१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सोचे जस्तो हुन्न जीवन

लघुकथा

यात्रामा थिए छिमेकीहरू। कले-खै कसरी छल्ने हो टन्टलापुरे घाम! भन्दाभन्दै पिपलको छहारी भेटियो। छिमेकीहरू-आहा कति मिठो शीतल! पिपलको रुखमुनि सुस्ताए। खले-अचेल मान्छेले कति पढेका, केके जानेका! परिवारपिच्छे पढन्तेहरू। सासूससुरा, छोराबुहारी, छोरीज्वाइँ सबै पढेका। कस्तो भन्या सिङ्गै परिवार जागिरे! दिउँसो त घरै सुनसान! प्रसंग फेरिन्।

क-पनि के कम! तर सुन्दा राम्रो लाग्ने, देख्दा रहर जाग्ने मात्र हो। सही कुरा थाहा पाउन त भोग्नै पर्ने। हुन पनि हाम्रा पुर्खाले नमरी स्वर्ग देखिन्न भनेर उहिल्यै घोषणा गरेका! कति दूरदर्शी बाइ पुर्खा!

दुई छिमेकीको कुरा ध्यान दिएर सुनेकी ग छिमेकीले-के गर्नु कागजले मात्र सज्जन नबनाउने रहेछ। नजिकैको व्यवहार पर्खिनुपर्नेरहेछ। हेरौं त! विवाहपूर्व बुहारी घरकी लक्ष्मी ठान्नेहरू पछि कसरी दुर्वासा बनेर निस्कन्छन्? बुहारीलाई त परिवारको सदस्य नै ठान्दैनन् दुश्चरहरू।

पढ्या डिग्री लिएका भनेर के गर्नु व्यवहारमा राक्षस बसेपछि?

समाज, संस्कृति, संस्कार र कानुनले त परिवारकै मान्छे बनाउँछन् तर घरमा के भइरहेको छ भनेर थाहा पाउन अन्तिममा यसो गर, त्यसो नगर भन्ने आदेशपछि अनुमान गर्नुपर्ने-ए घरमा त बिरालो बियाउँदै रहेछ भनेर।

ग छिमेकीका कुराले झस्कायो-यो मान्छेको जातै बैगुनी। आफू मात्र दूधले धोइएको अरू जति दुष्ट? आफ्नो मनभरि थुप्रिएको काती नदेख्ने? हुँदाहुँदा सुखदुःखमा सँगसँगै हुन्छु, कहिल्यै दुख दिन्नँ भनेर कसम खाएको लोग्ने समेत विवेक गुमाएर श्रीमतीलाई हेला गर्छ। आमाको कानेखुसीमा रमाउँछ। जीवनसाथीलाई दुख दिएर बहादुर बनें भन्दै मुते न्यानोमा निदाउँछ, भन्या लाछी मोरो!

क बसेको ठाउँबाट अलिकति नजिक सरेर-ओहो कस्तो मनकै कुरा बोल्नुभो। यी लोग्ने मान्छे भन्न त भन्छन् हामी यस्ताउस्ता विज्ञापन खुब गर्छन्,सोच र व्यवहारमा त बुहारीलाई दुख दिने दानव प्रवृत्तिको ओइरो लाग्छ अठारौं शताब्दीमा झैं। मैले त आमाको कुरा पत्याएर घरवार बिगारेका बज्रस्वाँठ देखेकी छु।

ख-हो, समान्य जस्तो लाग्ने यसो विचार गरी हेरौं त कति गम्भीर छ!

- के ठान्छ कुन्नि मान्छे आफूले गरेको अहिष्णु उपेक्षित व्यवहार अरूले थाहा पाउन्न भन्ठान्छ कि कुन्नि। अनुहार मात्र हेर्छ ऐनामा, आफैभित्रको कल्मष मन र काती परेको स्वार्थी विवेक चिन्नै सक्दैन।

कले सुइय्य गरेर लामो सास फाल्दै-भो छाडिदिऊँ, कुरा गर्‍यो कुरैको दुख। अर्काका कुरा गरेर के खेर फाल्नु मूल्यवान् समय। बरु भन्नू न यसपालिको दशैं योजना के छ?  

प्रकाशित: १३ आश्विन २०७९ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App