१२ आश्विन २०७९ बुधबार
कला

नागरिकताबारे राजा ज्ञानेन्द्रसँग भएको संवाद

सन् २००२ जुलाई ९ मा राजा ज्ञानेन्द्र र रानी कोमल राजकीय भ्रमणको सिलसिलामा बेइजिङ आउनुभयो। मुख्य भूमि चीनको भ्रमणपछि उहाँहरूले हङकङको पनि भ्रमण गर्नुभयो। जुलाई १८ को दिन राजारानी हङकङबाट नेपाल फर्किने कार्यक्रम थियो। सोही दिन बिहान राजासँग भेटेर चीनबाहेक राष्ट्रिय हितसम्बन्धी कुरा गर्नका लागि मैले अघिल्लो दिन नै समय लिएको थिएँ। राजालाई भेट्न जाँदा उहाँसँग प्रमुख संवाद–सचिव मोहनबहादुर पाण्डे पनि हुनुहुन्थ्यो। दर्शन भेटका क्रममा मैले राजासँग नागरिकता वितरण गर्ने कुरामा सचेत हुनुपर्ने कुरा जाहेर गरेको थिएँ।

त्यतिबेला भारतीयहरूले ४० लाख हाम्रा मान्छले नेपाली नागरिकता लिइसके भनेर लेखेको कुरा कतै पढेको थिएँ। राजा वीरेन्द्रले नागरिकता ऐनलाई सर्वाेच्चको अदालतको रायपछि फिर्ता पठाउनुभएको थियो। नेपालीहरूले सहज र बिनाझन्झट नागरिकता पाउनुपर्छ, तर गैरनेपालीले नेपालको नागरिकता लिने सम्भावना भएकाले त्यसमा निगरानी र सतर्कता अपनाउनुपर्छ भन्ने मेरो सुझाव राजासमक्ष जाहेर गरेको थिएँ। नेपालको नागरिकता त अमेरिकाको ग्रिन कार्ड, क्यानडा, अष्ट्रेलियाको पिआरजस्तै हट केक भएछ। तर ‘किन र केका लागि नागरिकता?’ भन्ने कुरा चाहिँ गहिरोसँग बुझ्नु जरुरी देखिन्छ भन्ने कुरा पनि मैले उहाँसमक्ष जाहेर गरेको थिएँ।

नागरिकतामा हामी उदार भएर यसरी नै वितरण गर्दै जाँदा भोलि हुने निर्वाचनका क्रममा मतदानमा पनि प्रभाव पार्न सक्ने कुराप्रति उहाँको ध्यानाकर्षण गराएको थिएँ। राजनीतिक दलहरूले आफ्नो घोषणापत्रलाई पाँच वर्षको अवधिलाई मात्र लक्षित गर्ने भएकाले राजाको लक्ष्य लामो हुनुपर्ने सुझाव दिएको थिएँ। मैले उहाँसँग सरकारको सबै कुरा भनेकै देश र जनताको समृद्धि हो। त्यसैले यस्ता कुरामा विशेष ध्यान दिनुपर्छ भनेर सुझाव दिएको थिएँ। त्यतिबेला उहाँले मेरो कुरा मनन गर्दै तपाईंले भनेको कुरा निकै गम्भीर र महत्त्वपूर्ण छ भन्नुभएको थियो।

नेपाली नागरिकताले बुद्धको आत्मा, सीताको पवित्रता र सगरमाथाको गौरव बोकेको हुँदा ख्यालख्याल र जालझेलमा यसको प्रतिष्ठामा आघात पार्ने काम हुनु हुन्न। जर्ज वासिङ्टनले, अब्राहम लिङ्कन, नेपालियन बोनापार्ट, अटोभन विस्मार्क, विस्टन चर्चिल, माओत्सेतुङ, तङ सियाओ फिङ, महात्मा गान्धी, झासी कि रानी, सेख मुजिवर रहमान, डन स्टेफिन, नेल्सन मन्डेला, होची मिन्ह, पृथ्वीनारायण शाह, अमरसिंह थापा, बलभद्र कुँवर, भानुभक्त आचार्य, डा. हेनरी किसिन्ज, लि क्वान यु, डा. महाथिर महमद, जोसेप ब्रज टिटो, भ्लादिमिर लेनिन, लेक वालेसा, मार्टिन लुथर किङ, आङ साङ सुची आदि पनि आआफ्ना देशका सपुत हुन्।

उनीहरू सबै व्यक्ति हुन तपाईं र मजस्तै, फगत एक व्यक्ति तर एउटा सिंगो व्यक्ति एउटा सबल राष्ट्र हो भन्ने सन्देश उनीहरूको नाम उच्चारण गर्दा नै प्रष्ट हुन्छ। त्यसैले नागरिक पहिचान र नागरिकता वितरणमा कुनै पनि किसिमको ‘गन्ध’ मिसिनु हुँदैन, मिसिन दिनु हुँदैन। नेपाली नागरिकतामा नेपाली हावा पानी र माटोको सुवास प्रस्फुटित हुनुपर्छ। नागरिकताजस्तो पवित्र र संवेदनशील विषयमा देशभित्रको होस् वा बाहिरको ‘झुसिलो डकार’ को दुर्गन्ध मिसिने गुञ्जायस हुनुहुन्न र रहन दिनु हुँदैन।

चीनका लागि पूर्व नेपाली राजदूत आचार्यको प्रकाशोन्मुख पुस्तक ‘कुटनीतिक डायरी’ को  एक अंश।

प्रकाशित: १ आश्विन २०७९ १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App