राष्ट्रवादी चलचित्र निर्माता तथा अभिनेता तथा खोटाङ सेवा समाज नेपालका अध्यक्षसमेत रहेका नबल खड्का लिखित पुस्तक सार्वजनिक भएको छ। खोटाङको खोटेहाङ गाउँपालिका ८ सिम्पानीका स्थायी बासिन्दा चलचित्र नायक तथा निर्माता/निर्देशक खड्काले लेखेको ‘नवल खड्का’ पुस्तक शुक्रबार सार्वजनिक भएको हो।
दार्चुलाको तिङ्करभञ्ज्याङस्थित नेपाल–भारत १ नम्बर सीमास्तम्भमा आयोजित कार्यक्रममा लेखक खड्का, राष्ट्रिय जेन्जी नागरिक अभियान संयोजक सुनिल सिंह, सहसंयोजक अजय सोडारी, सचिव प्रकाश बम र पत्रकार मनोज बडुले संयुक्त रुपमा पुस्तकको विमोचन गरे।
पुस्तक विमोचन गर्दै नायक खड्काले ‘नवल खड्का’ पुस्तकलाई ‘देश सोच्ने एउटा नागरिकले प्रत्यक्ष भोग्नुपरेको बेचैनीको कथा’को रूपमा बुझ्न आग्रह गरे। प्रकाशन संस्था पाईनले पनि पुस्तकमा ‘देशलाई नारामा होइन, नशामा महसुस गराउने तथा सिनेमालाई मिसनमा बुझाउने कथा’ भएको उल्लेख गरेको छ। प्रकाशकले पुस्तकको बाहिरी पृष्ठमै लेखेको छ ‘देशभक्तिको भनाइ र गराइबीचको फरकको कथा हो यो, एक योद्धाको कथा हो, यो तपाईँको नवलको कथा हो।’
सुरुदेखि देशभक्ति चलचित्र निर्माणमा लागेका नायक तथा निर्देशक खड्काले देशभक्तिपूर्ण चलचित्रहरू ‘दश गजा’, ‘भीमदत्त’ र ‘काँडेतार’ जस्ता देशभक्त सिनेमाहरूको निर्माण निर्देशन र अभियन गरिसकेका भने वनप्रकाशित पुस्तक ‘नवल खड्का’ पनि देशभक्तिपूर्ण कार्यकै पछिल्लो निरन्तरता हो। यसअघि रिलिज भएका चलचित्र र यो पुस्तक विक्रीबाट प्राप्त हुने मुनाफाको ५० प्रतिशत हिस्सा नेपालको सीमा सुरक्षा र राष्ट्रिय स्वाभिमानमा खर्च गर्ने घोषणा पनि उनले गरेका छन्।
खड्काले सीमा सुरक्षाका लागि सीमानामा सीसी क्यामेरा जडान, सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने, १६ वर्ष उमेर पुगेका प्रत्येक नागरिकलाई आधारभूत सैनिक तालिम दिनुपर्ने र ‘शान्तिक्षेत्र नेपाल’ घोषणा अभियान चलाउनुपर्ने बताए। सीमामा गाडिएका जङ्गे स्तम्भलाई आधार मानेर नेपालको सबै सीमानामा काँडेतार लगाउन तत्काल सुरु गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।
१ नं. पिल्लर भेटिए पनि शून्य नम्बर स्तम्भ खोज्दा नभेटेको भन्दै त्यसको खोजी गर्न सरकारसँग माग गरे। शून्य नम्बर पिलर कहाँ छ देखाउन सरकारको ध्यानाकर्षण गराउँदै खड्काले महाकाली, लिपुलेक र लिम्पियाधुरावासीसँग त्यहाँको राष्ट्रियता कति चहराएको छ बुझ्न पनि माग गरे। सीमा सुरक्षा, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकताको पक्षमा सशक्त भएर जुट्न देशवासीलाई उनको आग्रह थियो।
तिङ्करक्षेत्रलाई पर्यटन केन्द्र बनाएर फाईदा लिन सकिने संभावना औँल्याउँदै खड्काले तिङ्कर भञ्ज्याङमा भ्यू–टावर निर्माण गरी त्यहीँबाट कैलाश–मानसरोवर दर्शन गराउने धार्मिक पर्यटनको प्रचुर सम्भावना मिलाउन सरकारसँग माग गरे। त्यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरेमा स्वदेशी तथा लाखौँ विदेशी पर्यटक भ्रमणमा आएर वार्षिक अर्बाौँ आम्दानी गर्न सक्ने संभावना उनले देखाए।
जेनजेड अभियान संयोजक सिंहले स्वदेशी चलचित्रको पक्षमा उभिएका खड्का देशप्रतिको सम्मान, जिम्मेवारी र आत्मगौरव भएको बताउदै देशभक्त कलाकारको योगदानलाई राज्यले समयमै चिनेर सम्मान गर्नुपर्ने बताए।
प्रकाशित: २० असार २०८३ १३:३० शनिबार





