२७ भाद्र २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

हिउँको ओछ्यान सौन्दर्यको बिस्कुन

नियात्रा

हप्ता दिनभन्दा बढी लामो पदयात्राको थकाइलाई बिस्तारै बिसाउँदै जब सगरमाथा आधार शिविरको ढोका उघ्रिन्छ, पृथ्वीको सबैभन्दा अग्लो शिखरको फेदमा आइपुगेको अनुभूतिले मनभरि अवर्णनीय उल्लास छाउँछ।

लाग्छ, अन्तिम गन्तव्यको सौन्दर्य र यात्राको परम आनन्द यहीं आएर थामिएको छ। मसँगै आइपुगेका असङ्ख्य पदयात्रीहरूको अनुहारमा पनि उस्तै उज्यालो फैलिएको देख्छु। सबैका आँखामा एउटै भाव झल्किरहेको हुन्छ– लामो हिँडाइपछि लक्ष्य भेट्टाएको गहिरो सन्तोष र त्यसले दिएको अनुपम आनन्द !

झ्यालबाट होइन, प्रत्यक्ष आफ्नै छातीमा आएर ठोक्किने चिसो हिमाली हावालाई अँगालोमा बेर्दै केहीबेर टोलाइरहन्छु। आँखाअघि भिरभरि हिउँको विशाल सेताम्मे ओछ्यान बिछिएको छ। त्यस ओछ्यानमा हिउँ चितुवा र याकका टापहरूको आफ्नै लय छ, तिनका गलामा झुन्डिएका घन्टीहरूको मिहिन धुन छ, अनि संसारका विभिन्न कुनाबाट आफ्नो सपना पछ्याउँदै यहाँ आइपुगेका पदयात्रीहरूको अनुहारमा उज्यालो बनेर पोखिएको हर्ष छ। ती सबै दृश्यलाई मनभरि समेट्दै जाँदा म आधार शिविरको सम्मोहक वातावरणमा बिस्तारै हराउन थाल्छु। यहाँको चिसो हावामा पनि एउटा न्यानोपन छ, सन्नाटामा पनि एउटा मधुर संगीत छ र हिउँको यो अनन्त विस्तारमा पनि जीवनको अद्भुत स्पन्दन धड्किरहेको अनुभूति हुन्छ। अनायासै लाग्छ– यात्राको सबैभन्दा ठुलो उपलब्धि गन्तव्यमा पुग्नु मात्र होइन, त्यस गन्तव्यले मनभित्र जन्माइदिने त्यो अवर्णनीय अनुभूति रहेछ।

हिमाली हावा र स्मृतिको बगैंचामा विचरण गरिरहेको छु। अलि पर खुम्जुङ, थामेका शेर्पा बस्तीका गल्छीहरू र गोक्यो रि हुँदै बगेको टुङ्नाको सुमधुर धुन बोकेर एउटा वेगवान् हिमाली हावा हुइँकिँदै आइपुग्छ। मेरो छेवैमा केही बेर अडिएझैं गर्छ र कानैमा मधुर स्वरमा फुस्फुसाउँछ– ‘आऊ, अझै अघि बढ। यात्रा गर। तिमी सगरमाथाको चुचुरोसम्म नपुगे पनि त्यसको फेदसम्म आइपुग्नु आफैंमा एउटा उपलब्धि हो। यहाँसम्मको प्रत्येक पाइला पनि विजयकै अर्को नाम हो। यही यात्राले तिमीलाई जीवनभर साथदिने सन्तोष मिल्छ।’

त्यस हावाको सन्देश सुन्दै म मुस्कुराउँछु। साँच्चै, यात्रा त पाइलाको गणना मात्र कहाँ हुन्छ र ? यात्रा त बाटोले मनमा छोडेका अनुभूतिहरूको अर्को नाम रहेछ।

नाम्चेका साँघुरा गल्लीहरू सम्झन्छु। संसारका अनेक देशबाट आएका यात्रुहरूको हाँसो, उनीहरूको उत्साह, चियाघरका गफ, पसलका चहलपहल र यात्राका अनगन्ती कथाहरू आज पनि ती गल्लीमा गुन्जिरहेकाजस्ता लाग्छन्।

हिमाली हावाले ती सबै सम्झनालाई आफ्नो वेगमा बोकेर निरन्तर उडाइरहेझैं अनुभूति हुन्छ। हिजो पैतालाले कोरेका गोरेटाका डोबहरू आज स्मृतिका चिनो बनेर मनमा उभिएका छन्। समय बित्दै जाँदा ती डोबहरू हराउँछन् तर तिनले छोडेका अनुभूतिहरू झन् गहिरिँदै जान्छन्। त्यसैले यात्रा सकिए पनि यात्रा कहिल्यै समाप्त हुँदैन। शरीर फर्किएर घर आइपुग्छ तर मनका पाइला भने हिमालका उकालो, ओरालो र ती हिमाली बस्तीहरूतिर फेरि–फेरि डुलिरहन्छन्।

आधार शिविरको चिसो हावामा उभिएर ती सबै सम्झनाहरूलाई एक–एक गरी छाम्ने प्रयास गर्छु। यतिबेला महसुस हुन्छ–हिमालले मानिसलाई केवल उचाइको अनुभूति मात्र दिँदैन, उसले स्मृतिलाई पनि समयसँगै झन् उज्यालो बनाइदिन्छ। सोच्ने शक्ति र अनुभूति गर्ने कुरामा नवीनताको दैलो उघारिदिन्छ।

सुगन्धित बाटो र प्रकृतिसँगको साक्षात्कारमा हरेक पल आँखा चुर्लुम्मै डुबिरहेको हुन्छ। आधार शिविरको यो निस्तब्धतामा उभिँदा यात्राका प्रत्येक पाइला फेरि स्मृतिमा जीवित हुन थाल्छन्। लुक्लाबाट ओरालिँदै गर्दा गुराँसका रनवनले गरेको आत्मीय स्वागत सम्झन्छु। तेङ्बुचेको उकालो उक्लँदा डाँफेको चञ्चल चाल र फुलेका गुराँसले मनमा छरेको उल्लास अझै ताजै छ।

इम्जाखोलाको झोलुंगे पुल पार गरेपछि पहिलोपटक आँखाभरि अटाएको आमादब्लमको मनमोहक रूप आज पनि उस्तै जीवन्त देखिन्छ। केहीमाथि बौद्ध स्तूपको काखमा क्षणभर विश्राम गर्दा पारिपट्टि उभिएको आमादब्लमको अनुपम सौन्दर्यले मनलाई निःशब्द बनाइदिन्छ। आधार शिविरमा उभिएर ती क्षणहरू फेरि एक–एक गर्दै सम्झन्छु। लाग्छ, हिमालले देखाएका दृश्यहरू समयसँगै धमिला हुँदैनन्, बरु स्मृतिमा झन् उज्यालिँदै जान्छन्।

अलि पर दृष्टि डुलाउँछु। हिउँको विशाल अंकमालबाट बिस्तारै पग्लँदै आफ्नै लयमा बगिरहेका हिमनदीहरू देखिन्छन्। फेरि दृष्टि तल झर्छ। दुधकोसी आफ्नो चिरपरिचित वेगमा ढुंगामाथि ठोक्किँदै, पानीका छिटाहरू उछिट्याउँदै र सेताम्मे फिँजसँग खेल्दै निरन्तर बगिरहेकी छ। माथि सगरमाथाको शिरबाट ओर्लिएको हिमशीतल स्पर्शले त्यो प्रवाहलाई अझ जीवन्त बनाइरहेको अनुभूति हुन्छ।

त्यो शीतल स्पर्शभित्र प्रकृतिको निश्छल माया छ, गहिरो मौनताको रोमाञ्चक विस्तार छ, अनि यात्राका प्रत्येक पाइलाले सिकाउँदै जाने जीवनबोध छ। आधार शिविरको यस साँझ सगरमाथाको विराट छायामुनि उभिएर मनले एउटा सत्य स्विकार्छ–हामी यहाँ भूगोलको उचाइ नाप्न आएका होइनौं। हामी त आफ्नै अन्तरमनको उचाइ छाम्न, प्रकृतिको विशाल काखमा केही क्षण आफूलाई चिन्न र जीवनलाई नयाँ दृष्टिले बुझ्न आएका रहेछौं।

खुसीको माहोलभित्र गाइड र पाहुनाको संवादले अर्को भाव–तरंगको नयाँ दृष्टिकोण सम्प्रेषण गरिरहेको हुन्छ। आधार शिविरको चहलपहल नियाल्दै गर्दा बाटोभरि भेटिएका अनुहारहरू फेरि एक–एक गरी सम्झनामा फर्किन थाल्छन्। पर्यटक पाहुना, शेर्पा, गाइड, भरिया, होटल सञ्चालन गर्ने दिदीबहिनी, सबैका अनुहारमा आआफ्नै कथा लेखिएका छन्। कठोर यात्राबिच पनि उनीहरूका मुस्कानले जीवनका साना–साना खुसीहरू कति अमूल्य हुन्छन् भन्ने अनुभूति गराउँछन्।

टाउको उठाएर चारैतिर दृष्टि डुलाउँछु। कतै बादलभित्र लुकिरहेका, कतै बादलको घुम्टो हटाउँदै मुस्कुराइरहेका हिमचुचुराहरू यात्रुलाई स्वागत गरिरहेका देखिन्छन्। प्रत्येक आगन्तुक आफ्नै अनुभूतिमा डुबेका छन्।

सुन्दरजी आफ्ना पाहुनाको स्वागत–सत्कारमा व्यस्त छन्। जापानबाट आएका दम्पती आधार शिविरसम्म आइपुगेको खुसीमा एक–अर्कालाई अँगालो हालिरहेका छन्। वरिपरि तातो कफीको सुवास फैलिएको छ। क्याम्पभरि हाँसोका तरंगहरू गुन्जिरहेका छन्।

यही उल्लासमय वातावरणबिच मेरो कानमा विदेशी पाहुना र उनका शेर्पा गाइडबिच भइरहेको आत्मीय संवाद पर्छ।

विदेशी पाहुना (वरिपरिका हिमालतिर हेर्दै)– ‘आज मेरो एउटा ठुलो सपना पूरा भएको छ। सगरमाथाको फेदमा उभिन पाउनु नै मेरा लागि ठुलो उपलब्धि हो। यहाँको सौन्दर्यले मन भरिएको छ तर एउटा कुरा सोधूँ ? यहींबाट माथितिर लाग्दा तपाईंहरूलाई कहिल्यै डर लाग्दैन ? सफलता र मृत्यु त यहाँ सँगसँगै हिँडिरहेका जस्ता लाग्छन्।’

शेर्पा गाइड (हल्का मुस्कुराउँदै केही क्षण हिमालतिर हेर्छन्)– ‘डर नलाग्ने मान्छे सायद कोही हुँदैन। हामीलाई पनि लाग्छ तर त्यो डरले नै हिमाललाई सम्मान गर्न सिकाउँछ। यहाँ हरेक पाइला सोचेर चाल्नुपर्छ। मौसमले कहिले साथ दिन्छ, कहिले छाडिदिन्छ, कसैले भन्न सक्दैन।’ विदेशी पाहुना केही बेर स्तब्ध हुन्छन्। त्यसपछि फेरि सोध्छन्– ‘यति जोखिम हुँदाहुँदै पनि तपाईंहरू वर्षैपिच्छे किन फर्किरहनुहुन्छ ?’

शेर्पा गाइडको अनुहारमा क्षणभर गम्भीरता छाउँछ। उनले बोलेका कुरा सुन्छु– ‘किनकि यही हिमाल हाम्रो जीवन हो। यही हाम्रो रोजगारी हो। यही हाम्रो आस्था पनि हो। हामी हिमाल जित्न निस्किँदैनौं, उसको अनुमति लिएर केहीबेर उसको काखमा हिँड्न निस्किन्छौं। हाम्रा पाहुनालाई सकुशल शिखरसम्म पु¥याएर सुरक्षित घर फर्काउन सक्यौं भने त्यही हाम्रो सबैभन्दा ठुलो सफलता हुन्छ। शिखरमा पुग्नु मात्र विजय होइन, सबै जना सकुशल फर्कनु नै साँचो विजय हो।’

यति भनिसकेपछि उनी क्षितिजतिर हेरेर चुप लाग्छन्। विदेशी पाहुना केही बोल्दैनन्। दुवैका आँखा एउटै दिशामा सगरमाथातिर आँखा झिमिक्कै नगरी अडिन्छन्। वरिपरि हाँसो र उत्सवको वातावरण उस्तै छ। हिमालप्रतिको सम्मान, जिम्मेवारी र जीवनको मूल्य अझ स्पष्ट सुनिन थाल्छ।

शेर्पा गाइडका आत्मीय शब्द सुनेपछि विदेशी पाहुना केही क्षण चुपचाप हुन्छन्। हातमा समातेको तातो कफीको कपबाट बाफ उडिरहेकै छ तर तिनका आँखामा भने अर्कै ताप सल्किरहेको देखिन्छ। आधार शिविरमा छाएको उल्लास, वरिपरि गुन्जिरहेको हाँसो र त्यो हाँसोभित्र अदृश्य रूपमा मिसिएको जोखिम, यी सबैलाई उनी आफ्नै अनुभूतिमा तौलिरहेका हुन्छन्।

म पनि केही पर उभिएर हिमालतिर हेर्छु। त्यही क्षण थोक्ला भन्ज्याङको स्मृतिपार्क झलझली सम्झनामा आउँछ। आरोहणका क्रममा ज्यान गुमाएका पर्वतारोहीहरूको सम्झनामा उभ्याइएका ती स्मारकहरू आज पनि हिमाली हावासँगै मौन संवाद गरिरहेका छन्। कुनै नाम समयले मेटाएको छैन, कुनै सपना हिउँले पुरेको छैन। ती सबै अभिलेखहरूले हिमालतिर उक्लेका प्रत्येक पाइलाको मूल्य सम्झाइरहेका छन्।

यतिबेला मौसम शान्त छ तर यही आकाश केही घण्टापछि बदलिन पनि सक्छ। यही हावा एकाएक गर्जनमा बदलिन सक्छ। यही हिउँ कुनै बेला जीवनको कोमल ओछ्यान बन्छ, कुनै बेला निर्मम हिमपहिरो। यहाँ न अनुभवको निश्चितता छ, न कीर्तिमानको। प्रत्येक पाइलाले विनम्रता माग्छ, प्रत्येक सासले प्रकृतिको अनुमति खोज्छ। एकैछिन म मौनतामा डुब्छु। यही मौनतामा कतैबाट हिमाली हावा फेरि बिस्तारै बग्न थाल्छ। सगरमाथाको काखबाट झरेको यो शीतल स्पर्श, हिमनदीको अविरल प्रवाह, याकका घन्टीको मिहिन धुन र प्रार्थनाका झन्डाहरूको फर्फराहट एकै स्वरमा मिसिँदै गएजस्तो लाग्छ।

मानौं, प्रकृति आफैं बोलिरहेकी छ– ‘म कसैको विजयको मुकुट होइन, कसैको पराजयको कारण पनि होइन। म त समयदेखि यतै उभिएको एउटा साक्षी हुँ। मलाई जित्न खोज्नेहरूभन्दा मलाई सम्मान गर्न सिक्नेहरू मेरा सबैभन्दा नजिक आइपुग्छन्। मेरो काखमा आउने हरेक पाइला साहसको कथा बोकेर आउँछ तर सुरक्षित फर्किने प्रत्येक पाइला नै जीवनको सबैभन्दा सुन्दर उत्सव हो।’

हावा फेरि शान्त हुन्छ। प्रार्थनाका झन्डाहरू अझै फर्फराइरहेका छन्। हिमनदी आफ्नै लयमा बगिरहेको छ। सगरमाथा उस्तै निस्पृह भएर आकाशतिर उभिइरहेको छ।

म पनि केही नभनी त्यस मौनताभित्र हराइरहन्छु।

त्यहाँ, अनन्तः हिउँको सेतो ओछ्यानमाथि, सुन्दरताको महिमा शब्दले होइन, स्वयं प्रकृतिले निरन्तर लेखिरहेकी हुन्छ। म पनि हिउँको त्यही चिसो ओछ्यानमा टेक्दै सौन्दर्यको न्यानो बिस्कुनमा लडिबुडी खेल्न थाल्छु।

प्रकाशित: २७ भाद्र २०८३ ०९:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App