२५ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

आभिताभ बच्चनलाई ‘हाई कोर्ट’ मा उपस्थित हुन अदालतको आदेश

दिल्ली हाई कोर्टले बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको छ।

सन् २०२२ मा दायर गरिएको व्यक्तित्व अधिकार संरक्षणसम्बन्धी मुद्दामा सहमति हुन नसकेमा उनले आगामी सुनुवाइमा व्यक्तिगत रूपमा उपस्थित हुनुपर्ने अदालतले जनाएको हो।

न्यायाधीशले शुक्रबार यस्तो निर्देशन दिएको हुन्। अदालतमा दुवै पक्षका तर्फबाट छलफलका क्रममा बच्चनको व्यक्तित्व अधिकार संरक्षणका लागि सन् २०२२ मा एकपक्षीय अन्तरिम आदेश जारी गरिएको जानकारी गराइएको थियो। त्यसपछि पक्षहरूबीच आपसी सहमतिबाट विवाद समाधान गर्ने प्रयाससमेत भएको थियो।

अमिताभले सन् २०२२ मा आफ्नो नाम, तस्बिर, आवाज र व्यक्तित्वसँग सम्बन्धित अधिकारको संरक्षण माग गर्दै दिल्ली हाई कोर्टमा मुद्दा दायर गरेका थिए।

मुद्दामा केही मोबाइल एप विकासकर्ताले बच्चनको नाम, तस्बिर र आवाजलाई ‘कौन बनेगा करोडपति’ (केबीसी) कार्यक्रमसँग अवैध रूपमा जोडेर चिठ्ठा तथा लटरी सञ्चालन गरिरहेको आरोप लगाइएको थियो।

यसका अतिरिक्त पुस्तक प्रकाशक, टीसर्ट विक्रेता तथा अन्य व्यवसायीले पनि आफ्नो पहिचान र व्यक्तित्वको दुरुपयोग गरेको भन्दै उनले त्यस्ता गतिविधि रोक्न अदालतसँग माग गरेका थिए।

सोही वर्षको नोभेम्बरमा अदालतले बच्चनको व्यक्तित्व तथा प्रचारसम्बन्धी अधिकार उल्लङ्घन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। आदेशमा उनको पहिचानको अनधिकृत प्रयोगले प्रतिष्ठामा क्षति पुग्न सक्ने र अपूरणीय नोक्सानी हुन सक्ने विषयलाई ध्यानमा राखिएको थियो।

अदालतमा सुनुवाइका क्रममा केही प्रतिवादीसँग आपसी सहमति भएको जानकारी दिइएको थियो। तर, अमिताभ बच्चनका तर्फबाट केही व्यावहारिक कठिनाइका कारण सहमतिसम्बन्धी सम्झौतामा औपचारिक हस्ताक्षर हुन सकेको थिएन।

त्यसपछि बच्चनका वकिल ध्रुव आनन्दले आवश्यक कानुनी प्रक्रिया पूरा गर्न र सम्झौतालाई अदालतको अभिलेखमा समावेश गर्न थप समय मागेका थिए।

अदालतले नोभेम्बरसम्मको समय दिँदै सहमति प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ। यदि सहमति हुन नसकेमा र अमिताभ बच्चनले मुद्दामा उठाइएका दाबी तथा विषयलाई अगाडि बढाउन चाहेमा आगामी सुनुवाइमा व्यक्तिगत रूपमा अदालतमा उपस्थित हुनुपर्नेछ।

यस मुद्दाले कलाकारको नाम, तस्बिर, आवाज र पहिचानलाई अनुमति बिना व्यावसायिक प्रयोजनमा प्रयोग गर्ने विषयमा कानुनी संरक्षणको महत्त्वलाई पुनः चर्चामा ल्याएको छ।

प्रकाशित: २४ आश्विन २०८३ १५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App