मेलामा,
पुस्तकहरू छरिएका छन् टेबलभरि
बुद्ध, शालिग्राम, टैगोर, झाँक्री, रिमाल, आइरिस लेखकहरू...
कुनचाहिँ टिपेर म पल्टाऊँ पाना
मेरा आँखा तिर्मिराइरहेछन्
मलाई चुनौती दिन्छन्
किताबका आवरण पृष्ठहरू
म तिनको सतह मात्र छोएर तृप्ति लिन खोज्छु
पुस्तकहरूसँग मलाई डर लाग्छ
कि पल्टाउन थालेपछि
म छाड्नै सक्दिन पानाहरू
र यिनले मेरा सारा समय खाइदिन्छन्,
सबै कामहरू अलपत्र पारिदिन्छन्
मेरा भावना, कल्पना, चिन्तन–मनन
सबै खोसिइन्छन् निदर्यतापूर्वक
समयका हत्यारा पुस्तकहरू–
यिनै हुन् मेरा मित्रहरू पनि
र म आफैँ सङ्ग्रहहरू प्रकाशन गरेर
सबैको समय चपाउने कोसिस गर्छु ।
२०८३ जेठ १८ गोपालप्रसाद रिमालको १०९ औँ जन्मदिन
प्रकाशित: ५ असार २०८३ १२:२१ शुक्रबार





