८ वैशाख २०८१ शनिबार
कला

बुह्रान उपन्यासमा नेपाली जनजीवनको बहुलवादी यथार्थ

पुस्तक

गणेश नेपाली

नेपाली समाजको बहुलताभित्रका अनेक विभेद र असमानता, उत्पीडन र शोषण, दमन र तिरस्कार, वञ्चितीकरण र उपेक्षालाई सशक्त रूपमा उठाएर विभिन्न कालखण्डमा भएका आन्दोलनहरूले उत्पीडित वर्ग, समुदाय, तह र तप्काका जनताको मुद्दा उठाउँदै उनीहरूलाई सडकमा उतारेर सीमित व्यक्तिहरूलाई ताज पहिर्‍याउने मात्र काम भएको तीतो यथार्थलाई उपन्यासकार महानन्द ढकालले उनको उपन्यास कृति बुह्रानमा सजीव चित्रण गरेका छन्। जातीय, भाषिक, क्षेत्रीय, लैंगिक, वर्गीय र सांस्कृतिक विभेदका विरुद्ध लेखिएका विरलै उत्कृष्ट कृतिहरूमध्ये हो बुह्रान।

विशेष गरेर जंगल फाँडेर खेतीयोग्य जमीन बनाई जीविकोपार्जन गर्ने दाङका रैथाने भूमिपुत्र थारूहरूको जनजीवन र उनीहरूले आफ्नो प्रिय थातथलो छोडेर अन्यत्रै बसाइ सर्नुपर्ने बाध्यताको भोगाइ उपन्यासमा मार्मिक रूपमा उठेको छ।

दाङ थारूहरूको थातथलो हो। उनीहरूले बन फाँडेर खेतीयोग्य बनाएको जमीनको लालपुर्जा पहुँचको आधारमा पहाडिया मूलका सामन्ती जमीनदारको हातमा पर्दा आफ्नो जमीन अरूकै भएपछि सुकुम्बासी बन्नुपरेको एक थारू परिवारले नयाँ मुलुक भनेर चिनिएका बाँके र बर्दियामा बसाइ सर्नुको विकल्प नरहेको आफ्नै, घर, आफ्नै खेत, सहजै खान पुग्ने सपना लिएर नयाँ मुलुक बुह्रान पुगेर पनि कमैया बस्नुको बाध्यता, सुकुम्बासी हुनुको नियति, पुस्ता दर पुस्तासम्म जहाँ जाँदा पनि उत्पीडन, दमन, शोषण र अपमानकै जातोमा पिसिरहनुपरेको नियति बुह्रानमा बुवाको पालामा सुकुम्बासी आन्दोलन, छोराको पालामा कमैया मुक्ति आन्दोलन र कमैया मुक्त भइसक्दा पनि सशस्त्र संघर्षको भूमिगत क्रान्तिसम्म पुग्दा पनि नफेरिएको गरीब थारूहरूको जीवनका कहालीलाग्दो भोगाइले कथामा पटकपटक देखिएको विद्रोह र विद्रोहका कारण स्पष्ट भएका छन्।

जुन समुदायले सधैं उपेक्षा गर्‍यो, हेप्यो, दमन र शोषण गर्‍यो त्यही समुदायको एउटा परिवार जसले दुख र अप्ठ्यारोमा थारू परिवारलाई आफ्नो परिवारझैं ठान्यो। सकेको सहयोग गर्‍यो। नसके आपत-विपतमा सल्लाह दिइरह्यो। थारू परिवारले त्यही परिवारलाई सधैं विश्वास गर्‍यो। त्यही परिवारको भर मान्यो। आन्दोलनहरूले पनि ठगिसकेको माइला थारू फेरिफेरि भइइरहने आन्दोलनमा जाँदा आफूलाई जुनसुकै परिस्थितिमा सहयोग गर्ने परिवारलाई सम्झेर तिनीहरूकै विरुद्धमा देखिएका आन्दोलनहरूमा माइला थारू सहभागी हुँदैनन्। यो सन्दर्भले हाम्रो समाजलाई दिने उच्च सन्देश नै सहिष्णुताको हो, सद्भावको हो र आत्मीयको हो।

नेपाली समाजमा हरेक व्यक्ति उपन्यासकी आदर्श पात्र पार्वती आमा जो पहाडिया हुन्, जस्तो हुन्थे भने विद्रोह नै हुँदैनथ्यो। सबै पार्वती आमा जस्तै हुँदा हुन त शान्ति र समतामूलक समाज हुन्थ्यो भन्ने मानवतावादी सन्देश दिएको छ उपन्यासले।

कथामा पार्वती आमा र माइला थारूका पीडा, दुख, असहजता, अभाव, गरीवी उही हुन्। पार्वती आमालाई नियतिले कमजोर बनायो, अभाव दियो, गरीब बनायो। माइला थारूलाई उपेक्षा गर्ने सामन्ती व्यवस्था र सामाजका ठालुले चरिनंगा बनाए र बनाइरहे। पार्वतीलाई नियतिले दिनु अभाव दियो। नियतिले दिएको घाउ समयले खाटो बसाउँदै लैजाने रहेछ। तर, समाजको सामन्ती प्रवृत्ति र शासक समुदायको कारण भोग्नुपर्ने अभाव, अपमान र पीडा शासक समुदायको प्रवृत्तिमा सुधार या आमुल परिवर्तन नहुँदासम्म कमजोर समुदाय जहाँको तही रहनुपर्ने निष्कर्ष हो जस्तो लाग्छ, उपन्यासको।

कथाको विषयवस्तुले कुनै समुदायको विरुद्ध वा कुनै समुदायको अन्ध पक्षधरताको वकालत गर्दैन्। थारू जमीनदार होस् कि पहाडिया जमीनदार होस् कमैया बस्नुपर्दाका अप्रिय भोगाइ सबैतिर उस्तै देखाएको छ उपन्यासले। पात्रहरू मार्फत अभिव्यक्त विचारहरू नयाँ होइनन् हामी बुह्रान क्षेत्रमा बसाइ भएकाहरूले पहाडिया र थारू समुदायद्वारा सुन्दै आएका र कमैया आन्दोलन र सशस्त्र संघर्षलाई नजिकबाट अवलोकन गरेका,प्रभावित भएका हौं। साहित्यमा यति गम्भीर, सुन्दर, मार्मिक, मन हुँडलिने गरी देखेर भोगेर पनि सबैले अभिव्यक्त गर्न सक्दा रहेनछन्। यो क्षमता महानन्द ढकालमा अद्वितीय नै देखियो।

उपन्यासमा थारू संस्कृति, भाषा, जनजीवन, रहनसहन, खानपानको अनुपम उठान भएको छ। गैरथारूभाषीलाई पढ्दा झर्को लाग्ने, शब्दार्थ हेर्नुपर्ने र अरूलाई सोध्नुपर्ने झन्झट छैन। थारू भाषा नबुझ्नेहरूले पनि उपन्यास अध्ययन गरिरहेकै समयमा सहजै थाहा पाउन सकिने गरी स्रष्टाले शब्द र वाक्यहरूलाई प्रयोग गर्नुभएको छ। पृथक् र विशिष्ट पहिचान भएको थारू समुदायको जनजीवन रोचक ढंगबाट उठान भएको छ।

जब कमैया केटाले जमीनदार मालिककी छोरी विवाह गर्नुपर्ने अवस्था आयो। जमीनदार सर्वराजले आफ्नी छोरीको कारण पनि त्यो विवाहको नौबत आएको हुन सक्ने बुझेर पनि दोष जति थारू परिवारकै देख्छ। सर्वराजले जति समानताका र मानवताका कुरा गरे पनि थारुलाई जुवाइँ स्वीकार्न नसक्नु पहाडिया जातीय ब्राह्मणवादी सामन्ती अहंकारको हुर्मत लिएको छ औपन्यासिक कथावस्तुले। थारू पहाडी विवाहले सामन्ती जात व्यवस्थालाई चुनौती दिएको छ। समग्रमा उपन्यास सामाजिक बेथितिलाई प्रहार गर्न सफल भएको छ।

सशस्त्र संघर्षमा घाइते भएको सोमलाल चौधरी माइलाको छोरा भूमिगत भएर क्रान्ति गर्दा पनि ठगिन्छ,निर्णायक तहमा पुग्नुपर्ने भएर पनि पुगाइएको हुँदैन। पार्वती आमाको छोरा सुकुम्बासी आयोगको केन्द्रीय अध्यक्ष भैसकेपछि सोमलाललाई जिल्ला सदस्य बनाउँदा माइलाको सो उपहार अस्वीकार मात्र गर्दैन आफ्नो अपमान भएको महसुस गरेर पार्वती आमाको घरबाट रिसाएर हिंडेको कथा र उपहार दिनेसंग गरेको व्यवहार निकै अप्रिय लाग्यो। यस विषयलाई पारिवारिक सम्बन्धमा अझ प्रगाढता आउने गरी पस्कनुपर्थ्यो भन्ने लाग्छ।

सास्कृतिक, भाषिक, सामाजिक सम्बन्ध, नेपाली समाजको वर्गीय स्वरूप, लैंगिक अवस्था, भूस्वामित्वमा अडिएको पारिवारिक स्तर, गरीवका सामान्य सपना पनि असम्भव बनाइदिने राज्य व्यवस्था, शासकीय प्रवृत्तिलाई सुरुचिपूर्ण प्रस्तुत गरिएको कृति बुह्रानमा साहित्यिक स्वादका अलावा बहुआयामिक ज्ञान र सूचना प्राप्त गरेर पाठकलाई मक्ख बनाउँछ बुह्रानले।

प्रकाशित: १३ आश्विन २०७९ ०४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App