१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पोखरामा आगामी शनिबार तायाःमचा नृत्य प्रतियोगिता

पोखरामा यसपटक पनि तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ। नेवाः खल कास्कीको आह्वान तथा मोहरिया–सिंहनाथ टोल तायाःमचा समिति आयोजनामा आगामि शनिबार ‘हाम्रो प्रणः संस्कृति संरक्षण र सम्वद्र्धन’ भन्ने नाराका साथ यस वर्षको तायाःमचा नृत्य प्रतियोगिता गर्न थालिएको हो।

प्रतियोगिता पोखराको प्रसिद्ध विन्ध्यबासिनी मन्दिर प्राङ्गणमा रहेको विन्ध्यबासिनी पार्कमा हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। लोपोन्मुख तायाःमचा नाचको संरक्षण गर्दै नेवारी परम्परा र संस्कृति बचाउने उद्देश्यले तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ। प्रतियोगितामा २३ समूहले भाग लिने आयोजक मोहरिया–सिंहनाथ टोल तायाःमचा समितिका अध्यक्ष शिवप्रसाद श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा २३ समूहमध्ये ५ महिला नृत्य समूहले पनि सहभागिता जनाउने उनले बताए।

अघिल्ला वर्षहरुमा ३० भन्दा बढी समूहले प्रतियोगितामा सहभागिता जनाउँदै आएका थिए। तर यस वर्ष झण्डै एक चौथाई समूह कम हुने भएका छन्। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण प्रतियोगि समूह कम भएको आयोजकको भनाई छ।  

लोपोन्मुख संस्कृति र परम्परा जोगाउँदै नयाँ पुस्तालाई तायाःमचा नृत्यप्रति आकर्षित गराउन प्रतियोगिता आयोजना गरिदै आएको नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताए। २०५४ सालबाट शुरु भएको तायःमचा नृत्य प्रतियोगिता यसपटक २४औं पटक हुन लागेको उनले बताए। आठवटा समूहबाट शुरु भएको प्रतियोगितामा अहिले सहभागिता बढेपनि पछिल्ला वर्षहरुको तुलनामा केहि समूह घटेको उनले बताए। ‘प्रतियोगि समूह घट्नुको मुख्य कारण कोभिड–१९ हो। कोभिडको डरकै कारण तयारी गर्न नपाउँदा केहि प्रतियोगिता समूह आएनन्,’ उनले भने।  

तर तायाःमचा नृत्यप्रति नेवारी समुदायसँगै गैर नेवार समुदायकाहरुपनि आकर्षित हुन थालेको उनले दाबी गरे। उनले भने, ‘नेवार समुदायका किशोर–किशोरी, युवा–युवतीको आकर्षण त छँदैछ। गुरुङ, मगर, क्षेत्री लगायतका समुदायका पनि तायाःमचा नृत्य सिक्न र प्रतियोगिका रुपमा समूह बनाएरै पनि आएका छन्।’

प्रतियोगिताको बिजेतालाई ३५ हजार, उपबिजेतालाई २५ हजार, तेश्रो हुनेलाई १५ हजार र सान्त्वना हुने एक समूहलाई ५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिने आयोजक मोहरिया–सिंहनाथ टोल तायाःमचा समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए। त्यस्तै, उत्कृष्ट महिला समूहलाई ११ हजार, उत्कृष्ट वाद्यवादन समूहलाई ५ हजार तथा उत्कृष्ट जोकरलाई २ हजार ५ सय प्रदान गरिने उनले बताए।

प्रतियोगिता सम्पन्न गर्न करीब १५ लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन खर्च प्रायोजक तथा सहयोगी संघसंस्थाबाट संकलन गरिने आयोजक मोहरिया–सिंहनाथ टोल तायाःमचा समितिका सचिव विमल श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २ भाद्र २०७९ १०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App