१७ आश्विन २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

चर्केको सिसा

लघुकथा

आफ्नी प्यारी भगवानकी प्यारी भएपछि शान्तराम साँच्चिकै एक्लिएको महसुस गरिरहेका बेला सानी नातिनीले छेउमै आएर भनी, "हजुरआमा हामीलाई छोडेर गएपछि मसँग सदाझैं खेल्नु हुन्न नि हजुरबुवा, आउनुस् न मसँगै खेल्न।" उसले खेलौना देखाउँदै भनी।

मन नलागे पनि उनी नातिनीछेउ गए। उसले तीन गुडिया देखाउँदै भनी, "यी यो हजुरबुवा, यो मेरी हजुरआमा र यो म। साँच्चै एकै ठाउँमा राख्दा कति राम्रो देखिएको है हजुरबुवा!"

उनले मुख नखोली मुन्टो हल्लाए। नातिनीको खुसी देखेर उनी एकैछिनका लागि सन्तुष्ट भए।

ठिक त्यसैबेला बुहारीले माथिल्लो तलाको भान्सा कोठाबाट झर्किँदै भनिन्,"छिमेकीकोमा गएर साथीहरूसँग खेल्न छोडेर के बुढो मान्छेसँग खेलिरहेकी!"

सन्तरामको छातीमा एकाएक हजारौं सुइरोले घोचे जस्तै भयो।

खाजा खाने बेला सबैले पोलेका मकै खाइरहँदा उनी भने सातु घोलेर खान बाध्य थिए किनकि उनका गिजाहरू अब खुकुला र हलुका भइसकेका थिए।

दिनभरि यताउता गर्दै बिते पनि साँझपख चराचुरुङ्गीहरू बासस्थानतर्फ फर्किँने बेला र सूर्य क्षितिजबाट ओरालो लाग्दै गर्दा उनलाई एकतमासको नरमाइलो महसुस भइरह्यो। कसैले नदेख्ने गरी जोडी आँखाबाट जोडी अश्रुविन्दुहरू खसेर सन्ध्याको अँध्यारोमा बिलिन भए।

सदाझैं उनी भित्तामा झुन्डिरहेको प्यारीको प्यारो फोटो हेरेर चित्त बुझाउने सुरमा बैठक कोठातर्फ गए तर फोटो राखेको भित्ता खाली र उजाड थियो। यो देखेर उनको मन पनि एकाएक चैते पाखाझैँ उजाडियो।

उनले उही सानी नातिनीलाई सोधे, "यहाँ झुण्ड्याइएको हजुरआमाको फोटो देख्यौ?"

त्यो अबोध बालिकाले "नाइँ देखिन!" भन्दै मुन्टो हल्लाई।

"हजुरबुवा! म एकछिन पल्लो घर साथीको घरमा गएर आउँछु है!" नातिनीले मायालु स्वरमा भनिन्।

सन्तरामले भने,"हुन्छ तर छिटै आऊ है!"

एकछिनपछि नातिनी खुसी हुँदै तलबाटै "हजुरबुवा! हजुरबुवा!" भन्दै खुसीले दौडँदै आइपुगी। उसले नजिकै आइपुग्न लाग्दा भनी, "हजुरबुवा! एकछिन आँखा बन्द गर्नुस् त,मैले हजुरलाई मनपर्ने कुरा ल्याएकी छु।"

शान्तरामले आज्ञाकारी बालकले झैँ दुवै आँखा बन्द गरे। नातिनीले उनको हातमा हजुरआमाको फोटो राखिदिँदै भनी,"ल अब आँखा खोल्नुस्।"

शान्तरामको अनुहारमा एकाएक पूर्णिमाको जून उदायो।

उनले एकैसासमा सोधे, "कहाँ भेट्यौ?"

नातिनीको जवाफ थियो,"त्यहीँ तल पुराना सामान राख्ने ठाउँमा।"

ठाउँठाउँमा सिसा चर्केर बिरूप हुँदा पनि  प्रियाले उही मृदु मुस्कानसहित एकोहोरो उनैलाई हेरिरहेकी थिइन्।

प्रकाशित: १७ आश्विन २०८३ ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App