विषय प्रवेश :
“कवि कविता होस्
कविता कवि होस्
तब पो कविता हुन्छ
शब्द थुपारीकन के हुन्छ
भाव भए पो हुन्छ।”
– पारसमणि प्रधान
माथिका पाँच हरफमा उल्लिखित भनाइलाई सम्झिँदै कवितासङ्ग्रह हावामा अल्झिएको स्वरभित्र प्रवेश गर्दै छु। समकालीन नेपाली कविताको भिडमा सिजन श्रेष्ठ एक सचेत र बौद्धिक शिल्प बोकेर आएका प्रखर युवा कवि हुन्। विसं २०४९ सालमा सङ्खुवासभा जिल्लाको वानामा जन्मिएका श्रेष्ठ हाल नेपाल सरकारको अधिकृतस्तरको पदमा कार्यरत छन्। उनको कवितासङ्ग्रह हावामा अल्झिएको स्वर २०८१ सालमा इटर्नल पब्लिकेसनले प्रकाशित गरेको हो। यो सङ्ग्रह उनको पहिलो कविताकृति हो। दुई दशकदेखि कविता विधामा सशक्त कलम चलाउँदै आएका श्रेष्ठका राष्ट्रियस्तरका विभिन्न पत्रपत्रिकाहरूमा रचनाहरू प्रकाशित भएका छन्। उनको यस कविताकृति पहिलो सङ्ग्रहका रूपमा प्रकाशित भए पनि परिपक्व काव्यात्मक चेतना र अब्बल भाषिक शिष्टता प्रदर्शन गरेका कारण यस कृतिले गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार, २०८१ समेत पाइसकेको छ।
यस कवितासङ्ग्रहको सबैभन्दा सबल पक्ष भनेकै विविध आयाम एउटै केन्द्रीय काव्यदृष्टिभित्र बाँध्न सक्ने कविको अद्भूत क्षमता हो। यस प्रकृतिमय कवितासङ्ग्रहमा जम्मा ५३ थान (कभर पृष्ठमा राखिएको ‘बुकमार्क’ कवितासमेत गरेर) कविताका थुँगाहरू फुलेका छन्। ती थुँगाहरू प्रकृतिका बाह्य दृश्य मात्र होइनन्। प्रकृतिभित्र हुने प्रेम, प्रणय मात्र होइनन्। गाउँ भौगोलिक सिमाना मात्र होइन। विज्ञान आधुनिक शब्दहरूको आडम्बरी विकास मात्र होइन। यी सारा तत्त्वहरू कविका अन्तरमनमा पग्लिएर बनेको सर्वथा नयाँ र गहिरो अर्थको सिर्जना नै हावामा अल्झिएको स्वर हो भन्न सकिन्छ। त्यसैले यस सङ्ग्रहलाई छुट्टाछुट्टै कविताको सँगालो भन्नुभन्दा पनि चेतनाका अनेकौँ उकाली, ओरालीहरू पार गर्दै अघि बढेको एक सघन र आत्मिक यात्रा भन्नु बढी न्यायसङ्गत हुन्छ।
यस कृतिको शीर्षक स्वयम्ले यसको दार्शनिक गहिराइ सङ्केत गर्छ। हावामा अल्झिएको स्वर, कुनै एउटा कविताको नाम होइन। यो त सिङ्गो कृतिको प्राणवायु हो। स्वर जसलाई महसुस गर्न सकिन्छ तर अदृश्य छ। सामान्य नियममा स्वर हावामा बिलाएर जानुपर्ने हो तर यहाँ स्वर अल्झिएको छ। यही विरोधाभासपूर्ण अवस्थाले केही गम्भीर दार्शनिक प्रश्नहरू जन्माउँछ। के बोलिएका शब्दहरू समयसँगै सकिन्छन् त? के स्मृतिहरू साँच्चै अतीत बन्छन्? के भौतिक रूपमा अनुपस्थिति हुनु भनेको पूर्ण रूपमा समाप्त हुनु हो? कि त्यसको पनि एउटा सूक्ष्म उपस्थिति बाँचिरहन्छ? प्रकृतिका अवयवहरू केवल जड वस्तु हुन् कि, तिनको भित्री तहमा मानवीय चेतना र स्मृतिको गहिरो पाटो लुकेको छ? यस सङ्ग्रहका कविताहरूले यस्ता प्रश्नहरूको सजिलै उत्तर त दिँदैनन् तर पाठकका मनमा अर्थका अनन्त तरङ्गहरू पैदा गरिदिन्छन्।
कविताको वास्तविक सामर्थ्य कहिलेकाहीँ शब्दहरूले व्यक्त गरेका अर्थमा भन्दा पनि तिनले उत्पन्न गरेका मौनताको रिक्ततामा लुकेको हुन्छ। हावामा अल्झिएको स्वर कवितासङ्ग्रहको मुख्य काव्यिक विशेषता पनि यही हो। किनकि यस सङ्ग्रहमा उपस्थित काव्यिक अभिव्यक्तिले अपूर्णतालाई पनि नयाँ अर्थको सम्भावनामा बदल्ने सामर्थ्य राखेको छ। अब केही बुँदागत रूपमा चर्चा गरौँ।
प्रकृतिको दृश्यबाट चेतनाको भूगोलतर्फ :
कवि सिजन श्रेष्ठको कवितासङ्ग्रहभित्र प्रकृतिको उपस्थिति परम्परागत काव्यलेखन जस्तो बाह्य सजावट वा पृष्ठभूमिको दृश्यचित्रमा मात्र सीमित छैन। यस सङ्ग्रहमा खोलो, झरी, हावा, पहाड, हुस्सु र बाटो जस्ता प्राकृतिक अवयवहरू जड वस्तुका रूपमा छैनन्। बरु कविको आन्तरिक, मानसिक संसारका सक्रिय र गतिशील पात्रका रूपमा एकाकार भएर उभिएका छन्। यसको जीवन्त उदाहरण ‘उड्ने खोलो’ कविता हो। जहाँ खोलो बग्ने पानीको भौतिक स्वरूप मात्र नभएर, बालचेतनाले आफ्नो असीमित कल्पनाशक्तिद्वारा रूपान्तरण गर्न खोजेको एक उज्यालो संसार बनेर उभिएको छ। विज्ञान र भौतिक यथार्थको साँघुरो बाटोमा खोलो उड्न सक्दैन तर बालमनको अतियथार्थवादी कल्पना शिल्पले त्यसलाई आकाशमा उडाउन खोज्छ। यही असम्भवभित्रको सम्भावना नै कविको मुख्य काव्यिक सौन्दर्य हो। यस कवितामा उभिएको एक हरफ हेर्दा पनि थाहा हुन्छ,“आकाशमा चराझैँ उडिदिएहुन्थ्यो नि यो डुम्रे खोलो पनि?” (उड्ने खोलो, पृ. २)
‘उड्ने खोलो’ कवितामा बाल्यकालीन स्मृतिको पुनराविष्कार गरिरहँदा कविमा फगत विगतको रोदन वा सतही अतीत स्मृति मात्र भेटिँदैन। बरु त्यहाँ बालमनको नैसर्गिक विद्रोही स्वभाव, प्रकृतिसँगको सघन आत्मीय र स्थापित नियमहरूलाई प्रश्न गर्ने चेतना एकैसाथ मुखरित भएर आउँछ। जस्तै, ‘झरी किन खस्छ ?’, ‘खोलो किन बाटो छेक्छ?’ वा ‘पानीको मामाघर हुँदैन र?’ जस्ता कौतूहलपूर्ण प्रश्नहरूले बाल्यकाललाई केवल सम्झनाको तस्बिरमा मात्र सजाउँदैनन्। बरु मानवीय चेतनाको नवीन क्षण पुनर्निर्माण गर्छन्। यहाँ कुनै प्रौढ कविले बालकलाई बाहिरबाट नियालेर कृत्रिम सहानुभूति दर्शाएका होइनन्। कवि श्रेष्ठ स्वयम् बालक चेतनाको गर्भगृहभित्र प्रवेश गरेर वर्तमानलाई नियालिरहेका छन्।
यसकारण प्रकृति र स्मृतिको अन्तरसम्बन्ध यस सङ्ग्रहमा बाह्य दृश्य र आन्तरिक भावको साधारण सम्मिश्रण मात्र होइन। यहाँ त प्रकृति नै स्मृतिको विशाल भण्डार बनेर आएको छ। एउटा खोलाले सिङ्गो बाल्यकाल बगाएर ल्याउँछ भने एउटा झरीले विगतको घर आँगन जुरुक्कै उचालेर वर्तमानमा राखिदिन्छ। ‘बाटोका पैतालाहरू’ शीर्षक कविता आफैँमा निर्जीव वस्तुमाथि चेतनाको मानवीकरण गर्ने एउटा विशिष्ट र सबल काव्यविम्ब हो। बाटोमा मानिस हिँड्नु स्वाभाविक हो तर बाटोकै पैतालाको परिकल्पना गरेर कविले गतिशीलताको नयाँ आयाम दिनु भनेको काव्यिक वैशिष्ट्य पनि हो। वस्तु र चेतनाबीचको यही परम्परागत सीमालाई भत्काउनु नै यस सङ्ग्रहको विम्बचेतना र काव्यिक मूल प्रवृत्ति हो।
स्मृतिको पुनर्निर्माण र अनुपस्थितिको उपस्थिति :
यस सङ्ग्रहभित्र सङ्ग्रहित प्रणयपरक कविताहरूमा स्मृतिको भूमिका, विगतको धमिलो तस्बिर वा फगत सम्झनामा मात्र सीमित छैन। यहाँ स्मृति नै वर्तमानलाई निरन्तर उद्वेलित र प्रभावित गरिरहने एक सक्रिय एवम् जीवन्त शक्तिका रूपमा क्रियाशील छ। सङ्ग्रहका शीर्षक ‘तिम्रो नाम’, ‘मौन संवाद’, ‘आफ्नै छायाँलाई खसाइहिँडेर’ र ‘शोकाकुल फूलहरू’ जस्ता कविताहरूले मानवीय सम्बन्धमा निर्मित अनुपस्थिति, सम्झना र आत्मसंवादका अनेकौँ गहन तहहरूलाई उजागर गर्छन्। यी कविताहरूमा प्रेमको परिभाषा, मात्रै प्रिय पात्रको भौतिक प्राप्ति वा सामीप्यता मात्र खोजिएको छैन। बरु उसको सघन अनुपस्थितिभित्र पनि आत्मीय सम्बन्धको निरन्तरता र जीवन्त यादलाई स्थापना गरिएको छ। मौन संवादको यस कविता हरफले के भन्छ त!
“फरफराउन छाडेर
किन चुपचाप छ यो लुङ्दर?
तिम्रो कालो कालो कपालजस्तो
यो चिलाउनेको सेतो फूल
किन छ ठ्याक्कै–
तिम्रो नाकको चम्किलो फुलीजस्तो...।” (मौन संवाद, पृ. १४)
कविका लागि प्रिय वस्तु वा पात्रको नाम उच्चारण गर्नु सामान्य र औपचारिक सम्बोधन मात्र होइन। त्यो त अनुपस्थित व्यक्तिलाई स्मृतिको विशाल क्यानभासमा पुन: सशरीर उपस्थित गराउने एउटा काव्यात्मक अनुष्ठान हो। भौतिक शरीर जतिसुकै टाढा भए पनि आन्तरिक स्मृतिको दूरीले आफ्नै अभौतिक भूगोल निर्माण गर्छ। जहाँ प्रेम, शरीरको निकटताबाट माथि उठेर आत्मिक सामीप्यमा रूपान्तरित हुन्छ। यही कारण हो कि, कवि श्रेष्ठका प्रेमिल कविताहरूमा स्थूल स्पर्शभन्दा बढी स्मृतिको सुवास, भौतिक भेटभन्दा बढी प्रतीक्षाको व्याकुलता र प्रत्यक्ष उपस्थितिभन्दा बढी अनुपस्थितिको सौन्दर्य र महिमा प्रखर रूपमा भेटिन्छ।
यस विशिष्ट काव्यचेतनाको अब्बल उदाहरण ‘पानीमा प्रेम’ कवितामा देख्न सकिन्छ। यहाँ बगिरहेको नदीमा पानी छोएर प्रियसम्म आफ्नो भावना प्रवाह गर्ने जुन काव्यात्मक सम्भावना खोजी गरिएको छ, त्यसले पानीलाई केवल प्राकृतिक पदार्थ वा जड तत्त्वमा मात्र सीमित राख्दैन। पानी यहाँ भौगोलिक दूरीलाई विस्थापित पार्ने एउटा अदृश्य र संवेदनशील माध्यम बन्न पुगेको छ। आफूले स्पर्श गरेको पानी प्रियसम्म पुग्छ कि पुग्दैन भन्ने कविको अनुत्तरित प्रश्नले कवितालाई भौतिक यथार्थको धरातलबाट उठाएर अभौतिक र शाश्वत आयाम प्रदान गर्दछ। यही अनिश्चितता नै यस सङ्ग्रहको वास्तविक सौन्दर्य हो।
अझ प्रेमको बहुआयामिक स्वरूप ‘प्रेयसी जाडोलाई’ कवितामा भिन्न ढङ्गले विम्बित हुन्छ। जाडो महिनाको कठोर मौसमलाई प्रेयसीका रूपमा परिकल्पना गर्नु सामान्य मानवीकरण होइन। यो त कविद्वारा ऋतु र मानवीय संवेदनाबीचको दूरी मेटाउने सफल कलात्मक प्रयत्न हो। यहाँ जाडो कुनै मौसमी चक्रवात मात्र नभएर कविको स्मृति र प्रेमसँग एकाकार भएको एक जीवन्त व्यक्तित्व बन्न पुगेको छ। यसरी प्रकृति र मानवीय प्रेमबीचको सघन अन्तरघुलन र संवेदनात्मक सादगीले नै कवि श्रेष्ठको काव्यचेतनालाई परम्परागत र सतही प्रेमकविताको घेराभन्दा निक्कै माथि उठाएर विशिष्ट पहिचान दिएको छ भन्ने प्रष्ट हुन्छ।
मिथकको पुनर्पाठ र वर्तमानको अर्थ :
कवि सिजन श्रेष्ठको कवितासङ्ग्रहमा मिथक, इतिहास र प्राचीन सांस्कृतिक सन्दर्भहरूको उपस्थिति बलियो छ। यस सङ्ग्रहमा अतीतका सम्झना वा ज्ञानलाई काव्यात्मक विम्ब निर्माणमा सजाउन मात्र खोजिएको छैन। कविले प्रयोग गरेका महादेव, भगीरथ, ईश्वर, अशोक चल्ल, सुनकेशरी रानी र पुनखु मैंचा जस्ता पौराणिक तथा ऐतिहासिक विम्बहरू वर्तमान युगको सङ्कट र मानवीय संवेदनासँग जीवन्त संवाद गर्नका लागि नवीन कलेवरमा प्रयोग भएका छन्। प्राचीन आख्यानहरूलाई परम्परागत रूपमै जस्ताको तस्तै दोहोरयाउनु पुनरूक्ति मात्र हो। तर तिनलाई वर्तमान समयका ज्वलन्त सरोकारका ऐना अगाडि उभ्याएर पुन: व्याख्या गर्नु पुन:सिर्जना हो। श्रेष्ठका कवितामा स्थापित मिथकहरू यसै उत्तरआधुनिक पुनर्पाठ र अर्थनिर्माणको दिशातर्फ सचेत हुँदै उन्मुख भएको देखिन्छ।
यस प्रवृत्तिको उत्कृष्ट नमुना ‘उड्ने खोलो’ कवितामा फेला पर्छ। जहाँ पौराणिक मान्यताअनुसार महादेवको जटाबाट गङ्गा अवतरण भएको र देवत्वको मिथकलाई सामान्य मानवको आँसु, सङ्घर्ष र श्रमको ऊर्जायुक्त धरातलसँग नजिक गराइएको छ। यस प्रयोगले पौराणिक आख्यानलाई आधुनिक मानवीय सङ्कल्प र आत्मसम्मानको उचाइमा रूपान्तरित गरिदिएको छ। यस सङ्ग्रहमा देवत्व वा शक्तिको स्रोतलाई कुनै अलौकिक चमत्कारका रूपमा आकाशतर्फ खोजिएको छैन। बरु भुइँमान्छेको निरन्तर कर्मशीलताभित्र अन्वेषण गरिएको छ। पौराणिककालमा भगीरथले कठोर तपस्याद्वारा धर्तीमा गङ्गा अवतरण गराएझैँ, आधुनिक मानवले पनि आफ्ना आँसु र श्रमका झरनाहरूलाई समेट्न सक्ने कडा साधनायुक्त जटा उमार्ने जुन काव्यात्मक परिकल्पना छ, त्यो मिथकको परम्परागत पुनरावृत्ति होइन। त्यो त देवत्वलाई जनस्तरमा ओरालेर गरिएको मिथकको लोकतान्त्रीकरण हो। जसले साधारण मानिसको आत्मबललाई स्थापित गर्छ।
त्यसैगरी ‘काँक्रेविहार’ कवितामा मध्यकालीन सिंजा साम्राज्यका राजा अशोक चल्लसँग जोडिएको ऐतिहासिक स्मृति र भग्नावशेषको सन्दर्भलाई भूकम्पको महाविनाशकारी विम्बसँग अन्तरसम्बन्ध गराएर कविले इतिहासलाई स्थिर, अपरिवर्तनीय र मृत स्मारक मात्र रहन दिएका छैनन्। इतिहास कुनै दस्तावेजमा मात्र सीमित नभइ वर्तमानको काल परिस्थितिसित साक्षात्कार हुनुपर्छ भन्ने गहिरो सन्देश दिएका छन्।
वास्तवमा मिथक तब मात्र कविताको शिल्पभित्र सार्थक रूपमा जीवित र चलायमान हुन्छ जब त्यसले समकालीन युगका विकृति र भोगाइहरूमाथि कठोर प्रश्न उठाउने सामर्थ्य राख्छ। अतीतका कथाहरूले वर्तमानको छातीलाई नछोएसम्म र वर्तमानको स्वरसँग लय नमिलाएसम्म ती केवल निर्जीव दन्त्यकथा वा ऐतिहासिक तथ्य मात्र रहन्छन्। तर कवि श्रेष्ठको समकालीन चेतनामा, मिथकहरूले कविताको पुनर्जन्म गराउँछन् भन्ने विश्वास देखिन्छ। जब मृत समयबाट ब्युँझिएर मिथकले नयाँ जीवन पाउँछ तब दूरगामी अर्थको खोजी गतिशील हुन्छ भन्ने कविको सङ्कल्प कविताका हरफहरूमा पाइन्छ।
विम्बहरूको विस्तार र अर्थको बहुस्तर :
कवि श्रेष्ठको कवितासङ्ग्रहमा सबैभन्दा उल्लेखनीय र बलियो शिल्पगत विशेषता भनेको विम्बविधान हो। तर एउटा विषय के पनि हो भने कविताहरूमा विम्बहरूको बाहुल्य हुनु मात्रै पनि गहन कविताको स्वरूप होइन। यस कवितासङ्ग्रहमा कविले निक्कै सोचविचारका साथ विम्बको स्थान कहाँ र कसरी गर्ने भन्ने पनि ज्ञान दिएका छन्। यहाँ ध्यान दिनुपर्ने गहिरो पक्ष के छ भने प्रयोग भएका विम्बहरू भाव वा विचारको अभाव छोप्न सजाइएका छैनन्। बरु तिनले कविताको मूल भावलाई अझ व्यापक र बहुआयामिक तहमा पुर्याउने गतिशील माध्यमको भूमिका निर्वाह गरेका छन्।
यसको एउटा बलियो उदाहरण ‘ईश्वर फल्ने रूख’ कवितामा देख्न सकिन्छ। जहाँ रूख, फल, भीर, जिन्दगी, सपना र ईश्वर जस्ता बिल्कुलै भिन्न अवयवहरूलाई एउटै कल्पनात्मक र कलात्मक संरचनामा उनिएको छ। ईश्वर फल्ने रूख सतही रूपमा सुन्दा आफैँमा एक अव्यावहारिक र असम्भव दृश्यचित्र हो। तर कविताको आन्तरिक संसारमा यही असम्भव नै नवीन अर्थनिर्माण गर्ने आधार बन्न पुगेको छ। भीरजस्तै ठाडो र कष्टकर जिन्दगी भीरकै रूखहरूमा फल्छ। अनि हावामा बहने तरल सपनाहरू हावाकै रूखमा फल्छन्। यो भनाइको तात्पर्य, भौतिक यथार्थलाई चुनौती हो। यहाँ वस्तुहरूको परम्परागत वा स्वाभाविक सम्बन्धलाई उल्टाइएको छ र त्यही उल्टाइको गर्भबाट कविको नवीन काव्यिक दृष्टि जन्मिएको छ।
वस्तुहरूबीचको यही उल्टो वा अस्वाभाविक सम्बन्ध नै कवि श्रेष्ठको विम्बचेतनाको विशिष्ट र मौलिक प्रवृत्ति हो। सामान्य र परिचित वस्तुहरूलाई जब कविले असामान्य सम्बन्धको परिधिमा राखेर हेर्छन्, तब ती वस्तुहरूको स्थापित र परम्परागत परिचय भत्किन्छ र पाठकका सामु नयाँ अर्थको क्षितिज खुल्छ। त्यसैले सङ्ग्रहभित्रका कवितामा आउने हावाको रङ, पातालमा जून, घामको लगाम, बाटोका पैतालाहरू, समयका खुट्टाहरू र पानीमा कोरेका रेखाहरू जस्ता पदावलीहरू मात्रै सुन्दा प्रिय लाग्ने आकर्षक शब्दसंयोजन होइनन्। यी विम्बहरू त वस्तुको स्वाभाविक आयाममाथि गम्भीर प्रश्न उठाउँदै पाठकलाई एउटा नयाँ बौद्धिक र संवेदनात्मक क्षेत्रमा प्रवेश गराउने कडीका रूपमा कार्य गरेका छन्।
यद्यपि, कवितामा विम्बको अत्यधिक प्रयोग सधैँ गुणात्मक मात्र हुँदैन। यदि विम्बले कविताको अन्तरनिहीत भावलाई थप प्रष्ट र उज्यालो बनाउन सकेन भने, त्यो सिर्जना सहज प्रवाहका लागि गह्रौँ बोझ बन्न जाने खतरा रहन्छ। कवि श्रेष्ठको यस कृतिमा पनि केही ठाउँमा कविता यस्तै शिल्पगत जोखिमको किनारसम्म पुगेको महसुस हुन्छ। विम्बहरू लगातार सघन रूपमा आउँदा कहिलेकाहीँ केन्द्रीय भावलाई पटकपटक दोहोर्या्इरहेको जस्तो भान हुन्छ। तर सङ्ग्रहका अधिकांश र प्रभावकारी कविताहरूमा विम्ब र आन्तरिक भावको दूरी निकै सन्तुलित छ। यही कारणले गर्दा यहाँ विम्ब अर्थ लुकाउने बाहिरी आवरण मात्र नभएर बरु आफैँमा नयाँ अर्थ उत्पादन गर्ने एक जीवन्त गतिशील संयन्त्र बन्न सफल भएको सङ्ग्रह हो भन्न हिचकिचाउनु पर्दैन।
विज्ञान, आधुनिकता र कविको कल्पनाशक्ति :
कवितासङ्ग्रह हावामा हल्झिएको स्वरको एक विशिष्ट आयाम विज्ञानका बहुआयामिक अवधारणा र शब्दावलीसँगको सचेत संवाद हो। कवि सिजन श्रेष्ठका कवितामा इलेक्ट्रोन, कार्बन, म्याग्मा, पोटासियम सायनाइड, आरडिएक्स र टिएनटि जस्ता रूखा र कठोर रासायनिक तत्त्वहरू जब काव्यिक परिधिभित्र प्रवेश गर्छन्, तब ती मात्रै प्राविधिक प्रयोगशालाका नाम र पदार्थ भएर रहँदैनन्। बरु ती वैज्ञानिक तत्त्वहरू मानवीय भोगाइ, संवेग, अस्तित्ववादी छटपटी र भावनाका अनौठा प्रतीकात्मक क्षेत्रहरूमा रूपान्तरित भएर नयाँ अर्थ अलङ्कारको सञ्चार गर्छन्। यही चिन्तन र युगीन चेतनाको द्वन्द्वलाई प्रष्ट पार्दै कवि लेख्छन्–
“उपहारमा कसैले पोटासियम सायनाइड
दिएर गएको होस्
म त्यो पनि पिइदिनेछु।” (मुटु नभएको मानिस, पृ. ९९)
यहाँ कविको यो अभिव्यक्ति केवल कठोर विम्ब मात्र होइन। बरु जीवनप्रतिको एक गहिरो दार्शनिक चेत पनि हो। जसरी पोटासियम सायनाइडको वास्तविक स्वाद र गुण के हुन्छ भन्ने कुरा आजसम्म कसैले पत्ता लगाउन सकेका छैनन् र यो सधैँ रहस्यकै गर्भमा छ ठीक त्यसै गरी मानव जीवनको वास्तविक स्वाद र परिभाषा के हो भन्ने कुरा पनि ठोस रूपमा ठम्याउन कसैले सकेका छैनन्। जीवनको यही अज्ञात, रहस्यमयी र जटिल स्वरूपलाई कविले सायनाइडको विम्बमार्फत प्रस्तुत गरेका छन्। जीवन जस्तोसुकै तीतो वा रहस्यमयी भए पनि त्यसलाई सहर्ष स्वीकार गर्ने र भोग्ने कविको अस्तित्ववादी साहस माथिका पङ्क्तिहरूमा देखिन्छ।
यस्ता नवीन प्रयोगहरू सङ्ग्रहका ‘शत्रुले जिताएर गएको ठाउँमा’, ‘तरङ्गमा प्रेम’ आदि शीर्षकका कवितामा पढ्न पाइन्छ। यी वैज्ञानिक तत्त्वहरूको मिसावटले कवितामा के कुरा स्थापित गर्छ भने, कविका लागि कविता लेख्नु भनेको प्रकृति, प्रेम वा कुनै स्मृतिमा मात्र सीमित हुनु होइन। बरु आधुनिक जीवन र प्रविधिले विकास गरेका वैज्ञानिक शब्दावली तथा चिन्तनहरू पनि उच्चस्तरको काव्य सामग्री बन्न सक्छन् भन्ने पुष्टि गर्नु पनि हो। साथै कवि हुनका लागि कति फराकिलो अध्ययन, साधना र ज्ञानको जरुरत पर्छ भन्ने उदाहरण पनि हो।
विज्ञानले कुनै वस्तुको भौतिक एवम् रासायनिक संरचनाको खोजी गर्छ भने कविताले त्यही वस्तु वा संरचनालाई मानिसको आन्तरिक संसारभित्र पैदा हुने गुणात्मक अर्थको खोजी गर्छ। कवि श्रेष्ठका कविताले यी दुई बिल्कुलै फरक देखिने खोजहरूबीच एउटा बलियो र तार्किक सेतु निर्माण गर्ने सफल प्रयत्न गरेका छन्।
गाउँ, भूगोल र अदृश्य मानिस :
कवितासङ्ग्रहमा उल्लिखित गाउँ कुनै सतही, रोमान्टिक स्मृतिभूमि वा प्राकृतिक सौन्दर्यको परम्परागत पाटो मात्र होइन। गाउँको भूगोलभित्र उपेक्षा, चरम विस्थापन, आधुनिक विकासको असमान चरित्र र समाजका आँखामा पछाडि परेका अदृश्य मानिसहरूको वास्तविक जीवन पनि प्रखर रूपमा प्रवेश गराइएको छ। यस सङ्ग्रहको कविता शीर्षक ‘नभएजस्तै भएकाहरू’ यही सन्दर्भमा विशेष अर्थ राख्ने शक्तिशाली कविता हो। राज्यको संरचनामा नभएजस्तै हुनु भनेको भौतिक अस्तित्व समाप्त हुनु होइन। बरु समाजमा उपस्थित भएर पनि राज्य, सत्ता र केन्द्रीय सामाजिक दृष्टिबाट निरन्तर अदृश्य बनाइनु हो। राज्यका यसै उपेक्षा र सिमान्तीकृत भूगोलको छटपटीलाई उजागर गर्दै ‘नभएजस्तै भएकाहरू’ कवितामा कविले यसरी लेखेका छन्–
“संसदका बजेट भाषणहरूमा कहिल्यै नपर्ने
राष्ट्र र राष्ट्रियताका धूनभन्दा धेरै टाढा
धर्तीभन्दा केही माथि
र आकाशभन्दा केही तल
ठ्याक्कै बादलको बीच भागमा घुमिरहने
एउटा निस्तब्ध गाउँ छ
त्यो गाउँ मेरो हो।” (नभएजस्तै भएकाहरू, पृ. ८९)
भन्दै शासक वर्गको संवेदनाहीनतामाथि कविले कडा प्रहार गरेका छन्। कुनै समय गाउँलाई राक्षसको पञ्जाबाट मुक्त गराउने आत्मीय तिमी अर्थात् युवाशक्तिको पलायन वा अनुपस्थितिले गर्दा आज गाउँका बोटबिरुवा, जीवजन्तु र नानीहरूसहितको सिङ्गो अस्तित्व नै नभएजस्तै, शून्य, मूक र गाउँ प्रतीक्षालय जस्तो बनेको छ। यस्तो गहन धारणा कविले राजनीतिक उपेक्षा र मानवीय विस्थापनको अन्तरसम्बन्धलाई निकै कसिलो प्रतीकात्मक शिल्पमा प्रस्तुत गरेका छन्।
त्यसैगरी अर्को कविता शीर्षक ‘सडक विस्थापनको तयारीमा’ पनि उत्तिकै सशक्त रहेको छ। यस कवितामा देश चरम राजनीतिक ध्रुवीकरण र त्यसको असर राष्ट्रिय अस्तित्वमाथि परेको छ भन्दै कविले देशको साझा धरातल र यसका दुई किनारालाई परस्पर विरोधी राजनैतिक शक्तिका रूपमा सडकलाई प्रतीकात्मक बनाएका छन्। शक्तिको होडबाजीमा कसरी क्षणिक शत्रुता, स्वार्थप्रेरित मित्रता र दाउपेचको खेल खेलिन्छ भन्ने दलहरूको चरित्र स्पष्ट रूपमा मुखरित गरेका छन्। निरन्तर आपसी खिचातानी, अहङ्कार र फुटको राजनीतिले अन्तत: देशको जग अर्थात् सडक नै समाप्त पारिदिन्छ। र भोलिका सन्तति हिँड्ने बाटो नै अन्धकारमय बनाउन सक्छ भन्ने सत्यलाई कविले सामाजिक चेतनाका रूपमा कवितामा उतारेका छन्।
कवि सिजन श्रेष्ठ नाराभन्दा कविता लेख्छन्। चाहे देशप्रेमका लागि वा एक आमाका लागि उत्तिकै मार्मिक शब्दमा प्रस्तुत हुन्छन्। उनको ‘नीलो आयतन’ शीर्षक कवितामा दुर्गम पहाडी भेगकी एक श्रमजीवी आमाको कठोर सङ्घर्ष र उनका छोराको बालकल्पनालाई मार्मिक ढङ्गले प्रस्तुत गरेका छन्। जहाँ आमाको असीमित मातृत्व र अभावका बीच पनि बेलुनभित्र हरियो देश देख्ने बालकको सुन्दर सपनालाई कलात्मक रूपमा बुनिएको छ।
ईश्वर तथा मृत्युको छेउमा जिजीविषा :
कवि सिजन श्रेष्ठले कवितासङ्ग्रहमा विम्बात्मक रूपले ईश्वरलाई तीन शीर्षकमा समेटेका छन्। उनका ‘ईश्वर भएँ भने...’, ‘ओढारमा ईश्वर’, ‘ईश्वर फल्ने रूख’ शीर्षक कविताहरूमा पनि उत्तिकै कलात्मक शिल्प सौन्दर्य भेट्न सकिन्छ। ईश्वर सधैँ शक्तिमान र भाग्यवादी खोजको विम्ब मात्र हुँदैन। यथार्थसँग पनि ईश्वरको कल्पना गर्न सकिन्छ।
कविले परम्परागत धार्मिक सङ्कीर्णता र अस्तित्वको असीमित गहिराइलाई उजागर गर्न ईश्वरलाई एक सशक्त र नवीन ब्रह्माण्डीय विश्वका रूपमा प्रयोग गरेका छन्। ‘ईश्वर भएँ भने’ कवितामा प्रकाशको गति र सर्वोच्च उचाइ चुम्ने मानवीय चाहनासँगै अन्यायविरुद्ध सजाय दिने न्यायप्रिय चेत उजागर गरेका छन्। अर्को कविता ‘ओढारमा ईश्वर’ मा जीवनका तमाम आरोहअवरोह र अवरोध छिचोल्दै अघि बढ्ने दृढतालाई प्रस्तुत गर्दै युवतीको गालाको सुन्दरता र ईश्वरको काल्पनिक मुटुलाई एकाकार गरी प्रेम र सौन्दर्य नै वास्तविक ईश्वर हो भन्ने दार्शनिक विचार स्थापना गरेका छन्।
कविले यी तीन शीर्षकमा ईश्वर शब्दको विम्ब प्रयोग गर्नुको मूल आशय, ब्रह्माण्डको विशालता र मानव मनको रहस्यलाई व्यक्त गर्न सामान्य शब्दले नपुग्ने भएपछि ईश्वरलाई माध्यम बनाएका हुन्। जसका माध्यमबाट उनले स्थापित मिथकलाई मानवीय धरातलमा झारेर हरेक संवेदना र त्यसको उचाइलाई ईश्वरसरहकै गरिमा प्रदान गर्दै उत्कृष्ट स्वच्छन्दतावादी शिल्प प्रस्तुत गरेका छन्।
कवि श्रेष्ठले ईश्वरपछि ‘जिजीविषा’ शीर्षक कवितामा भिड र व्यक्तिको अन्तरसम्बन्धलाई प्रष्ट बनाएका छन्। मानव जीवनका लागि सङ्घर्ष, उत्साह, सामाजिक गतिविधि र समाजमा आफ्नो उपस्थिति वा आवाज बुलन्द गर्ने अभिलाषालाई यस कविताले सङ्केत गरेको छ। यो कविताले समाजमा मानवीय जीवनको निरन्तरता, आपसी निर्भरता र मानिसको बाँच्ने अदम्य चाहनालाई सरल तर गम्भीर ढङ्गले प्रस्तुत गरेको छ।
गद्य कविताको अन्तर्लय :
कवि श्रेष्ठका कविताहरूमा बाह्य छन्दको परम्परागत विधान अनुशासन र संरचना छैन। तर त्यसको अर्थ कवितामा लयहीनता व्याप्त हुनु भनेको पनि होइन। यस सङ्ग्रहमा निरन्तरका प्रश्न, सचेत पुनरुक्ति, वाक्यगत विराम, विशिष्ट पदावलीको क्रमिकता, दृश्यहरूको आकस्मिक परिवर्तन र वाक्यगत आरोहअवरोहका माध्यमबाट एउटा शक्तिशाली अन्तर्लयको निर्माण गरिएको छ।
विशेषत: प्रश्नात्मक संरचना कविको प्रिय र निकै बलियो शिल्पका रूपमा देखा परेको छ। कवितामा उठाइएका प्रश्नहरू रेडिमेड उत्तर खोज्नका लागि मात्र राखिएका छैनन्। बरु तिनले पाठकलाई कविताको आन्तरिक अर्थनिर्माणको प्रक्रियामा सक्रियतापूर्वक सहभागी गराएका छन्। ‘पहेँलो नक्सा’ कविताले प्रश्नहरूको निरन्तर पुनरावृत्ति र बाह्य दृश्यको चित्रणभन्दा पनि गहिरो अस्तित्वगत बेचैनी र छटपटी पैदा गर्छ। यसै प्रश्नात्मक अन्तर्लय र अस्तित्वको खोजीलाई पुष्टि गर्दै पहेँलो नक्सा कवितामा कवि लेख्छन्–
“एउटा मानिसले यसरी
कहिलेसम्म गर्न सक्छ– एकतर्फी प्रेम?
सात दिन?
छयालीस महिना?
त्रिसट्ठी वर्ष?
तीन दशक?
एक शताब्दी?
कि गर्न सक्छ– पूरै चौरासी जुनी?” (पहेँलो नक्सा, पृ. ८१)
यद्यपि, कवितामा प्रश्नहरूको अत्यधिक चाङ लाग्यो भने त्यो कविता फगत प्रश्नावली बन्ने जोखिम हुन्छ भन्ने गरिन्छ। तर प्रश्नहरूको वास्तविक काव्यिक सौन्दर्य त्यसको उत्तर नहुनुमा मात्र होइन। बरु उत्तरको सम्भावित क्षितिज पाठकको चेतनामै जन्मिनुमा हुन्छ। त्यसैले कवि श्रेष्ठका अधिकांश प्रभावकारी कवितामा ठ्याक्कै यही शिल्प भेटिन्छ। जहाँ प्रश्न समाप्त भइसकेपछि पनि पाठकको मस्तिष्कमा एउटा गम्भीर कम्पनका रूपमा बाँकी रहिरहन्छ।
यस सङ्ग्रहका छोटा कविताहरूमा पनि संरचनागत सघनताका दृष्टिले निकै महत्त्वपूर्ण छन्। माथि उल्लिखित ‘जिजीविषा’, ‘वसन्तपुर’, ‘मृत्यु’, ‘मित्रता’ आदि अत्यन्तै छोटा आयतनका कविताहरूमा भौतिक आकारभन्दा भाव र अर्थको सघनता कति ठूलो कुरा हो भन्ने अर्थ प्रमाणित हुन्छ। अर्कोतर्फ ‘मुटु नभएको मानिस’ जस्तो दीर्घ कविताले कविको नयाँ आयाम, संरचनागत क्षमता, काव्यिक साहसलाई परिचय दिएको छ। यसले कविको काव्य चेतना, अध्ययन र साधना बहुआयामिक धारतर्फ छ भन्ने पुष्टि गर्छ।
कृतिगत एकत्व र सीमाहरू :
जम्मा ५३ थान कविताहरूको सङ्ग्रहमा विषयगत विविधता हुनु स्वाभाविक प्रक्रिया त हो तर यस्तो व्यापक विविधताका बीच पनि सिङ्गो कृतिमा आन्तरिक एकत्व कायम हुनु चाहिँ कवि र कवितासङ्ग्रह हावामा अल्झिएको स्वरको सफलता हो। यस कृतिको एकत्व मुलत: विशिष्ट विम्बचेतना, प्रकृतिसितको आत्मीयता, स्मृतिको जीवन्त पुनर्निर्माण, निरन्तरको प्रश्नात्मक परिवेश र गहन अस्तित्वगत जिज्ञासाका साझा स्तम्भहरूबाट निर्मित भएको देखिन्छ।
यही आन्तरिक एकत्व र स्वरकै सामञ्जस्यताका कारण ‘पानीमा प्रेम’ शीर्षक कवितादेखि ‘उड्ने खोलो’, ‘ईश्वर फल्ने रूख’, ‘नभएजस्तै भएकाहरू’, ‘नीलो आयतन’, ‘पानीमा कोरेका रेखाहरू’, ‘काँक्रेविहार’, ‘पहेँलो नक्सा’ र ‘मुटु नभएको मानिस’ सम्म आइपुग्दा विषय र सन्दर्भ बिल्कुलै फरक भए तापनि कविको केन्द्रीय वैचारिक स्वर कतै पनि हराएको पाइँदैन। यसै कृतिगत सुगठन र सीमाको यथार्थलाई समेट्दै ‘मुटु नभएको मानिस’ कवितामा कवि लेख्छन् :
“आखिर जीवन गल्तीहरूको यात्रा त रहेछ
म मेरा सम्पूर्ण ऊर्जाहरू खर्चेर
एकपछि अर्को गल्तीहरूको काँडाघारीमा
यात्रा गरिरहन सकूँ!” (मुटु नभएको मानिस, पृ. १०१)
तर यति हुँदाहुँदै पनि यो कवितासङ्ग्रह पूर्ण रूपमा दोषरहित र अभेद्य भने छैन। मेरो आफ्नै दृष्टिले हेर्दा, कतिपय कवितामा एकै खालको केन्द्रीय भाव, वा विम्बचेतना दोहोरिएको अनुभूति हुन्छ। जसले कताकता खल्लो गराउन खोज्छ। केही ठाउँमा विम्बहरूको अत्यधिक बाहुल्यले भावको स्वाभाविक र कसिलो गतिलाई छोपेको पो हो कि भन्ने लाग्न सक्छ। कुनै कवितामा भाषा सम्पादनमा कमीकमजोरी पनि देखिएको छ। जसले कविताको ओजनलाई अलिक हलुका बनाएको पनि छ।
तर यी सीमा र कमजोरीहरू कृतिको मूल काव्यिक सम्भावना, शिल्पगत विशिष्टता र वैचारिक उचाइलाई अस्वीकार गर्ने कारण भने बन्न सक्दैनन्। बरु यिनले कविको आगामी काव्ययात्रालाई अझ बढी परिष्कृत, शिल्पगत रूपमा संयमित, भाषिक रूपमा कसिलो बनाउन मार्गनिर्देशन गर्नेछन्।
निष्कर्ष :
हावामा अल्झिएको स्वर कवितासङ्ग्रहलाई विम्बचेतनाको सङ्ग्रह त भनियो तर विम्बहरूको मात्रै सङ्ग्रह भनेर पढ्नु, बुझ्नु चाहिँ यसको काव्यगत सम्भावनालाई सीमित गर्नु हुनेछ। विम्ब यस सङ्ग्रहका कविताको प्रमुख शिल्प अवश्य हो तर विम्बका पछाडि स्मृति छ। स्मृतिका पछाडि विस्थापन छ। विस्थापनका पछाडि अस्तित्वको प्रश्न छ र अस्तित्वका पछाडि जीवनलाई अर्थपूर्ण बनाइरहने जिजीविषा छ।
कवि सिजन श्रेष्ठका कविताको मौलिकता यही अन्तरसम्बन्धमा खोजिनुपर्छ। उनी प्रकृतिलाई मानिसबाट अलग राख्दैनन्। प्रेमलाई केवल प्रणयमा सीमित गर्दैनन्। मिथकलाई इतिहासमा थन्क्याउँदैनन्। विज्ञानलाई प्रयोगशालामै छोड्दैनन्। यी सबै विषयलाई कविको संवेदनाले एउटै काव्यभूमिमा ल्याएर राख्छ।
कविता मात्रै नयाँ विषयमा सीमित हुँदैन। पुरानो संसारलाई नयाँ आँखाले देख्न सक्नु चाहिँ कविता हुन्छ। सिजन श्रेष्ठमा सायद तिनै नयाँ आँखाहरू छन् र यो सङ्ग्रह तयार भएर आएको छ।
हावामा अल्झिएको स्वर, अन्तत: हराएको आवाजको कथा होइन। यो त सुन्न नसकिएको आवाजलाई कविताको माध्यमबाट पुन: सुन्न सकिने बनाउने प्रयत्न हो। यो सङ्ग्रह त्यसैले स्थिर छैन। यो त स्मृतिमा चलिरहेको छ। प्रकृतिमा प्रतिध्वनित भइरहेको छ। प्रेममा बाँचिरहेको छ। गाउँको मौनतालाई शहरसम्म सुनिरहेको छ। अझ भनौँ सुनाइरहेको छ।
कविता त्यही हो जहाँ दृश्य समाप्त भएपछि पनि अदृश्य शब्द बोलिरहन्छ। त्यसैले त–
कवि कविता होस्
कविता कवि जस्तो होस्।
छवि वैरागी घिमिरे
प्रकाशित: २४ आश्विन २०८३ १०:५२ शनिबार





