अभिनेता तथा निर्देशक भुवन केसीको निर्देशनमा तयार भएको चलचित्र ‘बाटुलो जून’ को टिजर सार्वजनिक भएको छ।
शुक्रबार दिउँसो निर्माण ब्यानर सनराइज पिक्चरले चलचित्रको प्रचारलाई गति दिने उद्देश्यसहित चलचित्रको पहिलो प्रचार सामग्री सार्वजनिक गरेको हो।
सार्वजनिक टिजरमा अनमोल केसी र प्रिन्सी खतिवडाको रोमान्स देखिएको छ।
टिजरमा गाउँमा अनमोल गाउँलेहरुलाई प्रशिक्षण दिइरहेका छन्। जसको पृष्ठभूमि आज भन्दा ५०, ६० वर्ष अगाडिको रहेको अनुमान गर्न सकिन्छ।
प्रिन्सीलाई उनको विद्यार्थीको रुपमा देखाइएको छ। अनमोल आफ्नै विद्यार्थीसँगको प्रेममा परेको कथालाई चलचित्रमा देखाउन खोजिएको छ। टिजरमा अनमोल र प्रिन्सीको केमेस्ट्री जबरजस्त देखिएको छ।
चलचित्रमा प्रिन्सी र अनमोलको मुख्य भूमिका रहेको छ। उनीसँगै भुवन केसी, न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेयर राई, श्वेता मिश्रलगायत कलाकारको पनि अभिनय छ।
यसमा राजेश श्रेष्ठको छायाङ्कन र कृष्ण भण्डारीको सम्पादन छ। ‘बाटुलो जून’ कार्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
प्रकाशित: १६ आश्विन २०८३ १७:४५ शुक्रबार

