नेपाली साहित्य र आरोग्य क्षेत्रलाई जोड्ने अभियानको रूपमा यही असार २९ र ३० गते मकवानपुरको सुपिङमा दुई दिने 'आरोग्य साहित्यिक यात्रा' को पहिलो संस्करण आयोजना हुने भएको छ।
'स्वस्थ शरीर, स्वस्थ सृजना' भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस विशेष यात्राको परिकल्पना तथा संयोजन कलाकार, साहित्यकार एवं आध्यात्मिक अभियन्ता सोविता सिंखडाले गरेकी छन्। 'जब एउटा स्रष्टा भित्रैदेखि शान्त र स्वस्थ हुन्छ, उसबाट निस्कने हरेक शब्दले समाजलाई सही रूपान्तरण गर्न सक्छ' भन्ने पवित्र उद्देश्यका साथ यो अभियान सुरु गरिएको हो।
मकवानपुरको रमणीय स्थल सुपिङस्थित ’सुपिङ गर्ज क्याम्प’मा हुने यस पहिलो कार्यक्रममा नेपालका ख्यातिप्राप्त एवं दिग्गज स्रष्टाहरूको सहभागिता रहनेछ। कार्यक्रमको सल्लाहकारमा मदन पुरस्कार विजेता वरिष्ठ कथाकार महेश विक्रम शाह छन् भने पूर्व मुख्य सचिव तथा आरोग्य अभियन्ता बैकुण्ठ अर्यालको विशेष सहभागिता रहनेछ। त्यसैगरी कार्यक्रमको व्यवस्थापन देवेन्द्र नेपालले गर्ने छन्।
दुई दिने यस यात्रामा मदन पुरस्कार विजेता आख्यानकारहरू नारायण वाग्ले र अमर न्यौपाने, स्थापित आख्यानकार नयनराज पाण्डे, बहुप्रतिभाशाली अभिनेता, लेखक, निर्देशक खगेन्द्र लामिछाने र युवापुस्ताका लोकप्रिय उपन्यासकार सुविन भट्टराई सहभागीहुने छन्।
विशेष गरी, भर्खरै विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक अवार्ड जितेर फर्किएका स्थापित लेखक तथा निर्देशक अविनाश विक्रम शाह र अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त चलचित्र लेखक तथा निर्देशक मीनभामको उपस्थिति यस यात्राको अर्को मुख्य आकर्षण रहनेछ। त्यसैगरी वरिष्ठ सञ्चारकर्मीहरू टीकाराम यात्री र निराजन भण्डारी, लेखक तथा नागरिक अभियन्ता अर्चना थापा, चर्चित गजलकार बाबु त्रिपाठी, कलाकार सुशील सिटौला, लेखक तथा राजनीतिक विश्लेषक केशव दाहाल, लेखक तथा पत्रकार शेखर खरेल, कवि रिमा केसी, गायिका सोफिया थापा, उपन्यासकार प्रभा बराल, लेखक तथा पत्रकार क्षितिज समर्पण र कवि शान्तिप्रिय वन्दनाको उपस्थिति रहनेछ।
दुई दिनसम्म चल्ने यस कार्यक्रममा स्रष्टाहरूको आत्मिक शुद्धता र मानसिक शान्तिका लागि ध्यान तथा योग, सुपिङको सुन्दर प्राकृतिक सौन्दर्यको सान्निध्यमा गरिने हाइकिङ, सुपिङको स्थानीय माटोमा प्राकृतिक रूपमा उत्पादन गरिएका ताजा, आर्गानिक र शुद्ध शाकाहारी भोजन, आरोग्यसँग जोडिएको विशेष अन्तर्क्रिया र विमर्शहरू गरिनेछ।
कार्यक्रमको हस्पिटालिटी पार्टनरको रूपमा ’सुपिङ गर्ज क्याम्प’ र ब्रोडकास्टिङ पार्टनरको रूपमा’ एपीवान एचडी’ टेलिभिजन रहेका छन्।
समाजका मार्गदर्शक र जनमानसमा गहिरो प्रभाव राख्ने दिग्गज स्रष्टाहरू मार्फत आरोग्यको सन्देशलाई आमनागरिकसम्म पुर्याउनु र यसको महत्व बुझाउनु नै यस यात्राको मुख्य उद्देश्य रहेको आयोजक आरोग्य साहित्यिकयात्रा (पहिलो संस्करण)ले जनाएको छ। स्रष्टाहरू आफैँले अनुभव गरेको यो आरोग्यताको सन्देश उनीहरूका सिर्जना र विचारमार्फत समाजका हरेक तहसम्म पुग्ने र यसले नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास आयोजकले लिएको छ। सृजना र आरोग्यताको यो सुन्दर संगमले नेपाली साहित्य क्षेत्रमा थोरै भए पनि नयाँ ऊर्जा थप्नेछ भन्ने विश्वास आयोजकको छ।
प्रकाशित: २५ असार २०८३ १३:५४ बिहीबार





