भुवन केसीको निर्देशन तथा अभिनय रहेको चलचित्र ‘बाटुलो जुन’ को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो।
चलचित्रमा अनमोल केसी शीर्ष भूमिकामा छन्। उनलाई प्रिन्सी खतिवडा र न्यान्सी खड्काले साथ दिएका छन्। प्रिन्सीका लागि भने यो डेब्यु चलचित्र हो।
सोसल ड्रामा तथा प्रेमकथामा आधारित चलचित्रको छायांकन पोखरा, रुकुमलगायत पश्चिम पहाडी जिल्लामा गरिएको छ। सार्वजनिक पोस्टरमा अनमोल र प्रिन्सीलाई पौराणिक पहिरनमा प्रस्तुत गरिएको छ। पोस्टरको पृष्ठभूमिले चलचित्रको कथा वर्तमान समयभन्दा धेरै अघिको कालखण्डमा आधारित रहेको संकेत गर्छ।
चलचित्रमा भुवन केसीसँगै प्रकाश घिमिरे, रेयर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय रहेको छ।
‘बाटुलो जुन’ प्रेम, सम्बन्ध र सामाजिक परिवेशलाई केन्द्रमा राखेर निर्माण गरिएको निर्माण पक्षले जनाएको छ।
प्रकाशित: ७ आश्विन २०८३ ११:४० बुधबार




