नायिका सुहाना थापाले चलचित्र ‘बा: एक योद्धा’ केही फरक रहेको बताएकी छिन्। भदौ १९ गतेबाट रिलिज हुने उक्त चलचित्र हेर्न आग्रह गर्दै यसमा केही फरकपन रहेको बताएकी हुन्।
यो चलचित्र र यसमा रहेको पात्र आफ्ना लागि भिन्न रहेको भन्दै उनले सन्तानका लागि बाबा–आमाले गरेको त्याग सिनेमामा रहेको बताएकी छन्।
'हामी सबैलाई हाम्रो बाबा–आमाले हाम्रा लागि गरेको सम्झौता याद हुन्छ। तर, हामी त्यसलाई बाबा–आमाका अगाडि खुलेर भन्न सक्दैनौँ,' सुहाना भन्छिन्, 'मेरो पात्रले मेरो लागि मेरो बुबाले कसरी सम्झौता गर्नुभएको छ भनेर डिफाइन गरिदिएको छ।'
चलचित्रमा केही रमाइलो र कनेक्ट गर्ने कुरा रहेको भन्दै सबैलाई चलचित्र मनपर्ने सुहानाको विश्वास छ। दर्शकलाई आफ्नै कथाजस्तो लाग्ने र बाँधेर राख्ने भएकाले ‘बा: एक योद्धा’ हेर्न उनको आग्रह छ।
भदौ १९ गते रिलिज हुने ‘बाः एक योद्धा’ नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा: एक योद्धा’को मुख्य कथा रहेको बताइएको छ।
यो चलचित्रमा सुहानाका अलावा दिव्यदेव पन्त, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो।
प्रकाशित: ७ भाद्र २०८३ ११:०८ आइतबार





