२ असार २०८१ आइतबार
image/svg+xml
कला

मिथिलामा छठ: मारबौ रे सुगवा धनुष से

म आफ्ना अगाडि विशाल कोसीलाई हेर्दै छु। नेपाल र विहारको ‘शोक’ भनिने कोसी विज्ञान र प्रविधिका अगाडि नतमस्तक छ। आफ्नो समयमा गाउँको गाउँ खाइसकेकी कोसी चुल्ठो काटेर कुनै चौराहामा ठिङ्ङ उभ्याएकी डाइनीजस्तै घोक्रिएकी छिन्। तर मत झिकिएकी बोक्सीजस्तो आत्मग्लानि र विक्षिप्त भएर हैन, घरआँगनको घेराभित्र मर्यादित लोकलज्जाका साथ बस्दै गरेकी नयाँ दुलहीको सन्तुलित आहार–व्यवहारजस्तै शीलयुक्त र शान्त। आफ्नो स्वच्छन्दता रोकिएको पीडा त छ तर उताउलोपना भने छैन।

मनमा एउटा उद्वेग उठ्छ— छप्पन पायाको यस विशाल पुलमा उभिएर उत्तरतिरको बृहत् जलभण्डार आफ्नो आँचलमा समेटेकी कोसीको विस्तृत धारलाई हेर्दै रहूँ र हेर्दै रहूँ आजको खास अवसरका लागि दुलहीजस्ती सिँगारिएकी कोसीलाई। सधैँ एउटा डर, त्रासको प्रतीक बन्दै आएकी यो कोसी कति आफ्नो लाग्न थालेकी छिन्— नजिकिँदै जाऊँ, जाऊँलाग्ने।

छठ पर्वको सन्ध्याअघ्र्य दिने साँझ। सूर्य अस्ताचलतिर बढ्दै छन्। उता कोसीको पश्चिमी पाखामा बनाइएका घाटहरूमा आआफ्नो पर्व सामग्री राख्न थालिसकेका छन्। कोसिया–कुरबार, घैँटो, केरा, फलपूmल, ठेकुवा–भुसवा, नवान्न, उखु र हात्ती! कोसी प्रोजेक्टका ट्रक र जिपहरू कोलोनीका कर्मचारीहरूका परिवारलाई घाटसम्म पुर्‍याउँदै छन्। कोसी कोलोनीवीरपुरदेखि घाटको दूरी आठ किलोमिटर त पक्कै होला तर पर्व गर्नेहरूलाई कुनै चिन्ता हुँदैन। सबैलाई कोसीसम्म पुर्‍याउने अभिभारा प्रोजेक्टले लिएको हुन्छ।

आआफ्नो गाउँबाट टाढा यहाँ कार्यरत कुनै अभियंन्ता, कुनै एसडिओ कुनै पिए, कुनै बडाबाबु, कुनै छोटाबाबु, कुनै लिपिक, कुनै पिएन अथवा कुनै ठेकेदार, सबैका समान श्रद्धाको यो छठपर्व एक ठाउँमा भेला गराएर साँच्चिकै अर्थमा ‘समान व्यक्तित्व’ को आदर्श स्थापित गर्दछ यो कोसीको बगर।

साँझ बाक्लिँदै गइरहेको छ। मेरो आँखा दक्षिण–पश्चिम नदीको छेउमा जान्छन्। नदीको पश्चिमी तट राम्ररी सजाइएको छ। बाँसका खम्बाहरू निकै टाढासम्म ठडाइएका छन् र त्यसमा बिजुलीका तार पुर्‍याइएर चिमहरू बालिएका छन्। सबै व्रतालुहरू आआफ्ना अघ्र्य सामग्रीहरू सजाएर राखिसकेका छन्।

छठ पर्व निकै कठिन पर्व मानिन्छ। चार दिनको यस पर्वमा व्रतालुले दुई दिन बिनाअन्नपानीको भोकै बस्नुपर्दछ। जिउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ भने दोस्रो दिनदिनभरि उपवास रही रातीमा ‘खिर’ बनाई देउतालाई चढाएर खाने विधिलाई ‘खरना’ भनिन्छ। त्यस्तै मूल दिनमा ठेकुवा, भुसवा आदि कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ। छठपर्व नै यस्तो पर्व हो, जसमा अस्ताचलगामी सूर्यलाई पनि पूजा गर्ने परम्परा छ। बिहानपख उदाउँदै सूर्यलाई अघ्र्य दिई पर्वको समाप्ति गरिन्छ। व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन्, जसलाई ‘पारन’ भनिन्छ।

म पनि बैरेजबाट तल घाटतिर बढ्छु। शान्त कोसीको छेउमा सजाइएका घाटहरू र त्यहाँ उमङ्ग र उत्साहले भरिएका जनसमुद्र। म घाटनजिक पुग्दा पानीको तरल तालिएको हावाको बेग र वालुवाको शीतलता स्वेटरको प्वालभित्र छिरेर जिउलाई कमाइदिन्छ। पहिलो पटक जाडोको अनुभूति गर्छु।

म एउटा विहङ्गम दृष्टि पूरै पर्वक्षेत्रमा दिन्छु— नयाँ–नयाँ परिधान, आभूषण र शृङ्गारले सजिएकी युवती, महिलाहरू एकअर्काको घाटनिर आवतजावत गर्दै शुभकामनाको आदान–प्रदान गर्दै छन्। मित्र अशोक भन्छन्— छठ पर्वको घाटमा पूजा–अर्चनाका साथसाथै अप्सराहरू पनि भेट्छन्। यो थप आकर्षण हुन्छ। म एक क्षण अलमलिन्छु। पछि बुझेपछि दङ्ग हुँदै रमाउने प्रयास गर्छु।

घाट क्षेत्रमा केटाकेटीहरू पटाका पड्काइरहेका हुन्छन्। त्यसको आवाज टाढाटाढासम्म गएर वातावरणलाई उल्लासमय बनेको छ। व्रतालु महिलाहरू नुहाउन थालिसकेका छन्। घाटकै छेउमा कपडाले घेरेर लुगा फेर्ने ठाउँ बनाइएको छ। व्रतालु महिलाहरू नाकदेखि कपालसम्म सिन्दुर लगाएका छन्। अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै मनमनै प्रार्थना गरिरहेका छन्— हे सूर्य! सन्तानको सुखशान्ति देऊ, पतिको दीर्घायु देऊ।

प्राचीन ग्रन्थ ऋग्वेदमा भनिएको छ– हे आकाशकी छोरी उषा! (सूर्यको पनि किरण) मलाई अन्न, धन, छोराछोरी देऊ! वरदान देऊ कि म सधैँ बिहान ओछ्यानबाट उठेर बलिष्ठ छोराहरूको मुख देख्न सकूँ।

सूर्यलाई आदि–देवता पनि भनिन्छ। मानव मात्रको उदय भएपछि उसलाई सर्वप्रथम उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने, रोगव्याधिबाट जोगाउने सूर्य नै थिए। स्वभावतः उनी सूर्यप्रति आकर्षित भए र सूर्य आराधनाको क्रम सुरू भयो। छठ पूजामा ‘छठिमाई’ को पूजा गर्ने चलन पनि वैदिक अनुष्ठानमा तान्त्रिक (स्मात्र्त) अनुष्ठानको सम्मिश्रण रूप नै हो। यस पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले पनि यसको तद्भव रूप छठले ‘परमेश्वरी’ को रूपमा लोकमानसमा ठाउँ पाएको हुन सक्छ।

म महसुस गर्छु— वातावरणमा महिलाहरूको स्वर गीतको बोलसँगै गुन्जन थालेको छ। छठगीतमा पर्वको विशिष्टता, पवित्रता र भक्तिभाव प्रदर्शित गरिएको हुन्छ भने अर्कोतिर पर्व मनाउन नपाउने बाँझीहरूको पीडा पनि अभिव्यक्त भएको हुन्छ।

म गीत गाउने महिलाहरूको टोलीनजिक पुग्छु। गीत प्रस्ट हुँदै जान्छ—

“उ जे केरबा फरल घओंद से

ओइ पर सुगा मरडाए

उजे मारबौ रे सुगबाधनुख से

सुगागिरे मुरिछाए,

उजे सुगनी जे रोअले वियोग से

आदितहोखे न सहाय

उजे नेमुआ जे फरल घओद से

ओइ पर सुगा मरडाए

मारबौ रे सुगाधनुख से

सुगागिरे मुरछाए

सुगनी जे रोअले वियोग से

आदितहोख ने सहाय

केराको घरीमाथि उडिरहेका सुगालाई हकार्दै यस गीतमा भनिएको छ— न छोऊ है, जुठो नबनाऊ। नत्र धनुष बाँणले मार्ने छौं। तिम्री सुगिनी वियोगले छटपटिन थाल्ने छिन्। फेरि सूर्यलाई नै गुहार्ने छिन्— हे सूर्य, सहायता गर!

अर्को टोलीको पनि गीतको रस सिञ्चित बोल उडेर कानमा टक्र्याउँछ—

‘...उजे कांच जे बांसके वहंगिया

रेशमलागल डोर

भरिया होएताहफलां भैया

भार घाटे पहुंचाए

बाट जे पुछे बटोहिया

ई भार किनकर जाए

आन्हर होइहे रे बटोहिया

ई भार छठी माइके जाए

हे अरघ देबेला

हे बांगीलंचकैत जाए...।

पर्वको अवसरमा अघ्र्य दिन सामग्रीहरूको भारी बोकेर भाइ घाटतिर जाँदै गर्दा कुनै बटुवाले ‘यो भार कहाँ जाँदै छ?’ सोध्दा व्रतालुहरू आक्रोशित हुँदै भन्छन्— तिमी अन्धो छौ, देख्दैनौ। यो छठी माईको अघ्र्य दिन घाटतिर जाँदै छ। पूजाप्रतिको एकाग्रतामा कुनै अवरोध सहन सकिँदैन।’ अगाध भक्ति र श्रद्धासाथ मनाइन्छ छठ पर्व।

परालको मुठो बनाएर त्यसमाथि दिओ हाली पानीमा बगाउने क्रम सुरु भइसकेको छ। नदीमा बग्दै गरेको दिओको झिलिमिली प्रकाश अद्भुत आनन्द दिन्छ।

म करुणरसमा डुबेको छठ गीतको दोस्रो पाटोमा भिज्न थाल्छु—

छोटी–मोटी तुलसी हो दीनानाथ

भुइयां लोटे डारी

सभकदुअरिया हो दीनानाथ

वजल बधाईं

बांझीके दुअरिया हो दीनानाथ

बजर केबार

सभक अरघबा हो दीनानाथ

लेल समुझाय

बांझके अरघबा हो दीनानाथ

ठाढे रहि जाए।

पीडाबोध अझ बढ्छ—

सासु मारे हुथीकाहो दीनानाथ

ननदलुलुआए

निरघन पुरुषबाहो दीनानाथ

बहिया धएनिकाल...।

बाँझीको घरमा खुसी छैन। सबैको अघ्र्य स्वीकार हुन्छ तर बाँझीको हुँदैन। घरमा सासू कुट्छिन्, नन्द मजाक उडाउँछिन् भने मूर्ख पति घरबाट निक्ल भन्छन्।

छठ पर्व मनाउने धोको राखेकी महिला सन्तानविहीन छन् भने त्यसले सन्तानको कामना गर्न पर्व गर्छिन्। तर जतिचोटि पर्व गरे पनि सन्तान पाउन नसक्ने, महिला अन्ततः बाँझीका रूपमा समाजमा तिरस्कृत हुन पुग्छिन्। उसको पीडा त्यही हो।

अत्यन्त श्रद्धापूर्वक पूजा गरेँ। नित्य लिपपोत गरी गहबरलाई सफासुग्घर पारेँ। धूप–आरती गरेँ तर पनि बाँझी भनिन छुटिनँ!

गहबर निपाइते हो दीनानाथ

तरहत्थियागे लखिआए

तैयो न छोडल हो दीनानाथ

बझनियां परधान

धूपबो जे दैत हो दीनानाथ

चुटकिया गेल कटाए

तैयो ने छोडल हो दीनानाथ

बझनियां परधान...

(सबै गीतहरू लेखकको निजी सङ्ग्रहबाट।)

रात गहिरिँदै गइरहेको छ। अघ्र्य पनि सम्पन्न भइसकेको छ। व्रतालुहरू अघ्र्य सामग्रीहरू समेट्दै घरतिर जाने तयारी गर्न थालिसकेका छन्। म पनि आफ्नो आत्मीयको घाटनिर आउँछु। सबै जान तयार छन्। घाट छोड्दै ब्यारेजमा अडिएका ट्रक, जिपहरूतिर बढ्ने क्रम जारी छ। हामी पनि ल्याउने ट्रकनिर पुग्छौँ र यथास्थान बस्छौँ। ट्रक कोसी ब्यारेजबाट पूर्वतिर हुइँकिन थाल्दछ। म घाटतिर फर्केर हेर्छु— अँध्यारो रातमा कोसी नदीको पानी कालो देखिन्छ र त्यसमाथि बगाइएका दियोको प्रकाश अद्भुत रूप प्रदान गर्छ। लाग्छ कोसीको कालो ब्लाउजमा हीरा–मोती जडिएका छन्।

अध्यक्ष, मधेश प्रज्ञा–प्रतिष्ठान, जनकपुरधाम, मधेश प्रदेश

प्रकाशित: १२ कार्तिक २०७९ ००:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App