११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

फिर्ता लिनु छ

कविता

सोफिल केसी

बिसौं वर्ष खटिएका हातका खस्रा छालालाई छामी हेर्छु,

मेरा बाबा र आमाको आँखामा

मेरा लागि सजिएका भविष्य कल्पना गर्छु अनि झस्किन्छु,

वसन्त नआउँदै शिशिरझैं

कतै उम्रन नपाउँदै खस्ने पो हुन् कि

ती सपनाहरू भनेर?

तर पनि,

मैले बुझेको छु,

दुःखको झरीमा मजाले रुझेको छु,

आफ्नाको साथ पाउन आफ्नै मान्छेहरूसँग

रुँदै/ कराउँदै हजारबार जुझेको छु,

अनि सम्झन्छु,

मेरो भविष्य बनाउन

बेचिएका ती खेतका गराहरूलाई,

हो, चन्द्र छुनु छ मैले,

सगरको शिखर चुम्नु छ मैले,

चरीझैं एकदिन सपनाको बादल चढी

खुला आकाशमा उड्ने अवश्य छु।

तर, त्योभन्दा अघि

फिर्ता लिनु छ मैले,

बेचिएका ती लाम्चल अनि गैरी खेतलाई

फिर्ता लिनु छ मैले,

दुःख र पैसाको अभावमा

टाढिएका आफन्तका भेटलाई

फिर्ता लिनु छ मैले,

बाबा-आमाको हराएको

त्यो एक झट्को मुस्कानलाई,

हो,फिर्ता लिनु छ मैले,

हराएका खुसी अनि विश्वासलाई।

प्रकाशित: १४ भाद्र २०७९ ०७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App