१० वैशाख २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

आवरण

कथा

बतासको वेगमा उडिरहेको कालो बादल जस्तो, हावाको स्पर्शले छरपस्ट भएको बाक्लो कालो कपाल हतारहतार दुवै हातले सम्हालेर रबरले पोको पारिन्। उनी एक हातले मोबाइल समातेर कुरा गर्दै थिइन्। ब्याग भिरेको अर्को हातले सेन्डिल लगाएर आस्मा कोठाबाट निस्किइन्। निस्कँदै गर्दा छोरा सन्देशलाई अह्राइन्, “तिमीले पठाएको इमेलको हार्डकपीमा प्रिन्ट निकालेर कलेजको अफिसमा बुझाउन जाऊ है, आज।”

छोरालाई अह्राइसकेपछि– घडी हेर्दै ‘ओहो! अबको तीन मिनेटमा ट्रेन छुट्छ। मैले ट्रेन भेटाउन सक्छु कि सक्दिनँ।’ उनको मनमा शङ्का उत्पन्न भयो।

उनी दगुर्दै स्टेसन पुगिन् र माइकी ट्याब गरिन्। अस्ट्रेलियामा सार्वजनिक साधन चढ्नुअघि माइकी अर्थात् ओपालद्वारा शुल्क बुझाउनुपर्ने कुरा उनले बुझेकी थिइन्।

‘सात समुद्र तरेर आएको पनि आज ठ्याक्कै एक महिना तेइस दिन भइसकेछ।’ सिटमा बसिसकेपछि अस्ट्रेलिया आएको दिन औँलामा गन्ती गर्दै सोचिन्।

तीन महिनामा फर्कने टिकटसमेत लिएर आएकी आस्माले आजसम्म एक दिन पनि ढुुक्कले बस्न र घुम्न पाएकी छैनन्। उनले दिक्क मान्दै आफ्नै निधारमा हत्केलाले सुस्तरी हिर्काउँदै आफैँभित्र गुनगुन गरिन्, ‘कुन दशा लागेर यसलाई विदेश पढ्न पठाउने जोहो गरेछु।’        

सोच्दा सोच्दै पुग्नुपर्ने स्टेसन आइपुग्यो। उनी ट्रेनबाट झरिन् र राजदूत सुभाष गौलीको अफिस पुग्ने बाटो लागिन्। आज अक्टोबर १६ तारिख दिउँसोको दुई बजे सुभाषले भेट्ने समय दिएका थिए। गह्राैं मन अनि केही आशाको ऊर्जा लिएर अफिसमा पुगिन्।

“नमस्कार सर!” आस्माले दुबै हात जोडेर आफू उपस्थिति भएको कुरा जनाइन्।

“नमस्कार मेडम!”

“बस्नोस् न। के कति कारण आइपुग्नुभयो?” सुभाषले नम्र भावमा सोधे।

आस्माले आफू आउनुको कारण सुनाउन थालिन्, “बाबु यहाँको कलेजमा आई.टी.पढ्न भनेर आएको थियो। सर! तर उसले त्यो विषय पढ्न नसक्ने ठानेर कोर्स र कलेज नै चेन्ज गरेछ।” यति भन्दै गर्दा गौली सरले प्रश्न गरे, “अनि मेडम बाबुले डिफर लियो कि लिएन त?”

यस्ता केसहरू आइरहने कारण उनले बुझेका थिए र प्रश्न गरिहालेका थिए।

“लिएनछ, सर! डिफर लिनुपर्छ भन्ने बाबुलाई थाहा रहेनछ। कलेज चेन्ज गरिदिने कन्सल्टेन्सीले पनि डिफर निकालिदिएनछ। फि नबुझाएको भनेर पहिलेको कलेजले इमेल पठाउन थालेछ।” आस्माले सुनाइन्।

बिचैमा आस्माको कुरा काटेर सुभाषले फेरि प्रश्न गरे, “त्यसपछि विद्यार्थीले कुनै पहल गरेनन्, मेडम?”

“गरेछ। चाहिने सबै डकुमेन्ट कन्सल्टेन्सीलाई बुझाएछ तर कन्सल्टेन्सीले कलेजमा बुझाइदिएनछ। कलेजको दुईतिरको फि बुझाउन गाह्रो भएपछि हामीलाई ढाँटेर कामबाट पैसा नपाएको भन्दै फि माग्न थाल्यो। हामीलाई पत्यार लागेन। त्यसपछि कुरा बुझ्न म यहाँ भिजिट भिसा लगाएर आएकी हुँ।”

“बाबुले दुवैतिरको फि तिर्न सक्ने कुरै भएन। फि बुझाउन नसकेपछि कलेजले डेब्ट कलेक्टर लगाएर दवाब दिन थालेछ। केटाकेटी न पर्‍यो, डराएर बिस्तारै घरबाट बाहिर निस्कनै छोडेछ।”

आस्माले यति भन्दै गर्दा गौली सरले दुःख व्यक्त गरे, “ओहो! साह्रै दुःख भएछ। कन्सल्टेन्सीको लापरबाहीले तपाईलाई नेपालदेखि यहाँसम्म आउन परेको देखेर म साह्रै दुःखी भएँ। न आत्तिनुहोस्। हामी सबै बुझेर के गर्न सकिन्छ, पहल गर्छौ।”

“तपाईको फोन नम्बर मलाई छाडेर जानुहोस्। तपाईचाहिँ सबैभन्दा पहिला इन्टरनेसनल कलेजको डाइरेक्टरलाई भेट्नुहोस्। म पनि उहाँलाई कुरा गरिदिन्छु।”

एउटा नेपालीलाई परेको अप्ठ्यारोमा  एउटा नेपालीको हृदय दुख्ने रहेछ। रोहन अधिकारी नेपाली अभिभावक हुन्। लामो समयदेखि उनी अस्ट्रेलियाको वासिन्दा भएर बसेका थिए। उनैमार्फत आस्माले राजदूतसम्म पुग्ने बाटो भेटेकी थिइन्।

नेपालमा आस्माको जागिर सामान्य थियो तर उनी बोल्न र कुराकानी गर्न हक्की थिइन्। आस्माले अस्ट्र्लियामा पाइला राखेदेखि कहिले पत्रकार, कहिले कलेजका डाइरेक्टर त कहिले कन्सल्ट्यान्ट नेपालका तर्फबाट नियुक्ति पाएका राजदूत भेट्न कुदेको कुद्यै थिइन्। पिरको भारी बोकेर कुदिरहेकी एउटी आमा थिइन्, उनी । उनका आँखामा समुद्रको देशमा समुद्र नै आएर अटाई बसेका थिए।

नोभेम्बर तीन तारिख आज उदय सरलाई भेट्न आस्मा विहानै कोठाबाट निस्किइन्। उदय एन. आर. एन.का पदाधिकारी हुन्। उनी अफिस कोठाको कुर्सीमा बसेर टेबलमाथिका फाइलहरूमा नजर लगाउँदै थिए। आस्मा पुगिन् र आफू आइपुगेको जानकारी दिन आदरका साथ भनिन्, ‘नमस्कार सर।’

आस्माको आवाज सुनेपछि उदयले मुन्टो उठाउँदै भने,“आइपुग्नुभयो?”

“तपाई आस्माजी होइन र?”

“हजुर सर! मेरो नाम आस्मा शर्मा हो।”

आस्माले आफ्नो परिचयसँगै एघार बजे भेट्ने समय तय भएकाले आफू आइपुगेको बताइन्। आस्माले पूरा कुरा भन्दै थिइन्। उदय सरले सोफातर्फ देखाउँदै पहिले सङ्केतपछि आवाज निकालेर आग्रह गरे, “बस्नुहोस्।”

“भन्नोस्, आस्माजी! के कति कारणले आउनुभयो?”

उनले आफ्नो छोरा सन्देशको विषयमा वृत्तान्त सुनाइन्। बोल्दाबोल्दै उनको घाँटी अवरुद्ध भयो। आस्माको गला रोकिएको देखेर उदयले ढाडस दिँदै भने, “आस्माजी! तपाई  नआत्तिनुहोस्। हामी यहाँ केका लागिबसेका छौँ, तपाईलाई महसुस छँदै छ। हामीले गर्ने काम बुझेर तपाई यहाँसम्म आइपुग्नुभएको छ। सन्देशको केसका लागि हामी सक्दो प्रयत्न गर्ने छौँ। हामी पहिला स्टडी मेलवर्न गभर्मेन्ट बडीमा केस हाल्ने छौँ। यसमा चाहिँ विद्यार्थी आफैँले केस हाल्नुपर्ने हुन्छ। अभिभावकले केस हाल्न मिल्दैन।”

उदय सरको बोलीले प्रचण्ड गर्मीमा हिँडिरहेको बटुवालाई रुखको छहारी पाउँदा मिलेको आनन्द  आस्मालाई महसुस भयो। बाहिरको आकाश खुला थियो। आकाश निलो रङमा सजिएको देखिन्थ्यो। बतास भने समुद्रमा डुबुल्की लगाएर पानी पनि बोकेर ल्याई छर्के जस्तो चिसो थियो। चिसो बतासले छुदा पिरले डढेको मनमा केही राहत मिलेझैं आस्मालाई अनुभव भयो। उनी उदयसरसंग बिदा भएर अफिसबाट निस्किइन्।

म्यासेन्जरमा फोनको घन्टी बज्यो। अनुजको रहेछ। अनुज उनका श्रीमान् हुन्। उनी नेपालमा नै छन् । उनले फोन रिसिभ गरिन् र भनिन्, “म ट्रेनमा छु। केहीबेरमा कोठामा पुग्छु अनि बोलौँला है। बरु बाबु कोठामा नै छ उस्लाई फोन गर्नू न।”

उनले फोन काट्न खोजिन्। उताबाट अनुजले भने, “फोन हान्दा हान्दा बल्लबल्ल उठाएकी छ्यौ। त्यो पनि अब झिँजिएर राखिहाल्न खोजेकी?”

अनुजले यति के भन्न भ्याएका थिए, आस्माले भनिन्, “हरे! कसैगरी नसक्ने भएँ मैले।”

आस्माको आँखामा बाँध बाँधिराखेको समुद्र फेरि छचल्कियो। आस्माको आँखा अचेल आँखा नभएर समुद्र भएको छ। भिडियोबाट हेरिरहेका अनुजले भने, “नआत्तिऊ न। सबै ठिक हुन्छ। आफूलाई सम्हाल।”

ट्रेन लिग टेकेर आफ्नै गतिमा कुदिरहेको थियो। लिगभन्दा अलिक पर किनार किनार फुलेका फूलहरू पनि आस्माको निन्याउरो अनुहार देखेर मौनता साँधिरहेका थिए। सहरमाथिको  विशाल आकाश अत्तालिएर उनको परिवेशबाट भाग्न खोजिरहेझैं लाग्थ्यो। ट्रेनको झ्यालमा हात राखेर आस्माले आफ्नो चिउँडो अड्याएकी थिइन्। पीडा पोतिएको अनुहारमा प्रकृतिको माधुर्य समेत शून्य देखिएको थियो

आस्माको दैनिकी उही भागदौडमै चलिरहेको छ। उनलाई न रातको ख्याल छ न त दिनको। केवल छोराले न्याय पाउनुपर्छ भन्ने कुरामा उनको समय व्यतित भइरहेको छ।

“आज स्टडी मेलवर्न गर्भमेन्ट बडी पुग्नु छ। कताकता कुद्नुपर्ने हो। अझै कति दिन यसरी कुद्नुपर्ने हो? उफ्!” आस्माले दिक्दारी महसुस गरिन्।

अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको समस्या सुनुवाइका निम्ति स्थापना गरेको अफिस हो ‘स्टडी मेलवर्न।’

एन आर एनका उदय सरले भनेअनुसार आस्माले छोरा सन्देशलाई लिएर आज ‘स्टडी मेलवर्न’को अफिस पुगेकी छन्। अलिकति थकान र अलिकति हरेस पोतिए पनि आस्मा आफूलाई आफैँले थुमथुम्याउँदै हिँडिरहेकी छन्। सन्देश भने आमाको साथमा सानो बालकझैँ जता भन्यो उतै हिँंडिरहेको छ।

सन्तानको भविष्यका लागि बाबुआमा स्वतः खटिने रहेछन्। श्रीमान् अनुजको प्रेमले उनलाई आँट र भरोसा मिल्थ्यो। त्यही आँट र भरोसाले उनी छोराको न्यायका निम्ति न्यायालयका ढोका चहार्दै थिइन्।

परदेशको ठाउँमा पनि मनकारी मनहरू हुँदा रहेछन्। आफूलाई सहयोग गर्ने पत्रकार नवीन काफ्लेले सन्देशको केसलाई सञ्चार माध्यमसम्म ल्याउन पहल गरिदिए। प्राञ्जल देवकोटाले केसलाई वकिलहरूसम्म पुर्‍याएर छलफल गर्ने माहोल बनाइदिए। मौनता शाहले भेट्नुपर्ने मानिसहरूको लिङ्क दिएर सहयोग गरिन्। ती सबै पत्रकारहरूलाई सम्झिएर आस्माले मनमनै धन्यवाद दिइन्

सूर्यले पनि पृथ्वीको फन्को लगाएर हराउँदा अँध्यारो भए पनि फेरि भोलि उज्यालो लिएर फर्कन्छ भने यो अन्याय कहिलेसम्म टिक्ला र? एक दिन त न्यायको उज्यालो पक्कै उदाउने छ। आस्माले आफ्नो मनलाई बलियो बनाउँदै आफैँमा हराइन्। त्यसै बेला ट्रेनको सिटमा आफूछेउ बस्न आइपुगेको व्यक्तिलाई पुलुक्क हेरिन्। उनले हेरेको देखेर ‘हाई ! हाउ आर यु?’ विदेशी रहेछ बोली हाल्यो।

“हाई! आई एम् गुड!” आस्माले पनि हल्का मुस्कुराउँदै जवाफ फर्काइन्।  

विदेशमा एउटा संस्कार छ भनौँ चिन्दै नचिनेकाले पनि बाटो हिँडदा होस् या यात्रा गर्दा होस् आफू नजिक भएर हिँडनेहरूसँग आत्मीय भाव प्रकट गरिहाल्छन्। हाइहेल्लो भनिहाल्छन्। यसरी मुसुक्क मुस्कुराएर बोल्ने चलनले आस्माको हृदय स्पर्श गरेको थियो।

आस्माको फोनमा नेपालबाट साथी सुमिनाको फोन आयो। फोन रिसिभ गरिन्।

“हेलो! सुमिना !!”

“हेल्लो! आस्मा!!”

“के छ? के गर्दै छेस् सुमिना? किन सम्झिस् आज धेरै दिनपछि?”

“आस्मा! तँ सन्चै छेस् नि?”

“म उन्नाइस तारिखको फ्लाइटबाट अस्ट्रेलिया आउँदै छु। तँ त्यहीँ छेस् भनेर सम्झेको नि।”

“सुमिना! तेरो छोरा त सिड्नीमा छ नि हैन र?”

“हो, आस्मा! बाबु सिड्नीमा नै छ। म पनि सिड्नी आउँदै छु।”

“ए ! हो र? म मेलबर्नमा छु तर नआत्ती। नानु सिड्नीमा छिन्। तँलाई लिन म उनलाई पठाइदिउँला। तँ सिड्नी ल्यान्ड हुने समय भन ल।”

“थ्याङक्यु आस्मा! तँ छेस्। म ढुक्क भएँ।”

“बाई!”

आस्माकी छोरी रिया आफूलाई रिसिभ गर्न आउने कुराले सुमिना खुसी भइन्। आस्मा आफ्नै तनाबमा भए पनि कसैलाई सुइँकोसम्म दिएकी थिइनन्। उनको मनमा अनेक कुरा खेल्दै थियो।

आज नोभेम्बर उन्नाइस तारिख सुमिना सिड्नी आइपुग्ने कुरा आस्माले बिर्सिएकी थिइनन्। छोरी रियालाई फोन गरेर सम्झाइदिइन्।

रिया समयमै एयरपोर्ट पुगिसकेकी थिइन्। सुमिनाले लगेज लिएर बाहिर निस्कँदा आस्माकी छोरी रिया र आफ्नो छोरो प्रवीणलाई देखिन्। उनी एकदम खुसी भइन्। आमाको मन न हो प्रवीणलाई देख्नासाथ प्रवीणको देहबाट उनको आँखा हटेन।

प्रवीण आफ्नो काखबाट छुटेर पढ्न आएको भर्खरै जस्तो लागे तापनि दुई वर्ष नाघेर अघि आइसकेको थियो। दुई वर्षको अन्तरालमा छोराको रूपरङ निकै बदलिएको महसुस गरिन्। छोराको अवस्थाले मुटुमा घनको चोट बर्सिएझैँ भयो र मुटुलाई हजारौँ टुक्रा पारेर मिल्काए जस्तै लाग्यो। त्यो अथाह पीडाले सुमिना केही पलका लागि शून्य बनिन्।  

रियाले आन्टी भन्दै अँगालो हालिन्।

रियाको अँगालोले सुमिनाको चेत खुल्यो । रियालाई एकछिन अँगालेपछि दुवै हातले उनलाई सुस्तरी आफूबाट अलग गरिन् र प्रवीणलाई अँगालिन्।

आमाले अँगालेपछि प्रवीणले थोरै शब्दमा सोध्यो, “आउँदा हजुरलाई कतै गाह्रो त भएन ?”

“अहँ भएन।” सुमिनाले भनिन्।

“तिमी ठिक छौ नि, बाबु ?”

आमाको कुरा प्रवीणले नसुनेझैँ बेवास्ता गर्‍यो। परदेश आउनुअघि जिस्किरहन र बोली रहन पर्ने छोरो अहिले थोरै बोलेको देखेर उनले सोचिन्, ‘अब परिपक्व भएछ। व्यवहारले परिपक्व बनाएछ।

एक दिन दुई दिन गर्दै दिनहरू बित्दै थिए। छोराको व्यवहारले बिस्तारै छोरासँगै आफू पनि अँध्यारोमा धकेलिएझैँ महसुस सुमिनाले गर्न थालेकी थिइन्। उनको मनमा एउटै प्रश्न बारम्बार ओहोरदोहोर गर्न थाल्यो, ‘आखिर यो किन बोल्न खोज्दैन? किन तर्किरहन्छ? के भएको छ यसलाई? किन कुनै पनि कुरामा चासो दिँदैन?’ यावत् प्रश्नहरूले उनको मनमा घर गरिरह्यो।

एयरपोर्टमा आफूलाई लिन आउँदा टाँक चुँडिएको ज्याकेट, मैलो पाइन्ट लगाएको अनि दागैदाग देखिएको पुरानो ब्याग दाहिने कुमबाट देब्रेतर्फ झन्डै कम्मरभन्दा तल पुग्ने गरी भिरेको र कपाल थोरै लामो तर रबरले बाँधेको अनि छुस्स मैलो देखिने भएको दाह्री पालेको उस्को हुलिया सम्झिन्।

सुमिना सिड्नी आएको पनि हप्ता दिन बढी भइसकेको थियो। आज उनी कोठाको पलङमा पल्टिरहेकी थिइन्। उनी आएदेखि छोराको ब्यवहारले उनको निद भुरर्र उडेर ताराहरू छुन पुगेका थिए । आज भने कतिखेर आँखा झिपिक्क हुन पुगेछ। केहीक्षणको सुताइपछि उनी ब्युँझिइन्। उनले प्रवीणतिर हेरिन्। प्रवीण मोबाइल स्क्राेल गर्दै अर्को पलङमा पल्टिरहेको थियो। आफू पल्टिएकै पलङबाट उनले छोराको अनुहार नियालिन्।

विदेश पढ्न आउनुअघि जस्तो प्रवीणको अनुहारमा चमक थिएन। ओइलाएको सुन्तला जस्तो छोराको अनुहार उनले एकटक हेरिरहिन्। हेर्दाहेर्दै उनको मन अमिलो भयो।

उनले छोरामा अधिक नैराश्य भेटेकी थिइन्। आमाको मन हो, जवान छोरो कतै कसैको प्रेममा परेर पो बिग्रिएको हो कि भन्ने सोच्दै उनले प्रवीणलाई सोधिन्, “बाबु तिमीले कुनै केटी मन पराएका छौ र? मन पराएको भए मलाई भन। मसँग भेट गराऊ।”

“ह्या ममी! तपाई पनि केके सोच्नुहुन्छ? छैन, कोही पनि मेरो।” उस्ले दिक्दार भएको भावमा आमालाई जवाफ फर्कायो।

सुमिनाले मनमा मडारिइरहेको आँधीलाई एकछिन रोक्ने प्रयास गरिन्। आँधी रोकिएको थिएन। मनलाई बलियो बनाउँदै फेरि उनले सोधिन्, “तिमी उदास देखिन्छौ। तिमी पहिले जस्तो देखिन्नौ। कलेज पनि रेगुलर जाँदैनौ ? किन? भन, तिमीलाई के भएको छ?”

प्रवीणले कुनै जवाफ दिन चाहेन। ऊ चुपचाप मोबाइलमै ब्यस्त बनिरह्यो।

रातको मौनता उषाले भत्काए झैंँ सुमिनाले चुपचाप बसेको छोराको मौनता चिर्दै फेरि भनिन्, “तिम्रो इन्स्योरेन्सले कति कभर गर्छ? कभर गर्ने जति चेकअप गरौँ। कतै भिटामिनको पो कमी भयो कि?”

आज नोभेम्बर अठ्ठाइस तारिख सुमिना आफ्नो पारिवारिक मित्र डाक्टर प्रदीपलाई भेट्न पुगिन्। उनले डाक्टर प्रदीपसँग छोराको बारेमा खुलस्त बताइन्। प्रदीप केही समयका लागि अफिसको कामले अस्ट्रेलियामा थिए। प्रदीपले सुमिनाको कुरा सुनिसकेपछि एक पटक डाक्टरलाई देखाउने सल्लाह दिए। उनैले डिसेम्बर पाँच तारिखका लागि डाक्टर जेम्सको अपोइटमेन्ट पनि लिइदिए। सुमिनाले प्रवीणलाई सो कुराको जानकारी गराइन्।

सधैँ अल्छी गर्दै अबेर उठ्ने छोरो आज सबेरै उठेको थियो। आज चेकअप गर्न जाने सम्झिरहेको रहेछ। उनीहरूको आफ्नो साधन थिएन । साधन नभएकाले कि ट्रयाम, कि ट्रेन चढ्नुपर्छ । आमा  र छोरा दुबै ट्रेनको समय हेरेर निस्किए। उनीहरू क्लिनिक समयमै पुगे। जेम्ससँगको कुराकानीपश्चात् डाक्टरले रगत जाँचका लागि केही टिक लगाएको प्रिस्क्रिप्सन र एउटा फाराम भर्न दिए। डिसेम्बर बाह्र तारिखका दिन रगतको रिपोर्टसँगै दिएको फाराम भरेर ल्याउने सल्लाह उनले दिए।

परदेशमा छोराछोरी भेट्न आएका आस्मा र सुमिनाको कथा एउटै एउटै थियो तर दुवैले दुवैलाई सुनाएका थिएनन्। ठुलो सपना बोकेर उच्च अध्ययनका लागि अभिभावकले सन्तानलाई विदेश पठाएका हुन्छन्। त्यसैले दुवै घनिष्ट साथी भएर पनि त्यतिन्जेलसम्म एकअर्कालाई केही सुनाएका थिएनन्।

सुमिना छोराको मौनताको कारण खोज्दै थिइन्। आस्मा छोराका निम्ति न्यायालयको ढोका ढकढक्याउँदै थिइन्।

सुमिनाको म्यासेन्जरमा फोन आयो। आस्माको रहेछ ।सुमिनाले मनमनै सोचिन् आएदेखि फोन पनि गरेकी रहिनछु कति हुस्सु भएछु। थोरै पछुतो मान्दै थकित स्वरमा सुमिनाले फोन रिसिभ गरिन्।

“हेलो आस्मा!”

“के भयो? किन थाकेकी छेस्?” सुमिनाको आवाजलाई लक्षित गर्दै आस्माले प्रश्न गरिन्।

आस्माको बोली सुन्नासाथ सानो बालकझैँ उसको काखमा मुन्टो राखेर बेस्सरी रोऊँझैंँ सुमिनालाई भयो।

आफूलाई सम्हाल्दै सुमिनाले भनिन्, “म मेरो हराएको छोरो खोज्दै छु, आस्मा!”  

“के भन्छे यो?” आस्मा अलमलमा परिन्।

“हो, आस्मा ! प्रवीणको आवरणमा ऊ मेरो अघिल्तिर छ। तर ऊ कतै हराएको छ।”

“उफ् !” आस्माले केही बोल्न सकिनन्।

आस्माले आफू आएदेखि छोराको न्यायको लागि भौँतारिरहेको सम्झिइन्। इन्द्रेणी रङका रङ्गीन सपना बोकेर परदेशमा उच्च अध्ययनका लागि आएका कलिला नानीहरूको जिन्दगीसँग खेलवाड गर्ने कन्सल्टेन्सीदेखि कलेजसम्मको लापरवाही सम्झिइन्। सुमिनाको कुराले उनलाई पनि समुद्रको छालसँगै बगेर हराउन मन लाग्यो।

आस्माले अरू केही बोल्ने शब्द नै भेटिनन्। निःशब्द बनिन् र चुपचाप फोन राखिन्। फोन राखि सके पछि सुमिना पनि मनमनै गुनगुनाइरहिन्, ‘छोराछोरीलाई बाह्र कक्षा मात्र पास गरेर पठाउन नहुने रहेछ। यहाँको पढाइ, काम, घरको समस्या, जिम्मेवारी अनि अभिभावकको आशा यी कलिला नानीहरूले थेग्नै नसक्ने रहेछन्। उच्च अध्ययन गर्न आउने कलिला नानीहरू विदेश आउँदा घर मात्रै छुटेको हुँदैन। सबैभन्दा पहिला आमाबाबाको न्यानो काख छुट्छ। परिवारको आत्मीयता छुट्छ। बालापनमा खेली हिँंडेका गोरेटा र ती साथीसँगी छुट्छन्। आफ्नाहरू सारा छुट्छन्।  परदेशमा परदेशीहरूसँग बोल्दा उनीहरूसँग खुसी खोज्दा आफ्नो प्रिय भाषासमेत छुट्छ । यसरी जम्मै जम्मै छुट्दा हौसला र आँट पनि छुट्ने रहेछ।’

मन दुख्दा भन्न खोजेको कुरा, सुनाउनुपर्ने कुरा परिवारलाई सुनाउन नसक्ने रहेछन्। पीडाहरू सबै आफैंभित्र पिएर बाहिर हाँस्ने रहेछन्। यो यथार्थसँग सुमिनाले आफ्नै छोरालाई भेटिरहेकी थिइन्। उनलाई लाग्यो– ‘विदेश पढ्न पठाउन पहल गरिदिने कन्सल्टेन्सीजस्तै कलिला नानीहरूलाई उच्च अध्ययनका साथै रोजगारसहितको मनोवल बढाउने अफिस पनि भइदिए धेरै नानीहरू आफ्नै परिवारको काखमा रहेर जीवनमा बाँच्न सक्थे होलान्।’ उनको मनमा अनेक कुरा खेलिरह्यो।

प्रवीण साथी भेटेर आउँछु भनेर निस्किएकोले सुमिना कोठामा छोरालाई कुरिरहेकी छन्। कोठामा टिभी चलिरहेको छ तर सुमिना भने मोबाइल स्क्राेल गर्दै रिलहरू हेरिरहेकी छिन्। अनलाइनका खबर तुरुन्तको तुरुन्तै आउने भएर उनले आफ्नो ध्यान टिभीभन्दा मोबाइलमै लगाइरहिन्। अरुण गुरुङ बोलिरहेको समाचारमा सुमिनाको ध्यान टक्क अडियो।  

“हे भगवान्! यस्तो कसैलाई नपरोस्। आज फेरि एउटा फूल ओइलायो।”  

यस समाचारले सुमिनाको ध्यान तान्यो। मोबाइलमा अरुणले तत्काल घटेको घटना विस्तृत रूपमा भन्दै थिए, “एक नेपाली युवाले फेरि ज्यान गुमाउनुपर्‍यो। उनी आई. टी. पढ्न नेपालबाट अस्ट्रेलिया आएका थिए। नेपालबाट आउने बेलामा जसरी भए पनि अनि जुन विषयमा भए पनि भिसा लगाउने प्रक्रियामा जोड दिइन्छ। यो सोंचिँदैन कि पढ्ने विद्यार्थीले सो विषय पढ्न सक्छ कि सक्दैन । हो, यही भएको छ। आई. टी. पढ्न आएका एक युवकले आफैँलाई हानि पुर्‍याएका छन्।’

अरुण समाचार भनिरहेका थिए। सुमिना स्तब्ध बनिन्। उनलाई आफैँमाथि बज्रपात परेझैँ लाग्यो।

आँखामा सागर उर्लिरहेको थियो। त्यस सागरमा डुब्न खोजिरहेको छोरो उनले देखिन्।

“हे भगवान् ! के गर्ने होला? प्रवीण चुपचाप छ । केही सोध्यो भने मलाई के भएको छ र भन्छ। कुनै फिलिङ्स नभए झैं पानीले दबदब भिजेको ओछ्यानमा सुत्छ । मैले देखेका यी कुरा कसलाई भनूँ ?” सुमिना अचेल अँध्यारोको पर्दाले आफूलाई छेकेझैँ ठान्छिन्। किन किन उज्यालोले छल गरे जस्तो मात्र लाग्छ उनलाई।

आज डिसेम्बर बाह्र तारिख प्रवीणको रिपोर्ट आउने दिन। दिउँसो एक बजे रिपोर्ट लिन जानका लागि प्रवीणलाई बिहानै भनिसकेकी थिइन्। आमा छोरा समयमै निस्किएर क्लिनिक पुगे। क्लिनिकमा पुगेर पालो कुरेर बसेका उनीहरूको पालो आयो। डाक्टरले टेबलमाथि राखेको प्रवीणको रिपोर्ट हेरिरहेका थिए। उनीहरूभित्र आइसकेको देखेर डाक्टर जेम्सले आफ्नो ओंठमा थोरै मुस्कान भरेर भने, “हाई प्रवीण ! हाउ आर यु?”

सिट देखाउँदै डाक्टरले भने, “सिट हियर!”

प्रवीण डाक्टरले देखाएको कुर्सीमा चुपचाप बस्यो। डाक्टरले सुमिनालार्ई रिपोर्ट देखाउँदै भने, “म्याम! ह्याभ यु एभर आस्क्ड हिम?”

“ह्वाट्स बोदरिङ हिम?” डाक्टरले फेरि भने।

सुमिना अलमल परेर जेम्सको कुरा सुनिरहेकी थिइन्।

“दिज रिपोर्ट सेज द्याट प्रवीण इज गोइङ थ्रु डिप मेन्टल डिस्ट्रेस। हि इज विक्टिम अफ डिप्रेसन ।” डाक्टरले फेरि बोले।

डाक्टरले रिपोर्टबारे बोलिरहेका थिए। सुमिना अचेत जस्तै मूर्तिवत् बनिन्। उनले टेकेको धर्ती भासियो। सपनाहरू समुद्रको छालले गिज्याउँदै बगाएर लग्यो। उच्च अध्ययनको उपाधि लिन आएको छोरो आफ्नै आवरणभित्र हराएको सुनेर उनी आँसु विहीन भएर रोइन्। धेरै चोट परेपछि आँसु पनि नबग्दो रहेछ। प्रविणको आवरणभित्र हराएको छोरालाई खोज्दा खोज्दै उनी स्वयम्  हराइन्। 

प्रकाशित: १० वैशाख २०८३ १३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App