बिहे गरेको २ वर्षपछि यतिका दिन माइत बसेको सीमाका लागि पहिलो पटक थियो। अफिस पनि माइतबाट आवतजावत गर्न असम्भव भएकाले उनले ५ दिनको विदा लिएर नै माइत बस्ने निर्णय गरेकी थिइन्।
माइती गाउँका सबैलाई भेटघाट गर्दा तीन दिनसम्म त उनलाई खासै केही फरक परेन। समय बितेको चालै पाइनन्। चौथो दिनका दिन उनले आफ्नो फेसबुकमा आफ्नो पतिको फोटो राखेर स्ट्याटस लेखिन्।
"मिस यु अ लट्स।" फेसबुकमा आफ्नो पतिको फोटो पोष्ट गर्दै लेखिन् उनले।
"ओइ केटी! सुन् त त्यो सीमाको बूढो विदेश गएको हो र?" राधाको जिज्ञासा थियो।
"केको विदेश जानू? ऊ नै माइत आएर होला नि!" राधाको सहज उत्तर थियो यो।
"तँ पनि सत्य युगमै छस् क्या ! आफ्नो बुढा छोडेर माइत बस्न परेपछि त्यत्ति पनि नलेख्ने त?" उत्तर थपिथपाउ थियो।
"हैन माइत आउँदा पनि त्यतिविधि गर्नुपर्छ र?" थप जिज्ञासा थियो उनको।
"माइत आउँदा बुढासँग ठुस्सिएर घुर्की लाउन, केही चाडपर्व परेर जाँदा र आफ्नो खुसीले जाँदा पो रमाइलो मान्छन्। यो बाध्यताले मलमास बार्न परेकाले हो नि बुढासँग छुट्टिन परेको। अनि लेख्न परेन त? तँ पनि पुरानो जमानाको कुरा गर्छेस् क्या!" थप स्पष्ट पार्दै भनिन् राधाले।
गीताले टाउको हल्लाउँदै भनिन्,"एए बुझेँ।"
प्रकाशित: १७ श्रावण २०८३ ०९:४४ आइतबार





