२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

सामाजिक–आर्थिक प्रारूप फेरिएको मेरो गाउँ

दुःखका साथ भन्नुपर्छ, यो मेरो २४ वर्षपछिको घरको दसैं थियो। यतिका वर्ष रहरै नभएर नगएको होइन, संयोग जुराउन नसकेर हो। जागिर र परिवारलाई दिने समयमा सन्तुलन कायम गर्न नसकेर हो। म जन्मेहुर्केको मावली घरका अधिकांश काठमाडौंमै भएर पनि हो। यसपालि साइत जु¥यो। मेरी श्रीमती, छोराछोरी, दुई ज्वाइँ, चार भान्जाभान्जीले जाने रहर गरे। दसैं मनाउने मामाघरको अन्तिम पुस्ता अमेरिका पलायन भयो। मैले टीका लगाउने ठाउँ बाँकी रहेन।

धेरैले पूर्वको कर्णाली भनेर नामकरण गरेको खोटाङको यात्रा १०–१५ वर्षअघिसम्म त्यति सहज थिएन। २०५१ देखि काठमाडौं बस्न थालेको मैले खोटाङमा गाडी नपुगुन्जेल जम्माजम्मी चारवटा दसैं मात्रै घरमा मनाएँ। ती यात्रा कति तनावपूर्ण थिए, लेख्यो भने कहानी बन्छ। कीर्तिपुरबाट न्युरोड आएर राती दुई बजेदेखि आरएनएसीमा लाइन बसेर हाजिर गर्नु पथ्र्यो प्लेन टिकट लिन। एकपल्ट त्यो दुःख गरेँ। अर्कोपल्ट गाइघाट जाने बसको टिकट लिएँ। ठ्याक्कै एक रात गाडी र अर्को अढाइ दिनको पैदल यात्रा। अर्को एकपल्ट टिकट त पाएँ तर ‘एमथ्री’ अर्थात् तेस्रो नम्बरको मुढा। कहिले उभिँदै त कहिले अर्काको सिटको पाखुरामा टाउको अढ्याउँदै १४ घण्टे नाइट बसको यात्रा गरें।

दसैं यात्रा खासमा काठमाडौंबाट गाउँमा भन्दा गाउँबाट काठमाडौंमा सहज हुन्छ। दुई साल बुबाआमालाई यतै बोलाएँ। फर्कने बेला त प्लेन टिकटको सधैं पिरलो। मेरै एक सहपाठीसमेत टिकट दलाल रहेछन्। सबै टिकट कब्जा। सिडिओको सिफारिसको टिकट लिएर बुबालाई घर पठाएँ। प्लेन टिकट दलाली गर्ने कस्तो संस्कार हो, खोटाङ, ओखलढुङ्गा, संखुवासभा, भोजपुर र सोलुतिर १०–१५ वर्षअघि आवतजावत गर्ने सबैलाई थाहा छ। नियमित उडान रद्द गरेर एलपिसी भन्ने र बढी पैसा असुल्ने। शानेवानिकै साँठगाँठबिना त्यो धन्दा पक्कै चल्दैनथ्यो।

२०५६ पछि मैले दुईपटक जिल्ला टेकेँ। एकपल्ट २०६० तिर प्लेन चढेर लामीडाँडा हुँदै र अर्कोपल्ट आफ्नै अफिसको हेलिकप्टरमा। हेलिकप्टरले नै बोकेर गाइघाटबाट २०६४ तिर पहिलो मोटर ल्याएको हो। मैले समाचारमा देखेको। तर खोटाङ जिल्लामा गाडी चढेको मेरो पहिलो अनुभव थियो यसपालिको दसैंयात्रा। सडक बनेको म घर जान छाडेपछि हो।

सडकले फेरेको दैनिकी

दिक्तेलबाट मेरो घर म कलेज पढ्दाको दुई घण्टाको बाटो हो। अहिले एउटा बस दैनिक चल्छ, वर्षा याम र पानी परेको दिनबाहेक। म दिक्तेल पुगेका दिन प्रतिव्यक्ति भाडा ३६५ रूपैयाँ थियो। त्यो दिन गाडी छुट्यो, भोलिपल्ट भाडा ४८५ रूपैयाँ पुग्यो। ४८५ रूपैयाँ तिर्ने र गाडीभित्र छ घण्टा उभिने धेरै थिए, मजस्तै। जाँदा बाटो अलि ओरालो भएकाले दुई ठाउँ यात्रु उत्रिएर बाटो खन्नुप¥यो। एक ठाउँ यात्रु जति झरेर ३०० मिटर हिँड्नुप¥यो। दिनमा ४०–५० जनाले मेरो गाउँबाट ३२ सिटे गाडीको यात्रा गर्छन् र लगभग त्यतिकै संख्या गाउँ फर्किन्छन्। करिब २५ हजार रूपैयाँ प्रतिदिन मेरो गाउँ छाड्नेले तिर्छन् अनि अर्को २५ हजार रूपैयाँ भित्रनेले तिर्छन्। त्यसलाई थेग्ने पैसो छ गाउँमा। मैले देख्दाको जस्तो गरिबी छैन।

यात्राको कहर

सदरमुकामदेखि गाउँसम्मको यात्राको कहर बयान गरिनसक्नुको छ। अति नै सौम्य र शान्त चालक भएर मात्रै करिब करिब दैनिकजस्तो गाडी चल्छ, सदरमुकामबाट मेरो गाउँसम्म। रिसाउने, झर्किने, आवेगमा आउने, भावनामा बग्ने चालक भए दोस्रो दिन ऊ त्यो बाटोमा जाँदैजाँदैन। जाँदाखेरिका सहचालक त्यस्तै। गाडीको चक्का गडेर गाडी रोकिनासाथ दुई हातमा एक एकवटा बेल्चा लिएर ओर्लिहाल्ने, अड्केको चक्का खुलाउन कता खन्ने र सतह खस्रो बनाउन बालुवा कता खोज्ने उनलाई पूरै ज्ञान। फर्किने बेलाको ४ घण्टा एउटा नयाँ सिकारु सहचालकको हातमा सडक सुधारको जिम्मा प¥यो। पहिलो खाडलमा फसेको गाडी निकाल्न उनीसँगै हामी दुईतीन यात्रुले दुईतीन घण्टा प्रयास ग¥यौँ। तर पछिपछि आउने एउटा ट्रयाक्टरले नठेली गाडी अघि बढेन। दोस्रो, तेस्रो, चौथो ठाउँको ज्ञान ड्राइभरलाई राम्ररी थियो। उनले ट्रयाक्टर चालकलाई १० लिटर तेल हालिदएर फकाए। त्यो ट्रयाक्टरले थप तीन ठाउँमा हाम्रो उद्दार गरिदियो। तर अघि लागेको ट्रयाक्टर पाँचौं अवरोध आएपछि बेपत्ता भयो। गाडी चालकका अनगिन्ती फोनका बाबजुद ट्रयाक्टर फर्किएन। सदरमुकामबाट एक घण्टाभन्दा कम दुरीमा भएकाले एकपछि अर्को यात्रु उत्रँदै आफ्नो झोला टिप्दै अघि लागे। हाम्रा मात्रै १७ वटा झोला र छजना बच्चाबच्ची, झोला टिपेर हिँड्ने कुरो भएन। लागियो बेल्चा लिएर गाडी हिँड्ने डोबको हिलो हटाउन। हिलो बेल्चाले हटाउँदै सारो माटो भेट्नुपर्ने, चिप्लिने ठाउँमा बालुवा हाल्नुपर्ने। अर्को दुई घण्टा हामी पूर्णरूपमा यात्रुबाट शुद्ध निर्माण मजदुरमा परिणत भयौं। तर १० मिटर अघि बढेपछि गाडी अगाडि होइन, दाहिनेतर्फ पहिरोतिर चिप्लन थाल्यो। पहिरोको तलको भाग धस्सिएर पुक्कपुक्क गाडीमाथि झर्न थाल्यो। थप आधा घण्टा हिलो सोहोरेर, बेल्चामा बालुवा ओसारेर त्यो ठाउँबाट अघि बढियो। सदरमुकाम छेउमै आइपुगेपछि अड्केको अर्को ठाउँमा भने छेउमा घर बनाउन राखेको दुई बोरा बालुवाले काम ग¥यो।

ट्रयाक्टरको सुपरपावर

हामीलाई उद्धार गर्ने ट्रयाक्टर नै त्यो दुःखको आधा कारक थियो। हिले बाटोमा दुईपल्ट ट्रयाक्टर गुडेपछि सडकमा कम्मरकम्मर डुब्ने खाल्टा। राँटो पछ्याएर गाडी लैजाऊँ, रड्किएर खाल्टोमा पस्ने डर, खाल्टोबाटै लैजाँदा धेरै ठाउँमा गाडीको ह्याकुलाले सडक छुने र अगाडिका चक्काले भुइँ नछुने अवस्थाको सिर्जना। कहिले सारो माटो भेट्न हिलो पन्छाउनु पर्ने, कहिले ह्याकुलो ठोक्किने ढिस्का भत्काएर यताउता माटो झार्नुपर्ने।

सडक निर्माण–ठेक्काको रामकहानी

हामी संयोगले निवर्तमान नगरप्रमुख दीपनारायण रिजालकै होटलमा बसेछौं। भोलिपल्ट बिहानको गफमै रिजालले बाटाको हालत सुनाए। तीन सालअघि सक्नुपर्ने सडक सुधार अझै अत्तोपत्तो छैन। ठेकेदारलाई सिडिओकोमा उपस्थिति गराएर थर्काउने काम त कतिपल्ट भए, उनले बिर्सिसकेछन्। थुन्नेसम्मका कारबाही उनले स्मरण गरे। दसैंपछि वर्तमान मेयर तीर्थ भट्टराईले फेसबुकमै ओखलढुङ्गामा रहेको सडक कार्यालयका हाकिमसँग बसेर कडा शब्दमा ठेकेदारलाई थर्काएको कुरा राखे। तर सडकका हाकिम नै ठेकेदारसँग निरीह। एउटालाई थर्कायो एक पूर्वप्रधानमन्त्रीसँगै झापातिर छु भन्ने, अर्कोलाई हप्कायो डोल्पातिरबाट अर्का पार्टी अध्यक्ष हो कि प्रधानमन्त्रीलाई सघाउन आउँदा कुरा गर्छु भन्ने। अनि सडक हाकिमको सातो जान्न ?  

धारामै ड्यु बग्छ कि ?

मेरी ८ वर्षकी भान्जीले भनिन्, ‘अब अर्कोपल्ट मामाघर आउँदा त धारामै ड्यु बग्छ होला।’ त्यस्तै भएछ अहिलेको मेरो गाउँ। अष्टमीका दिन खसीको मासुले खरिएका मेरा कान्छा ज्वाइँलाई मोही पिउने इच्छा पलायो। मेरो टोलका २८ घरमा दुहुनोको नाउँमा एउटा रहेछ बकेर्नो भैंसी, मेरै छिमेकी भाइको घरमा। त्यो पनि मोही पार्न नपुग्ने दुध आउने। अलिकति दहीसम्म जमाउने रहेछन्। त्यहीँबाट अलिकति जोडन ल्याएर दही जमायौँ। बुबाले बिहान आधा घण्टा हिँडेर ल्याउने ३ कुरुवा दुधमा। दसैंमा गोरस देखेको त्यत्ति हो। भान्जीले भनेझैँ गाउँका हरेक पसलमा माउन्टेन ड्यु, स्प्राइट, कोक, लेज, कुर्कुरे, चिजबल, वाइवाइ, करेन्ट भरिभराउ। खाजामा थप बिस्कुट र पेयमा त्यही माउन्टेन ड्यु। घर लिप्ने गोबर त होइन, ढोकामाथि टीकाजमरा टाँस्ने गोबरसम्मको एक्लो स्रोत रहेछन् कालु दर्जीले पालेका हल गोरु। गहुँत अझै प्रयोगमा भए कहाँबाट ल्याउँछन्, थाहा भएन। बस चढ्न आउँदा बाटाको दाहिनेपट्टि हरिया र कलेजी रङका सिसाको ठूलै थुप्रो रहेछ। मैले नसोधी भाइले जबाफ दियो, ‘यो सबै फलानोको चुनाबका बेला थुप्रिएको।’ मतदाताको सत्कारका लागि गाउँमा सिसाबन्द रक्सीका अनेक परिकार। दही मोहीसँगै कोदाको तीनपाने र छनुवासमेत लोपोन्मुख।

जनसंख्या र गरिबीको सम्बन्ध

‘दुई सन्तान, ईश्वरका वरदान’, ‘दोस्रो बच्चा कहिले, पहिलो स्कुल जान्छ जहिले’। यी सम्भवतः मैले मेरो बाल्य र किशोरावस्थामा सबैभन्दा बढी सुनेका रेडियो सन्देश हुन्। त्यतिबेला जति थोरै सन्तान त्यति सहज थियो तिनको पालनपोषण। परिवारको पालनपोषण क्षमता नै गरिबीको एउटा मापक थियो। अहिले स्थिति फरक छ। धेरै सन्तान होऊन्, तिनले कम पढून, त्यो परिवारमा गरिबी छिटो उन्मूलन हुन्छ। आठ सन्तान भएका एक गाउँले दाइसँग गफ भयो। एकजना छोरा लाहुरे, तीन जना अरब, एक छोरीका व्यापारी ज्वाइँ, अर्कीका विदेश बस्ने ज्वाइँ। बच्चा हुर्काउन ठूलो मेहनत गरेका र १५ वर्ष अघिसम्म निरपेक्ष गरिबीमा बाँचेका दाइ अहिले गाउँमा सबैभन्दा सम्पन्न भए। करिब १ लाख ८० हजार रूपैयाँको मासिक नगद आम्दानी हुने परिवारको अहिले जुन चितायो त्यही सिमखेत किन्ने हैसियत छ। कसैले माग्नासाथ ५–१० हजार सापटी दिने हैसियत छ र कोही बिरामी भए टारबारीमा हेलिकप्टर झिकाउने हैसियत छ। ‘दुई मात्र सन्तान ईश्वरको वरदान’ भन्नेहरूको लगानी आफ्ना सन्तानको शिक्षामा छ र त्यो अनन्त छ। दुई सन्तान नेपालमै बसेको भए बढीमा मास्टर वा खरिदार–सुब्बा हुन्थ्यो, एकादुई अधिकृत होलान्। अख्तियार झेल्ने साहस भएका एकादुईबाहेक अरू कसैको आर्थिक स्थिति बलियो छैन। सहरमा घरजग्गा छैन। धेरै सन्तान हुने र तिनलाई कम पढाउनेका सुख देख्दा हाम्रा बालाई लाग्दो हो– दुइटा छोरा अरब गएका भए र अर्को एउटाले गाउँमा ट्रयाक्टर चलाएको भए म पनि गाउँको सबैभन्दा सुखी मान्छे हुन्थें होला। हो, नगदको प्रवाह त्यहीँ हुन्थ्यो। सिमखेत खोजीखोजी किन्थे र उनका छोराको गाडी त्यहाँको कुनै पनि बाटोमा रोकिन्नथ्यो। बेरोकतोक सदरमुकाम–घर गथ्र्यो। ग्यालग्याल्तीका छोराछोरी र तिनको शिक्षामा बञ्चितीकरण अब मेरो गाउँको अविकासका प्रमुख मापक रहेनन्।

बदलिएको शक्ति सम्बन्ध  

धेरै सन्तान अनि तुलनात्मक रूपमा कम शिक्षित सन्तान गाउँमा शक्तिको स्रोत पनि हो। एउटै परिवारको २५–३० भोट हुने बित्तिकै राजनीतिक शक्तिको आँखा स्वतः परिहाल्छ, कम्तीमा चुनावअघि। मत बाँडिने भनेको पढेलेखेका दाजुभाइको हो। तिनको भोट प्रायः एकै ठाउँमा खस्छ। गाउँमै जमेर बस्ने ठूलो परिवारको त्यो एकता अहिले विकासको समेत निर्धारक बनेको छ। तिनको खेत सडकले जथाभावी काट्दैन र भनेको ठाउँमा खानीपानीको पाइप आउँछ।

जमिनसँगको सम्बन्ध बिच्छेद

मेरो गाउँ खोटाङको अन्न भण्डार हो। ढुङ्गाका चेपमा खसेको मकैको गेडो समेत ३–४ महिनामा एक माना दाना उत्पादन गर्ने हैसियत राख्थ्यो। त्यसैले गोरु नपस्ने फगटा, ढुङ्गाका चेप, रुखका जराका कापसमेतमा मैले कोदालो चलाएको छु, एक दाना मकै रोपेको छु। हाम्रा हरेक खेतका गरामा ढुङ्गाका पर्खाल छन्। हरियाँ बाँस माटोको सुरक्षार्थ प्रयोग भएका छन्। जमिन जीविकाको एक्लो साधन मात्रै नभएर सम्पन्नताको एक्लो मापकसमेत थियो। त्यसैले नगद जुटाउँथ्यो, नुन, तेल, चिनी, जिरा र कपडाका लागि। म सानो हुँदा तीबाहेक अरू चिजमा नगद दिएको मलाई थाहा छैन। खेतालाले अन्न लैजान्थे, कपडा सिलाउँने, कोदालो बनाउने सबै बाली उठाउँथे। नुनसमेत धेरै अन्नमा साटिन्थ्यो। लेकालीहरू आलु लिएर आउँथे र धान लैजान्थे। घिउ सापटी चल्थ्यो। तोरी आफ्नै हुन्थ्यो। मेलमा उखु पेलेर खुँदो बनाउँथ्यौं। अहिले एउटा परिवारले वर्षभरिको मेहनतबाट आर्जिने अन्न अरबबाट पठाएको एकजनाको एक महिनाको तलबले आर्जिन्छ। आखिर श्रम र स्रोतको तुलना त हरेक उत्पादनमा जसले पनि गर्छ। भावनामा बगेर संसार चल्दो रहेनछ। म साँनो हुँदा गौरवको प्रतीकका रूपमा रहेका, सम्पन्नताको मापकका रूपमा रहेका ठुलाठुला सिमखेतहरू अहिले उत्तिस घारीमा परिणत भएका छन्। कुनैकुनै सिमखेतमा उत्तिसको जरामा अलैँचीका बिरुवा घुसाइएका छन् तर स्याहारको अभावमा ती त्यत्तिकै जिङ्ग्रिएका छन्।

खोटाङका सन्दर्भमा विकास  

खोटाङमा विकासको संकथ्य हरेक १०–१५ वर्षमा फेरिएको छ। लामीडाँडा एयरपोर्ट म जन्मनुअघि नै बनेको हो। सुदुर उत्तरको एयरपोर्ट दक्षिणी भेगका लागि कुनै उपयोगको थिएन। मैले खोटाङ छाडेपछि खोटाङ बजार छेउमा थामखर्क एयरपोर्ट बन्यो। त्यो झन्डै सुदुर दक्षिणमा भएकाले सदरमुकाममा विकासको मुद्दा बन्यो खानीडाँडा एयरपोर्ट। निजी विमान नजाने खोटाङका एयरपोर्टमा शानेवानिका बाहेक मुस्किलले दुईचारवटा तारा एयरका फ्लाइट भए होलान्। गौरवका तीन एयरपोर्टमा अहिले नियमित फ्लाइट मैले देखिनँ। कुनैमा त गाई चर्दै होलान्।  

सडक पुग्ला भन्ने त मैले सपनामा समेत सोचेको थिइनँ। पञ्चायतको अन्तिमतिर उदयपुर र खोटाङलाई जोड्ने घोरेटो बाटो बन्यो। माथिल्लो सगरमाथा कृषि विकास आयोजनाको घोडा खच्चडमार्फत मलखाद पु¥याउने कुनै कार्यक्रम थियो होला। ओखलढुङ्गा सडक पुग्यो, संखुवासभा हुँदै भोजपुर गाडी आयो तर खोटाङमा कुनै योजना थिएन। त्यहाँ विकासको अर्थ झन्डै दुई दशकसम्म सडक सञ्जाल रह्यो। गैँतीकोदालो र खन्तीका भरमा खनिने पर्यावरणमैत्री सडकदेखि डोजर चालकको इन्जिनियरिङमा भित्ता भत्काएर बनाइने सडकसम्मले अहिले गाउँ सडकमय छन्। कुनै गाउँ छैन दुईतीन ठाउँबाट सडक नघुमेको। मेरो परिवारकै १५ कित्ता जग्गा सडकले काटेको रहेछ र २४ मुरी धान फल्ने खेतमा १४ मुरी फल्ने भाग त सडकको एउटै घुम्तीले खाएछ। दुईतीनवटा कित्ता त कागजमा सीमित बनेछन्। कमलो भित्तो भएका एकदुई ठाउँमा त तीनकुने–सल्लाघारी सडकभन्दा फराकिलो बाटोसमेत देखिए।

विकास भयो कि भएन भन्नेबारेमा म आफै विभाजित छु। म दिक्तेलमा गाडी चढेपछि दुईजना बलिया मान्छेले १३ वटा बोरा बसको भुइँमा राखे। एउटा दुइटाको नाम देखिन्थ्यो। ‘हात्ती छाप’तिरै छन् चामलका बोरा तर मान्छेले टेकेर चामल भन्ने देखिन्नथ्यो। म उत्रिनुअघि मेरै गाउँको बोरा झार्दा मात्रै थाहा भयो कि हात्ती छाप चामल एउटा पसलेले बेच्नका लागि ल्याएका रहेछन्। घर पुगेपछि पत्ता लाग्यो। अहिले न्यून कोटिको हात्ती छाप चामल ठूलो मात्रामा मेरो गाउँ जाने रहेछ। २०३६ सालसम्म १५० मुरीजति धान, ३०–३० मुरी कोदो–मकै थन्क्याउने मेरो परिवारमै धान किनेर खाने दिन आइसकेछन्। दिनको एक हजार रूपैयाँ ज्याला दिन्छु भन्दासमेत खेताला पाउन छोडेपछि सबै खेत बाँझो भएछन्। बारीमा कोदो रोप्ने चलन हटिसक्यो। राई गाउँमा रक्सी पार्न खुब चाहिने कोदो अहिले श्रमशक्तिको अभाव र आयातित रक्सीको प्रभावको चपेटामा रहेछ। मकै त धानचम्मर आउन थाल्दै दुम्सीले छड्के हान्ने, सुत्ला लागेपछि बाँदरले। यस्ता जन्तु मार्न राज्यले दिँदैन। बीचगाउँतिर कसैकसैले मकैको बिउ जोगाएका छन्, नत्र गाउँ मकैविहीन। मकै त उम्रिन नपाउँदै बाँदरले बिउ नै खाने रहेछन्। मकैभटमास चपाएर मोहीले पिउने मेरो धोको काठमाडौं आएर पूरा गरें।

के गाउँको पुनर्जागरण सम्भव होला ?

मैले गाउँलाई पुनर्जीवन दिने गफ कुनै नेताबाट सुनेको छैन। कृषि कर्मचारीको ध्यान खुमलटारमा नयाँ प्रजातिका धानको बिउ परीक्षणमा, विदेशी प्रोजेक्टमा र विदेशी छात्रवृत्तिमा मात्रै देख्छु म त। टारबारी बाँझा छन्, जङ्गलले गाउँबस्ती ढाकेको छ तर पानीका मूल सबै सुक्दै छन्। पहाडका खेतका सुर्काले कति पानी पुनर्भरण गर्थे र खेत सकिएपछि कसरी पानी अडिन छोड्यो, कसैले अध्ययन गर्दैन। खोला खेत अलिअलि हरिया छन् तर तिनको अस्तित्व पनि कुनै ठूलो लगानीको जलविद्युत आयोजना बन्न नथालुन्जेल त हो नि। भारतलाई बिजुली बेचेर भारतकै धानगहुँमा बाँच्ने छ मेरो अबको दशौं पुस्ता।

प्रकाशित: ५ कार्तिक २०७९ ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App