७ वैशाख २०८१ शुक्रबार
कला

‘को–हजबेन्ड’ ले जित्यो उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

 नेपालको बहुपति प्रथाका बारेमा आधारित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) ले अमेरिकामा ’उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ।  

अमेरिकाको एटलान्टमा अगस्ट ४ देखि ७ सम्म आयोजित आठौं कब इन्टरनेसनल फिल्म फेस्टिबलको अन्तिम दिन भएको अवार्ड समारोहमा ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड घोषणा गरिएको हो। 

अवार्ड ग्रहण गर्दै निर्देशक गणेश पाण्डेले यो अवार्ड नेपाल र नेपालीका लागि पनि गर्वको विषय भएको बताए। ‘नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबीच प्रतिस्पर्धामा जित्नु आफैमा गर्वको कुरा हो। यसले अन्तर्राष्ट्रिय जगत्मा नेपालको शिर उच्च बनाउने मैले विश्वास लिएको छु ।’ आयोजक कब इन्टरनेसनल फिल्म फेस्टिबलका निर्देशक रिचर्ड टभेरनारोका अनुसार, यसपालि ६ सयवटा फिल्मबाट ७० वटा फिल्म प्रतिस्पर्धाका लागि छनोट भएका थिए।  

यसअघि अमेरिकाको मेरियटा चलचित्र महोत्सवमा पाण्डेको बहुचर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ (नेपाल अर्थक्वेक : हिरोज, सर्भाइभर्स एन्ड मिराकल्स) ले पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो।  

निर्देशक पाण्डेका अनुसार, ‘सहायक श्रीमान्’ (को–हजबेन्ड)ले पनि अहिलेसम्म सातवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबलबाट यात्रा आरम्भ गरेको ‘को–हजबेन्ड’ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एक हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो।

 यसैगरी, नेपालमै आयोजित नेपाल–अफ्रिका चलचित्र महोत्सव, भारतको सिम्ला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र रसियामा आयोजित अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा सर्वोत्कृष्ट पुरस्कार ‘ग्रान्ड प्रिक्स अवार्ड’ जितेको थियो।

विश्वका एक दर्जनभन्दा बढी चलचित्र महोत्सवमा छनोट भइसकेको ‘को–हजबेन्ड’ले स्लोभाकियाको पोपरोडमा आयोजित प्रतिष्ठित २९ औं इन्टरनेसनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा ‘अनरेवल मेन्सन अवार्ड’ जितेको थियो।  

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो। घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हुम्लालगायतका हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन्। यो वृत्तचित्र साइन मिडिया प्रालिले निर्माण गरेको हो।  

प्रकाशित: २८ श्रावण २०७९ ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App