झट्ट दृष्टि दिनेका लागि वंशावली भन्नेबित्तिकै एउटा जातिको, थरको वा गोत्र विशेषको सानो अंश मात्र हो भन्ने भान पर्न जान्छ। यस्तो सतही धारणा हामी धेरैमा अद्यापि रहिरहेको छ। के वंशावली भनेको त्यत्ति मात्र हो त? तीन पुस्ते विवरण वा केही पुराना वंशजको नामनामेशी विवरण प्रकाशन गर्नु मात्र वंशावलीको काम हो त? किमार्थ होइन। वंशावली त एउटा विशाल अनुसन्धान हो, शोध ग्रन्थ हो, अझ भन्ने हो भने विद्यावारिधि हो, गहन इतिहास हो। यसमा पुस्तान्तरण हुँदै आएका हाम्रा वंशजहरूको विकासक्रम, जाति तथा समाज निर्माणका कुराहरू समेत रहनुपर्छ। हाम्रा आगमन र विस्थापन, भूमि आर्जन, पुनर्वास तथा ऐतिहासिक तथ्य आधारहरूको लेखौट बन्न सक्नुपर्छ वंशावली। त्यसैले यो कुनै चानचुने कुरा होइन। वर्षाै वर्षदेखिको खोज परखबाट निस्कने कस्तुरी सुगन्धको विवरण हो वंशावली। जसका कारणबाट हाम्रो इतिहास सुरक्षित रहन्छ, त्यसपछि मात्र वंशजहरूका विवरणका कुरा आउँछन्। यत्रतत्र छरिएका वंशजहरू एकीकृत गर्दै मिलान गराउने कुराहरू पर्दछन्।
अहिले म ‘रेग्मी वंशावलीको एक टुक्राः खोटाड मार्से’ नामक विशालकाय एक वंशावलीको चर्चा गर्न लाग्दैछु। केदारप्रसाद रेग्मीद्वारा खोज, अनुसन्धान तथा लेखन गरिएको यो वंशावलीमा धेरै हदसम्म माथि भनिएका कुराहरू समाविष्ट छन्। त्यसैले यसलाई एउटा पूर्ण वंशावलीका रूपमा समेत हेर्न सकिन्छ। सुदूर पश्चिमको बझाङबाट सुदूर पूर्वको खोटाङको खाम्तेल सिम्पानी आउने प्रथम पुर्खा माधौ जोशी रेग्मीका सन्ततिहरूको यसमा इतिवृत्त इतिहास समेटिएको छ। मूलखण्ड, पत्नी खण्ड र छोरी खण्ड गरी यसमा प्रमुख रूपमा तीन खण्डमा वंशावली विभाजित छ। त्योबाहेक हाम्रो दैनिक जीवनमा आउने पौरस्त्य संस्कार संस्कृति, चाडपर्व, आशौच बार्ने नियमहरूका गहन र आवश्यकीय कुराहरू दिएर यसलाई सबैले अध्ययन मनन गर्न सकून् भन्ने ध्येय समेत राखिएको छ।
गत केही समय अगाडिसम्म वंशावलीमा छोराहरूको मात्र विवरणहरू राखिने र छोरीहरू जन्मेका छन् भने त्यो वंशमा गणना नै नगरेर उपेक्षा गरिरहेको परिप्रेक्ष्यमा अहिले आएर छोरीहरूको पनि विवरण दिइनु आफैँमा प्रगतिशील कुरा हो, प्रशंसनीय कार्य हो। यसमा श्रीमती र छोरीहरूलाई पनि समावेश गराएर यस वंशावलीको छवि र क्षेत्र अझ फराकिलो बनाइएको छ। यसको औचित्य पुष्टि गर्दै केदारप्रसाद रेग्मी भन्नुहुन्छ, ‘मातृपक्षका जातिलाई पनि तर्पण दिनुपर्छ, साथै ससुराली पक्षका जातिको पनि आशौच लाग्दछ। अतः ती सबैको नाम समेटी यो वंशावली तयार गरिएको हो। यसरी तयार पारिएको वंशावली मात्र पूर्ण वंशावली हुन सक्छ उहाँको तर्क छ।’
उहाँ अझ अगाडि भन्नुहुन्छ, ‘पत्नी र छोरीहरू पनि वंशावली भित्रकै सदस्यहरू हुन्। यिनीहरु मिसिँदैमा खिचडी भयो भन्नेहरू पनि नभएका होइनन्। तर यो भन्नु भनेको नारी जातिमाथिको अपमान र अन्याय हो। किनभने पत्नी ल्याएर, छोरी दिएर दुवैको वंशवृद्धि नभई यो संसार हराभरा र रसिलो हुन सक्दैन।’
वंशावलीको अर्काे विशेषता भनेको एउटै नामका धेरै व्यक्ति छुट्याउन घरको नाउँ, उ बसेको ठाउँ, आफ्ना पिताको नाम विषयसूचीमा हेरी ठम्याएर यकिन गरिसकेपछि जुन सिरियल नम्बरमा आफ्नो वा आफूले खोजेको व्यक्तिको नाम छ ठयाक्कै पत्ता लगाउन सजिलो पर्दछ। जसबाट नातामा कसले कसलाई के सम्बोधन गर्ने ? उसलाई आफूले के भन्ने ? सो पनि छुट्याउन सकिन्छ। मान्यता क्रममा उ काका, बाबु, हजुरबाबु, नाति, पनाति, छोरो, छोरी, काकी, भाउजू, के पर्छ थाहा पाउन सजिलो हुन्छ। अतः यो विधि र प्रविधिलाई अनुशरण र अनुकरणीय गरे पाठकलाई आफूले खोजेको सन्दर्भ फेला पार्न सजिलो र छिटो हुन जान्छ। अतः यो तालिकाबद्ध विधि वैज्ञानिक समेत देखिएको छ। कुनै पनि वंशावलीले आफ्नो स्वपहिचान कायम गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरेका हुन्छन्। यस्ता वंशावलीको निर्माणले समग्र देशकै इतिहास निर्माण गर्न सघाउ पुर्याउँछ। त्यसैले यो महत्त्वपूर्ण काम पनि हो भन्न सकिन्छ।
‘रोम एकदिनमा बनेको होइन।’ यो उक्तिले, यो भनाइले हामीलाई बडो ऊर्जाशील बनाउने गर्छ। हो कुनै पनि व्यक्ति वा संरचनाको निर्माण एकै दिनमा हुँदैन। त्यसले थुप्रै कठिन चुनौतिहरू खपेर, हावाहुरी सहेर, घामपानीको सामना गरेर, अनेकौ अप्ठ्यारा परिस्थितिको झापड खाएर, परिश्रम बगाएर, अथक मेहनत र साधना गरेर मात्र मीठो प्रतिफल पाइन्छ। एउटा ढुङ्गा पनि पहाडबाट लड्दै - पड्दै गुड्किँदैगुड्किँदै अन्ततः शालीग्राम बनेजस्तै हो हाम्रो जीवन र यो जीवनको रामकहानी। त्यसैले यो प्रचलित भनाइले हामीलाई कुनै पनि काममा लगनशील भएर इमान्दारीपूर्वक निरन्तर अघि बढ्न आह्वान गर्छ, प्रेरित बनाउँछ। यसको अर्थ हो महान् उपलब्धिहरू एकाएक रातारात प्राप्त हुँदैनन्।
चुड्की बजाएर सफलता प्राप्त हुँदैन। तथास्तुको आशीर्वादले पनि सफलताको शिखर चुम्न सकिँदैन। मेहनत, परिश्रम र लगानीको घट्टमा वर्षाै वर्ष घोटिएर पीना भएपछि मात्र बल्ल सफलता प्राप्त हुने रहेछ। त्यसपछि यसरी दुख गरेर पाएको स्वाद मीठो, दिगो र अनुकरणीय हुन्छ। यसका लेखक सम्पादक केदारप्रसाद रेग्मीले आफ्नो युवावय यही वंशावलीको खोजीमेलीमा अहोरात्र खटेको कारणले रेग्मीहरूले यो वंशावली हात पार्न सफल भएका हुन्। अहिले उनी ९६ वर्षमा पुगे पनि अक्षरको आराधना गर्न उत्तिकै युवा जोश र जाँगरका साथ अघि सरिरहेका छन्। सरस्वतीको वरद् आशीर्वाद नभई कसैले पनि यत्रो कर्म गर्न सितिमिति सक्दैन भन्ने मलाई लाग्दछ।
यसको अध्ययनबाट के भन्न सकिन्छ भने रेग्मीहरू त्यत्तिकै यो अवस्थामा आइपुगेका किमार्थ होइन रहेछन्। यो वंशावलीको अध्ययनले त्यो कुराको पनि जानकारी गराउँछ। विगतमा उनीहरूका बाबुबाजेहरूले गरेका त्याग, समर्पण र भक्तिभावका कारण अहिलेको यो अवस्था र स्थानमा रहन बस्न समर्थ भएका रहेछन् भन्ने लाग्दछ। रुपनारायण रेग्मीको उत्थान र पतन, राजकाजको मारमा परेर उनको हृदयविदारक निधन, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वार्ड नं.४ स्थित मुसुरीडाँडामा दरवारको निर्माण, माधौ जोशी रेग्मीको बझाङदेखि खोटाङको खाम्तेल पदार्पण, मार्से भूमि आर्जन, रेग्मीहरूले जातिपातिको विरोध गर्दै २०११ सालमा बतासे भन्ने स्थानमा हलो जोतेर जातिपातिका विरुद्धमा जेहाद छाडेको प्रसङ्गहरु यसमा समाविष्ट गरिएको छ।
त्योबाहेक पनि यसमा वन्दना खण्ड, पौराणिक प्रमाण खण्ड, चिन्तन मनन खण्ड, संस्कार, संस्कृति र परम्परा खण्ड, वंशावली खण्ड (पञ्जिका, मूल खण्ड, पत्नी खण्ड, छोरी खण्ड) र विविध सामग्री राखेर यसलाई पठनीय, सङ्ग्रहणीय र आवश्यकीय सामग्री बनाइएको छ। कौशिक ऋषि, विष्णु पाञ्चायन देवता, सरस्वती माताका फोटोहरूसहित आमुख पृष्ठमा विभिन्न महत्त्वपूर्ण व्यक्तिहरूका शुभकामना र अन्तमा पनि रङ्गीन फोटोहरू राखेर वंशावलीलाई आधिकारिक, गहन र आकर्षक बनाइएको छ।
झण्डै एकहजार पृष्ठको यो वंशावली रेग्मी जातिको लागि मात्र नभएर उनीहरूका नरनाता, कुलकुटम्बहरूको समेत नालीबेली प्रस्तुत गरिएको हुँदा सबैका लागि आवश्यक र ग्रहणयोग्य सामग्री बनेकोमा सन्देह छैन।
माधौ (माधव) जोशी रेग्मी बझाङको थलारा गाविसको ‘रेगम’ भन्ने स्थानबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिकाअन्तर्गत राजापानीको सिम्पानी थामा भन्ने उँचो र रमणीय स्थानमा आएर बसोबास गरेका हुन्। त्यसरी आउने अहिलेसम्म भेटिएका प्रथम पुर्खा माधव जोशी रेग्मीको जन्म १७५५ सालमा भएको अनुमान गरिन्छ। यस हिसावले भन्ने हो भने हालसम्म अनुमानित २०८३ सालसम्म गणना गर्दा ३२१ वर्ष पुग्छ। माधौ जोशी रेग्मी नरभूपाल शाहका समकालीन देखिएको हुँदा उनबाट हालसम्म गणना गर्दा १३ औं पुस्ता पुग्छन्।
राजापानीको खाम्तेल थामा भूमिमा माधौ रेग्मीले पदार्पण गरेको चाहिँ १७८० देखि १७८५ तिरलाई हामी अनुमान गर्न सक्छौं। अर्थात् आजभन्दा तीन सय वर्ष अघिलाई अनुमानित वर्ष मान्न सकिन्छ। बझाङदेखि खोटाङसम्म आउने प्रथम पुर्खा माधाव रेग्मीलाई नियतिको कस्तो परिस्थितिले डाम्न पुग्यो र यसरी यत्रो नदी पहाड पर्वत छिचोल्दै आउन प्रेरित गर्यो होला। रोजगारको खोजीमा सम्पन्नता खोज्दै हिँड्नुपरेको थियो कि ? जग्गा जमिनको अपर्याप्ताको कारण थियो कि ? भौगोलिक विकटताका कारण सुगम र फराकिलो स्थानको खोजीमा यसरी भौतारिनु परेको हो कि? जे होस् एउटा विकट स्थानबाट दोस्राे विकट स्थानमा बस्न केले प्रेरित गर्यो होला? कि तत्कालीन राज्यको राजनीतिक परिस्थिति प्रतिकूल भएर निर्वासित हुन बाध्य पार्यो? अथवा अन्य के कारण पर्यो होला? यसको समाजशास्त्रीय खोजीनीतिको पनि त्यतिकै आवश्यक छ जस्तो लाग्दछ। तीन सय वर्षदेखिको यो इतिहास अहिले त्यस भेगमा बस्ने रेग्मीहरूले धानिरहेका छन्, थामिरहेका छन्। त्यहीँ खाम्तेलको थामाबाट कोही इलामको फैयाँतत्पा, धनकुटाको सान्ने, खोटाङकै मार्से, उदयपुरको मैयँखु र रसुवा जस्ता विविध ठाउँमा छरिँदै अहिले त झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, काठमाडौं मात्र होइन सात समुद्रपार समेत पुगेर आफ्नो कर्ममा अग्रसर हुँदै आआफ्नो पेशा व्यावसाय र जातीय गौरव अभिवृध्दिमा संलग्न भइआएको पाइन्छ।
कुनै जातिको इतिहास के हो? उनीहरूको विगत कस्तो थियो? कुन अवस्था भोगेर यहाँसम्म आइपुग्यौ? यस्ता विविधि कुराको जानकारी हाम्रा वंशावली, श्रुतिपरम्परा, शिलालेख, ताम्रपत्र, पुराना लेखौट आदिबाट पनि लिन सक्छौं। पुर्खाले बनाएका धारा, पाटी, पौवा, सत्तल, मठमन्दिर, घरबाट पनि हाम्रो इतिहास देखिन्छ, झल्कन्छ। त्यसैले यिनीहरूको संरक्षण र जीर्णोद्धार गर्नुपर्ने दायित्व छ।
यो हाम्रो इतिहास हो। सर्वप्रथम आफूले आफूलाई चिन्न सक्नु पर्यो त्यसपछि आफ्ना सन्ततिहरूले पनि हामीलाई चिन्ने छन्। घर सम्झन घर छाड्नु तर नबिर्सनु भनिन्छ। हो हाम्रो पुराना रीतिस्थिति, चालचलन, घर थातथलो पनि हाम्रो चिनारी हो। यसलाई हेरेपछि हामीलाई कसैले बिर्सने छैनन्, न त हामीले नै बिर्सन सक्छौं। हामी जन्मेका स्थान हाम्रा लागि अति प्यारो लाग्दछ। आफू जन्मेको घर, खेलेको धुलोमाटो, बाल्यकालका स्वर्णीम वयहरूले नै हाम्रो इतिहास धानेको हुन्छ। हामीलाई एउटा संस्कार सिकाएको हुन्छ। यसको महत्त्व हामी सबैले बुझ्नुपर्छ तर आजकाल हामीले यसको महत्त्व भुल्दै गएका छौ। आफ्नो थर, घर बिर्सनु भनेको आफूले आफैँलाई बिर्सनु हो। हाम्रा बाबुबाजेले आर्जन गरेका यत्रा नामथर वा तखतहरू यी पुराना र जीर्ण हुन लागेका घरहरूले नै अहिले हामीलाई यत्तिको बनाएको हो। हामीलाई यत्तिको पारेको हो। म कहाँ थिएँ? कहाँबाट आएँ? अहिले के भएँ? यो नाम थर र घर थिएन भने मेरो के हैसियत हुन्थ्यो? कस्तो हविगत बन्थ्यो होला? अतः हामीले हाम्रो धरातल भुल्नु भएन। आफ्नो धरातल बिर्सिएँ भोलि हामीलाई कसैले पनि चिन्दैन। आफ्नो विगत बिर्सियो भने मान्छे मान्छे बन्दैन, रहँदैन। यो कुरालाई प्रत्येक वंशावलीले सम्झना गराइरहेको हुन्छ।
अहिलेसम्म भेटिएका प्रथम पुर्खा माधौ जोशी रेग्मीका छोरा स्यूराम (शिवराम) का तीनभाइ छोराहरूमध्ये जेठा रामानन्द छुट्टिएर सापातेलको दार्मे आसपासमा बस्न पुग्छन्। रामानन्दले दुई विवाह गरेकोमा पहिलो विवाह बतासे निकट रहेको मुलाबारी भन्ने स्थानकी घिमिरेकी छोरीसँग भएछ। यतापट्टिबाट पाँचभाइ छोराहरू जन्मिन पुगे। शिवरामका माहिला छोरा भगिरथ भने खाम्तेलमै बसे भने कान्छा मनोरथ उदयपुरको रसुवा बस्न पुगे। रामानन्दका पाँच भाइ छोरामध्ये माहिलो छोराको नाम रुपनारायण रेग्मी हो। रामानन्द केही समय सापातेल निकट रहेको दार्मे भन्ने स्थानमा बस्न पुगेको कुरा पनि थाहा हुन्छ। तर त्यहाँ उपाध्याय ब्राह्मणहरूलाई नफाप्ने भएको र उब्जनीका हिसाबले पनि त्यति उपयुक्त नभएको ठहर गर्दै राम्रो जग्गा जमिनहरु खोज्दै जाने क्रममा पूर्वतर्फ लाग्दा धनकुटाको सान्ने लयाकुतर्फ हिडे खोटाङ छाडेर।
यहाँनिर एउटा स्मरणीय कुरा के छ भने बझाङबाट एकैचोटी बीचबीचका अनेकौ महत्त्वपूर्ण समथर वा उब्जाउ भूमिहरू नाघ्दै खोटाङमै माधौ रेग्मी कसरी आए होला भनेर हामी छक्क परेजस्तै यहाँनिर रामानन्द पनि राम्रा भूमिहरू खोज्ने क्रममा नजिकै ओखलढुंगा वा उदयपुर अझ तराईतिर नै भन्ने हो भने सिराहा सप्तरी मोरङ जस्ता स्थान छाडेर किन धनकुटा नै रोजे होला भन्ने प्रश्न यहाँनिर गम्भीर र स्मरणीय रूपमा उब्जने गर्दछ। त्यसैले नजिक टाढाभन्दा पनि उपयुक्त थलोमा पुग्न भने त्यतिखेर निकै प्रयास गर्ने गर्दा रहेछन् भन्ने बुझिन्छ। तराईतिर चाहिँ त्यतिखेर औलोको डर र गर्मीको कारणले पनि होला त्यति रुचिकर नलागेको हुनुपर्छ।
यता रुपनारायणका मावली अर्थात् मुलावारीका घिमिरेहरू ठूला विर्तावाल रहेछन्। उनीहरूको विर्ता जग्गा मुलाबारी, टुवाखोला, भँडारे, हमारा, मुसुरीडाँडा, पहारपानी, मार्से, बतासे आदि रहेछन्। सो विर्तामा त्यहाँका केही व्यक्तिले यो जग्गा हाम्रो किपट हो भनी सरकारमा उजुरी गर्दा उक्त विर्ता जग्गा किपट नभएको र विर्ता नै भएको प्रमाण पुर्याई राजदरबारबाट मुद्धा जिती सो विर्ताजग्गा फिर्ता गर्नु घिमिरेहरुको क्षमता र योग्यता भित्र नभएको र त्यस्तो तीक्ष्ण बुद्धि भएको व्यक्तिको खोजी गर्दा साहसी, होसीयार, कूटनीतिज्ञ, चतुर र नेतृत्वदायी सम्झी धनकुटाको सान्नेसम्म पुगेर आफ्ना भानिज रुपनारायण रेग्मीलाई ल्याएर आफ्नो काम फत्ते पारिदिए। अनि रुपनारायणले रोजे बमोजिमका बिर्ता जग्गा आफू घिमिरेहरूले काटेर भानिजलाई दिने शर्त सम्पूर्ण मूलाबारीका घिमिरेहरूले सर्वसम्मत गरेछन्। नभन्दै रुपनारायणले पनि उक्त काम अनेक जुक्तिबुद्धि लगाएर फत्ते गरिदिए। यो काम सम्पन्न गराए वापत ‘...पहारपानी घड्यारी, मार्स्याबारी, तौल्या खेत, बतास्या खरक’ भनी बकस दिए पछि खोटाङ मार्से बतासेका जग्गाजमिनहरू रेग्मी परिवारमा आए। अर्थात् घिमिरेहरूबाट रुपनारायण रेग्मी परिवारमा भित्रिन आयो। त्यसैले रुपनारायण रेग्मीले आर्जेका यी भूमिहरू अहिलेसम्म यहाँका रेग्मीहरूले सगौरव भोगचलन गरिरहेका छन्।
खोटाङ बतासे मुलावारीका घिमिरेहरुको जग्गासम्बन्धी ठूलो मुद्धा जिताइदिए बापत आफ्ना भानिजलाई अग्रिम कवोल बन्दोवस्त गरेबमोजिमका मार्से क्षेत्रभित्रका रोजेर जग्गाजमिनहरू उपलब्ध गराइदिएपछि रुपनारायण रेग्मीले यो रमणीय उँचो भूमि मुसुरीडाँडा (दिप्रुङ चुइचुम्मा गाउँपालिका वार्ड नं.४ मा) एउटा महल खडा गरी बस्ने निर्णय गरेछन्। यसै क्रममा दरवारकै जस्तो ढाँचामा नक्सा कोरी नौतला र बाउन्न ढोका भएको घर बनाउने महत्त्वाकाङ्क्षी योजना अगाडि सारेर निर्माणको प्रक्रिया सुरु गरे तर अर्थलोलुप आफ्नै पुजित गुरु पुरोहितबाट तत्कालीन सेन वंशीय राजाकहाँ उजुर पुगेछ। दरवारबाहेकका प्रजाले यस्तो भव्य र विशाल महलमा बस्ने पस्ने आँट गर्नुलाई राजद्रोह गरेको यस्तो व्यहोरा परेपछि राजाका सेनाले निरीक्षण गरेपछि उनीहरूले रुपनारायण रेग्मीलाई समयमै तह नलगाए पछि यिनले आफ्नै राज्यमा पनि शक्ति बढाएर कुनै अनिष्ट आइपर्ने जोखिमी देखेपछि उनलाई तत्कालीन पक्रेर लाने एक किसिमको पेरुङ्गामा चेप्ट्याएर उनलाई पक्राउ गरेर राजधानी चलान गरियो।
राजधानी लानेक्रममा भाटबेंसी भन्ने स्थानमा पुर्याएपछि राजबन्दी रुपनारायण रेग्मीले हलेसीमा गएर भगवान् शिवको दर्शन गर्ने आफ्नो इच्छा प्रकट गर्छन्। अन्तिम इच्छा नै नभए पनि सायद उनको आग्रहलाई सेनाले स्वीकार्दै हलेसी महादेवको दर्शन गराइयो। त्यसवखत रुपनारायणले महादेवसमक्ष हात जोडी प्रार्थना गर्दै भनेछन्, ‘मेरा सन्तान छैनन्, मेरो अन्तिम अवस्था भइसक्यो। मेरा दाजुभाइका सन्तानहरु कसैले कसैको गुरु पुरोहित बनेर जीविका चलाउनु नपरोस्, सबै कुरामा सबै मेरा दाजुभाइ जान्ने बुझ्ने बनून्। कुनै कुरा पनि नजान्ने भई कसैलाई सोध्न जानु नपरोस्, वंश फैलिएर जावस्, कोही राजद्रोही नबनून्।’
त्यसपछि पुनः उनलाई राजसेनाले पेरुङ्गामै हालेर चेप्ट्याएर लाँदा लाँदै बयाखु दोभानमा पुर्याएपछि उहाँको मृत्यु भएछ।
अतः यस क्षेत्रका रेग्मीहरूले प्रथम शहीदको रूपमा रुपनारायण रेग्मीलाई लिने गरेका छन्। सायद शिवको आशीर्वाद प्राप्त भएरै होला रेग्मी वंशहरूले कसैलाई केही सोध्न वंश नाघेर अन्यत्र जानु परेको इतिहास त्यति देखिदैन भनिन्छ। कोही राजद्रोही नबनून् भन्नुको अर्थले रेग्मीहरूलाई राजनीति त्यति फाप्तैन भन्ने अर्थमा पनि लिने गरिएको छ। नभन्दै यस क्षेत्रका रेग्मी परिवारले राजनीति नगरेका होइनन् तर कसैले पनि त्यति उच्च स्थान लिएर दर्विलो उपस्थिति प्राप्त गर्न नसकेको कारण कतै यो वरदान सही सावित भएको कारण त होइन भनेर चर्चा गर्ने गरिन्छ। रुपनारायण रेग्मीको यही बुद्धि र वीरताले आर्जको यो मार्से बतासे भूमिबाट अहिले प्रायः सम्पूर्ण रेग्मीहरु बसाई सरेर हिडिसकेको दुखद अवस्था छ।
मार्से बतासेका रेग्मीहरू थुप्रै विचारक थिए। उनीहरूमध्ये धेरै प्रगतिशील, प्रवृद्ध, निष्ठावान्, दानशील समेत देखिन्छ। त्यसमध्ये कोही वहालवाला त कोही सेवा निवृत्त डिट्ठा विचारी, राइटर, मुखिया, तहविल्दार, खोलाटोलाका गन्यमान्य व्यक्तिहरू, थरीपगरी कहलिएका जिम्मावाल, तालुकदार, द्वारे, अमलीहरू हुन्थे। वारिपारिबाट कोही यस्ता व्यक्तिहरूलाई हेर्न, दर्शन गर्न वा चाकरी जनाउन त कोही आआफ्ना समस्याहरू लिएर मार्सेबतासेमा आउने गर्दथे। दिनुवाका राईहरू, सापातेलका बस्नेतहरू, खुतुम्बुका रोकाहरु पनि आआफ्नो ठाउँमा गनिएका व्यक्तित्वहरू थिए यदाकदा उनीहरू समेत आएर यस्ता कचहरीको शोभा बढाउने काम गर्दथे।
यसरी सबैतिरबाट जम्मा भएका भद्रभलादमी व्यक्तिहरूबीच छलफल कचहरी गरेर सामाजिक सद्भाव र आपसी भाइचारा अभिवृद्धिको परम्परा पनि रेग्मी परिवारले चलाइआएको कुरा बाबुबाजेका मुखबाट अद्यापि सुन्न पाइन्छ। यसर्थ रेग्मीहरू यहाँ अत्यन्त शानसौकात र ठाँटका साथ बसिरहेका थिए। एक किसिमले भन्नु पर्दा रुपनारयणकै उत्तराधिकारी भइबसेको गौरवपूर्ण र गर्विलो इतिहास कायम थियो। दानधर्म र पुराण वाचन गर्दै पुण्यकर्ममा गर्नमा पनि उनीहरू उत्तिकै क्रियाशील र दत्तचित्त हुने गर्दथे। प्रायः महिनाभरि नै कुनै न कुनै रूपमा कहीँ न कहीँ रुद्री, चण्डी, सत्यनारायणको पूजाआराधना तथा पुराणहरू लागि नै रहने गर्दथ्यो। अझ अति रुद्री, महारुद्री समेत रेग्मीहरूले लगाउन पछि परेनन्। मार्से चारतलेका नरनाथ रेग्मीले अतिरुद्री लगाएर सय गाई दान गरेको अपूर्व इतिहास समेत यहाँ कायम छ। जसको चर्चा र प्रसिद्धि अहिले पनि त्यहाँका बुढापाका व्यक्तिहरू सगौरव गरिरहेका छन्।
यसै क्रममा अधिकांश दाजुभाइ बाबुबाजेले आर्जेका त्यस्ता राम्राराम्रा तखतहरू छाडेर अझ त्योभन्दा पनि बढी राम्रो प्रगति उन्नति गर्ने उच्च उद्देश्य बोकेर उनीहरू आफूलाई पायक पर्ने स्थनमा बसाई सरेर आर्थिक सामाजिक शैक्षिक जस्ता धेरै क्षेत्रमा निकै प्रगति गर्दै नआएका पनि होइनन्। त्यसो त हाम्रा प्रथम पुर्खा माधव रेग्मी पनि यसरी स्थिर भएर बस्न नचाहेको नै बुझिन्छ। बझाङबाट खोटाङ आउनु पनि चलायमान हुनुको एउटा ठूलो दृष्टान्त हो। यस्तै क्रमलाई रेग्मीहरूले पछ्याए, अथवा आफूलाई समाहित गराए। त्यसैले उनीहरू सन्तुष्ट मानेर कहीँ पनि धेरै समय बसेको इतिहास पाइँदैन। हुन पनि पश्चगामीभन्दा अग्रगामी चेत नै काम लाग्ने कुरा हामी सबैले जानेबुझेकै विषय हो। खोटाङ आए, इलाम पुगे, धनकुटातर्फ गए, कोही उदयपुर हुँदै विराटनगर, काठमाडौंबाट अहिले अन्तर्राष्ट्रिय जगतमा पनि उत्तिकै संख्यामा दर्विलो र गर्विलो उपस्थिति जनाइरहेका छन् रेग्मी परिवारहरूले।
देशभर छरिएर रहेका कौशिक गोत्री रेग्मी बन्धुहरूले आआफ्नो स्थान विशेष र भूगोलबारे जानेबुझेसम्मका इतिवृत्त इतिहासको निर्माण र अभिलेखन गर्नु अहिलेको परिप्रेक्ष्यमा अति आवश्यक देखिएको छ। यो वंशावली एउटा खोटाङ जिल्ला र त्यसमा पनि माधव जोशी रेग्मीका सन्ततिहरुको मात्र भएको हुँदा आआफू बसेको स्थान विशेषका बारेमा आफूले अध्ययन विश्लेषण र श्रुतिपरम्पराको माध्यमलाई प्रयोग गरेर भए पनि आफ्नो थाँतथलो, आगमन, विकासक्रम, आफ्नो भूीम आर्जन वा भोगचलन, हालको बसाईसराईको अवस्था अवस्थिति आदिको साङ्गोपाङ्गो अध्ययन गर्न सकेको खण्डमा समग्र कौशिक गोत्रीय रेग्मी परिवारको बृहत् इतिहास निर्माण हुन पुग्छ।
एउटा खट्कने कुरा के छ भने खोटाङ जिल्लाकै कुरा गर्नु पर्दा मार्से अर्थात् माधौ जोशी रेग्मीका सन्ततिहरूले यही जिल्लाका दुवे र कुभिण्डे क्षेत्रमा बसोबास गर्ने रेग्मीहरूसँग पुस्तावली नभिडेको कारण जुठो सुतक बार्न नपर्ने परिस्थितिको निर्माण भएको छ। यो कस्तो नियति हो? एउटै भूगोलमा बसेर दाजुभाइचाहिँ भन्ने तर मर्दा पर्दाका विधिविधानमा पुस्तावली नजोडिने भनेर पन्छिनुपर्ने बाध्यता कसरी र किन पर्याे? यसको खोजी र निराकरण पनि गरिनुपर्छ। तसर्थ यसमा विज्ञता भएका व्यक्तिहरूले वंशावली खोजीको विषयमा काम गर्नु अपरिहार्य देखिन्छ। कसैले रेग्मीहरूका पुराना लेखौट, हस्तलिखित दुर्लभ महत्त्वपूर्ण दस्तावेजहरूको माइक्रोफिल्म वा अर्काइभ गर्ने गराउने काम गर्ने, कसैले वृत्तचित्रहरूको लेखन निर्माण र प्रदर्शनतर्फ लाग्ने, कसैले हाम्रा चाडपर्व, संस्कार संस्कृति कूलपूजा पर्व र परम्पराहरूको खोजीमेली गर्ने जस्ता विविध क्षेत्रमा कार्य विभाजन गरेर युद्धस्तरमा लाग्नुपर्ने खाँचो टड्कारो देखिन्छ। अन्त्यमा यो वंशावलीका संयोजक केदारप्रसाद रेग्मी, सहसंयोजक लक्ष्मीराज रेग्मी (लक्ष्मण) तथा समस्त सम्पादक मण्डल बधाईको पात्र बनेको छ। अस्तु।
पुस्तकको नाम: रेग्मी वंशावलीको एक टुक्रा खोटाङ मार्से
प्रकाशकः वंशावली द्वितीय संस्करण प्रकाशन समिति, २०७६
द्वितीय संस्करणः २०८० भाद्र
प्रकाशन प्रतिः १२००
मूल्यः ३१००।-
मुद्रकः दीपक पुस्तक भण्डार, पुतलीसडक, काठमाडौ
प्रकाशित: १५ असार २०८३ ०८:१९ सोमबार





