८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

तीन पटक मृत्युको मुखबाट फर्किएका अक्षय कुमार

संघर्षदेखि सफलताका ३५ वर्षे यात्रा

पन्जाबको अमृतसरबाट बलिउड प्रवेश गरेका अभिनेता अक्षय कुमारले तीन दशकभन्दा बढी अवधिमा १५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन्। करिब ३५ वर्षदेखि बलिउडमा सक्रिय उनी अहिले पनि चलचित्रमा व्यस्त छन्। उनका चलचित्र दर्शकमाझ लोकप्रिय मानिन्छन् भने उनी धेरै युवाका लागि प्रेरणाका रूपमा चिनिन्छन्।

बलिउडमा कुनै पारिवारिक पृष्ठभूमि नभए पनि सिक्ने चाहना र परिश्रमले अभिनेता बन्न सकिने उदाहरण उनले प्रस्तुत गरेका छन्। विभिन्न प्रतिवेदनअनुसार एक समय उनका १४ चलचित्र लगातार असफल भएका थिए। तथापि उनले हार नमानी धैर्य र अनुशासनका साथ काम जारी राखे।

सन् १९९१ मा प्रदर्शनमा आएको ‘सौगन्ध’ चलचित्रमार्फत मुख्य भूमिकामा प्रवेश गरेका उनी सुरुवाती वर्षहरूमा एक्सन हिरोका रूपमा परिचित थिए। एक अन्तर्वार्तामा उनले कुनै समय आफूलाई एक्सन भूमिकामा सीमित भएको महसुस भएको बताएका छन्। त्यसपछि विविध विधाका चलचित्रमा काम गर्न थालेका हुन्।

हाल उनी कमेडी, सामाजिक सन्देशयुक्त, देशभक्ति तथा हरर-कमेडी विधाका चलचित्रमा सक्रिय छन्। मार्सल आर्ट पृष्ठभूमिका कारण उनी आफ्ना चलचित्रमा वास्तविक स्टन्ट आफैं गर्ने अभिनेताका रूपमा चिनिन्छन्।

अन्तर्वार्ताका क्रममा उनले चलचित्रका स्टन्टका क्रममा तीन पटक मृत्युबाट जोगिएको अनुभव सुनाएका छन्। 

''सैनिक’ चलचित्रको छायांकनका क्रममा एक भवनबाट अर्को भवनमा हाम फाल्दा उनको हातमा चोट लागेको थियो। त्यस्तै ‘इन्टरनेशनल खिलाडी’ मा गम्भीर दुर्घटनाबाट जोगिएको तथा ‘खेलाडी ७८६’ का क्रममा पनि जोखिमपूर्ण अवस्थाबाट बचेको उनले उल्लेख गरेका छन्।

चलचित्र क्षेत्रमा प्रवेश गर्नुअघि उनले केही समय मोडलिङ गरेका थिए। मासिक पाँच हजार आम्दानी गर्ने क्रममा पहिलो मोडलिङबाट २१ हजार पारिश्रमिक पाएपछि उनी यस क्षेत्रमा आकर्षित भएको बताउँछन्।

आफ्नो करियरमा उनले थुप्रै सफल चलचित्र दिएका छन्। अभिनयसँगै उनी दयालु स्वभावका कारण पनि चर्चित छन्। हाल उनी टेलिभिजन प्रस्तोता तथा चलचित्र निर्माता पनि हुन्। ‘केप अफ गुड फिल्म्स’ मार्फत उनले ४५ देखि ५० चलचित्र निर्माण गरेका छन्, जसमा उनको अभिनय पनि रहेको छ।

सुरुमा आर्थिक उद्देश्यले चलचित्र क्षेत्रमा आएका उनले अहिले विभिन्न पात्रमा अभिनय गर्न पाउँदा सन्तुष्टि मिल्ने बताएका छन्। ५८ वर्षको उमेरसम्म पनि उनी कामप्रति सक्रिय रहेको जनाएका छन्। देशभक्ति विषयका चलचित्रप्रति उनको विशेष रुचि रहेको छ भने ‘केसरी’ उनको मनपर्ने चलचित्र हो।

निर्देशक प्रियदर्शनको प्रशंसा गर्दै उनले नयाँ पुस्ताका निर्देशकलाई सम्पादन सीप अनिवार्य भएको बताएका छन्। हाल उनको हरर-कमेडी चलचित्र ‘भूत बंगला’ प्रदर्शनमा रहेको छ, जसमा उनले १४ वर्षपछि निर्देशक प्रियदर्शनसँग सहकार्य गरेका छन्। साथै, उनको आगामी चलचित्र ‘वेलकम टु जंगल’ छायांकनमा रहेको छ।

प्रकाशित: ७ वैशाख २०८३ १५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App