) ले सिलाएको नयाँ लुगाको वास्नाले मन फुरुङ्ग पार्ने, घरदेखि परपरसम्म बाटो खनेर सिनिक्क पार्नुपर्ने, सिमखेतको पाक्दै गरेको ताजा हरियो पहेंलो तौली धान हाँडीमा भुट्दै गर्दा बिस्तारै फैलिने सुवास, सुस्तरी धुवामा नाच्दै उड्ने त्यो बेनाम चित्र, चिउरा कुट्दै गर्दा गाउँभरि बज्ने त्यो ढिकीको सुमधुर संगीत, कतै जाँड पकाउने हतारो कतै माटोका ठुल्ठुला बातामा रक्सी पार्ने चटारो, रातो माटो, कमेरो, पहेंलो माटो खन्न टाढाटाढा जानुपर्ने, तल खोट्डाडामुनि सालघारी पुगेर डोकोभरि सालको पात टिपेर ल्याउनुपर्ने, दुनाटपरी गाँस्नुपर्ने, घर छेपेर चिटिक्क पारेर फेदमा रातोमाटोले चम्काउनुपर्ने, लुगा धोएर सिनिक्क नपारेसम्म दसैं घरसम्म नआउने, फर्सीको बियाँ फिलुङ्गेको अचार नमग्मगाएसम्म, बारीबाट टिपिल्याएको पहेंलो काँक्राको खल्पी ढुङ्ग्रे बाँसको गतिलो ढुङ्ग्रामा खाँदेर अमिलो भैसक्थ्यो, पल्लोघर साल्दिदीले सुँगुरको मासुमा लप्सीको अचार गालिसक्नुहुन्थ्यो दशै आइपुग्दा।

घरघरमा अनिवार्य मार हान्नुपर्ने, तौलीखेतमा पिङ हाल्नुपर्ने, तोरनझैं टाँगिएको डोरीमा बुइँगल (घरको तेस्रो तला)भरि कुर्कुचे र सक्खर चिनी केरा झुन्डिएको देखेपछि, पुजाकोठामा बडेमानको बरनीजस्तो टपरीमा एक अँगालो पहेंलो रङ्को जमरा लहलाएपछि, भए जति हतियार जम्म्मा गरेर साद लगाइसकेपछि, ठुलो बुबा बुबाले दुर्गा थापेर दुर्गा पुजा गर्दै मालसिरी गाएपछि, बल्ल शानले दशै घरभित्र छिर्थ्यो।

हाम्रो गाउँमा उसबेला बिजुली बत्ती थिएन तर बिजुली बत्तीभन्दा उज्यालो मन भएका मान्छे थिए। पेट्रोलम्याक्स र लालटिन बालेर हामी मालबासेमा दसैं विशेष नाटक र सांस्कृतिक कार्यक्रम गर्थ्यौ, गाउँलेसँगै वारिपारिबाट आउनुहुने दर्शकले माया गरेर साथ हौसला दिनुहुन्थ्यो। आहाले, सत्तलडाँडा, बोया झ्याँउपोखरीतिर पनि त्यहाँका साथीहरूले सन्देशमुलक नाटक र विभिन्न सांस्कृतिक कार्यक्रम गर्नुहुन्थ्यो। हामी सपरिवार उपस्थिति हुन्थ्यौँ अनि पो दशैं दशैंजस्तो लाग्थ्यो। गाउँघरमा चाडपर्वलाई खास बनाउने अनेकौं सौन्दर्यात्मक रसायनहरू छन् थिए।

टीकाको दिन बिहानदेखि उल्लासको उज्यालो घरभित्र प्रवेश गर्थ्यो। उल्लाससँगै मसँग उसबेलादेखिकै एउटा अनुत्तरित प्रश्न थियो उक्त टीकासँग जोडिएको। घर मामाघर जतासुकै टीका लगाउन जाँदा पनि छोरा मान्छेका लागि आयु द्रोण सुते, श्रियं दशरथे शत्रुक्षयं राघवे ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानं च दुर्योधने।।

सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे

 अनि छोरी मान्छेका लागि

जयन्ती मङ्गलाकाली,

भद्रकाली कपालिनी।

दुर्गा क्षमा शिवाधात्री,

स्वाहा स्वधा नमोऽस्तुते भनेर किन छुट्टाछुट्टै आशीर्वादका श्लोकहरू भन्नुपरेको होला? यो प्रश्न अहिले पनि जिउँदै छ।

हामीलाई हजुरामा ठुलोबुबा र आमाले पालैपालो लामोलामो आशीर्वादका हरफसँगै निधारभरि रातो अक्षता टीका लगाएर शीरभरि जमरा र दक्षिणा हातमा राखिदिंदाको त्यो आनन्दानुभूतिको फैलावट शब्दले परिभाषित गर्न सक्दैन।

बिहेको निम्तालुजस्तो गाउँमा दशै नबोलाई आउन्न थियो। दशैं बोलाउने अनेक भाका थिए गाउँमा। दशैं भित्र्याउने छुट्टै लय थिए गाउँमा अनि पो दशैं दशैंजस्तो लाग्थ्यो। दशैमा हाम्रो गाउँमा आफ्नो घर वरिपरिका लगभग २५/२० घर छिमेकीबीच पालैपालो सपरिवार खाना खाने खुवाउने रमाइलो चलन थियो। त्यो एउटा भुल्न नसक्ने सद्भावको रित थियो।

शहरमा आजभोलि दशैं नबोलाई एक्लै जबर्जस्त आउँछ फेरि बिदा नमागी एक्लैएक्लै जान्छ। न साविकको उमंग न सुवास दिने फूल न हर्षले नाच्ने पुतली। लाग्छ, आधुनिकताका नाउँमा नछुट्नुपर्ने केही मौलिकताका रङ्ग छुट्दै छ्न्, सम्झनैपर्ने केही संस्कार विस्मृतिभित्र पर्दैछन्।

संस्कृति हाम्रा परिचय हुन्। भूगोलको कुनै सिमानामा संस्कृतिको धागो अल्झिन हुन्न। हामीलाई हाम्रा अग्रजले सिकाएको र हामीले सिकेको खास तथ्य यही हो। आज हाम्रा रीतिरिवाज अप्ठेरोमा पर्दै गर्दा कताकता लय छुटेजस्तो, कतै ताल नमिलेजस्तो लाग्छ। म भने छुटेको ताल, नमिलेको लय र बज्न बाँकी एउटा सुन्दर संगीत सम्झिइरहेछु पर्खिरहेछु अनि बारम्बार झस्काइरहने अविस्मरणीय सम्झेर यस पटकको दसैंतिहार एउटा दूर क्षितिजबाट चिहाइरहेछु।

प्रकाशित: १ कार्तिक २०८३ १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App