११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

धपेडीबाट जोगिन सिकाउने पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक

जीवनकुमार प्रसाईंले आफ्ना पाठकमाझ नयाँ पुस्तक ‘धेरैको धपेडी’ लिएर आएका छन्। 

पब्लिकेसन नेपालयद्वारा हालै प्रकाशित भएर बजारमा आएको पुस्तकमा बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने वैज्ञानिक तथ्यगत विषयलाई सरल रुपमा उठान गरिएको छ। 

संयुक्त राज्य अमेरिकाको बर्मिङघमस्थित युनिभर्सिटी अफ अलावामामा अनुसन्धान र अध्यापनमा संलग्न प्रसाईंले अढाई दशकभन्दा बढी समय जडीबुटी र खाद्यपदार्थमा रहेका पोलिफेनोलको क्यान्सर लगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन्।  

उनले अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ हेल्थ (एनआइएच) बाट वैज्ञानिक अनुसन्धानका लागि अनुदान समेत प्राप्त गरेका छन्। उनका आलेख साइन्स लगायत जर्नलहरूमा प्रकाशित छन्।

'मानव समाज यति वेला धेरैभन्दा धेरै उत्पादन र उपभोग गरेर जीवन सम्पन्न र सुखी हुन सक्छ भन्ने उपभोक्तावादी सोचतर्फ अग्रसर हुँदै गएको देखेपछि यस विषयमा आफूले जानेका कुरा पाठक समक्ष राख्न चाहेको प्रसाईं बताउँछन्। उनका अनुसार, यो प्रवृत्तिले नै आज मानिस र वातावरणबीचको सन्तुलन पनि खलबल्याउँदै लगेको छ। यसको परिणाम मधुमेह, हृदयरोग, क्यान्सर जस्ता दीर्घरोगहरू दिनप्रतिदिन महामारीका रूपमा फैलँदै छन्। त्यसैगरि प्रदुषण, ग्लोबल वार्मिङ (वैश्विक उष्णीकरण) अनि वातावरणीय विनासले संक्रामक रोगहरुमा नियन्त्रण पाउन कठिन हुँदै गइरहेको छ।

सम्पदाको दोहन गरेर भए पनि बढीभन्दा बढी सुविधाको जीवन जिउने लालसा बढ्दो छ। खाद्य सुरक्षा बढेकाले मानिसलाई अधिक सेवन गर्न सम्भव पनि भएको छ। तर, जतिसुकै धेरै सेवन गरे पनि हाम्रो शरीरभित्रको प्रणालीले थोरैलाई मात्र ग्रहण गर्ने सामर्थ्य राख्छ। ग्रहण गरेको पनि खर्च नहुने हो भने त्यसले गुणभन्दा बैगुन बढी गर्छ भन्ने बुझ्न जरुरी छ। यसलाई नबुझ्दा मोटोपन (ओबेसिटी) को महामारी विश्वभर बढ्दो छ।'

पुस्तकमा यिनै कुराहरू वैज्ञानिक तथ्यका आधारमा आम पाठकलाई चार अध्याय कम हुँदैन थोरै, जीवनको जतन, शरीरको सामर्थ्य र परम्परा, सम्पदा र स्वास्थ्य मार्फत पस्किने प्रयत्न गरिएको छ। 'प्रकृतिमा धेरै अमूल्य कुरा थोरैमा अभिव्यक्त भएको पाइन्छ,' लेखक प्रसाईं भन्छन्, 'त्यसैले थोरैलाई हेला गर्ने वा कम सम्झनु हुँदैन। थोरै नै सार हो जसमा अंकुरण अनि प्रस्फुरण हुने तत्त्वहरू लुकेका हुन्छन्। जब हामी अनावश्यकबाट मुक्त हुन्छौं, हाम्रो भौतिक अनि आत्मिक उन्नति शुरू हुन्छ।'

उनले यसभन्दा अघि पनि खानपान, जीवनशैली र वातावरणले हाम्रो स्वास्थ्य जीवनमा पार्ने प्रभावका बारेमा पुस्तक लेखिसकेका छन्। उनका ‘जीवन जिउने काईदा’, ‘सँधै तन्नेरी’ र ‘वरीपरी नै सर्वोपरी’ गरेर तीनवटा पुस्तक यस अगावै पब्लिकेशन नेपालयबाट प्रकाशित भइसकेका छन्। 

दुइ सय २८ पृष्ठ लामो ‘धेरैको धपेडी’ पुस्तकको मूल्य ४२५ रुपैयाँ तोकिएको।

प्रकाशित: २३ भाद्र २०७९ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App