राजन ग्याल्दाङ घले
दुई सन्तान जन्माइसकेकी नरदेवीको पेट तेस्रो सन्तानले भरिसकेको थियो। परिवार बढेपछि आम्दानीको स्रोत नभएरै श्रीमान् मुगलान गइसकेको थियो। घैंटो जत्रो पेट आज हो कि भोलि निश्चित थिएन।
बिहानको समय नरदेवीलाई अचानक बेथा लागेर आयो। घरमा स्याहारिदिने नभएपछि स्वास्थ्थ चौकी जाने निधो गरिन्। १ घन्टा जति हिंडेर स्वास्थ्थ चौकी पुगिन्। ढोकामा भोटे ताल्चा लाएको देखे। फनक्क घर फर्किन्। फर्किंदा बिचैमा बच्चा पाइन् र बेहोस भइन्।
च्याहाँच्याहाँ गर्दै गरेको बच्चा रक्ताम्क्य थियो। आमा ढलिरहेको दृश्य डोको र हँसिया बोकी जंगल जाँदै गरेकी सरिताको आँखामा परिन्।
दौडिंदै गएर बच्चालाई काखमा लिइन् र आमालाई बोलाइन् तर आमाको मुखबाट कुनै आवाज आएन।
मन भारी बनाउँदै सरिता पीडा ओकल्दै थिइन्, ‘खोई हामी आमाहरूले ज्यान बाजी राखेर कहिलेसम्म पशु जस्तै बच्चा जन्माउनुपर्ने?’
लगभग पचास उमेरका एक पुरुष स्वाँस्वाँफ्याँफ्याँ गर्दै रन्चे अनुहार अचानक सरिताको अगाडि आइपुगे।
आत्तिन्दै सरिताले रोकेर बिन्ती बिसाइन्,‘ लौन दाइ, यी अलपत्र आमा र बच्चालाई घरसम्म लग्दिम्।’
पचास बर्से पुरुष चुँइक्क बोलेन। छेवैमा उसले डोको,नाम्लो, हँसिया देख्यो। टपक्क टिपे। डोकालाई स्ट्रेचर बनाई सुत्केरीलाई राखी बच्चा लिई अगाडि हिंड्नुस् भन्दै बोक्न थाल्यो। हिंडेको केहीबेरमै घर पुग्यो।
-दाइ! एकैछिन यो बच्चा काखमा लिइदेऊ न है?
पचास बर्से पुरुषलाई बच्चा थमाइदियो। सरिता सुत्केरीलाई बन्दोबस्त मिलाई बाहिर निस्किन्।
५० बर्से पुरुष काखमा भएको बच्चा हेर्दै रोइरहेको देखिन्।
‘अरूको छोरा हेर्दै किन रुनुभाको दाइ?’ सरिताले अचम्म मान्दै आँसुको उत्तर खोज्न थाली।
‘यो बच्चाझैं मैले मेरो छोरालाई यही काखमा यसरी नै राखेर हुर्काएँ, बढाएँ। त्यही छोरा विदेशबाट बाकसमा आउँदैछ।’
५० बर्से पुरुषको कुराले सरिताको आँसु थामिएन्।
प्रकाशित: ६ भाद्र २०७९ ०४:३५ सोमबार