१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

मुलुकी प्रशासनका नक्षत्र

पूर्व सचिव श्रीकान्त रेग्मीको जीवनी झल्काउने स्मृतिग्रन्थ लोकार्पण गरियो। स्मृतिग्रन्थको लोकार्पण रेग्मीको वार्षिकीका दिन अर्थात् ६ भाद्र २०७९ मा गरिएको हो। उहाँका दाजु एवम् नेपाली कांग्रेसका स्याङ्जा जिल्ला पूर्वसभापति खगेन्द्र रेग्मीको पहल र प्रयासमा प्रकाशित पुस्तक काठमाडौं, लाजिम्पाटस्थित रेग्मीकै घर–आँगनमा भेला भएका आफन्त र शुभेच्छुहरूलाई उपलब्ध गराइएको थियो।  

कांग्रेसी राजनीतिमा लामो समय बिताएका रामचन्द्र पौडेल र गोपालमान श्रेष्ठलगायतका नेता तथा नेपालको निजामती प्रशासनमा रेग्मीका समकालीन, जेष्ठ र कनिष्ठ प्रशासकहरू रेग्मीलाई श्रद्धाञ्जली अर्पण गर्न भेला भएका थिए। पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई र रेग्मीका अन्य केही मित्रहरूलाई छोटा–छोटा मन्तव्य दिने अवसर दिइएको उक्त कार्यक्रममा श्रीकान्त रेग्मीसँग परिचित पत्रकारहरूमध्ये ध्रुवहरि अधिकारी र पुरुषोत्तम दाहालले प्रशासक रेग्मीका बारेमा बोलेका थिए।  

स्मृतिग्रन्थ प्रकाशोन्मुख छँदै (२०७८ फागुन) कांग्रेस सभापतिका हैसियतबाट शेरबहादुर देउवाले प्रकाशनलाई शुभकामना दिँदै श्रीकान्त रेग्मीको निधनबाट मुलुकले एक सच्चा, इमान्दार र कर्तव्यनिष्ठ प्रशासक गुमाएको धारणा राखेका थिए। देउवाले शुभकामना सन्देशमा आफू प्रधानमन्त्री छँदा रेग्मी प्रधानमन्त्री कार्यालयकै सचिव रहेको उल्लेख गरेका छन्। अर्को शब्दमा, देउवा रेग्मीका गुण, खुबी, ज्येष्ठता र इमान्दारीबारे परिचित थिए। तर विडम्बना, देउवाले रेग्मीलाई निजामती सेवाका प्रमुख (मुख्य सचिव) को जिम्मेवारी दिन सकेनन्। फलस्वरूप, आफूभन्दा कनिष्ठको कदर गरेको देखिपछि ग्रन्थको सम्पादकीय खण्डमा सम्पादक कमल कोइरालाले भनेझैं अपमान र मानमर्दन महसुस गरी सचिवको कार्यकाल केही बाँकी छँदै राजीनामा (२०५९ मङ्सिर) दिएका थिए। आफैले कर्तव्यनिष्ठ ठह¥याएका प्रशासकलाई समुचित जिम्मेवारी दिन के कुराले रोक्यो ? देउवाले कुनै दिन रहस्य खोल्लान्।  

वजनदार प्रकाशन

देउवाको शुभकामना सन्देशको पुछारतिर लेखिएको छ– ‘उहाँका बारेमा जान्न र बुझ्न खोज्नेहरूका लागि प्रकाशोन्मुख स्मृतिग्रन्थ अत्यन्त उपयोगी हुने विश्वास लिएको छु’। देउवाको आँकलनभन्दा कता हो कता वजनदार पुस्तक जनसमक्ष आएको छ, जसबाट नेपालको मुलुकी प्रशासनको लोभलाग्दो झलक पाइन्छ। स्मृतिग्रन्थलाई लेख–आलेख उपलब्ध गराउने लब्धप्रतिष्ठित व्यक्तिहरूको अध्ययन अनुसन्धानका लागि काम लाग्ने थुप्रै सामग्री प्रस्तुत गरिएका छन्। ५००+ पृष्ठको सचित्र पुस्तकमा रेग्मीलाई कुशल मात्र होइन, आवश्यकताअनुसार खरो स्वभावका साथ प्रकट हुन सक्ने प्रशासक भनेर सम्झिनेहरू पनि छन्। साबिकका अर्थसचिव कृष्णहरि बास्कोटाले ‘मुलुकी प्रशासनका नक्षत्र’ का रूपमा चित्रित गरेकालाई अतिशयोक्ति भन्न मिल्दैन।  

२०३४ साल पौषमा शाखा अधिकृत भएर सरकारी सेवामा प्रवेश गरेका रेग्मीको पहिलो पदस्थापन नै लोकसेवा आयोगमा भएको थियो। त्यसबखत लोकसेवाको अध्यक्ष प्रोफेसर यदुनाथ खनाल हुनुहुँदो रहेछ। शिक्षा, कूटनीति र प्रशासनमा गहन अनुभव भएका विद्वान् खनालको समीपमा रही काम सिक्ने चाँजो मिल्यो। वृत्तिविकासका क्रममा रेग्मीले राष्ट्रिय योजना आयोगमा आफ्नो प्रतिभा र दूरदर्शिता प्रदर्शन गर्न पाए। एकताका स्वास्थ्यसचिव पनि भए। त्यसैताका गंगालाल हृदय केन्द्रको नामकरण भएको संस्मरण डा. मनबहादुर केसीलाई छ। तर सरकारी सेवाको महŒवपूर्ण कालखण्ड रेग्मी गृह–प्रशासनमा क्रियाशील रहे। सोलुखुम्बु, सर्लाही, बारा र झापाजस्ता जिल्लामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भएर काम गरेका हुनाले पछिल्लो समयमा गृहमन्त्रालयमा सहसचिव, विशेष सचिव र सचिवको गुरुत्तर दायित्व निर्वाह गर्न कठिन भएन। २०५२ सालमा सुरू भएको रक्तरञ्जित माओवादी विद्रोह देशकै लागि अभूतपूर्व चुनौती थियो। प्रहरी, गुप्तचरलगायतका संयन्त्रमा काम गर्ने कर्मचारीलाई सुरक्षाको प्रत्याभूति र तिनको मनोबल उच्च राख्न चानचुने प्रयासले हुने कुरो थिएन। २०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्ड हुँदा रेग्मीले दरबारी चाला र मुलुकी प्रशासनको भद्रगोल अवस्थाको देखिजान्ने साक्षी हुनुपरेको थियो। उपलब्ध साधन–स्रोत प्रयोग गरेर स्थितिलाई सामान्य बनाउने भरमग्दुर कोशिस गरे। भन्न सकिँदैन, उनको ठाउँमा अर्को कुनै गृहसचिव भएको भए परिस्थिति कसरी सम्हालिँदो हो। पञ्चायतकालीन नेपालमा सिंहदरबारको प्रशासनलाई राजदरबारले ओझेलमा पार्ने गथ्र्याे। द्वैधशासनको विरोध बेला‍बखत भैरहन्थ्यो। २०४७ सालपछि पनि एक हदमा द्वैधशासन कायम थियो।

रेग्मीले सर्लाहीको प्रजिअ छँदा एकपल्ट निरीक्षणको क्रममा उत्तरीभेगको हरिपुरतिर पुगेका बेला गृहप्रशासनका अवकाशप्राप्त अधिकृत श्रीवत्सराज उपाध्यायलाई सडकको किनाराबाट कतै जाँदै गरेको देखेछन्। मोटर रोक्नलगाएर रसियन जिपबाट ओर्लिंदै उपाध्यायको अगाडि पुगेर ‘नमस्कार दाइ’ भनेछन्। यसै जिल्लाको सिडिओ छु, केही सहयोग आवश्यक परे खबर गर्नुहोला भनेछन्। हाल ९० वर्षमा हिँडिरहेका उपाध्यायले हालै मसँग भने– ‘गृहमा भर्खर प्रवेश गरेका रेग्मीलाई मैले तीक्ष्णबुद्धिका र सम्भावना भएका अधिकृतका रूपमा हेरेको थिएँ। नभन्दै सचिवसम्मको जिम्मेवारीमा पुग्नुभयो। अख्तियारजस्तो संस्थामा जान पाएको भए गतिलै नतिजा निस्कँदो हो। ७१ वर्षको उमेरमा बितेकाले उहाँको थप सेवा मुलुकले लिन पाएन।’  

अनुद्घाटित प्रसङ्ग  

स्मृतिग्रन्थमा समेटिएकामध्ये रेग्मी थर भएका लेखकहरूका लेखमा श्रीकान्त रेग्मीका पारिवारिक प्रसङ्गहरू सविस्तार आएका छन्। यसअघि अनुद्घाटित रहेका कैयन् सन्दर्भ आफन्तजनहरूको लेखाइमा समावेश भएको हुने नै भयो। तर दिवङ्गत रेग्मीको व्यक्तित्वको गहकिलो झलक भने ग्रन्थका सम्पादक कमल कोइरालाको ‘संक्षिप्त जीवनी’ मा पाइन्छ। सम्पादकको विनयशीलता हो, शीर्षकमा ‘सङ्क्षिप्त’ शब्द राखिए पनि यथार्थमा यो विस्तृत छ। रेग्मीको कानुनको अध्ययनपक्ष र साहित्यिक अभिरुचिका साथसाथै नेपालको परराष्ट्रसम्बन्धको खँदिलो चर्चा पनि सम्पादकको कलमबाट निस्केको छ। सम्पादकीयमा सम्पादकबाटै आएको यस उद्गारले स्वर्गीय रेग्मीको टड्कारो चिनारी मिल्छ, ‘लगनशीलता, तार्किकता, निडरता, बौद्धिकता, स्पष्टवादिता, अध्ययनशीलता, वाक्पटुता, कर्तव्यनिष्ठता, स्वच्छता, पारदर्शिता, राष्ट्रवादिता न्यायप्रियता, कार्यकुशलता, प्रभावकारिता, उच्च संवेदनशीलता, दृढता, निपुणता, सम्प्रेषणीयता, विषयविज्ञता, गतिशीलता, निष्पक्षता, लोकप्रियता आदि उनको व्यक्तित्व गवेषण गर्दा निस्सृत हुने प्रमुख चारित्रिक वैशिष्ट्य हुन्।’

प्रकाशित: १ आश्विन २०७९ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App