दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डाको कार सोमबार साँझ हैदराबाद-बैंगलोर राजमार्गमा दुर्घटनामा परेको छ। तीव्र गतिमा आएको बोलेरोले उनको कारलाई ठक्कर दिँदा टाउकोमा सामान्य चोट लागेको हो।
विजयले सामाजिक सञ्जालमा जानकारी दिँदै लेखेका छन्, ‘सबै ठीक छ। गाडी ठोक्कियो तर हामी सबै ठीक छौँ। म गएर ‘स्ट्रेन्थ वर्कआउट’ गरेँ र अहिले घरमा छु। टाउको दुखेको छ। तर यो बिरयानी र राम्रो निद्राले ठीक हुन्छ। तपाईंहरूलाई माया। यो समाचारले दु:खित हुनु पर्दैन।’
विजय आइतबार पुट्टपार्थीमा सत्य साई बाबाको दर्शन गर्न गएका थिए। सोमबार हैदराबाद फर्कँदै गर्दा जोगुलम्बा गडवाल जिल्लाको उन्डावल्ली क्षेत्रमा (एनएच–४४) बोलेरोले उनको कारलाई पछाडिबाट ठक्कर दिएको थियो। त्यसपछि बोलेरो चालक घटनास्थलबाट भागेका थिए। प्रहरीले चालकको खोजी गरिरहेको जनाएको छ।
यस वर्ष जुलाईमा रिलिज भएको विजयको फिल्म ‘किंगडम’ले बक्स अफिसमा कमजोर प्रदर्शन गर्यो। उनी अभिनेत्री रश्मिका मन्दानासँग इन्गेजमेन्ट गरेको कुराले पनि चर्चामा छन्। उनीहरू अर्को वर्ष विवाह गर्न सक्ने जनाइएको छ।
प्रकाशित: २१ आश्विन २०८२ १२:१६ मंगलबार





