हालै भारतको असममा बाढीले सयौँ परिवार घरबिहिन भए। कतिपयले ज्यान समेत गुमाएको अवस्थामा बलिउड कलाकार असमवासीको सहयोगका लागि एकजुट भएकाछन्।
रिर्पोट अनुसार सलमान खानले असम बाढीबाट प्रभावित परिवारको पुनर्वासका लागि ५०० वटा सेमी–पर्मानेन्ट घर निर्माणमा सहयोग गर्ने निर्णय गरेका छन्। उनी ग्लोबल सिख्स संस्थासँग मिलेर यो अभियानमा जोडिएका बताइएको छ।
असमको शिवसागर जिल्लाको नेपाली खुटी गाउँमा अहिलेसम्म करिब २२० वटा घर निर्माण भइसकेका छन्। बाँस र टिनको छानाबाट बनाइने प्रत्येक घरको लागत करिब ३५–४० हजार रुपैयाँ पर्ने बताइएको छ।
त्यही अभिनेता रणदीप हुड्डा पछिल्लो केही दिनदेखि असमका कतिपय परिवारलाई सहयोगका कार्यमा सक्रिय छन्। उनले प्रभावित परिवारका लागि खाना वितरण गरिरहेका छन् तथा मानवता सबैभन्दा माथि रहेको उनले उल्लेख गरेका छन्।
त्यसैगरि, भूमि पेडनेकर पनि असमका बाढी प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारसँग भेटघाट गर्नुका साथै आवश्यक राहत सामग्री वितरण गरेकी छन्।
आलिया भट्ट, गुरु रन्धावा र राशि खन्ना लगायतका बलिउड कलाकारहरूले असमका बाढीपीडित परिवारलाई सहयोग गर्न सर्वसाधारणसँग अपिल गरेका छन्।
प्रकाशित: २२ श्रावण २०८३ १३:३२ शुक्रबार





