८ वैशाख २०८१ शनिबार
कला

भूगोल साहित्य समाजद्वारा साहित्यिक पुरस्कार प्रदान

भूगोल साहित्य समाजद्वारा नियात्राकार,इतिहासकार, अनुसन्धाता देवीचन्द्र श्रेष्ठलाई २०७९ सालको झगु-लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार प्रदान गरिएको छ। समाजको सभाकक्ष दरबारमार्गमा आयोजना भएको तेस्रो वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा उनलाई पुरस्कार प्रदान गरिएको हो।

दुई सत्रमा सम्पन्न कार्यक्रमको पहिलो सत्रमा झगु-लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार प्रदान गर्नुका साथै संस्थाका मानार्थ र आजीवन सदस्यहरूलाई सदस्यताको प्रमाण-पत्र वितरण गरिएको थियो भने दोस्रो सत्रमा साधारणसभा सम्पन्न गरिएको थियो।

पहिलो सत्रको कार्यक्रममा समाजले यसै वर्षदेखि प्रदान गर्न थालेको उक्त पुरस्कारको राशि २५ हजार ५ रुपैयाँ रहेको छ। श्रेष्ठलाई नगदको साथमा सम्मान-पत्र प्रदान गरिएको थियो।

सो पुरस्कार समाजका आजीवन सदस्य श्रीओम आचार्यले स्थापना गरेका हुन्। पुरस्कार वार्षिक रूपमा प्रदान गरिने छ।

पुरस्कृत स्रष्टा श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकको स्थापनाकालदेखि नै वित्तीय सेवामा प्रवेश गरी तीन दशकअघि निवृत्त भएका अग्रज बैंकर हुन्। बैंकको जिम्मेवार कर्मचारी हुँदाहुँदै पनि साहित्य सिर्जना तथा अनुसन्धानका क्षेत्रमा उनले देखाएको सक्रियता अनुकरणीय छ। हाल ८५ वर्षको उमेरमा पनि उनी अनुसन्धान र नेपालको आर्थिक इतिहास लेखनमा सक्रिय छन्।

उनका साहित्यिक, अनुसन्धानात्मक र ऐतिहासिक कृति प्रकाशित छन्। काठमाडौ बाहिर, हुम्ला बोल्छ मानसरोवरमा, घामपानीको छाप, बिदो र नेपालमा प्रयोगात्मक बैंकिङ उनका उल्लेख्य कृति हुन्।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पुरस्कृत व्यक्तित्व श्रेष्ठले पुरस्कार र सम्मानको लागि नभई आफूले अध्ययन-अनुसन्धान र लेखनमार्फत आफूलाई सधैं सक्रिय राख्दै आएको बताए र समाजको प्रगतिको कामना गरे। 

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ तथा अतिथिहरूमा मानार्थ सदस्य सुशील श्रेष्ठ रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि किरणकुमार श्रेष्ठले समाजका साहित्यिक क्रियाकलापको प्रशंसा गरे भने आगामी दिनमा पनि समाजले अझ प्रभावकारी कार्यक्रम गर्दै जाओस् भन्ने शुभेच्छा व्यक्त गरेका थिए।

पहिलो चरणको कार्यक्रममा मानार्थ सदस्य सुशील श्रेष्ठ र कवि मित्रलाल पगेनीले शुभकामना दिएका थिए।

पहिलो सत्रमा प्रमुख अतिथि किरणकुमार श्रेष्ठ, कवि मित्रलाल पगेनी, जनार्दन पौडेल र वेद लावतीले आआफ्ना कविता पाठ गरेका थिए। कार्यक्रममा पुरस्कृत व्यक्तित्व श्रेष्ठको व्यक्तित्व र योगदानबारे समाजका सदस्य नवराज पुडासैनी ज्योत्सनाले प्रकाश पारेका थिए भने अतिथिहरूको स्वागत उपाध्यक्ष दिनेशविक्रम थापाले गरेका थिए।

दोस्रो सत्रमा सम्पन्न साधारणसभाले समाजको आर्थिक वर्ष २०७८/७९को आर्थिक तथा सांगठनिक प्रतिवेदन पारित गर्नुका साथै विनोद नेपालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। दुवै कार्यक्रम सचिव शैलेन्द्रकुमार शाहले चलाएका थिए।

प्रकाशित: ७ आश्विन २०७९ ०७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App