१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

कालुमाने माहिलाको कथा– २

बहिदार–बहिदार्नीका माहिला छोरा कालुमाने माहिलाले सहरमा पढे र सहरकै केटी विवाह गर्ने निधो गरे। विवाहका निम्ति बहिदार–बहिदार्नीसँग मोटो रकम माग गर्न थाले। कालुमानेकै पढाइ खर्चले थिलथिलो भई साहुको ऋणले समेत थिचिन पुगेका बहिदार–बहिदार्नी फेरि विवाहको नाममा आएको आर्थिक प्रकोपमा परे।

पढेलेखेको छोराले जागिर खाएर ऋण तिरी देला नि भनी बहिदार–बहिदार्नीले आफ्नो अभिलाषी मनलाई आश्वस्त बनाई भएभरको जायजेथा साहुको नाममा लेखी कालुमानेको माग पूरा गरी थप ऋणको भारी बोके। ऋण काढेको रकम र बहिदार्नी बुढीको भएभरका गरगहना प्रयोग गरी सहरमा धुमधामसाथ कालुमानेको विवाह सम्पन्न भयो ।

दिनहरू बित्दै गए। ऋणको सावा, व्याज र व्याजको स्याजले हुने साहुको हिसाब चुलिँदै गयो। उमेरका कारण बहिदार– बहिदार्नीको काम गरी कमाउने क्षमतामा ह्रास हुँदै गयो। अलिअलि भएका आम्दानीले साहुको मुख टाल्नै नपुग्ने भयो।

यस्तो परिस्थितिमा पनि हिम्मत नहारी बहिदार–बहिदार्नीले आफ्ना अरू सानासाना छोराछोरीको लालनपालन र पठनपाठनमा कुनै कमीकमजोरी हुन दिएनन्। जस्तोसुकै कठिन अवस्था भोग्नुपरे पनि बहिदार–बहिदार्नीलाई कालुमानेले कमाएर ऋण तिर्छ भन्ने आश टुटेको थिएन। आखिर सपना सपनामा मात्रै सीमित भयो।

कालुमाने माहिलाले आफ्नो इच्छाअनुसार विवाह गरेकी पत्नीका साथ आनन्दले जीवनयापन गरिरहेको थियो। उनीहरूका दुई छोरा र एक छोरी थिए। कालुमानेकी पत्नी माहिली राम्रै कुलघरानाकी, पढेलेखेकी, जागिरे तथा घर व्यवहारमा भिजेकी सक्षम महिला थिइन्। आफ्नो खर्चका लागि लोग्नेको भर पर्नुपर्ने अवस्था थिएन। बाहिरबाट हेर्दा उनीहरूको सानो अनि सुखी परिवार थियो।

 तापनि माहिली चाहिनेभन्दा बढी नै लोभी थिइन्। आफूले आर्जन गरेको धन भोग गर्न नसिवमा नभएर हो वा अलि तडकभडक गरेर, हुनेखानेजस्तो देखायो भने आफन्तहरूलाई दिनुपर्ला भनेर हो, भेटघाटको क्रममा सबैलाई अभाव ग्रस्तताको लोरी (गीत) सुनाउँथिन्।

भेषभुषाका हकमा चाँदीको गरगहना र किनारा फाटेको फरिया लगाउँथिन्। सायद आफ्ना सन्ततिको भविष्यको निमित्त धन सञ्चित गरेकी होलिन्। कालुमाने माहिलाको पारिवारिक जीवनको रफ्तार अघि बढिरहेको थियो। अचानक माहिलीलाई रोगले ग्रस्त बनायो। उपचारकै क्रममा उनको निधन भयो। ‘बाबु मरेर छोराछोरी टुहुरा हुैँदैनन्, आमा मरेपछि छोराछोरी टुहुरा हुन्छन्’ भन्ने भनाइअनुसार कालुमाने माहिलाका छोराछोरी पनि आमाको मृत्युपछि टुहुराटुहुरी भए।

कालुमाने माहिला सरकारी जागिरे थिए। उनले किताब पढेर जागिर खाए पनि व्यवहार पढेका थिएनन्। मभन्दा जान्ने, ठूलो र असल कोही छैन, मैले जे भन्छु ठीक भन्छु, त्यो सबैले मान्नुपर्छ भन्ने मानसिकताका अहङ्कारी, लोभी, घमन्डी व्यक्ति थिए। घरमा उनको इच्छाअनुकूल भएन भने पत्नीसँग झगडा र छोराछोरीको राम धुलाइ गर्थे। कालुमाने आफूलाई फाइदा हुन्छ भने अरूलाई मात्र हैन, आफ्नै छोराछोरीलाई पनि षड्यन्त्रको सिकार बनाउने साह्रै स्वार्थी, निर्दयी, शोषक र रकमी आचरणका व्यक्ति थिए ।

कालुमाने माहिलाले आफ्नी जेठी पत्नीको देहावसानपछि केही समयको अन्तरालमा दोस्री पत्नी भित्र्याए। ‘देखेको पाइँदैन, लेखेको मात्र पाइन्छ’ भन्ने लोकोक्तिअनुसार जेठीले साँचेको धन कान्छीलाई खान जुरेको थियो होला। त्यसैले जेठीले कमाएर सञ्चित गरेको श्रीसम्पत्ति भोग गर्न कान्छी आइपुगिन्। सुनचाँदी, गरगहना, लत्ताकपडा त सबै कालुमानेकी कान्छीको हात लाग्यो नै।

 घर कालुमानेकी दिवङ्गत पत्नी जेठीको नाममा रहेछ। त्यस घरलाई २ छोरा र कालुमाने आफूसमेत ३ जनाको नाममा नामसारी गरी जेठा छोरालाई जमिन तला, कान्छो छोरालाई पहिलो तला र आफूहरूलाई त्यसमाथिको तलाहरू भागवन्डा लगाए। तत्पश्चात् पच्चीसे हाराहारीका छोराहरूको कच्चा दिमाग उपयोग गर्दै कान्छा छोरामार्फत् जेठा छोरालाई केही रकम पाकेट खर्च दिएर जेठा छोराको अंशभाग जमिन तला कान्छाको नाममा पास गराई जेठालाई घरबाट धपाए।

 त्यसको केही दिनपछि फेरि कान्छालाई, केही रकम पाकेट खर्च दिएर कान्छाको अंश भाग पहिलो तला र जेठासँगबाट कान्छाको नाममा पास गराएको जमिन तलासमेत दुवै तला कान्छा छोराबाट कालुमानेले आफ्नो नाममा बकस पाएको लिखत पारित गराई कान्छा छोरालाई पनि घरबाट धपाई कालुमाने माहिला कान्छी श्रीमतीका साथ आनन्दले बिराजमान भैरहदा भए ।

 

धन देखेपछि ‘महादेवका पनि तीन नेत्र खुल्छन्’ भन्ने पौराणिक भनाइ यो कथामा चरितार्थ भएको छ। आफ्नै पिता कालुमानेले आफ्नै छोराहरूको कच्चापनको फाइदा उठाई आफ्नै छोराहरूलाई बेघरबार बनाई सुकुम्बासी जीवन जिउन बाध्य बनाएका छन्।  

प्रकाशित: ४ भाद्र २०७९ ०३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App