२४ असार २०८१ सोमबार
image/svg+xml
कला

नेपाल सम्वत् ११४३ को स्वागतार्थ पोखरामा भिन्तुना र्‍याली

नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत् नेपाल सम्वत् ११४३ को स्वागतार्थ पोखरामा बृहद भिन्तुना र्‍याली निकालिएको छ।

नेवा खलः कास्कीको आह्वान तथा रानीपौवा कचा खलः, रानीपौवा मिसा पुचः र रानीपौवा ल्याम्हः पुचःको संयुक्त आयोजनामा बुधबार पोखरामा न्हुँ दया भिन्तुना र्‍याली निकालिएको हो। शताब्दी पुरुष सत्य मोहन जोशीको निधनको शोकमा काठमाडौंमा भिन्तुना र्‍याली ननिकाले पनि पोखरामा भने भव्य रुपमा र्‍याली निकालिएको हो।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लगातार दुई वर्षसम्म पोखरामा ननिकालिएको भिन्तुना र्‍याली यसवर्ष तीन वर्षपछि निकालिएको हो। तीन वर्षको अन्तरालमा निकालिएका कारण पोखरामा निकालिएको भिन्तुना र्‍यालीमा यस वर्ष यसअघिका वर्षहरुमा भन्दा बढी सहभागीता रहेको नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए।

नेपालीको महान पर्व तिहार (दीपावली) अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पुजाको दिनदेखी नेपाल सम्वत (नयाँ वर्ष) प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक वर्ष पोखरामा भिन्तुना र्‍याली निकालिन्छ। यसैको निरन्तरता स्वरुप यसवर्ष पनि र्‍याली निकालिएको हो। र्‍यालीमा झाँकीसहित विभिन्न जाति जनजातिहरुको उल्लेख्य सहभागीता रहेको थियो।

पोखरा–११ स्थित रानीपौवाबाट निस्किएको र्‍याली महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक हुँदै नेवा छेँ भवनमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रममा परिणत भएको थियो। र्‍यालीमा सहभागीहरुले न्हुँ दया भिन्तुना लेखिएको ब्यानर, प्लेकार्ड तथा नेपाल सम्वतका प्रवर्तक संखधर साख्वाको फोटो राखेको प्लेकार्ड बोकेका थिए।

कार्यक्रममा नेवार समुदायका पुरुषले दौरा सुरुवाल (कोथ्य लः) र महिलाले हाकुपटासी लगाएका थिए। पोखरामा नेवारी भेषभुषा लगाएर कार्यक्रममा सहभागी बिरलै मात्र देख्न सकिन्छ। जुन बुधबारको भिन्तुना र्‍यालीमा देखियो। कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने नेवारी संस्कृति झल्कने लाखे तथा लाठी नाचसहित मुरली बजाउँदै सहभागी भएका थिए।

आफ्नो मौलिक पहिचान झल्काउँदै संस्कृति संरक्षण गर्ने उद्देश्यले नेपाल सम्वतको अवसरमा नेवारी संस्कृति प्रदर्शन गर्ने गरिएको नेवाः खल कास्कीका उपाध्यक्ष तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले बताए। नेवारसहित गुरुङ, मगर, थकाली, तामाङ, ह्योल्मो, क्षेत्री, ब्राह्मण लगायतका जातिय संघसंस्थाहरुको संस्थागत सहभागीता रहेको र्‍यालीमा कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, विभिन्न वडाका वडाध्यक्षहरु लगायत को पनि सहभागीता थियो।

प्रकाशित: ११ कार्तिक २०७९ ०९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App