१५ मंसिर २०७९ बिहीबार
कला

झापादेखि राजधानीसम्मको यात्रा

संस्मरण

इन्द्रकुमार श्रेष्ठ सरित्

तेह्रौ दिनको काम सकिएपछि सबै जना आआफ्नो काम धन्दामा लागे। घरमा अब बुवा, दुई जना भाइ र एकजना बैनी मात्र रहेका थिए। मन घरैमा छाडेर अन्यमनस्क भावमै म पनि आफ्नो कार्य क्षेत्र टोक्ला चिया कमानतिर लागें।

मलाई जसरी नि अब अगाडिको पढाइलाई निरन्तरता दिनु थियो। त्यसका लागि मैले बगानका मुख्य व्यावस्थापक यादवप्रसाद गर्तौला र महाप्रबन्धक सुन्दरजंग राणालाई आफ्नो पढाइ अघि बढाउन कलेज भएको शाखामा सरुवाका लागि धेरैचोटि भनें। उहाँहरूको जवाफ सकारात्मक भए तापनि व्यवहारमा परिणत भएको थिएन। सरुवाका लागि समय लाग्ने देखेपछि मैले आईए प्राइभेट विद्यार्थीको रूपमा दिने विचार गरें र अध्ययनमा जुटें। नेपाली त मेरो रुचिको विषय थियो तर अंग्रेजी विषय बाधक बन्ने स्थिति थियो। किनभने बगानको यो जंगलमा मलाई अंग्रेजी सिकाइदिने मान्छे भेट्नै मुस्किल थियो भने ट्यूसन खर्च छुट्याउन पनि मुस्किल थियो। किनभने ३५५ रुपैयाँको तलवले कता ओढ्ने? कता ओछ्याउने? के खाने? के लाउने? समस्या सानो थिएन तर मलाई जसरी नै पढ्नु थियो।

कलेज भएका निगमका शाखा कार्यालयहरूमा तत्काल सरुवा हुने छाँट नदेखेपछि मैले काठमाडौं आएर प्राइवेट परीक्षार्थीको रूपमा आईएका रजिस्ट्रेसन फर्म भरिसकेपछि परीक्षाका लागि विराटनगर सेन्टर राखेर फर्म पनि भरें। फर्म विराटनगरबाटै भर्दा पनि हुन्थ्यो तर एसएलसीको प्रोभिजनल सर्टिफिकेट निकाल्न काठमाडौंमै पुग्नुपर्ने बाध्यता भएपछि राजधानी आएकै बखत फर्म पनि यहीं भरियो।

खालि पढ्नुपर्छ भन्ने ध्याउन्नबाहेक पढाइ कहाँबाट सुरु गर्ने भन्ने कतै केही मेलोमेसो थिएन। तैपनि जसोतसो जाँच दिइयो। परिणाम आउँदा राजनीतिशास्त्रमा रातो घेरा लागेछ। मलाई अचम्म लाग्यो किनकि मलाई अंग्रेजी विषयले धोका देला कि भन्ने लागेको थियो तर यहाँ धोका त राजनीतिशास्त्रले दिएछ। राजनीतिशास्त्र विषय मलाई मनपर्ने विषय थियो। यसबेलासम्म मेरी छोरी इशा छ महिनाको भइसकेकी थिइन्।

दोस्रो वर्षको पनि परीक्षा दिइयो तर पहिलो वर्ष जत्तिको यो वर्षको परीक्षा राम्रो भएन भन्ने लागिसकेको थियो। परिणाम आउँदा आफ्नो अनुमान सही प्रमाणित भयो। यसपटकचाहिं साँच्चै   अंग्रेजी विषयले नै धोका दिएको थियो। तर, पहिलो वर्षको राजनीति शास्त्रको व्याक पेपर दिन नपाउँदै नेपाल चिया विकास निगमबाट मेरो सरुवा राष्ट्रिय बीमा सस्थान, रामशाहपथ, काठमाडौंमा हुने भयो। पत्र मेरो हातमा परिसकेको थियो र मैले टोक्ला चिया कमान, काँकडभिट्टाबाट रवानापत्र पनि बुझिसकेको थिएँ। मेरो यही बेला परीक्षा परेको छ भनेर यो मौकालाई पर सार्न सक्ने स्थितिमा म थिइनँ। अब काठमाडौं पुग्न मसँग जम्माजम्मी सात दिन मात्र बाँकी थियो। त्यसैले टोक्ला चिया कमानबाट ल्याएका सामान तरहरास्थित घरमा राखेर म थोरै सामान बोकेर मुखैमा आएको परीक्षा समेत छाडेर एक्लै राजधानी हिंडे।

काठमाडौं जानु मेरो रहर थिएन बाध्यता थियो। जाबो ३५५ रुपैयाँको जागीरले काठमाडौंमा के खाने, के लाउने, के ओढ्ने के ओछ्याउने भन्नेमा पनि मलाई त्यसै तनाव भैसकेको थियो। तर जीवनमा कम्तीमा स्नातक उत्तीर्ण गरेरै छाड्ने मेरो चाहनाले दुई/अढाई वर्षको संघर्षपछि म काठमाडौं आइपुगें त्यो पनि नेपाल चिया विकास निगममा हैन राष्ट्रिय बीमा संस्थानमा। पढ्नका लागि कलेज भएको स्थानमा सरुवा देऊ भनेर दुई वर्ष जतिको अनुरोध काम नलागेपछि राष्ट्रिय बीमा संस्थानका तत्कालीन महाप्रबन्धक नरप्रताप केसीसँग सिधै अनुरोध गरेपछि म्यूचुअल ट्रान्सफरको प्रक्रियाबाट म २०४४ साल साउनको पहिलो साता नै राष्ट्रिय बीमा संस्थान, काठमाडौंमा हाजिर हुन आइपुगें।

स्थायी जागीरे भएको साढे पाँच वर्ष भइसके तापनि राष्ट्रिय बीमा संस्थानमा आउन मैले नेपाली र अंग्रेजी टाइपिङको पुनः प्रयोगात्मक परीक्षा दिएँ। त्यसमा उत्तीर्ण भएपछि मात्रै राष्ट्रिय बीमा संस्थानले मलाई बोलाउने निर्णय गरेको थियो। मलाई हाजिर हुन दिएको पत्रमा मेरो पद मिलानका साथै तलब समेत मिलान गरिएको थियो जस अनुसार अब मैले मासिक रूपमा ७४० रुपैयाँ प्राप्त गर्ने लेखिएको थियो।

नयाँ ठाउँ, नयाँ मान्छेहरूको माझमा म फेरि एकपटक नयाँ भएँ। तैपनि ममा हिनताबोध थिएन किनकि मलाई दिइने जिम्मेवारी म कुशलतापूर्वक निर्वाह गर्न सक्छु भन्नेमा म ढुक्क थिएँ। केही समयमै यसको पुष्टि भयो पनि। आफ्नो विभागबाट मात्र नभएर मलाई कामको जिम्मेवारी नायव महाप्रबन्धक र महाप्रबन्धकको कार्यालयबाट पनि आउन थाल्यो। त्यसबेला राम्रो टाइप गर्नेमा हामी तीन दुर्गाप्रसाद श्रेष्ठ, दीलकुमार श्रेष्ठ र इन्द्रकुमार श्रेष्ठ राष्ट्रिय बीमा संस्थानमा परिचित मात्र हैन चर्चित पनि थियौं भन्दा फरक नपर्ला।

राजधानी आएको केही दिनपछि नै मैले पशुपति देवपतनमा कोठा लिएर बस्न थालें। तर पानी र बत्ती लोकेसनका आधारमा त्यो बसाइ सारै असहज भएपछि म सिफल रमेश महर्जनको घरमा सरें। माटोको जोडाइ भएको चारतले घर पुरानो भए तापनि त्यत्तिबेला मनग्गे ठूलो कोठाको भाडा रु. २२५।- मलाई त्यत्ति महँगो लागेन। कोठाभाडा सस्तोभन्दा पनि राजधानीमा यो क्षेत्र चौबिसै घण्टा पानी आउने क्षेत्र रहेछ। मलाई त्यहीं नै सबैभन्दा सजिलो लाग्यो।

मलाई जसरी नि अगाडि पढ्नु थियो। त्यसैले आइएको एउटा व्याक पेपर दिन छुट्दा मैले फेरि सम्पूर्ण विषय दिएर पनि एकैपटक आइएको प्रथम वर्षको परीक्षा उत्तीर्ण गरें। जसोतसो गरेर दोस्रो वर्षको परीक्षा पनि उत्तीर्ण गरें। अब म जसरी पनि स्नताक तहको खुड्किलो उक्लिन चाहन्थें। त्यसैले मानविकी विषय पढेर जागीर पनि खान सजिलो हुने भनेको रत्नराज्य क्याम्पस, प्रदर्शनी मार्गको मात्र थियो। तर, त्यहाँ नाम निस्किनु सजिलो थिएन। किनभने जागीर खाएर मानविकी विषय पढ्न चाहनेहरूको एक मात्र रोजाको र पायक पर्ने ठाउँ पनि त्यही नै थियो। त्यसैले कलेजमा फर्म भरेर बुझाइए तापनि पढ्न पाइने हो कि हैन भन्ने दोधार नै थियो। तर विद्यार्थी संगठनको पहलमा हामीले पढ्न पाइने भयौं। नाम र भर्ना शुल्क  विद्यार्थी संगठनलाई बुझाएर ढुक्क भएका हामी  विद्यार्थीहरूलाई रत्नराज्यको भवनमा कक्षाकोठाको अभावले सँगैको वाल्मीकि क्याम्पसमा पढाउन थालियो।

इतिहासको कक्षा रत्नराज्य क्याम्पसको भवनमा पढेर नेपाली विषयको कक्षा लिन हामी दौडिंदै वाल्मीकि क्याम्पसको भवनमा पुग्थ्यौं। वाल्मीकि क्याम्पसमा चमेनागृह समेत नभएकाले हामी चिया खान कहिले रत्नराज्य कलेज त कहिले पद्मोदय मोडमा पुग्थ्यौं। नयाँ अनि युवा साथीहरूको संगतले बेलाबेलामा म आफू विवाहित, एउटी छोरीको बाबु र जागीरे भएको  बिर्सेर म पनि उनीहरूको संसारमा हराउँथे। विद्यालय जीवनपछि फेरि एकपटक विद्यार्थी बन्न पाउनुको आनन्द आफैंमा सुखद् र अमूल्य थियो।

सुरुसुरुमा त पढाइ केही बुझिएकै हैन कुइरोको कागझैं भइयो। तर बिस्तारै-बिस्तारै बुझिन सजिलो हुँदै आयो। साथीहरू पनि निकै भए-राजेश ताम्राकार, हरि सुवेदी, विजय श्रेष्ठ, सन्तोष श्रेष्ठ,  प्रेम थुलुङ राई, तारानिधि चौंलागाई, शारदा श्रेष्ठ, डोल्मा तामाङ, गौरी तिमल्सिना आदि।

यी पंक्तिहरू लेखिरहँदा धेरैजसो साथीहरूको त मैले नाम पनि बिर्सिसकें। केही साथी भने अहिले पनि सम्पर्कमै छन्। केही साथीचाहिं यतिखेर जापान र अमेरिकातिर आफ्नो भविष्य बनाउन तल्लिन छन्। कलेज जाने दिनहरूको सम्झना गर्दा पछिल्ला दिनहरूमा पढाइसँगै साथीभाइहरूको संगत पनि रमाइलो नै भइरहेका थियो।  म र तारानिधि एउटै कार्यालयका कर्मचारी भएकाले प्रायः हामीसँगै हुन्थ्यौं। तर प्रेम र म मिलेर उसलाई खूब जिस्क्याइरहन्थ्यौं। ऊ नयाँ दुलहीझैं लजाउँदै मुस्कुराइरहन्थ्यो।

तर ‘अभागी खान बस्यो, हुरीले उडाएर लग्यो’ भनेझैं हाम्रो पढाइ सुरु भएको केही समयमै नेपालमाथि भारतको नाकाबन्दी सुरु भयो। बिहान पाँच बजे उठेर जुँगाभरि शीत जमाउँदै कलेज गयो, पढाइ भने शून्य। कहिले मुस्किलले एकदुई पिरियड हुन्थ्यो भने कहिले त त्यो पनि हुँदैनथ्यो। पढाइ हुँदा हामीलाई समयको अभाव हुने र पढाइ नहुँदा समय नै समय हुन्थ्यो।

यो फाल्टु समयको समस्याले म र तारानिधि खाना खाने निहुँमा  पुतलीसडक, रत्नपार्क, माइतीघर, कालिकास्थान, डिल्लीबजार र न्यूरोडसम्मका भोजनालयहरूमा पुग्थ्यौं। कहिलेकाहीं कक्षा नभएको बेलामा हामी समय बिताउन प्रेमको डेरामा पुग्थ्यौं भने कहिले विजय र सन्तोषको संयुक्त डेरामा पुग्थ्यौं। हामीलाई कोर्ष चाँडोभन्दा चाँडो सकियोस् भन्ने लागिरहेको थियो तर भारतको नाकाबन्दीले कक्षा लगभग बन्द भइसकेको थियो।

बिहानको खाना त कार्यालय विदा भएको दिनमा मात्रै डेरामा बनाएर खाइन्थ्यो त्यो पनि सलेदोवाला स्टोभमा। किनभने गाउँमा दाउरामा खाना बनाउने बानी भएको मलाई  दम दिने स्टोभ चलाउन मलाई डर लाग्थ्यो। तर शनिबारचाहिं प्रायः म,  प्रेम र विजय मेरै डेरामा जम्मा भएर बिहानको खाना खान्थ्यौं। कहिलेकाहीं झापाका भाइ सीताराम उप्रेती पनि आइपुग्थ्यो। राजधानीमा आएपछि ऊ पनि राष्ट्रिय वाणिज्य बैंकको जागीरे भैसकेको थियो।

राजधानीमा आइसकेपछि जागीर र पढाइबाहेक मैले मेरो रुचिलाई अलि मलजल गर्न थालें। मैले गोरखापत्र, मधुपर्क, गरिमा, अभिव्यक्ति, मिर्मिरे, समष्टि, जनमत, रत्नश्री, रचना लगायतका पत्र-पत्रिकाहरूमा रचना दिन थालें र यी पत्रपत्रिकाहरूमा मेरा कथा, कविता, गीत, गजल, समीक्षाहरू बाक्लै छापिन पनि थाले। यही समयमा मैले ‘विवेक’ साप्ताहिकका लागि साहित्यकार/ कलाकारहरूसँग नियमित अन्तर्वार्ता लिन थालें। यसका लागि पत्रिकाको तर्फबाट मलाई केही पारिश्रमिक वा सुविधा उपलब्ध थिएन बरु यो भाषा र साहित्यप्रतिको मेरो अदम्य मोह र सेवाभाव मात्र थियो। दशदेखि पाँच बजेसम्म कार्यालयको काम भ्याएर, कलेज गएर, आफ्नो लागि खाना बनाएर, लुगा धोएर पनि खालि आफ्नो रुचिको कारणले नै नियमित रूपमा एउटा साप्ताहिकका लागि अन्तर्वार्ता लिन र पुस्तक समीक्षा लेख्न भियाइरहेको थिए।

रहरले नै यो सबै सम्भव भएको थियो। करबलले यो हुन सम्भव नै थिएन। यसबेला मैले उक्त पत्रिकाका लागि पारिजात, शिव रेग्मी, तारादेवी, गोमा, रत्नाकर देवकोटा,घनश्याम राजकर्णिकार, रामशरण दर्नाल लगायतसँग गरेको कुराकानी अन्तर्वार्ताको रूपमा छापिएको थियो भने उक्त पत्रिकामा लामो समयसम्म मैले नियमित रूपमा पुस्तक समीक्षा पनि लेखिरहें।

समयलाई पछाडि फर्केर हेर्दा यस्तो लाग्छ, २०३८ देखि २०६० को समय नै मेरो साहित्य यात्राको सबैभन्दा उर्वर समय रहेछ। किनभने कसैको हात नसमाई र कसैको साथ नपाईकन पनि यो समयमा मैले नेपाली साहित्यका हरेक विधामा कलम चलाएँ। कविता, कथा, गीत, गजल, मुक्तक, समीक्षा, समालोचना, यात्रा संस्मरण, उपन्यास आदि विधामा कलम चलाउँदै ती विधाका रचनाहरू त्यसबेलाका पत्रपत्रिकामा धेरै छापिएका छन्।

२०४६ सालमा नेपाल प्रज्ञाप्रतिष्ठानको छपाइको कुल ६० प्रतिशत आर्थिक सहयोगमा मेरो पहिलो कृति ‘पूर्व क्षितिज’ कवितासंग्रह प्रकाशित भयो। विमोचन वा प्रायोजित प्रचारप्रसार गर्न नसके तापनि साथीभाइहरूको सहयोगमा उक्त कृतिको त्यो बेलामा राम्रै चर्चापरिचर्चा भने भएकै हो।

उमेरले मभन्दा ठीक दश वर्ष कान्छा भए पनि घरबेटीको छोरो रमेश र मेरो घनिष्ठताको सुरुवात भएको थियो। फुर्सदले कोठामा बसेको बेलामा मेरो बोल्ने साथी नै उही थियो। ठूलो जीउडालको ऊ व्यवहार र विचारले पनि आफ्नो उमेरभन्दा बढी नै परिपक्व देखिन्थ्यो। कहिलेकाहीं ऊ र म सिनेमा हेर्न पनि निस्किन्थ्यौं। उसको र मेरो मित्रता देखेर उसका बाआमा हामीलाई हेरेर हाँसिरहेका हुन्थे। यो परिवार मनैदेखि रमाइलो र मिलनसार परिवार थियो।

प्रकाशित: १० आश्विन २०७९ १३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App