१५ मंसिर २०७९ बिहीबार
कला

सांस्कृतिक धार्मिक आस्था जोडिएको मालश्री धुन

सांस्कृतिक सम्पदाले सम्पन्न मुलुक नेपाल र हामी नेपालीलाई यही संस्कृतिले एक आपसमा जोडेर राखेको छ भन्दा अत्युक्ति नहोला। युगौंयुगदेखि चलिआएको यही सांस्कृतिक पक्षले दुर्गमदेखि सुगमसम्म बसोबास गर्ने प्रत्येक नेपालीलाई भौगोलिकता, रहनसहन,भाषा, भेषभुषा भिन्न भएर पनि अभिन्न छौं। अनेकतामा एकता,सद्भाव, सहयोगी, सहृदय छौं। जति नै धेरै जातजाति, धर्म, सम्प्रदायका भएतापनि सर्वप्रथम हामी गौरवपूर्ण इतिहास बोकेका नेपाली हौं। यही हाम्रो धर्म, जाति अनि सम्प्रदाय हो।  

सम्पूर्ण नेपालीलाई एकताबद्ध गराएर एउटै मालामा उन्ने एक प्रमुख पक्षमध्ये एक हो हाम्रो संस्कृति। स्पष्ट शब्दमा भन्ने हो भने नेपालीलाई जोड्ने मुख्य कसी हो हामीले मनाउने चाडपर्व। यसले हामीलाई विचलन हुन नदिने मात्र होइन, हामीलाई दिशाबोध गराइरहेको हुन्छ भन्नेमा दुईमत छैन। ग्रीष्म, वर्षा, शरद, हेमन्त, शिशिर, वसन्त गरी एक वर्षमा छ ऋतुहरू पर्दछन् भने प्रत्येक ऋतुमा कुनै न कुनै महत्वपूर्ण सांस्कृतिक पर्वहरू पर्ने गर्छन्। प्रत्येक पर्वले आआफ्नै विशेषता बोकेका छज्। शरद ऋतुको समाप्तीसँगै हेमन्त ऋतुको आगमनले हामीमा नौलो ऊर्जा उमंगको आभास गराउँछ। कारण हो यस समयमा पर्ने नेपालीहरूको महान् चाड बडा दसैं स्वदेश–विदेश, देशको कुनाकाप्चामा पुगेका नेपालीलाई आफ्नो परिवार घरआँगन सम्झाउने पर्व हो बडा दसैं। दसैं सम्झाउने अर्को पक्ष छ हो– विशेष रूपमादसैंमा देवीको आराधनामा गुञ्जिने संगीत मालश्री धून। शक्तिको आराधना, असत्यमाथि सत्यको विजय पर्वका रूपमा मनाइने बडादसैं घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म पन्ध्र दिन मनाइने यस महान् चाड बडादसैंमा देवी दुर्गा भवानीको आराधनामा गुन्जिने संगीत मालश्री कहिलेदेखि कहाँबाट सुरुवात भयो भन्ने कुनै निश्चित तथ्य पाइँदैन।

मालश्री धुन शास्त्रीय संगीतमा आधारित धुन हो, जसको अन्य रागहरूझंै बज्ने–बजाउने एक निश्चित समयावधि निर्धारित हुन्छ। नेपालमा मालश्री धुनको प्रचलन कहिलेदेखि भयो भन्ने कुनै निश्चित आधार नभए तापनि विशेष रूपमा सत्रौं शताब्दीदेखि काठमाडौं उपत्यकामा मल्लकालीन शासनको समयदेखि मालश्री धुनको अस्तित्व नेपालमा रहिआएकोमानिन्छ। मुख्य गरी मल्लकालीन समयमा उपत्यकाका नेवार संस्कृतिबाट मालश्री धुन आएको मानिन्छ। एघारौंदेखि सत्रौं शताब्दीसम्म आइपुग्दा नेपालमा शास्त्रीय संगीत निकै प्रचारमा आएको मानिन्छ।भक्तपुरका मल्ल राजा जगत्ज्योति मल्ल र तिनका मन्त्रीका सहकार्यमा लिखित भनिएको नेपाल भाषाको पुस्तक संगीतचन्द लेखिनुले पनि मल्लकालीन समयमा शास्त्रीय संगीतको अस्तित्व रहेको मानिएको छ। (सोत ः विकिपिडिया)

२००९ मा प्रकाशित डा. साफल्य अमात्यद्वारा लिखित ‘उपत्यकाभित्रका भक्ति गीत तथा भजनहरू’ नामक खोजमूलक लेखमा उल्लेख गरिएअनुसार मल्लकालीन समाजमा भक्ति गीत तथा भजनको ठूलो महत्व र महिमा रहेको पाइन्छ। त्यसबेला उपत्यकाका टोल टोलमा भजन घरहरू बन्ने र मन्दिर सत्तलहरूमा साँझबिहान भजन गाउने प्रचलन व्यापक रूपमा चल्न थाल्यो। मल्ल राजाहरू स्वयम् भक्ति गीतहरू रच्थे। त्यसबेलाका राजकीय भाषा मैथिली र नेपाल भाषा भएकाले पनि भजनहरू विशेष गरी नेपाः भाषामा रचिएका र गाइएका थिए भनिएको छ। डा. साफल्य अमात्यले उल्लेख गर्नु भएअनुसार सत्रौं शताब्दीसम्म उपत्यकाभित्र धेरै साहित्यिक गतिविधिहरू भए। त्यसमध्ये भक्तिगीत संगीतको ठूलो विकास र प्रवद्र्धन भयो। मल्लराजाहरू दरबारिया कवि तथा गीतकारहरूलाई आफ्नो नाम समावेश गर्न लगाई रच्न र गाउन लगाउने गर्दथे, जुन परम्परा पछि शाह र राणाकालसम्म चलिरह्यो।

यसै गरी विगत छ दशकदेखि सितारवादन गर्दै आउनुभएका नेपालका सुप्रसिद्ध सितारवादक तारावीर सिं तुलाधर मालश्रीबारे भन्नुहुन्छ– मूलतः बडा दसैंमा बजाइने गाइने संगीत मालश्री नै समय सँगसँगै लोकप्रिय हुँदै गएपछि यसलाई मालश्री राग भन्न थालियो। वास्तवमा शास्त्रीय संगीतमा मालश्री राग भिन्न राग रहेको शास्त्रीय संगीतमा पतमञ्जरी नामक रागसँग मालश्री रागको समानता रहेको भन्नुहुदै यसबारे अझ विस्तृत खोज, अध्ययन, अनुसन्धानकाक्रममा नै रहेको भन्नुहुँदै तत्कालीन समयमा काठमाडौं उपत्यमकाबासी नेवार जातिको बसोबास रहेकाले मालश्री नेवार संस्कृतिबाट प्रचलनमा आएको मानिएको छ भन्नुहुँदै पहिले रेडियो टेलिभिजनजस्ता सञ्चार माध्यम नभएको समयमा काठमाडौंमा नेपालभाषा संगीत समूह ‘मुना सं’ (सामुहिक संगीत) नामक सांगीतिक कार्यक्रम उपत्यकाका टोलटोल विभिन्न स्थानहरू तथा स्टेज डबलीहरूमा विविध सांस्कृतिक कार्यक्रमहरू हुने गर्दथ्यो। जसमा मुख्य गरी गायक प्रेमध्वज प्रधान, योगेश वैद्य, मदनकृष्ण श्रेष्ठ,सरोदवादक मोहन सुन्दरलगायत स्रष्टाहरूले सांगीतिक प्रस्तुति दिने गर्दथे।  

रेडियोमा नगण्य मात्रामा मात्र मालश्री बज्ने गथ्र्यो।गायनमा भन्दा मालश्री वादनमा बढी लोकप्रिय रह्यो। हाल युवापुस्ता मालश्री धुनलाई मिठासपूर्ण बनाउने प्रयासमा यसको शास्त्रीय पक्षमा पनि विचार पुर्‍याउनु आवश्यक रहेको ठान्छ। यसै सन्र्दभमा त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि शास्त्रीय संगीत प्रशिक्षण दिनुहुने प्रसिद्ध शास्त्रीय संगीत गुरु धनबहादुर गोपालीका भनाइमा भारतवर्षमा पनि मालश्री भन्ने राग पाइन्छ, जुन नेपालमाबडादसैंको अवसरमाप्रचलित मालश्री रागसँग मेल खाँदैन। हिन्दु रागपद्धतिअनुसार मालश्री राग काफी थाटअन्तर्गत पर्दछ। यो काफी रागसँगको सम्मिश्रण भए पनि मालश्री काफी राग भने होइन। उहाँ भन्नुहुन्छ– यो राग गायनमा दुई तालमा प्रयोग गर्ने गरिन्छ। पहिलो चार चार मात्राको कहरूवा तालमा गाइन्छ भने दोस्रो सात मात्राको रूपक तालमा पनि गाइन्छ। फरक ताल भए पनि राग गायनमा दुवै मिठो सुनिन्छ। मालश्री पर्व गीत भएकाले यो पर्व विशेषमा मात्र वादन तथा गायन गरिन्छ तर अन्य समयमा प्रयोग भएमा सान्दर्भिक देखिँदैन। हाम्रो सांस्कृतिक धरोहर परम्परादेखि चलनचल्तीमा आएका यी ऋतुरागलाई नबिगार्नु नै राम्रो हुने भन्नुहुँदै तत्कालीन समयमा उपत्यकाबासी नेवार समुदायको बसोबास भएकाले पनि यहाँका राग नेपाल भाषामा नै भएपछि त्रिभुवन विश्वविद्यालयले शास्त्रीय संगीतको अध्यापन गराउने क्रममा मालश्री, फागु गीतलाई नेपालीकरण गरी अध्यापन गराइयो। यसले गर्दा यस्ता पर्व गीतहरू जनमानस पुगे। पहिले थानकोटमा अवस्थित कोतघरमा ठुलो ढुङ्गा रहेको थियो।जुन हालसम्म पनि देख्न सकिन्छ। त्यस स्थानमा दसैंको आगमनको संकेत स्वरूप कपाली जाति सहनाई, दमाहा बजाउने गर्थे, जसको संगीत ध्वनिलेदसैंको आगमनको उल्लास छाउने गथ्र्यो। दसैं आफैमा पनि उल्लासमय पर्व हो भन्नुहुदै संगीत यसको अर्को अभिन्न अङ्ग हो।  

यसै गरी नेपालमा विगत चार दशकदेखि तबलावादन गर्दै आउनुभएका प्रसिद्ध तवलाबादक संगीत साधक सरिता मिश्र मालश्री धुनको आध्यात्मिक पक्षबारे थप प्रस्ट्याउँदै भन्नुहुन्छ– हामी नेपालीहरूको महान पर्व बडादसैंशक्ति सञ्चय गर्ने समय हो। हामी मुख्य रूपमा नौ दिनसम्म शक्ति स्वरूपा माता भगवती दुर्गा भवानीको नौ रूपको पूजा आराधना गर्ने गर्छौ। यस समयमा बजाइने–गाइने भक्ति संगीत नै मालश्री धुन हो। फेरि मालश्री धुन बजाउँदा यस समयमा आउने लामखुटेजस्ता विभिन्न खाले सरुवा रोग महामारीलाई मालश्रीको पवित्र धुनले भगाइन्छ भन्ने जनविश्वास रहेको भन्नुहुँदै मालश्रीको पवित्र ध्वनिले वातावरणलाई स्वच्छ बनाउने गर्छ भन्ने मान्यता रहेको तथा दसैंमा मालश्री सुन्दा घर परिवारमा सह हुने,परिवार राष्ट्रमा खुसीयाली छाउँदै सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास रहिआएको भन्नुहुदै राधाअष्टमीदेखि कोजाग्रत पूर्णिमासम्म मालश्री धुन बजाइन्छ। मालश्री रागले सुन्ने जो कोहीको ध्यान लाग्ने हुन्छ। यही नै यस संगीतको विशेषता हो भन्नुहुँदै मालश्री रागमा आधारित भएको हुँदा यसको प्रयोगअन्य समयमा गर्दा यसको ऊर्जा ताप वातावरण प्रतिकूल हुन्छ भन्ने विश्वास गरिन्छ।  

मालश्री रागसँग जोडिएका यसका आध्यात्मिक पक्ष भनेको मालश्री कहिले कसबाट प्रचलनमा ल्याइयो भन्ने हालसम्म कुनै निश्चित तथ्य नभएतापनि हिन्दुधर्म शास्त्रका अनुसार परापूर्वकालमा ब्रह्माजीले भगवान् शिवलाई संगीतको शिक्षा दिनुभयो। ब्रह्माजीबाट प्राप्त संगीत ज्ञान शिवजीद्वारा माता पार्वतीलाई प्राप्त भयो भने शिवजीद्वारा चार वटा रागको रचना गर्नुभयो। माता पार्वतीले सोही संगीतको ज्ञान विद्याकी देवी सरस्वतीलाई प्रदान गर्नुभयो र देवी सरस्वतीले मानव कल्याण हेतु देव ऋषि नारद र रावणलाई संगीतको दिनु भएपछि नै रावणद्वारा नै संगीत स्वर्गबाट पृथ्वी लोकमा आएको भन्ने कुरा प्रसङ्ग उल्लेख गरिएको छ।  

समष्टिमा मालश्री धुन बिना दसैं खल्लो लाग्ने गर्दछ। शक्तिका प्रतीक भगवती दुर्गा भवानीको आराधनामा गुन्जिने भक्ति संगीत मालश्री धुन वादनमा सितार, तबला, बाँसुरी, सरोद, सारङ्गी, तालवाद्यमा ताः धिमे प्रयोग हुने गर्दछ। गायनमा वादन जुनसुकै माध्यमको प्रयोग गरी सुनिए पनि मालश्री धुनसँगै समस्त नेपालीहरूको महान् पर्व बडा दसंैले सम्पूर्ण नेपालीहरूलाई एक आपसमा सौहार्द मायाप्रेममा बाँध्ने पर्व हो। दसैं र हाम्रो संस्कृतिले नेपालीहरूलाई एउटै मालामा गाँसिदिएको छ। परिवार, साथीभाइ, नातागोता, आफन्त, छिमेकीदेखि सिङ्गो राष्ट्रलाई एकआपसमा जोड्ने पर्व बडादसैंले नेपालीहरूबीचको सम्बन्ध अझ प्रगाढ एवम् दरिलो बनाउने महान् पर्व बडादसैंको हार्दिक शुभकामना !

प्रकाशित: १५ आश्विन २०७९ ०६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App