१० श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

धर्मेन्द्र प्रधानको राजीनामापछि बलिउड कलाकारले दिए विद्यार्थीलाई बधाई

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि विद्यार्थी आन्दोलनको समर्थनमा बलिउड तथा मनोरञ्जन क्षेत्रका धेरै चर्चित कलाकारहरूले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्।

आलिया भट्ट, प्रियंका चोपडा, शबाना आजमी, प्रकाश राज, स्वरा भास्कर, तिलोत्तमा शोम, भूमि पेडनेकर, हुमा कुरैशी, ईशान खट्टर, अभिषेक बनर्जी, वीर दास, समय रैना, विजय वर्मा, रीमा कागती र जोया अख्तरलगायत कलाकारहरूले विद्यार्थीहरूलाई बधाई दिएका छन्।

कतिपय कलाकारहरूले यसलाई युवापुस्ताको जित र लोकतन्त्रको विजयको रूपमा व्याख्या गरेका छन् भने केहीले शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्।

आन्दोलनको सुरुवाती समयदेखि नै अभिनेता प्रकाश राज विद्यार्थीहरूको समर्थनमा थिए। धर्मेन्द्रको राजीनामा पछि भने उनले विद्यार्थीहरूलाई बधाई दिँदै सोनम वाङचुक र आन्दोलनमा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे। उनले विद्यार्थीहरूले सरकारलाई पनि जनशक्तिको अगाडि झुकाउन सकिने प्रमाणित गरेको उल्लेख गरे।

हास्य कलाकार वीर दासले विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनीहरूले लोकतन्त्रप्रतिको विश्वासलाई पुनर्जीवित गरेको बताए। उनले विद्यार्थीहरूलाई आफ्नो सफलताको उत्सव मनाउन आग्रह गरे।

कमेडियन समय रैनाले छोटो सन्देशमार्फत विद्यार्थी आन्दोलनप्रति समर्थन जनाउँदै उनीहरूलाई अझ धेरै शक्ति मिलोस् भन्ने शुभकामना दिए।

अभिनेता अभिषेक बनर्जीले नयाँ पुस्तालाई बधाई दिँदै एकतामै शक्ति रहेको र विभाजनले कमजोरी ल्याउने सन्देश दिए।

अभिनेत्री प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत विद्यार्थी आन्दोलन र नयाँ पुस्ताको प्रशंसा गरिन्। उनले आन्दोलनसँग सम्बन्धित पोस्टहरू साझा गर्दै विद्यार्थीहरूको सफलताप्रति खुसी व्यक्त गरिन्। साथै, उनले सोनम वाङचुकको तस्बिर स्टोरीमा पोस्ट गरेकी थिइन्।

फिल्म निर्माता रीमा कागतीले नयाँ पुस्तालाई ‘आशाको सुनामी’को संज्ञा दिइन् भने जोया अख्तरले लोकतन्त्रमा जनताको शक्तिको महत्त्वबारे उल्लेख गरिन्। भने ईशान खट्टरले यसलाई भारत र लोकतन्त्रको जितको रूपमा व्याख्या गरे।

शबाना आजमीले विद्यार्थीहरूको प्रशंसा गर्दै धर्मेन्द्र प्रधानको राजीनामा विद्यार्थीहरूको जिततर्फको पहिलो कदम भएको बताइन्।

उनले शिक्षा प्रणालीमा व्यापक सुधार र विद्यार्थीहरूको माग पूरा नभएसम्म आन्दोलन जारी रहनुपर्ने धारणा व्यक्त गरिन्।

अभिनेता विजय वर्मा, सान्या मल्होत्रा, रिद्धि डोगरा, आयशा खानलगायत कलाकार तथा डिजिटल क्रिएटरहरूले पनि विद्यार्थी आन्दोलनलाई समर्थन गर्दै शिक्षा प्रणालीमा पारदर्शिता, जवाफदेहिता र विद्यार्थीहरूको आवाजलाई सम्मान गर्नुपर्ने आवश्यकता औंल्याए।

विजय वर्माले इन्स्टाग्राममा लगातार दुई पोस्ट गर्दै सरकारमाथि व्यंग्य गरेका छन्। उनका पोस्टहरू सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा छन्।

स्वरा भास्करले विद्यार्थीहरूको जितको भिडियो साझा गर्दै यसलाई आन्दोलनको ठूलो सफलता बताइन्। 

प्रकाशित: १० श्रावण २०८३ १२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App