६ मंसिर २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘औँसीको जून’ अन्धकारमा आत्मबोधको जून

पुस्तक

प्रिय स्वतन्त्र नायक,

जसले जति आलोचना तिम्रो गरे पनि,

ती कपोलकल्पित भ्रमहरूलाई चिरी,  

तिमी हुन सक्दैनन्।

तिम्रो प्रेम गीत होउपन्यास,

तिम्रो आत्माको प्रित हो पुस्तक,

तिम्रो ज्ञानको दिप हो यो कृति,

समग्र समाजकोआयाम हो,

‘औँसीको जून।’

चन्द्रलाल तामाङ नेपाली साहित्यका एक उज्ज्वल नक्षत्र हुन्। खोक्सिनाथ, गोलन्जोर ४ सिन्धुलीमा पिता धर्म सिं तामाङ तथा माता सुकुमाया तामाङका सुपुत्रका रूपमा जन्मेका उनी नेपाली भाषा साहित्यका सक्रिय कवि, गीतकार, समीक्षक तथा उपन्याकार हुन्। १ दर्जन सम्मान तथा म्युजिक अवार्ड समेत प्राप्त गर्न सफल उनी विभिन्न संघसंस्थामा आवत्त छन्। औँसीको जून उनको यसैको उपज हो। यो उनको प्रकाशित पहिलो उपन्यास हो।

विषयप्रवेश: समय, समाज र साहित्यको अन्तर्सम्बन्ध

साहित्य समाजको ऐना मात्र होइन, त्यसको अन्तरचेतना, अन्तर्विरोध र सम्भावित रूपान्तरणको सृजनात्मक अभिलेख पनि हो। समयले निर्माण गरेका सामाजिक संरचना, राजनीतिक विसङ्गति, मानवीय सम्बन्धका जटिलता र व्यक्तिको अन्तर्मनमा उत्पन्न द्वन्द्वलाई साहित्यले कलात्मक अभिव्यक्ति प्रदान गर्छ। यस अर्थमा चन्द्रलाल तामाङको पहिलो प्रकाशित लघुउपन्यास ‘औँसीको जून’ समकालीन नेपाली समाजका सामाजिक, राजनीतिक र मनोवैज्ञानिक पक्षलाई निजी अनुभव र नैतिक द्वन्द्वमार्फत प्रस्तुत गर्ने कृति हो। यसको मूल्याङ्कन गर्दा कृतिले उठाएका प्रश्नसँगै तिनलाई प्रस्तुत गर्ने कलात्मक प्रभावकारिता र सीमासमेत विचार गर्नुपर्छ।

यस उपन्यासको महत्त्वपूर्ण घटनाहरूको प्रस्तुतीकरणमा मात्र सीमित छैन। यसले घटनाभित्र लुकेको मानवीय मनोविज्ञान, आवेगबाट उत्पन्न हुने विनाशकारी प्रवृत्ति र आत्मबोधबाट सम्भव हुने रूपान्तरणलाई अन्वेषण गर्छ।

विशेषतः प्रेम, विश्वासघात, प्रतिशोध, यौनिकता, क्षमा र आत्मालोचनाजस्ता विषयलाई सामाजिक द्वन्द्वको पृष्ठभूमिमा प्रस्तुत गर्दै उपन्यासले एउटा गम्भीर प्रश्न उठाउँछ- मानिसको वास्तविक विजय अरूमाथि प्राप्त हुने प्रतिशोधमा निहित हुन्छ कि आफ्नै अहङ्कार र आवेगलाई परास्त गर्ने विवेकमा? यद्यपि यस्तो नैतिक निष्कर्षको प्रभाव पात्रहरूको व्यवहार, कथानकको स्वाभाविकता र पीडित पक्षका अनुभव कति विश्वसनीय रूपमा प्रस्तुत भएका छन् भन्ने कुरामा निर्भर हुन्छ। यही प्रश्नको कलात्मक तथा नैतिक अन्वेषण ‘औँसीको जून’ को केन्द्रीय वैचारिक आधार देखिन्छ।

औँसीको जूनभित्रको सन्देश

समयसँगको संवाद यस उपन्यासको मुख्य सन्देश हो। उपन्यासकार तामाङ वास्तवमा समकालीन नेपालको सामाजिक द्वन्द्वसँग प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न भएका एक व्यक्ति हुन्। यस्तै नेपाली समाजको बदलिदै वा फेरिँदै गएको सामाजिक मनोविज्ञानसँग भूक्तभोगी प्राणी लेखक स्वयं हो। सामाजिक तीव्र उथल पुथल वा परिवर्तनहरू हुँदा लेखक पनि समाजको सामाजिक प्राणी भएकाले न मौन बस्न सक्छन्, न तटस्थ नै हुन सक्छ।

हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक, प्रशासनीक, वातावरणीय मूल्य, मान्यता, आदेश र सौन्दर्य निरन्तर फेरिदै जानुमा पनि हाम्रो राजनिति नै प्रमुख आधारहरू हुन्। नायक तथा पात्रहरूले निभाएका भूमिकाले नेपाली समाजमा अग्रगामी प्रभाव पार्छ, पार्छ नै।

त्यस्तै ज्ञानको भूगोल विस्तार हो, चेतनाको स्तर हो, मान्छेभित्र रहेको क्षमता हो, उनको यो उपन्यास। ती जीवन दर्शनका विविध भूमिकालाई उतारी त्यसबाट पर्ने असर, मूल्य–मान्यता, विश्वास, स्वभावको उपज हो, उनको यो चारित्रिक उपन्यासको उपन्यास।

शीर्षक औँसीको जून भनेर उनले यो उपन्यासको नामाकरण किन गरे होला भनेर मेरो मनमा एकप्रकारको प्रश्न चिन्ह खडा भयो। औँसीको रातको निस्पट्ट अँध्यारोमा प्रकाशको सानो झिल्को भएपनि आफ्नो जीवनमा खोज्ने काम लेखकले गरेका हुनाले यसको नाम सही राखेका हुन् कि जस्तो मलाई लाग्यो।

औँसीको जून शीर्षक अर्थगर्भित र प्रतीकात्मक छ। औँसी अन्धकारको बिम्ब हो भने जून प्रकाश, आशा, चेतना र सम्भावनाको प्रतीकका रूपमा पढ्न सकिन्छ। यी दुई विपरीत अर्थधाराको संयोजनले जीवनको अन्धकारमय अवस्थाभित्र पनि उज्यालोको सम्भावना रहन्छ भन्ने संकेत गर्छ। औँसीको रातमा पूर्णचन्द्र देखिँदैन। त्यसैले शीर्षकलाई यथार्थको शाब्दिक वर्णनभन्दा प्रतीकात्मक अर्थमा ग्रहण गर्नु उपयुक्त हुन्छ। यहाँ जून कुनै बाह्य आकाशीय पिण्ड मात्र होइन, त्यो व्यक्तिको अन्तः करणमा जागृत हुने विवेक, पश्चात्तापबाट जन्मिने चेतना र निराशाको गर्भबाट पलाउने आशाको रूपक हो। त्यसैले मानिसको जीवन निराशामा अल्झे पनि आशाको खोजीमा निरन्तर रहिरहेको हुन्छ।

प्रतिकूलताको बोध अनुकूलताको परीक्षामा हुन्छ, प्रतिक्षामा हुन्छ। यसैलाई यस कृतिले उतारेको छ। नेपाली समाजको अत्यन्त तितो यथार्थपरक प्रतिबिम्बलाई खोज्दै र लेख्दै प्राकृतिक रूपमा औँसीमा जून नउदाए पनि उपन्यासभित्र भने जीवनको अन्धकारमा जून उदाएको छ।

जनयुद्धको चित्रण

यस उपन्यासले २०५२ साल देखिको दश वर्षीय जनयुद्ध र २०६२–६३ को जनआन्दोलन र त्यसपछिको शान्ति प्रक्रियाको व्यवस्थापन गर्न नेपाल सरकार र राजनेताहरूले नसक्दा त्यसबाट नेपाल राष्ट्र र नेपाली समाजमा परेको असरबारे यस उपन्यासले खुलेरै अभिव्यक्त गर्ने काम गरेको छ।

त्यति मात्र होइन, यसले ल्याएको सामाजिक चेतनाको हस्तक्षेप र मनोवैज्ञानिक एवं दार्शनिक धरातललाई पनि छताछुल्ल पारेको छ। प्रेम, संर्घषका रूपको बारेमा पनि यसमा गहिरो दर्शन छ।

जीवन

जीवन के हो? कसैलाई थाहा छैन। जीवन जसरी नि चल्छ। प्रत्येक मान्छेको भोगाईको निश्चित परिधि विज्ञानले पनि तोक्न सकेको छैन। न त ज्ञानले नै सकेको छ। तसर्थ लेखकले पनि कसरी नै सक्थेर। समय, अवस्था र फेरिँदो चिन्तनले मानिसको व्यवहार, सोच निरन्तर रूपमा फेरिन्छ। प्रेम, घृणाका कारण, भ्रम र यथार्थबिचको द्वन्द्वको कारण, परिस्थिति र परिबन्दको कारण मानवीय चरित्रमा आएको मनोवैज्ञानिक बदलाब नै यस उपन्यासको जीवन्त पक्ष हो। मूलतः यो नै जीवलगत सत्य हो।

उपन्यासले खडा गरेका गम्भीर प्रश्नहरू

औँसीको जून उपन्यास आकारमा सानो भए पनि यो आफैमा पूर्ण छ। यस उपन्यासको प्रमुख पात्र (एक) आफ्नो अहङ्कारलाई मानवतामा प्रकट गरेर समाजमा मानवीय सन्देश सम्प्रेषण गर्ने पात्र हो।

नेपाली समाज ढोङ्गी, आडम्बर, अहङ्कारी समाज हो। यसै समाजका पात्रहरू नै यस उपन्यासका पात्रहरू हुन्। यी पात्रको अहङ्कारलाई बुद्धिमा परिणत गरेर अहङ्कार समक्ष आत्मसमर्पण गर्ने परिस्थितिको सिर्जना गर्नु नै लेखकको ठुलो प्रतिफलको उपज हो। नेपाली समाजको तीतो यथार्थलाई सफलताका साथ प्रकट गर्नु नै उपन्यासले खडा गरेको गम्भीर प्रश्नहरू हुन्।

आफ्नो सोचको कारण, मस्तिष्कको कारण मान्छे अत्यन्त चन्चले प्राणी हो। तसर्थ हरेक मानिसमा राम्रो र नराम्रो सोच हुन्छ। यसले गर्दा ऊ समाजमा नायक वा खलनायकका रूपमा प्रस्तुत हुन्छ। तत्क्षण वा पलमा को, कसरी प्रकट हुन्छ भनेर यसै भन्न सकिँदैन। तसर्थ कुनै क्षण को, कसरी प्रकट हुन्छ भन्ने प्रश्नले प्रत्येकको चरित्रलाई टोकिरहेको हुन्छ।

यसरी आवेग र विवेकको समायोजन कसरी गर्ने भन्ने सोच ल्याएर त्यसलाई कर्मको रूपमा उतारेर ठोस परिणाम दिनु नै यो पुस्तकले उब्जाएको गम्भीर प्रश्नहरू हुन्।

सोच्ने चरण

नारायण वासु यस उपन्यासको प्रमुख नायक पात्र हुन्। आफूले आफ्नो श्रीमती गीतालाई र सुवासलाई धोकेबाज ठान्छ। प्रेममा धोका दिनेलाई र अपराधीलाई दण्ड दिनु नै आफ्नो पुरुषार्थ ठान्छ। यसै कारणले ती दुवैको हत्यालाई नै न्यायसंगत सम्झी उनीहरूको हत्या गर्ने कल्पना नारायणले मनमनै बुन्छ तर सोचाइको क्रममै उनको मनभित्र डरत्रास प्रकट हुन्छ। यसै डरले गर्दा उसले यस्तो अपराध नगर्ने पूर्वाभास गर्छ, आत्मा आलोचना गर्छ।

विवेक पुर्‍याई अन्तर मनको आवाज सुन्छ। आफू मलेसियामा रहँदा गरेका तमाम कर्तुतहरू उनको मनमा झलझली आउन थाल्छ। आफ्नै मनमा उब्जेको आत्मकथन, मनन् र अन्तरद्वन्द्वमा मडारिँदै अन्ततः उनले यसै कुरालाई बोध गर्दै न्याय संगत हत्या होइन बरू कायर्ता हो भन्ने आत्मबोध गर्छ। यसैको परिणाम अरूलाई काट्न बोकेका खुकुरी उनको हातबाट खस्छ र आफूले पनि यस्तै पाप गरेको यौन सम्भोगलाई सम्झी आत्माअपलोचना र पश्चाताप गर्छ।

कर्मको चरण

नारायण वासु नायक पात्र आफैले भन्छ कि ‘मानिसले आवेगमा गल्ती गर्छन् तर गल्ती गर्नु समस्याको समाधान होइन। यसले त उल्टै समस्या निम्त्याउन सक्छ। गल्तीलाई माफ गरेर नयाँ जीवन सुरू गर्न सक्नु नै असली मानवता हो।’

यो उपन्यास पुरुषवादी अहङ्कारको रुपान्तरण हो, पछुतो चरणको उपलब्धि हो, आत्मसमर्पण र प्रेमद्वारा उद्धार उपन्यासको मुख्यतम् उपलब्धि हो। यसरी सोच्ने चरणमा पछुतो गरी आत्माको आवाजलाई सुन्नु नायक पात्रको सबैभन्दा ठुलो क्रान्तिकारी चेत हो।

विषय र आयाम

आयाममा सानो छोटो भएतापनि यो उपन्यास औँसीको जूनले विषयचाहिँ धेरै नै बोकेको छ। यस उपन्यासमा लेखक आफैले देखेको, सुनेको, भोगेको घटना, विषयवस्तुलाई समेटिएका छन्। यो उपन्यास पढ्दा कतै पनि अति मस्तिष्क लडाउनु पर्दैन। लेखक वा नायक पात्रले २०५२ साल देखि सुरु भएको माओवादी द्वन्द्व र त्यसको असर, जनयुद्धमा संलग्न विद्यार्थी, जनयुद्धबाट उत्पन्न वितृष्णा, जनयुद्धका कारण शिक्षा प्राप्तिबाट वञ्चित बालबालिकाको जीवन, अन्योल भविष्य, काम पाउन गर्नुपरेका भनसुन तथा प्रेम पाउन गरेका संर्घष समेटिएको छ।

नारीप्रेमका लागि पुरुषले गरेको संर्घष, बदला लिन माओवादी बनेको प्रसङ्ग, जनयुद्धका लडाकुले बाँच्नका लागि गर्नुपरेको संर्घषदेखि लिएर युद्धले आम मानिसमा पारेको मानसिक, सामाजिक, व्यक्तिगत, राजनैतिक असर र परिवर्तनलाई पनि उपन्यासले कोट्याएको छ।

मिथक र आदेशको प्रयोग

गणतन्त्र प्राप्तिपछि नेपाली परिवार, समाज र देशमा देखिएका विकृति–विसंगतिले मानिसमा नैराश्य छाएको कुरालाई पनि उपन्यासकारले वस्तुगत रूपमा चित्रण गरेको पाइन्छ। यसमा पुरुषबाट यौन सिकार भएकी नारीको पीडा, विदेश जाँदा श्रीमान् र श्रीमती दुवैको परस्त्री र परपुरुषसँगको सहवास, त्यसबाट उत्पन्न लैंगिक सोच, बिछोड आदिलाई देखाएर लेखकले वर्तमान समाजलाई आदर्शतर्फ उन्मुख गर्ने प्रयत्न गरेका छन्।

लेखकले इन्द्रीय सुख र प्रेमलाई अत्यन्त फरक रूपमा देखाएका छन्। यो नै उपन्यासको मुख्य विषय वस्तु वा प्रमुख मियो वा कडी हो। त्यसैले पनि नारी तथा पुरुषलाई आदर्श तथा स्वीकारतिर लगेर उपन्यासको समापन गर्नु नै लेखकका एक मात्र उपन्यासको उपलब्धि हो।

कथाका पात्र

उपन्यासमा यथेष्ट पात्रहरू छन्। नारायण वासु, गीता, सुवास, बागीना, हेमा, हेडमास्टर, आदिआदी तर सबै पात्र गतिशील छन्, सबै पात्र प्रगतिशील सोचका छन्। विषयहरू पनि यस उपन्यासका पात्र अनुरूप व्यापक र फरकफरक छन्। यति भएर पनि उपन्यासको केन्द्रीय कथानक भने अत्यन्त सरलसँग सल्ल बगेका छन्।

पाठकले उपन्यासलाई होइन, उपन्यासले पाठकलाई नियन्त्रणमा राख्छ। यो उपन्यास सामाजिक उपन्यास नै हो। तसर्थ नेपाली समाजको कथानक नै यस उपन्यासको प्रमुख विषयवस्तुहरू हुन्। यसरी नितान्त मौलिक, ज्ञानवर्द्धक र आदेशनात्मक समाजको परिकल्पना नै उनको मुख्य सफलता समेत हो।

नारीप्रतिको दृष्टिकोण

’नारी केवल शरीर होइन, एक गहिरो, उज्यालो र क्षमाशील आत्मा हो। त्यही क्षण, औँसीको अन्धकार जस्तो मेरो जीवनमा एक जून उदाएको थियो, शान्त र पुर्नजन्म जस्तो उज्यालो।’

यो हो, आफ्नो उपन्यास औँसीको जूनमार्फत उपन्यासकार लामाङले व्यक्त गरेको नारीप्रतिको दृष्टिकोण। यी माथिका भावहरू पढ्दा उनको नारीलाई हेर्ने दृष्टिकोण अत्यन्त सकारात्मक भएको देखिन्छ। नारीलाई एक खेलौना, शरीर सुखभोगको साधन ठान्नेहरूका लागि गतिलो झापट हानेको उनको यो उपन्यासले नारी सम्बेदनशील, उज्ज्वल र क्षमतावान् आत्माको रूपमा उजागर गरेको पाइन्छ।

नारी जननी, पालनकर्ता र प्रकाशपुञ्ज हुन् र जीवन चक्र र सृष्टि चक्र नारी र पुरुषको सहअस्तित्व विना सम्भव छैन भन्ने कुरामा लेखक स्पष्ट छन्। त्यसैले यौन सुखानुभूतिमा नारी पुरुषको समान जैवीक अधिकार हो। नारीले पनि पुरुषले सरह काम, कर्तव्य, क्षमता प्रदर्शन गर्न सक्ने भएकाले इन्द्रीय सुख प्राप्तिमा समान अधिकार हुनुपर्ने लेखकको स्पष्ट मान्यता देखिन्छ। उपन्यासको सकारात्मक परिवर्तनकारी क्षमता पनि यीनै हुन्।

अन्त्यमा औँसीको जूनले मानिसलाई अरूको अन्धकार खोज्नुअघि आफ्नै अन्तस्करणको अन्धकार चिन्न आह्वान गर्छ। प्रतिशोधले क्षणिक सन्तुष्टि दिन सक्छ तर विवेकले दीर्घकालीन मानवीय सम्भावनाको ढोका खोल्छ। अन्धकारको निषेधभन्दा त्यसको बोध, घृणाको विस्तारभन्दा करुणाको विकास र आवेगको विजयभन्दा विवेकको जागरण यस कृतिको मूल जीवनदृष्टिका रूपमा देखिन्छ। तथापि, करुणा र क्षमालाई न्याय, उत्तरदायित्व र स्वायत्ततासँग सन्तुलित नगरेसम्म यस्तो जीवनदृष्टि अधुरो रहन सक्छ।

कृतिले उठान गरेको विषय र आयामहरूले थप व्याख्या र शब्द गठनमा अझै व्यापकता माग्छ। शब्द–रचना, व्याकरणीय पक्षमा सुधारको खाँचो म ठान्छु। अन्तस्करणमा प्रयोग भएका कतिपया शब्दहरू ठेसपूर्ण भएकाले लेखकले आक्रोसलाई नियन्त्रण गर्नु उपयुक्त हुन्थ्यो कि भन्ने लाग्छ।

यौनको विषयमा नेपाली समाज यतिको खुला बहसमा नउत्रिसकेकाले लेखक यौनको मामलामा अलि बढी नै उद्धार भएको भान हुन्छ। समापनमा केही फिल्मी शैली हावी भएको महसुस हुन्छ। आगामी संस्करणहरूमा ध्यान दिन आग्रह गर्छु। यध्यपी, उपन्यास राम्रो बनेको छ। उपन्यासकार तामाङको लेखनयात्रा निरन्तर अघि बढोस्, हार्दिक शुभकामना!

प्रकाशित: ६ मंसिर २०८३ ११:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App