१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

समय शल्यक्रिया

कथा

नन्दलाल आचार्य

प्रहरी कार्यालय परिसरभित्रको एउटा कोठामा घरीघरी आफ्नै पेट मुसार्दै गर्ने दुई युवती खडा थिए। मानौं,उनीहरूको पेटमा अनमोल रत्न लुकाइएको छ र त्यसलाई नसुम्सुम्याए कसैले चोरेर लगिदिन्छ। घरीघरी भने माइकको आवाज सुन्न नसकेर कान थुन्न पुग्थे। आवाज अझ थपिंदै जान्थ्यो। त्यसमाथि नजिकैको मस्जिदबाट मुस्लिम समुदायको साँझको प्रार्थना सुरुआत भएको संकेतको आवाज पनि थपिन्थ्यो। र आवाजै आवाजले सदरमुकाम नै जर्‍याकजुरुक उचालिन थाल्थ्यो।

यस बखत साँझको समय थियो। चैते रामनवमी पर्व नजिकिंदै थियो। मध्य तराईको त्यो सदरमुकाम समेत धार्मिक भएको थियो। चारैतिरबाट आएको भजनकीर्तन र प्रवचनको ठूल्ठूला आवाजले कानै खाइरहेको थियो। नजिकै उभिएर बातचित गर्ने मान्छेको आवाज पनि अधूरै सुनिन्थ्यो। माइकको ठूलो आवाजले मानव कोलाहललाई खर्लप्पै निलेको थियो।

ती युवतीहरू खडा भइरहन सक्दैनथे। केहीबेरमै थ्याच्चै बस्थे। र; निकैबेर दुवै कान थुनिरहन्थे। घरीघरी कान दाब्न खुकुलो पार्थे। बाहिरको आवाज कम भयो कि भनेर जाँच्थे। आवाज उस्तै एकनासे आइरहेको महसुस भए पछि भने कान बलियो गरी थुनिरहन्थे।

रात छिप्पिंदै गएपछि सडक पनि निर्जनतामा परिणत हुँदै जान्थ्यो। माइकको आवाज समेत मधुरो हुँदै हराउन पुग्थ्यो। ती दुवै युवती पनि पेटपूजाका सामग्रीहरू जोहो गर्नतिर लाग्थे। काँचोकचिलो दुईचार गाँस टिपेर दुवै विस्तरामा ढल्किन्थे। उनीहरू कहिले मैथिली त कहिले नेपालीमा कुरा गर्थे।

एकपटक आफ्नो पेटमा केले हो लात हान्दै छ भनेर अकस्मात् जुनुले मुख खोलिन्,‘दिदी, हम त छक्क पैरगेल छी। हमर पेटमे लात मारै जँका लाइगरहल छै। आब कथि हेतो?तोरा केना हैछै?

‘चुप लाग् गे। यहेन बात करेते काहीं?’ कानैनेर मुख लगेर शान्त स्वरमा मुनुले चुप रहन भनिन्।

‘चुप, केको चुप! हामीले चुप लाग्नुपर्ने कुनै काम गरेका छैनौं। मान्छेको अदालतमा त के ईश्वरको अदालतमा पनि म डुव्रिmन्छु। केको लाज र सरम! गल्ती गर्ने एउटा,लाज मान्नुपर्नेचाहिं हामी निरीह युवतीले?’जुनुले असन्तोषी मन खोलेकी थिइन्।

‘बहिनी, सुस्तरी बोल् न! यहाँका ड्यूटीका पुलिसले सुन्लान्। सारा इज्जत त गुम्यो, गुम्यो। बचेको थोरै इज्जत पनि यहाँ आएर लिलाम होला। ठूला दर्जाका पुलिसलाई थाहा भए पनि हामी कस्ता किसिमका अपराधी हौं भन्ने कुरा धेरैलाई थाहै छैन। तसर्थ मनका कुरा मनमै लुकाएर राख्। जस्तो समय आउँछ, त्यस्तै खेप्दै जानुपर्छ, सहँदै रहनुपर्छ। तर नारी इज्जतको धज्जी उडाउनु हुन्न, कुरा बुझिस् हैन?’मुनुले मनको ऊहापोह पोखेर शान्त भइन्।

जुनुले चित्त बुझाउनै सकिनन्, ‘जे भन् दिदी, बैनी त तेरै हुँ। स्वभावचाहिं तेरो जस्तो डरपोक छैन। म त भन्छु-आफूले कसैमाथि अन्याय गर्दै नगर्नू। कसैले आफैंलाई गर्छ भने त्यसलाई छाड्दै नछाड्नू।’

मुनु दिक्कलाग्दो अनुहार बनाएर हेरिरहिन्। जुनु सकसमा परिन् र धिमा आवाजमा भनेकी थिइन्, ‘तनाव नले दिदी। जस्तो पर्छ, त्यस्तै टर्छ। पेटमा एकएक वटा भविष्य बोकेकै छौं। तिनैलाई समालौंला। तिनीहरूले नै परिचय देलान्। समाजले हामीलाई बिर्से, बिर्सियोस्। हाम्रै भविष्यलाई असल मनुष्य बनाऔंला र समाजका प्रतिष्ठित आमा कहलिऔंला। हुन्न दिदी!’

‘कुरा त त्यसै ठानेको मैले पनि। तर, तँ अर्थोक केके भन्छेस्,भन्छेस्! आपतमा त धैर्यले काम लिनुपर्छ। बढी क्रान्तिकारी बनेर काम छैन। क्रान्तिको अध्याय हामीले सिध्याइसक्यौं। अब मनमा शान्तिलाई स्थान दिनुपर्छ।’

मुनुले अगाडि थपेकी थिइन्, ‘पेटको परिचयहीन भविष्यलाई शान्तिले हुर्कन दिनुपर्छ। मनमा क्रान्तिको ज्वाला दन्काएर अबोध बच्चालाई गर्भमै तड्पाउनु बुद्धिमान् आमाको कर्तव्य विलकुलै होइन।’

मुनुका कुरा सुनेर जुनु प्रसन्न भइन्। एकाएक मनका सारा क्रोध र ग्लानिहरू रछ्यानमा मिल्काइदिइन्। ख्याक् गरिन्; झ्यालबाट बाहिर थुकिन् र बाहिरकै दृश्य नियाल्न खोजिन्। बाहिर निष्पट्ट अँध्यारो मात्रै देखिन्थ्यो। त्यही अँध्यारामा सुन्दरता खोज्ने प्रयास गरिरहिन्।

‘बहिन गे! तुँ त चुप लागगेलिही! कि खिस्या गेलिही?’मुनुको मनमा जुनु रिसाई कि भन्ने लागेको कथन बाहिरिएको थियो।

‘केको रिसाउनू! ममतामयी आमा भने पनि, अभिन्न संगिनी ठाने पनि तैं एउटी त होस् नि! तँसँग पनि रिसाएर म कोसँग खुसाउनू! वास्तवमा तैंले भनेका कुराहरू जँचेर म चुप भएकी हुँ।’ धाराप्रवाह जुनुको आवाज सुनिंदै गयो, ‘तेरो सोच र समझ ऊध्र्वगामी रै’छ। हाम्रो विचार करिबकरिब मिलेकै रहेछ। म चैं तत्कालै परिणाम खोज्दी रै’छु। तँ चैं घटना गोप्य नै रहोस् भन्ने चाहँदिरहिछस्। तेरो जित भो। अब जे भन्छेस्, म त्यही मान्छु। आखिरमा तेरै बैनी न परे।’

मनको मैलो माझ्न पाउँदा दुवै खुशी देखिए। आआफ्ना विस्तरामा पल्टिए। केहीबेरमै निद्रादेवीको काखमा लुट्पुटिन पुगे।

खासमा मुनु र जुनु पूर्वी तराईमा रहने मध्यम परिवारका मैथिल समुदायका चेलीहरू हुन्। विद्यालयस्तरमा दुवै अब्बल विद्यार्थी गनिन्थे। एसएलसी परीक्षामा मात्रै नभई विज्ञान संकायतर्फ प्लसटुको  परीक्षामा समेत दिदीबहिनी क्रमश: जिल्ला प्रथम र दोस्रो भएका थिए। हरेक परीक्षामा उनीहरू ८/१० अंकले मात्रै अघिपछि हुन्थे।

सिर्जनशील क्षमता लोभलाग्दो भए पनि जुनुको हडबड गर्ने बानी थियो। त्यसैले उनी परीक्षामा प्रश्न छुटाउँथिन् वा एकाध प्रश्नको राम्रो उत्तर लेख्न समय भ्याउँदिनथिन्।

परीक्षा हलबाट बाहिरिएर उनी केहीबेर आफ्नै बेहोसीपनलाई धिकार्थिन्। मुनुको मुहार देख्नासाथ भने सारा चिन्ताका बादलहरू एकाएक गायव हुन्थे र सोच्थिन्, ‘घिउ कहाँ पोखियो, आफ्नै भागमा’ भनेझैं आफ्नै दिदी त फस्ट हुने हो नि। केही प्रश्नको उत्तर कमजोर नहुँदो हो त कसलाई फस्ट पार्नु; कसलाई सेकेन्ड! सरहरूलाई पनि द्विविधा पर्दो हो। फेरि सधैं सबैलाई जितेकी दिदी; मसँग हारेर सेकेन्ड भई भने कालीनीली हुँदिहोली।’

मुनुले भेट्दा जुनु मुस्कुराइरहेकी हुिन्थन्। मुनुको प्रश्नको जवाफ दिंदै जुनुको सदाबहार उत्तर हुन्थ्यो, ‘मैले कस्तो लेखें। तँ फिक्री नै नलिई न। रिजल्टको कुरा गर्न! तँ फस्ट, म सेकेन्ड! हेर्दै ज, हामी दिदीबैनीलाई कसैले टप्न सक्दैनन्। कर्म गर्दै जा न, फलको लोभ नगर्। फल स्वतः हात पर्छ। टेन्सन बन्दै नले न!’

‘भोभो, प्रवचन बन्द गर्। गीता दर्शन पनि नफलाक्। हामी कसैलाई जितेर विजयको माला पहिरिन जन्मेका हैनौं। हामी त सबैलाई जिताएर खुशीको वर्षा गराउन आएका हौं। हामीले अरू अघि बढे मात्र जित्न सकिन्छ भन्ने ठान्नुपर्छ। बरु पछि रहे कहिल्यै जित्न सकिन्न भन्ने मान्नुपर्छ।’

जुनु वाल्ल परेर हेरिरहन्थिन्। मुनु अगाडि थप्दै जान्थिन्, ‘अहिलेसम्म हामीले जित्न सकेका छैनौं किनकि हाम्रो छेउछाउमा कोही आउन सकेका छैनन्। शिक्षकहरूको मनमस्तिष्कमा हामी दुईले मात्र एकछत्र राज गरेका छौं। भनौं न, अरूको भाग खोसेर कप्ल्याककुप्लुक पारेका छौं।’

‘अँ,पढ्ने बेलामा केटाहरू खोप्पी र गुच्छामा भुल्छन् कि बल्छी लिएर माछा मार्न खोला-खोल्सातिर दगुर्छन्। केटीहरू घरपरिवारको चुलोचौकामा व्यस्त हुन्छन्। फुर्सद मिल्दा घाँसपात र मेलापात गर्नमै आफ्नो भविष्य देख्तछन्। अनि परीक्षा हलमा चिट र गाइडबाट लेख्न खोज्छन्।’

जुनु थप्दै गएकी थिइन्,‘त्यसो गर्दा कहाँ नम्बर पाइन्छ त! हामीजस्तो पारिवारिक मर्यादा र आत्मानुशासनमा बस्ने हो भने मात्रै तेरो सिद्धान्त लागू हुन्छ। सबै लेखपढमा अब्बल हुन्छन्। विद्यार्थी जीवनको मूल्य र महत्त्व बुझ्छन्। अनि मात्रै तेरो सिद्धान्तले व्यवहारमा मूर्त रूप लिन पाउँछ।’

उनीहरूका बीच यस्तै संवाद हुन्थे। विद्यालयीय शिक्षा सकेर दुवै राजधानी छिरे। इञ्जिनियरिङ लाइनमा मास्टर डिग्री सिद्धयाए। नोकरीको खोजीमा तयारी कक्षा लिने विचारमा थिए। बर्दिबास-सिन्धुलीको छोटो बाटो हुँदै काठमाडौं आवतजावत गर्ने क्रममा उनीहरू दुवै एकैपटक दुर्भाग्यको सिकार भए। त्यस घटनाले उनीहरूको जीवनको गति र वेग नै बदलियो।

जुनूलाई चिठीमार्फत आफ्नो दुर्दशा छाद्ने मन भयो। उनी आँखा रसिला पार्दै  लेख्न थालिन्। कलमले रुक्ने नामै लिएन-ममतामयी मामू! म झण्डै बहुलाएँ। समाजका आँखामा त अझ पनि बहुलाएकै छु। यद्यपि म स्वयं भने भन्दै छु-म झन् सद्दे भएकी छु। म पहिलेभन्दा बढता नै सचेत भएकी छु। अचेल अझ गहिरिएर जीवनलाई बुझ्ने गरेकी छु। तीतो सत्य ओकल्न गाह्रो छ। माफ गर्नुहोला-अचेल तपाईंकै ब्याजलाई रातोदिन पोषण गर्न व्यस्त छु।

मामू! अचेल म रातको निष्पट्टतामा पनि सुन्दरी नर्तकीहरू नाचेको देख्छु। दिनको मानवीय कोलाहलमा समेत अनमोल ऊर्जा छरिएको भेट्छु। दिनको प्रचण्ड तापले तिर्खाएको प्रकृतिले जुनेली रातको शीतलता पिएर प्यास मेटेको पाउँछु। साँझको झ्याउँकीरीको आवाजमा नौमती बाजाको धुन सुन्छु। रातको ओछ्यानको लामखुट्टे उर्दीमा चेतावनीको तुफान भेट्छु। अझ गल्लीका भुस्याहा कुकुरहरूको बेतुकको भुकाइमा उटपटयाङ समाजलाई झापड देख्दछु। रात परेपछि छेउकै चौतारामा रात गुजार्न तेर्सिने रन्जिते बौलाहाको भोक र जाडोले काँपेको व्रmन्दनले समाजको उछितो काढेको पाउँछु।

आज जुनु अनर्गल कुरामा किन अल्झाउँदै छे नभन्नुहोला। तपाईंका दुवै छोरी परिस्थिति र परिबन्दका दासी भयौं। हामी दुवैले एक कोरी उमेर पार गरिसकेछौं। नेपालको कानुनका हरेक हाँगाबिंगाका दृष्टिले वालिग भइसकेछौं। अब आफ्नै खुट्टामा टेकेर अरूलाई छहारी दिनसक्ने अवस्थामा पुगेछौं।

मामू! दुःख गरेर बढाउनुभयो। ठूल्ठूला सपना सँगालेर काठमाडौं ल्याएर पढाउनुभयो। देशको दक्ष इन्जिनियर पनि बनाउनुभयो। अब फल पाक्यो,परिवारका दुःखका दिन गए र सुखको सूर्योदय हुने अवस्था आयो भन्नुहुन्थ्यो होला। हामी समयको दासी बनेको चाल पाउँदा सम्मालिन गाह्रो पर्ला।

मामू, धेरै दिनलाई होइन। सिर्फ केही समयका लागि हामी बन्धनमा जाकियौं। बन्धनमुक्त भएपछि हाम्रो पुनर्मिलन हुने नै छ। सत्य थाहा पाएर आँखाभरि आँसु नपार्नुहोला। शरीरलाई सुक्न र मनलाई रुग्ण हुन नदिनुहोला। शत्रुलाई हाँस्ने र पराईलाई कुरा काट्ने मौका बिलकुलै नदिनुहोला।

मामू! हजुरहरूले मन बलियो बनाएर पढ्नुहोला। र सोच्नुहोला-छोरीहरूले जे गरेछन्, हामीले दिएको संस्कार अनुरूप गरेछन्। मातृवात्सल्यमा मोहित भएछन्। समाजको लाञ्छनासँग जुध्न कम्मर कसेछन्।

स्वावलम्बी शिक्षा आर्जनको वातावरण तयार हुँदै जाने हो भने समाजमा लैंगिक विभेद मक्किँदै जान्छ। महिला हिंसा न्यूनीकरण हुँदै जान्छ। महिलालाई सशक्त पार्दै हिंड्ने हो भने महिला आफैंले नयाँ संस्कारयुक्त समाज निर्माण गर्न अवश्य सक्छन्। अझ अपराधीहरूलाई दण्डको दायरामा ल्याई पीडितलाई राहत दिलाउने हो भने दिनानुदिनु हिंसा घट्दै जान्छ। र; एकदिन नेपाल महिला हिंसामुक्त राष्ट्र घोषित हुन्छ।

मामू! तपाईंले भनेका यस्ता कुरा अहिले पनि मेरो मस्तिष्कमा ताजै छ। तपाईं अगाडि भन्नुहुन्थ्यो-मानव सृष्टिमा नारी माया र दयाको खानी हो। जगतैलाई उज्यालो पार्ने सौन्दर्यको रानी हो। सहनशीलताको प्रतिमूर्ति हो। आस्था र विश्वासको धरोहर हो। समाजका शब्दरूपी भालाले मुटु छियाछिया पारिदिए पनि मनको पीडा पिएर र पचाएर केवल मुस्कान ओकल्ने अद्भूत कलाकार हो। नारी सृष्टिको संंरक्षक र समाजको अमूल्य गहना हो।

हामी चुपचाप सुन्थ्यौं। हजुर धाराप्रवाह अगाडि बगिरहनुहुन्थ्यो-हाम्रो समाजले नारीप्रति सामाजिक, आर्थिक, शारीरिक, मानसिक, सांस्कृतिक रूपले अमानवीय, अपाच्य, अनैतिक तथा अवैधानिक व्रिmयाकलापहरू गरिरहेको छ। दिनानुदिन समाजमा देखिएका र आमसञ्चारहरूमा समेटिएका बलात्कार, बोक्सी, दाइजोको नाममा गरिने कुटपिट तथा ज्याजतीका घटनाहरू दिनदिनै बढ्दा छन्। व्यथित मनको रोदन र भित्रभित्रै दबेको क्रन्दनबाट निस्केको आँसुले हरेक रात सिरानी भिजाउने पनि नारी नै भएका छन्।

मलाई लाग्थ्यो-यस्ता कुराहरू सुन्दर, शान्त, सुखी र समृद्धिको पथमा अग्रसर हाम्रो जस्तो राष्ट्रका लागि तगारो हो। अब व्यवहारमै नारी र पुरुष एक रथका दुई पाङ्ग्रा बन्नुपर्छ। देश विकासको यज्ञकुण्डमा पुरुष चरु बनेर र महिला सुरो भएर होम गर्नुपर्छ तब मात्र विकासको मूल फुट्न सक्छ।

तपाईं भन्दै जानुहुन्थ्यो-अझै पनि यो पितृसत्तात्मक समाजले महिलाको बोली, व्यवहार, भावना र सहभागितामाथि चोर औंलो उठाउँदै छ। जन्मँदै लैंगिक विभेदको रेखा कोर्दै छ। मानवता र नेपाली संस्कारलाई बिर्सिएर अबोध चेलीको इज्जत लुट्छ। चार वर्षीया बालिकालाई नरपशुहरूले बलात्कार गरेको घटना सेलाउन नपाउँदै पश्चिम नेपालमा रजस्वला हुँदा छाउपडी गोठमा निस्सासिएर मृत्यु भएका युवतीहरूको घटना सुन्नुपर्छ। कतै देउकी बनेर त कतै झुमा भएर नारी अस्मिता गुमाउनुपर्छ।

मामू,अहिले म यस्तो ठहरमा पुगेकी छु-कानमा रुई कोचेर र हातमा दही जमाएर बसिरहे पीडितहरूको जीवनमा उज्याला दिन कहिल्यै आउँदैनन्। पीडितमाथि परपीडकले राज गरिरहने छ। तसर्थ अब हामीले कान सफा गर्नु जरुरी छ। सधैं सिर्जना र निर्माणमा रमाउने पाखुरीलाई विध्वंशमा उपयोग गर्नुपरे पनि खुट्टा कपाउनु हुन्न। देवीले अत्याचारी दैत्य संहार गरेर साधुजनको रक्षा गरेको पृष्ठभूमिमा महिला स्वयंले देवीझैं बन्ने हिम्मत गर्नुपर्छ। अपराधीलाई कानुनको कठघरामा उभ्याउनुपर्छ र सजायको भागिदार बनाउनुपर्छ। आफूले रचेको दृष्टान्तले अन्य मानिसहरूलाई पनि चेतनशील र सतर्क बनाउने काम गर्नुपर्छ।

हो मामू! यसका लागि सर्वप्रथम लाखौं नारीको जीवन घर न घाटको बनाउने अपराधिक गिरोहको सूची तयार पार्नुपर्छ। हरेक न्यायालयका कुनाकाप्चामा थन्किएका महिला हिंसाका मुद्दाहरूका पोकापन्तेराको धुलोमैलो टक्टक्याउनुपर्छ। न्यायपालिकालाई नातावाद, कृपावाद राजनैतिक संरक्षण, भनसुनको हावाले छुन दिनु हुन्न। न्यायालयको निर्णयबाट रुष्ट बनेर ‘मेरो न्याय मर्‍यो, न्याय दे’ भनेर अर्को जुलुस थपिने काम विलकुलै हुनु हुन्न। आफ्ना पीडित जनताका पक्षमा राज्य स्वयं सचेत र सव्रिmय रहनुपर्छ। शक्ति र जिम्मेवारीलाई विकेन्द्रीकरण गरी महिला हिंसाको पहिचान गर्नुपर्छ। परपीडकलाई दण्ड र पीडितलाई क्षतिपूर्ति सहित सम्मानजनक जीवन जिउने गरी समाजमा पुनर्स्थापना गर्नुपर्छ।

हो मामू! यत्ति गर्न सके मात्र यो समाज नरनारी दुवैको हुन्थ्यो। कसैले चित्त दुखाएर गहभरि आँसु पारेर झोक्राउनु पर्दैनथ्यो। यहाँ मेरा कुरा सुन्ने दिदी खडा छे। घरमा सुनिदिने हजुर नै हुनुहुन्छ। तसर्थ म निर्धक्क मूल कुरा कोट्याउँदै छु, ‘मामू, पाँच दिनदेखि हामी प्रहरी थानाको हिरासतमा छौ। हाम्रो मुद्दा अदालतमा गइसकेको छ। सके चाँडै फैसला हुन्छ। हामीले आफूहरूले गरेको अपराध कबुल गरेर कानुनको सम्मान गरेका छौं। हिंसाको चक्रमा फस्न विवश कहानीको सविस्तार फेहरिस्त सबैका सामु राखेका छौं। र उन्मुक्ति खोज्ने प्रक्रियागत भूल गरेको स्विकारोक्ति प्रकट गरिसकेका छौं। आशा छ-कमै सजाय हुनेछ।’

मामू! भएको के हो भने हामी काठमाडौं जाँदै गर्दा सिन्धुलीको बाटैमा गाडी बिग्रियो। तीन घण्टापछि मात्रै गाडी बन्ने सूचना पाइयो। हामी दुई दिदीबहिनी प्रकृतिको अनुपम सौन्दर्यको अवलोकन गर्दै तल्तिर झर्न थाल्यौं। त्यहाँ भेटिएका वनस्पतिहरू हाम्रा लागि अनौठा थिए। खोलामा देखिएका ससानादेखि भीमकाय ढुंगाहरू हाम्रा लागि अनौठा थिए।

हामी रमाउँदै थियौं। मालवाहक ट्रक आएर हाम्रोसामु रोकियो। टाउको उठाएर के हेरेका थियौं पुरुष स्वर सुनियो, ‘बैनीहरू, तल्तिर जाने हो भने गाडीमा बस्नुस्। रामेछाप नै पुग्ने भए पनि हिंड्नुस्। त्यहाँ विशाल पार्क छ। प्रसिद्ध मन्दिर पनि छ। त्यहाँको दृश्य साह्रै सुन्दर छ। हामी मास्तिर पुगेर फर्किहाल्छौं। फेरि यही गाडीमा फिर्नुहोला। भाडा लाग्ने हैन। जाने मन भए बस्दा हुन्छ।’

सुरुमा त एक्कासि आएको त्यस्तो प्रस्ताव मन भएर पनि स्विकार्न सकिएन। टाउको हल्लाएरै अस्विकारेपछि ड्राइभर गाडीबाट उत्रियो। र; हामी नजिक आयो। हामी अलिक पर सर्‍यौं।

अर्को खलासी चाहिंले भन्यो, ‘जाऔं गुरुजी, बैनीहरू नजाने रे।’

ड्राइभरले फेरि कर गर्‍यो। मैले नै मुनुलाई भने, ‘हिंड् न त दिदी! एक फेरा पुगेर आऔं। नयाँ ठाउँको नयाँ अनुभव पनि लिई हालौं। समय पनि छ। देवीको दर्शन पनि गरौंला।’

बल्लतल्ल दिदी तयार भई। गाडीमा बसियो। गाडी हिंड्न थाल्यो। हाम्रा बारेमा ड्राइभरले सारा कुरा सोध्यो। बिनाहिचकिचाहट मैले नै बेलिविस्तार लगाएँ। केहीबेरमा हामीलाई गन्तव्यमा उतारेर गाडी डाँडातिर लम्कियो। वरपर घुम्यौं। पहाडी सुन्दर दृश्यमा केहीबेर हरायौं। निकैबेर प्रकृतिको काखमा आफ्नो चञ्चलता बिसायौं। समग्रमा हामी असाध्य रमायौं।

केहीबेरमै गाडी फर्कियो। हामी चढ्यौं। पहिले आएको बाटो छाडेर गाडी अन्यत्रै जान थाल्यो। मैले स्मरण गराउँदा ड्राइभर भन्न थाल्यो, ‘पुग्छपुग्छ। पैलाकै ठाउँमा पुग्छ। आत्तिने काम छैन। हाम्रो साथ पाएपछि केहीको पिरलो मान्नु पर्दैन। एक क्षणपछि आनन्द बर्सिन थाल्छ। त्यसमा नुहाउने हो।फ्रेस बन्ने हो अनि गन्तव्य पक्रने हो। कि कसो बैकुण्ठे?’

ड्राइभरका बदलिएका कुरा सुनेर र बैकुण्ठेले जुँगामा ताउ लगाएको देखेर हामी आत्तियौं। हाम्रो अनुहार बदलिएको देखेर मेरो केशराशि मुसार्दै ड्राइभर फुस्फुसायो, ‘साह्रै कलिला तरुनी फेला परे। कसैले छुँदै नछोएका सुकुमारी मोरीहरू! तिमेरु एकैक्षण आफ्नो शरीर हामीलाई सुम्पिदेओ र आनन्दको महासागरमा डुबुल्की लगाओ।’

यसो भन्दाभन्दै जंगलको एक कुनामा गाडी रोकियो। दुवै राक्षस हामीमाथि आइलागे। सतित्व बचाउन भरमग्दुर प्रयास गर्दागर्दै बैकुण्ठेको थप्पडले दिदीको नाथ्री नै फुट्यो। ऊ एउटा हातले नाक थुन्दै र अर्को हातले प्रतिकार गर्दै गई। आखिरमा उसले हार मानी बैकुण्ठे दिदीलाई निर्वस्त्र पार्न सफल हुन थाल्यो। मसँग जुधिरहेको ड्राइभरले त्यो दृश्य देखेछ।

मलाई छाडेर दिदीतिर लम्किंदै भन्यो, ‘ए बैकुण्ठे! तँ बहिनीलाई समाल्। म दिदीलाई समाल्छु। दिदी सजिली रहिछ,पग्रिहाली। बहिनी ज्यादै ज्याद्री कोरली रहिछ। हत पार्नै मुस्किल!’

त्यही मौकामा मैले पनि लामो दम लिएँ। नजिकै चुच्चो परेको ढुंगो रहेछ, टिपें  र दिदीतिर नियालेको त ऊ रक्तमुच्छेल भइसकिछ। ऊ चिच्याउन पनि नसक्ने अवस्थामा पुगिछ। ड्राइभरका तीखा दाह्रा दिदीको छातीमा गाडिएका थिए। उसका राक्षसी हातहरू दिदीको पाइन्ट खोल्न आतुर थिए।

त्यसैबेला बैकुण्ठे ममाथि आइलाग्यो। खोई कहाँबाट तागत आयो; हिम्मत जाग्यो कुन्नि! न्वारानदेखिको बल झिकेर बैकुण्ठेको शिरमा निकै पटक चुच्चे ढुंगा बजारें। ‘मारी है मोरीले! मरें है आमा!’ भन्दै पर्तिर उछिट्टिएर ढल्यो। त्यसपछि त्यही ढुंगा लिएर ड्राइभरमाथि जाइलागें।

ऊ दिदीलाई छाडेर प्रतिरक्षात्मक स्थितिमा आयो। मदिरा पिएकाले होला उसको नौनाडी गलिसकेका थिए। त्यसमाथि बैकुण्ठे ‘पानी! पानी!!’ भनेर मुख बाइरहेको दृश्यले पनि उसको होस उडेको हुनुपर्छ। त्यही मौकामा मैले उसको अनुहारमा जताततै प्रहार गर्न थालें। ऊ आँखा छोप्दै ‘मारी है राँडीले, मारी!’ भन्दै भुईमै तेर्सिएर घुम्न थाल्यो। मैले पनि तीनचार ढुंगा त्यसको जननेन्द्रीयमा पर्ने गरी हानें। ऊ झन् कोकोहोलो गरेर चिच्याउन थाल्यो।

मुनुले मलाई रोक्दै भनी, ‘छाडी दे, यिनीहरूका लागि सजाय यत्ति नै हो। हिंड् भागौं। कसैले देखे भने हाम्रै गल्ती भन्छन्। उस्तै राक्षसको फेला परे...!’

कता जाने केही थाहा थिएन। पानी जता बगेको छ; त्यतै गइरहे अवश्य तराई पुगिन्छ र मामूको काखमा पीडा बिसाएर मन हलुका पार्न पाइन्छ भन्ने लाग्यो। मैले मुनुको हात पक्रिएर तुफानका साथ खोलै खोला पूर्वतिर दौडियौं। अनकन्टार जंगल, बडेमानका ढुंगा र दायाँ-बायाँमा विशाल पहाडबाहेक अर्थोक केही थिएन। घरीघरी वन्यजन्तुको खस्य्राङखुस्सुङ आवाज सुनिन्थ्यो। चराहरूको चिरबिराहट भने पीडा बिर्साउने खालको थियो। दौडमा हामीले निकै समय बिताइसकेका थियौं। थकाइको सीमा थिएन।

खोला किनारकै ढुंगामा बिसायौं र पछि फर्केर हेर्‍यौं। मान्छेको चालचुल थिएन। आकाशतिर हेरेको त घाम अघि नै गायव भइसकेको रहेछ। यद्यपि अझै उज्यालै थियो। सायद डाँडाले छेलिएर होला घाम नदेखिएको।

खोला छाडेर डाँडा उक्लियौं। झयाम्म परेको झोक्री फेला पर्‍यो। त्यहीं रात कटाउने निधो गर्‍यौं। मुनु मेरा खुट्टा पक्रिएर भन्न थाली, ‘बैनी, तँ मेरा लागि साक्षात् देवी होस्। तैंले मलाई जीवनकै दुर्भाग्यबाट बचाइस्। तेरो जस्तो आँट र साहस मसँग रत्तिभर छैन। बुद्धिले काम नगरे साहसले गर्नुपर्छ। साहसमा बुद्धि हुन पनि सक्छ, मुढेबल मात्रै रहन पनि सक्छ भनेको सत्य रहेछ।’

‘आखिरमा म तेरै बहिनी हुँ। तैंले जुठो पारेको मामूको लाम्टो नै चुसेर शक्ति जम्मा पारेकी हुँ। तेरै साथसहयोगले साहस बटुलेकी हुँ। तैंले सिकाएको ज्ञानकै बलले यत्तिको चनाखी भएकी हुँ। तसर्थ मेरो सफलता र पराक्रम जे देख्छेस्, त्यसमा आफ्नो पनि हिस्सा देख्ने गर्। तँ साथमा भएपछि म पहाड पनि फोर्न सक्छु, खोलाका यत्रा ढुंगा पनि पगाल्न सक्छु। तसर्थ हिम्मतले अघि बढ् दिदी! सबै प्रतिकूल परिस्थिति अनुकूल बन्दै जान्छ।’

हामी दिदीबहिनी बीच यस्तै कुरा भइरहे। गफैगफमा कत्तिखेर आँखा लागे। विहान जंगली कुखुरा बास्दा पो आँखा खुले।

छ्याङ्ग उज्यालो भएपछि हिंड्न सुरु गरियो। केहीबेरमै सडक देखापर्‍यो। पैदल हिंड्न खोलाभन्दा सडक बेस होला भन्दै माथि उक्लियौं। सडकमा कसैले गाडी रोकेर तराईसम्म पुर्‍याइदेला कि भनेको। त्यस्तो कोही फेला परेन। हामी पैदलै ओरालो भर्न थाल्यौं।

अकस्मात् प्रहरीको बाइक देखापर्‍यो। चालकसहित दुई जना मात्रै थिए। उही ड्राइभर र खलासीको दृश्य आँखा अघिल्तिर आयो। दुवै जना दौडियौं। प्रहरी बाइक पछ्याउँदै आयो। ‘रुक! रुक!! नभाग, नभाग!!’ भन्दै थियो। सुनेको नसुन्यै गरी हामीले सडक छाडिदियौं र ओरालो खँदारियौं। तल खोलामा पुगेर के श्वास मात्र फेरेका थियौं, खै कताबाट अगिकै प्रहरीको सई टुप्लुक्क देखापर्‍यो। फेरि हाम्रो होसहवास् उड्न थाल्यो। सईले आश्वस्त पार्दै थरीथरीका प्रश्न सोध्यो। दिदी त बोलिनँ। तर; मैले चाहिं सोझो मनले अघिल्लो दिनको भिडन्तको लामै फेहरिस्त बताएँ।

दिदी कालीनीली भई। मौका छोपेर सईले कपट मन देखायो; ‘कानुन हातमा लिने काम गरेछौ। केही छैन। तिमीहरू मेरो शरणमा आओ। शरण परेकालाई मरणमा पार्ने मेरो बानी छैन। म जे भन्छु। त्यही मान। यसमा तिमीहरूकै कल्याण छ।’

उसले अगाडि थप्यो, ‘खलासीले त हिजै जिब्रो टोकेछ। ड्राइभरका भने दुवै आँखा फुटेका छन् रे। टाउको र जननेन्द्रीयमा ठूलै चोट छ रे! त्यो त बाँच्ला तर अन्धो भएर बाँच्छ। यस अपराधमा तिमीहरू दुवैलाई हदैसम्मको सजाय हुन्छ।’

उसका कुरा सुनेर मन अतालियो। के भनौं र कसो गरौं भयो। चुपचाप हेरिरह्यौं,सुनिरह्यौं। मनले गुन्नसम्म सकिएको थिएन।

‘बँच्ने विचार छ भने मेरो इरादा र इसारामा एकाध घण्टा नाच। ढुक्कले तराई पुग्ने छौं। आफन्तसँग रमाउन भेट्ने छौं। भन, मान्छौ ?’ उसले मुख मिठ्याउँदै अमूर्त प्रस्ताव तेर्सायो।

एकान्तमा रोकेर राखेको प्रस्ताव सुन्दा हाम्रा ओठतालु सुके। धरती घुम्दै गएको अनुभव भयो। अब के गर्ने भनेर हामी आपसमा मौन संवादमा अल्झिरह्यौं। सईले हामीलाई डोहोर्‍याउँदै सुरक्षित स्थानमा पुर्‍यायो। ओठ भिजाओ भने मुखमा तीतो–टर्टो गन्हाउने झोल हालिदियो। निल्न सके शरीरमा फुर्ती आउने कुरा बतायो। निल्न नमान्दा पेस्तोल देखाउँदै भन्यो, ‘भनेको खुरुक्क मान। नत्र एकै गोलीमा दुवै ढलौला। अपराधी भाग्दाभाग्दै कारबाहीमा परेको व्यहोरा बनाएर कामकुरा सिद्धयाउनु नपरोस् नि!’

मुटुले ठाउँ छोड्यो। ऊ पियाउँदै गयो। हामी पिउँदै गयौं। दिदी त पहिले नै अचेत भई। म भने अर्धचेत अवस्थामा थिएँ। सई ममाथि आइलाग्यो। मैले जोडले ठेल्दा उत्तानो टाङ लगाएर लड्यो। अनि दिदीको शरीरसँग खेल्न थाल्यो। म उठ्न खोज्थें तर सक्तिनथें। चिच्याउन चाहन्थें तर आवाज निस्कँदैनथ्यो।

हेर्दाहेर्दै ऊ शिथिल भयो र अर्धवस्त्रमै मकहाँ आयो। मेरो अधरमा बेस्कन टोक्यो। म जोडले चिच्याएँ। उसले बोतल खोल्यो र घटघटी पिलायो अनि के भयो र के गर्‍यो,उही जानोस्। मेरो होस हरायो।

बेलुकाको चार बजेको हुँदो हो मेरा आँखा खुले। दिदी घोप्टो परेर रोइरहेकी थिई। सई सान्तवना दिने प्रयासमा थियो। कपडा समेटेर लगाएँ र राताराता आँखा पारेर सई अगाडि उभिएँ। ऊ पनि हातमा पेस्तोल लिएर हान्ने पोजिसनमा उभियो। मैले ढुंगा टिपें। दिदी आएर रोकी।

भनी, ‘हुन्दे बैनी, खुन–खराब गरेर इज्जत फर्कँदैन। छाडिदे। अर्कालाई मार्नु भनेको आफैं जेलमा सड्नु हो। बाँच्न सकुञ्जेल एक कुनामा गएर बाचौंला। बाँच्न नसक्ने अवस्था आएछ भने जय माता कि भनेर सप्तकौशिकामा यो देहलाई विश्राम दिऔंला।’

उसकै जित भयो। मेरो हातबाट ढुंगा तल खस्यो। मेरो शिर लत्रियो। सईले पनि पेस्तोल थान्को लगायो। वातावरणमा सन्नाटा छायो।

गोजीबाट निकालेर १/१ गोली थम्याउँदै सईले मुख खोल्यो, ‘यो एकै खुराक ओखतीले गर्भमा केही अडिन दिंदैन। ढुक्कले खाओ र निश्चिन्त बन। मैले सयौं जनामा प्रयोग गरेको छु। ओठमा हाँसो लिएर घर जाओ।’

उसले दिएको गोली आँखा चिम्लेर खायौं। घरको साटो काठमाडौं नै फर्किने निधो गर्‍यौं। सईले नै गाडी चढाइदियो। मीनभवनस्थित कोठामा पुग्नासाथ झोलाहरू गेटभित्र राखिदिएको पायौं। झोलाको गोजीमा आईडी कार्ड भएकाले गाडीवालाहरूले ल्याइदिएछन्।

पहिले नै जँचाउन लाजले सकिएन। मिन्स हुन छाडेकाले दुईतीन महिनापछि जँचाएको त दुवैको गर्भ रहन गएछ। दुईतीन ठाउँमा जचाउँदा पनि पोजेटिभ नै देखियो। फसाद पर्‍यो। निकै समय हामी विलखबन्दमा परिरह्यौं।

अन्ततः भु्रणको दोष नभएर परिबन्दमा पार्ने सुईको दोष सम्झन पुग्यौं। र; मेरै करबलले दिदी सहमत भई। दुवैले एउटा नाटक रच्ने योजना बनायौं।

हामी पुग्यौं सईकहाँ। हाउभाउले उसलाई मोहित पारेर पहिलेकै ठाउँमा पुर्‍यायौं। रक्सीले मतायौं र; दिदी अर्धनग्न भई पल्टिदिई। म सुरक्षाकर्मी बनेर ड्युटीमा बस्दी भएँ। जब सई पनि अर्धनग्न अवस्थामै दिदीको शरीरसँग जिस्कन थाल्यो। मेरो पालो चुच्चे ढुङ्गैढुङ्गाले खप्परै खप्परमा हानें। उसले पेस्तोल निकाल्ने कोसिस गर्‍यो। हातैहातमा हानें।

‘मरें है आमा’ भन्दै ऊ रन्थनिंदै उठ्यो र पर्तिर पुगेर पसारियो। मैले ढुङ्गा प्रहार गरिरहें। केहीबेरमै ऊ निष्प्राण भयो।

हामीले नजिकैको प्रहरी चौकीमा गई अपराध कबुल गर्‍यौं। र अहिले सदरमुकामस्थित प्रहरीको निरगानीमा हिरासतको जीवन भोगिरहेका छौं।

मामू; अरू कुरा स्वयं गुनेर बुझ्नुहोला। अन्याय नसहने संस्कार पायौं र समाजका कसिंगर मिल्काउने जमर्को गर्‍यौं। हामीले जे गर्‍यौँ; रहरले नभई बाध्यताले गर्‍यौं। हामीजस्ता अरू धेरै जुनु र मुनु नबिटोलिऊन् भनेर यस्तो कदम चाल्न पुगेका हौं।

हजुरको मनमा झड्का दिन विवश हुनुपरेकोमा क्षमा चाहन्छौं।

श्रद्धेय बाबा, म हजुरलाई पीडा थप्दै छु। सक्नु भए सहनुहोला। नसके दुईटी छोरी थिए; दुवै एकैपटक मरे भन्ठान्नुहोला। किनभने हामी दुवैले गर्भमा नाजायज सन्तान हुर्काइरहेका छौं।

मातृवात्सल्यको भारले बेस्कन थिचिएका छौं। न त्याग्न सक्छौं; न हक्कीका साथ अपनाउन नै सक्छौं किनभने समाजदेखि असाध्य डराएका छौं।

अतः समाजले लादेको नियम र नीति कुल्चने निर्णय गर्‍यौं। अपराधीको जिउने हक छिन्यौं र पेटको अवोध बच्चालाई उसको नैसर्गिक हक दिलाउन प्रतिबद्ध भयौं। हामी पनि अपराधी हुन मञ्जुर भयौं। किनभने निर्मलाका अपराधी अझै छाती फुलाएर हिंडेको सहन सकेनौं। हाम्रो अवस्था पनि निर्मलाभन्दा एक इन्च तलमाथि नहुने देख्यौं। र; हामीले आफ्नै मनको शास्त्र उल्टायौं; त्यसले जे भन्यो; त्यही गर्‍यौं। कानुनको नजरमा अपराधी हौं तर हजारौं आर्तनाद गरिरहेका निर्मलाहरूका मनमस्तिष्कका अनमोल रत्न भयौं।

अघि नै भनें नि, छोरीहरूले पुर्खाको नाक काटे। समाजमा शिर ठाडो पार्न दिएनन् भन्ठान्नुहुन्छ भने हामीलाई मरेको ठान्नुस्। फर्केर आउँदैनौं। ज्ञान छ,हातमा सीप छ, मनमा अझै हिम्मत छ। हामी दिदीबहिनी मिलेपछि सारा प्रतिकूल परिस्थिति परिवर्तन भएर अनुकूल बन्छ र बन्नुपर्छ। अब हामी आफ्नो संसार आफैं सजाउन सक्छौं। हजुरहरूलाई भरथेग गर्ने मनचाहिं मर्ने पर्‍यो। यद्यपि प्रत्यक्ष नमिले अप्रत्यक्ष नै सही हाम्रो सेवाभाव जिउँदै रहने छ।

बाबा,अब हामीलाई पछुतो लाग्न छाड्यो। दुःखपीडा पनि त्यसै हराएर गएको छ। आफ्नै पेट मुसार्छाैं,वात्सल्य भारले पग्लन्छौं। अपूर्व आनन्द आउँछ। जीवनमा सानो साथी मिल्ने कल्पनामा मन त्यसैत्यसै रमाउँछ। सारा बन्धन तोडेर खुला आकाशमुनि नाच्न मन लाग्छ। पाखाभित्तामा उफ्रीउफ्री तराईको लोक भाका सुसेल्न मन लाग्छ।

अब रिस मरिसक्यो। अब सिर्जना र सद्भावको नीलो बादल लागिसक्यो। स्वास्थ्यकर्मीका साथ दिनदिनै जसो महिला अधिकारकर्मीहरू आउँछन्। हाम्रो स्वास्थ्य जाँच गर्छन्। खानपिनको व्यवस्था बुझ्छन्। समस्या भए खुलेर राख्न उक्साउँछन् र सबै कुरा शुभ नै शुभ हुने आश्वासन दिएर जान्छन्।

बाबा, हाम्रो बारेमा रत्तिभर दुःखमनाउ नगर्नुहोला। मामूलाई पनि सम्झाउनुहोला। अरिङ्गालको गोलो अँगालेपछि बनेको स्पात मनले केके लेख्न खटायो, खटायो। यद्यपि जे खटायो यथार्थ खटायो। कटु सत्यलाई अक्षरमा उन्यो।

हवस् त बाबा! कडा कुरा लेख्न पुगेकीमा माफी माग्दै यत्तिमै पत्रान्त गर्दछु। धन्यवाद!

हजुरहरूकी कान्छी सन्तान,

जुनु।

(प्रकाशोन्मुख कथासंग्रह समय शल्यक्रियाबाट।)

प्रकाशित: २७ कार्तिक २०७९ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App