५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

देश रातारात साउदी कतार हुँदैन

मुक्तक

(१) मुक्तक

चुस्त, दुरूस्त गरौँ धेरै हतार हुँदैन

देश रातारात साउदी कतार हुँदैन

सत्य, त्रेता हैन कलियुग हो यो,

पहिरन फेर्दैमा कुनै अवतार हुँदैन।

(२) मुक्तक

किन आउँछ फर्कीफर्की यो शरद पनि

तस्वीर जस्तै नहुन सक्छ खास कद पनि

सुत्दाको त्यो रात उठ्दा दिन भए जस्तै,

मान्छे बदल्ने कस्तो रहेछ खै यो पद पनि।

(३) मुक्तक

कस्ले भन्यो र, छुरीमा धार हुँदैन भनेर

निश्चित हुँदैन लडाइँमा हार हुँदैन भनेर

चिसोले कठ्याङ्ग्रिएकालाई सोध त साथी,

हुन्छ हुँदैन थोत्रो ज्याकेट उपहार भनेर।

मुक्तककार धनबहादुर श्रेष्ठ

(४) मुक्तक

आँट हो वा साहस कि जोस प्रिय

होसमा नै थियौं कि बेहोस प्रिय

प्रशंसा गर्न नसके नि हिंसा नगर,

कति लगाउँछ्यौ मात्र दोष प्रिय।

(५) मुक्तक

धारिला सामग्री सबै छुरा हुँदैनन्

देखेका सपना सबै पूरा हुँदैनन्

धैर्यपूर्वक कर्म गर्दै जानुपर्छ

काम जस्तो अप्ठ्यारो कुरा हुँदैनन्।

(६) मुक्तक

छैन लाज उध्रेको सिउन फाटेको टाल्नलाई

गर्नु हुन्न माया अति बिग्रे सडेको फाल्नलाई

आफैं सच्चिऊँ अरू सच्याउन सकिँदैन भने,

टुकी बत्ती भए पुग्छ अन्धकारमा बाल्नलाई।

(७) मुक्तक

हरेकका आआफ्नै चाहना हुन्छ

बिनाकारण पनि त बहाना हुन्छ

एकतर्फी सोचाइ गरेर मात्र हुँदैन

सुनबिनाको पनि त गहना हुन्छ।

प्रकाशित: १९ पुस २०८२ ११:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App