२० असार २०८१ बिहीबार
image/svg+xml
कला

मिथिलाका महान् जनकहरू र उपनिषद्कार याज्ञवल्क्य

द्वापरयुगको अन्त्यतिर करिब ३१०० वर्षअघिको कुरा हो, जनकपुरमा ठूलो विद्वत्सभाको आयोजना भएको थियो। राजप्रसाद नजिकैको चौरमा भव्य मण्डप बनाई केराका थाम र ध्वजापताकाले सजाइएको सभा मण्डपमा जनक (महाराजा) अत्यन्त ध्यानपूर्वक दार्शनिक छलफलमा सहभागी थिए। टाढाटाढाबाट आएकातत्वज्ञानी विद्वान्हरूको समेत ठूलो उपस्थिति थियो। एक्कासि एउटा सैनिकले दौडँदै आई महाराज (जनक) लाई राजदरबारमा दनदनी आगो लागेको सूचना दियो। जनकले सोधे, ‘आगो निभाउन सैनिकहरू लागेका छन् होला नि ?’ त्यसपछि सैनिकले भन्यो, ‘हो महाराज, हामी लागेका छौँ।’ ‘मलाई मेरा रक्षकहरूमा भरोसा छ। जाऊ आफ्नो कर्तव्य पालनामा लाग’ भनी सैनिकलाई अह्राई जनक पुनः छलफलमा सहभागी भए। न कुनै चिन्ता, न कुनै तनाव। (यस पौराणिक कथामा वर्णित जनक सम्भवतः धृति नामक जनक थिए। कथानक शब्दचित्र लेखकको)।  

मिथिला महात्म्य र विष्णुपुराण (षष्ठोध्याय) आदिका अनुसार राजा निमीको समयदेखि नै निमिवंशी जनकहरू हेर्दा ग्राहस्थ देखिए तापनि तप र ज्ञानमा महर्षिजस्तै हुन्थे। हिलोमा कमल फुलेझैँ यिनीहरू सांसारिक लालच, मोहमाया आदिबाट निर्लिप्त रहन्थे। जनकवंशको रीति परम्परा नै यस्तो थियो। दशरथका समकालीन शिरध्वज जनक तथा (महाभारत युद्धकालका कृति जनकका पिता) बहुलाश्व जनक र यिनका पिता धृति जनकको नाम सर्वोच्च सम्मानका साथ पुराणहरू र गर्गसंहिता आदिमा उल्लेख भएको पाइन्छ। देवी सीताका पिता शिरध्वज जनकले आफै हलो जोती कृषकहरूलाई प्रोत्साहन गर्दै गर्दा सीताजीलाई पाएको पौराणिक वर्णन प्रख्यात नै छ। यिनको राजधर्मको बलले पृथ्वी धनधान्य र रत्न सुवर्णले भरिपूर्ण भएको थियो र मिथिलाभूमि कामधेनु गाईजस्ती भएकी थिइन् भन्ने विष्णुपुराणको पौराणिक साङ्केतिक वर्णन महŒवपूर्ण छ। यसको अर्थ हो शासकवर्ग र राज्याध्यक्ष राजधर्ममा अडिग रहे जनतामा उत्प्रेरणा जागी विकासको मूल फुट्दछ। शिरध्वज जनकबारे सबैले जाने पनि उपनिषद्हरूका लेखन गराउनेतत्वज्ञानी जनकबारे कमैलाई मात्र जानकारी होला। अतः यस्ता जनकहरूबारे जान्न जरुरी छ। विश्वलाई गुन लगाउने यस्ता अर्का जनक बहुलाश्व आफै अत्यन्त ठूला विद्वान् थिए। यिनले बहुदक्षिणा यज्ञ गरी (तत्कालीन ज्ञात विश्वका प्रख्याततत्वज्ञानी दार्शनिकहरूको) बृहत् वादविवाद प्रतियोगिता सभाको आयोजना गरेका थिए। पुरस्कार स्वरूप राखिएका एक हजार गाईहरू र तिनका सिङमा राखिएका दस–दस सुनका सिक्का प्रतियोगिताका विजेता उपनिषद्कार याज्ञवल्क्यले पाएका थिए। त्यस सभामा भएको दार्शनिक छलफलका विषय विश्वमै सर्वप्रख्यात र उच्चतम स्तरको भएको मानिन्छ। यसबारे छुट्टै थप विवेचना वाञ्छनीय छ। यस्ता जनकहरूको रतत्वज्ञानीहरूको इतिहास जानेबुझेपछि मात्र मिथिला संस्कृतिको निर्माण र महानताकाबारे केही बुझ्न सकिन्छ।

जनकवंशको प्राग्इतिहास र मिथिलाको इतिहास सारसङ्क्षेपमा

वैदिक/पौराणिक वर्णनहरूका आधारमा वंशक्रम र अनुमानित घटनासमय निर्धारण गर्न क्याम्ब्रिज युनिभर्सिटीबाट प्रकाशित एन्सेन्ट इन्डियन हिस्टोरिकल टे«डिसन नामक पुस्तकको ‘टेबल अफ रोयल जिनियोलोजिज’ र ‘जिनिओलोजिकल टेबल अफ ऋषिज’ लाई नै सबैभन्दा भरपर्दो माध्यम मान्नु उपयुक्त हुन्छ। उक्त पुस्तकका लेखक प्रो. पार्जिटरले पच्चीस–तीस वर्ष वेद–पुराणहरूको गहन अध्ययन गरी महाभारत युद्धपछिको पाँचौँ पुस्ताका अभिसीम कृष्ण तथा महापद्मनन्दका बीचका दस राजवंशको राजभोगको सरदर समय अठार वर्षको रहेको स्थापित गरेपछि, महाभारत युद्धकाल इसापूर्व ९५० मा भएको मान्यता राखेका थिए। हाल प्रायः सबै प्राग्इतिहासकारहरू यसै आधारमा सम्भावित काल निर्धारण गर्दछन् (श्रेष्ठ मल्ल, शिवराज, सं. २०७७, मानवयात्रा– सृष्टिदेखि आर्यहरूको प्रथमा संस्कृतिसम्म, नेपाल प्रज्ञा–प्रतिष्ठान ः २९६)। वायु र विष्णुजस्ता प्राचीनतम पुराणहरूमा अयोध्याको राजवंशको क्रमबद्ध र अटुट वंशवर्णन पाइन्छ। तद्अनुसार वैवस्वतमनुका आठ छोरा र एक छोरीका सन्तानहरूले उत्तरी भारतमा सर्वप्रथम व्यवस्थित राज्यहरू खडा गरेका थिए। मनुका जेठा छोरा इक्ष्वाकुले हालको अवध क्षेत्रमा राज्य गरेका थिए भने वैवस्वत मनुपछिका तेस्रो पुस्ताका निमीले हालको मिथिला प्रदेशमा राज्य गरेका थिए। निमीलाई इक्ष्वाकुका कान्छा छोरा मानिन्छ (विद्यालङ्कार, डा. सत्यकेतु, सन् १९९६, वैदिकयुग ः १४९)। यी दुवै राजवंशका पुरोहित वशिष्ट गुरु–पीठका प्रथम पीठाधीश वशिष्ट थिए। पार्जिटरको उपरोक्त टेबलहरूबाट पनि यसको पुष्टि हुन्छ। यिनी ऋषि च्यवनका समकालीन र उसीनर शुक्र र वृहस्पतिभन्दा तीन–चार पुस्ता अगाडिका थिए। पौराणिक वर्णनका अनुसार राजा निमीले कुलपुरोहित वशिष्टको उपेक्षा गरी ऋषि गौतमबाट यज्ञ सम्पन्न गराएकाले ज्यादै रिसाएका वशिष्ठले राजा निमीलाई शरीररहित हुने श्राप दिए।  

यसप्रकारले बृहदारण्य (मिथिला) राज्य राजाविहीन भएको अवस्थामा ऋषि गौतमले देवगणहरूसँग परामर्श गरी निमीको शरीर मन्थन गरी एक बालक उत्पन्न गराए। मन्थनबाट जन्मेकाले उनको नाम मिथि रह्यो र राजा निमी देहरहित भएकाले देशको नाम विदेश रह्यो। मिथिलाई विदेहको राजगद्दीमा राख्ने ऋषि गौतम मूल पुरोहित भए। वाल्मीकिकृत रामायण (अयोध्या काण्ड) मा वाल्मीकिले शिरध्वज जनकलाई विदेहवंशी भन्नुले पनि त्यहाँ इक्ष्वाकुवंशीहरूको वंशक्रम टुटेको देखाउँछ। यसैताका सरस्वती किनारबाट पुरोहित गौतम राहुगणको मार्गदर्शनमा वैश्वानर अग्निका पछि लागी (कुनै गणनायक) माधव विदेध सदानीरा (नारायणी) नदीसम्म पुगेर यसको पूर्ववर्ती प्रदेश आवाद गरे भन्ने वर्णन छ (शतपथ ब्राह्मण १/४/१/१०–१९)। यी माधव विदेध नै राजा मिथि हुन सक्ने ठूलो सम्भावना छ। थप अनुसन्धान आवश्यक छ (श्रेष्ठ मल्ल, शिवराज, सन् २००४, मिथिलाका कर्नाटवंशीहरू र नेपालमण्डलमा उनीहरूको प्रभाव ः ११२)।  

जनक मिथिपछि देवराज, धृष्टकेतु, देवमीड आदि जनक भए। पौराणिक वर्णनहरूमा धेरै जनकहरूको नाम छुटेको छ। दशरथका समकालीन (वैवस्वत मनुपछिका ६४ औँ पुस्ताका आजभन्दा करिब ३५०० वर्षपूर्वका) शिरध्वज जनक अत्यन्त प्रख्यात भए। शिरध्वजपछि ३२ जना जनक भए। यसपछि मनुपछिका ९५ औँ पुस्ताका कृति जनकसम्मका जनकहरूको वंशावली अटुट रूपमा वर्णित छ। अयोध्या वंशका राजा (महाभारत युद्धकालीन) बृहद्बल यिनका समकालीन थिए। उपनिषद्का प्रवद्र्धक उपरोक्त जनक बहुलाश्व महाभारत युद्धकालभन्दा एक–दुई पुस्ता अघिका अर्थात्् आजभन्दा करिब ३०५० वर्ष पूर्वतिरका थिए। अर्को पौराणिक वर्णनका अनुसार क्षेमाधि जनकले दुर्योधनको सहायक भई महाभारत युद्धमा भाग लिएका थिए। विष्णुपुराणमा ‘कृतक्षण’ लाई अन्तिम जनक भनिएकाले कृति जनक नै क्षेमाधि भएको हुन सक्ने सम्भावना छ (मलंगिया, महेन्द्र, सं. २०५४, यो जनकपुर हो ः ९)।  

महाभारत कालपछिका जनकहरूको उल्लेख गर्न पुराण लेखकहरू उत्साहित नभएको देखिन्छ। पछि गएर करालजस्ता दुश्चरित्र जनकहरूका कारण बौद्धकालतिर मिथिलामा गणतन्त्र आएको थियो र यो गणराज्य बज्जिसंधमा मिलेको थियो। अजातशत्रुले कब्जा गरेपछि मिथिलाको यो गणराज्य पनि मगधको अधीनस्त भयो। गुप्तराज्यकालमा यस अधीनस्थ राज्यको नाम तिरभुक्ति रहेको थियो। त्यसपछि यहाँ हर्षवर्धनको राज्य चल्यो। त्यसपछि पाल राजाहरूको राज्य चल्यो। पालवंशीहरूलाई हराएर कर्नाटवंशी नान्यदेवले सिम्रौनगढको निर्माण गरी बृहत् मिथिला राज्यको स्थापना गरे। यिनको राज्य पूर्वमा कोसी, पश्चिममा नारायणी, उत्तरमा महाभारत शृङ्खला र दक्षिणमा गङ्गा नदीतटसम्म फैलिएको थियो। यिनको छैटौँ पुस्ताका नाति हरिसिंहदेवलाई गयासुद्धिन तुगलकले हराएपछि हरिसिंहदेव आफ्नो ससुराली भक्तपुरमा आफ्नी रानी र छोरालाई राखी सैनिक सहायताका लागि दोलखातिर जाँदै गर्दा उनको मृत्यु भयो। उनकी नातिनीका तर्फबाट जन्मेका (जयस्थिति मल्लका छोराहरूबाट) पछि गएर नेवार मल्ल राज्यमा कर्नाटकी नान्यदेवको वंशवर्धन भएको थियो। कर्नाटवंशी राजाहरूले मिथिलाको सनातन वैदिक आर्य संस्कृतिमा स्थानीय आदिवासीहरूको संस्कृतिलाई समावेश गरी वैदिक संस्कृतिलाई बढाउन ठूलो प्रयास गरेका थिए। उपर्युक्त प्रकारले मिथिला राज्यको विघटन भएपछि त्यहाँ उत्तरी भागमा द्रोणवार र दक्षिणमा ओइनवार राजाहरूले राज्य सञ्चालन गरे। पछि गएर उत्तरी मिथिलामा सेनहरूले कब्जा गरी मोरङसम्म राज्य फैलाएका थिए। १८१९ सालमा पृथ्वीनारायण शाहले कब्जा गरेपछि मिथिला राज्य पनि नेपाल अधिराज्यको एक अङ्ग बन्न पुग्यो।  

मिथिलाको महान् देन बृहदारण्यक उपनिषद्

उपनिषद्हरूको रचनामा सैकडौँ वर्षको चिन्तनमनन रहेको सहजै बुझ्न सकिन्छ। प्रख्यात प्राच्य विद्या–विशारद मैक्समुलर मानव इतिहासको सर्वाधिक महŒवपूर्ण र मूल्यवान् ज्ञानदायक सामग्रीको भण्डार उपनिषद्हरूमा रहेको मान्दछन्। प्रख्यात जर्मन दार्शनिक सोपेनहावरको विचारमा आत्मोत्थानका लागि उपनिषद्हरूको ज्ञान–भण्डारभन्दा ठूलो अर्को ज्ञानालय विश्वमै छैन (विद्यावाचस्पति, नरेन्द्र, उपनिषद्की देन ः ६)। आजभन्दा ३२०० वर्षपूर्वदेखि बौद्धकालसम्म लेखिएका ११२ ओटा उपनिषद्हरू प्रकाशित भए तापनि प्राचीनतम र मुख्य १३ ओटा उपनिषद्हरू भएको मानिन्छ (सांकृत्यायन, राहुल, सन् २००७, दर्शन दिग्दर्शन ः २९९)। सर्वप्राचीनमा ईश, छांदोग्य र बृहदारण्यक पर्दछन्। यीमध्ये पनि सबैभन्दा उच्च स्थानको मानिने बृहदारण्यक उपनिषद्को निर्माण नेपालको मिथिला प्रदेशमा भएको थियो।  

यज्ञ–यज्ञादि कर्मकाण्डमा विश्वास घट्दै गएको बेला महाभारत युद्धकालभन्दा पहिलेदेखि नै केहीतत्वचिन्तक अरण्य (जङ्गल) निवासी ऋषिमुनिहरू प्रत्येक मानवले (आफैले आफूलाई सोध्नुपर्ने) जीवनको अर्थ र लक्ष्य के हो भन्ने प्रश्नको जवाफ खोज्न लागिपरेका थिए। जीवन के हो ? मृत्यु के हो ? प्राण के हो ? मन के हो ? आत्मा के हो ? परमात्माको सत्ता छ कि छैन ? सृष्टि व्यवस्थामा आत्मतŒवको भूमिका हुन्छ कि हुँदैन ? जस्ता गहन प्रश्नहरूको उत्तर खोज्दै उनीहरू उपनिषद् लेखनमा लागेका थिए। विदेहका राजा बहुलाश्व जनक, कैकेयका राजा अश्वपति, काशीका राजा अजातशत्रु र पाञ्चालका राजा प्रवाहण आफै ठूलातत्वज्ञानी थिए र अनेकन दार्शनिक विद्वान्हरूलाई संरक्षण र प्रोत्साहन दिन्थे। माथि भनिएझैँ जनक बहुलाश्व यिनीहरूमा पनि सबैभन्दा अग्रपङ्क्तिमा थिए। केही विद्वान्हरू कृति जनकलाई यसको श्रेय दिन्छन्। तर गर्गसंहिताको स्पष्ट वर्णन हेर्दा जनक बहुलाश्वले नै पूर्वोक्त प्रख्यात बृहद् विद्वत् सभा गरी सर्वश्रेष्ठ दार्शनिक याज्ञवल्क्यलाई १००० गाई र १० हजार स्वर्ण मुद्रा दिई पुरस्कृत गरेको मान्नुपर्छ (गर्गसंहिता, सं. २०५५, १६ औँ अध्याय, गीताप्रेस)। यस्ता महान् उपनिषद्कार याज्ञवल्क्य नेपालका चेला हुन् भनी प्रस्ट्याउन थप अन्वेषण जरुरी छ। योगका साथसाथै उनले देखाएको आध्यात्मिक संस्कृति तथा मानवधर्मको बाटोमा विश्वलाई हिँडाउने प्रयासमा हामी सबै लाग्नुपर्दछ।

(श्रेष्ठ, इतिहास र संस्कृति विषयक अनुसन्धाता हुन्।) 

प्रकाशित: ११ भाद्र २०७९ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App