७ कार्तिक २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

विगतको पारिवारीक सम्बन्ध सम्झेर भावुक बने आमिर

तीन दशकसम्म काममा पूर्ण रूपमा डुबेर बिताउँदा व्यक्तिगत सम्बन्धहरूलाई समय दिन नसकेको सम्झँदै आमिर खान भावुक भएका छन्।

बलिउड अभिनेता आमिर खान हालै सिंगापुर अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी भएका थिए। त्यहाँ आयोजित एक कार्यक्रममा उनले आफ्नो करियरका क्रममा व्यक्तिगत सम्बन्धहरूलाई पर्याप्त समय दिन नसकेको अनुभव सुनाउँदा स्टेजमै भावुक भएर रोएका छन्।

आमिरले कोरोना महामारीका बेला आफूले बिताएको जीवनबारे गहिरिएर सोच्न थालेको बताए। करिब ३० वर्षसम्म काममै पूर्ण रूपमा डुबेर बिताएको समय सम्झँदा आफूले जीवनका महत्त्वपूर्ण सम्बन्धहरू गुमाएको महसुस गरेको उनले बताए।

कार्यक्रममा आमिरले भने, “कोभिडको समयमा म बसिरहेको थिएँ र सोचिरहेको थिएँ। मेरो जीवनका करिब ३० वर्ष बितिसकेका रहेछन्। एक वर्ष, दुई वर्ष वा पाँच वर्षसम्म आफूले गरिरहेको काममा पागलझैँ डुब्नु ठीकै हो। तर यदि यो क्रम ३० वर्षसम्म चलिरहन्छ भने, तपाईंले आफ्ना सम्बन्धहरू गुमाइसक्नुभएको हुन्छ।”

उनले थपे– “तपाईंका छोराछोरी हुर्किसकेका हुन्छन् र वयस्क बनिसकेका हुन्छन्। त्यसैले मलाई जीवनमा केही महत्त्वपूर्ण कुरा गुमाएको गहिरो अनुभूति भयो।”

यी कुरा सुनाउँदा आमिरको आँखाबाट आँसु झरेका थिए। रिपोर्टअनुसार, उनलाई सान्त्वना दिन दर्शकमध्ये एक जना उठेर टिस्युको बक्ससमेत दिएका थिए।

आमिरले आफूले यस्तो कुरा ५६ वर्षको उमेरमै महसुस गर्न पाएकोमा खुसी व्यक्त गरे। “मलाई यो सोच ५६ वर्षको उमेरमा आएकोमा निकै खुसी लागेको छ। यदि ८६ वर्षको उमेरमा यस्तो महसुस भएको भए, केही गर्नका लागि साँच्चै धेरै ढिलो भइसकेको हुन्थ्यो,” उनले भने।

प्रकाशित: ६ कार्तिक २०८३ १७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App