भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सौरभ गांगुलीको जीवनमा आधारित फिल्म ‘दादाः द सौरभ गांगुली स्टोरी’ मा बलिउड अभिनेता राजकुमार राव सौरभको पात्रमा देखिने भएका छन्। टाइम्स नाउको रिर्पोट अनुसार ८ जुलाई मंगलबारका दिन सौरभको जन्मदिनसमेत पर्ने भएकाले सोही अवसर पारेर फर्स्ट लुक सार्वजनिक गर्ने तयारी रहेको उल्लेख गरेको छ।
निर्माण पक्षसँग सम्बन्धित स्रोतका अनुसार फर्स्ट लुक सार्वजनिक गर्ने तयारी भए पनि यसबारे निर्माण कम्पनीले भने अहिलेसम्म आधिकारिक घोषणा गरेको छैन।
फिल्मको छायांकन अप्रिल २०२६ देखि सुरु भएको हो र हाल तीव्र गतिमा अघि बढिरहेको छ। छायांकन सुरु भएको जानकारी दिँदै राजकुमारले सामाजिक सञ्जालमार्फत फिल्मको क्ल्यापबोर्ड र ईडेन गार्डेन्सस्थित ‘सौरभ गांगुली स्ट्यान्ड’को तस्बिर सार्वजनिक गरेका थिए।
फिल्मको प्रदर्शन मिति भने अझै घोषणा गरिएको छैन। फर्स्ट लुकसँगै रिलिज मिति वा टिजरबारे पनि नयाँ जानकारी सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २२ असार २०८३ १६:४४ सोमबार





