१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला

'नयाँ शक्ति'मा छाउँला 'करिश्मा ?'

काठमाडौं-शरीर उनको न दुब्लो न मोटो अर्थात् तटस्थ नै छ । उमेरलाई आफ्नो सुन्दरताले लुकाउँदै आएकी छिन्। सौन्दर्यको मामिलामा नामजस्तै करिश्मा लाग्छिन् उनी। तर आइतबार काठमाडौंमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको आधुनिक 'बटालियन'सँग प्रकट भएपछि अभिनेत्री करिश्मा मानन्धरको वैचारिक तटस्थता भंग भएको छ भने राजनीतिक आस्था उदांगिएको छ। उनको तन छोटै कपडाले छोपिएला, मन चाहिँ जतिसुकै लामो कपडाले पनि ढाकिन मुश्किल छ।


बाबुरामको 'नयाँ शक्ति'मा लागेको खबर सार्वजनिक हुनासाथ करिश्माले साथीभाइबाट 'बेस्ट अफ लक' पाइरहेकी छन् । साथसाथै सामाजिक सञ्जालमा आपूm र 'नयाँ शक्ति'लाई धेरैले व्यंग्यको विषय बनाएको पनि उनलाई थाहा छ । उनी साथीभाइको अपेक्षा र आलोचकहरुको टिप्पणीदेखि पन्छिने वा आत्तिने पक्षमा छैनन्, 'म सबैखाले प्रतिक्रिया र अपेक्षाहरुलाई सामना गर्न तयार छु ।'

माओवादीप्रति कुनै लगाव नभए पनि प्रधानमन्त्री छँदा बाबुरामले गरेका एकदुइटा राम्रा कामदेखि प्रभावित थिइन् करिश्मा । 'बाबुरामजीले पार्टी छाडेर थुप्रै भेटघाट र मिटिङ गर्नुभयो, तीमध्ये तीनचारवटा मिटिङमा सहभागी हुने मौका पाएँ,' उनले सुनाइन्, 'तिनै मिटिङमा उहाँले उठाउनुभएका विचार र योजनाहरु मलाई मन प¥यो । त्यसैले उहाँको पार्टीमा लागेकी हुँ ।'

देशमा विभिन्न कालखण्डमा विभिन्न राजनीतिक परिवर्तनहरु आए । नेताहरुले अनेक सपना देखाए । तर पूरा गरेनन् । त्यसैले निराश थिइन् करिश्मा ।

'पुराना शक्तिहरु छन्, उपलब्धिहरु पनि पायौं, तैपनि देशको अवस्थालाई लिएर ममा फ्रस्टेसन थियो,' उनले भनिन्, 'देशलाई ढुंगामुढा गर्ने होइन शान्तिसँग अगाडि बढाउने नयाँ शक्ति चाहिएको छ र त्यो शक्ति यही हुनेछ भन्ने विश्वास छ ।'

यसअघि अरु पार्टीबाट पनि करिश्मालाई आकर्षक अफर नआएका होइनन् । तर, ती पार्टीले उनलाई खासै आकर्षित गर्न सकेनन् । उनले कारण दिइन्, 'ती पार्टीहरु जनताको प्रत्यक्ष सम्पर्कमा छन् जस्तो पनि लागेन । पार्टीमा लाग्दा झन् निराशा छाउँछ भन्ने देखेँ बरु ।'

बाबुरामको 'क्याम्प'मा छिर्नुमा आफ्नो कुनै स्वार्थ नभएको उनी प्रष्ट्याउँछिन् । 'देशको उन्नति होस्, बस् त्यति हो मेरो स्वार्थ, मलाई कुनै पदको लोभ छैन, त्यस्तो लोभ भएको भए, पहिले नै कुनै न कुनै पार्टीमा लागिसक्थेँ,' उनले दावी गरिन् ।

यो नयाँ कदम चाल्नुअघि पति विनोद मानन्धरसँग सल्लाह गरियो कि गरिएन भन्ने प्रश्नमा उनले ढुक्क भनिन्, 'गरेकी छैन, मेरो व्यक्तिगत स्वतन्त्र निर्णय हो यो । अहिलेसम्म मेरो निर्णयप्रति विनोदले कुनै आपत्ति जनाएको छैन । उसले मेरो स्वतन्त्रतामा इन्टरफेर पनि गर्दैन ।'

पार्टीमा प्रवेश गरे पनि कलाकारितालाई निरन्तरता दिने उनको योजना छ । 'कलाकारिता मेरो धर्म र प्यासन हो, यसलाई छोड्ने कुरा भएन, तर म राजनीति र कलाकारितालाई अलगअलग अगाडि बढाउँछु, एकअर्कामा मिसाउँदिन,' उनले प्रण गरिन् ।

फिल्म र ग्ल्यामर दुनियाँमा पैmलिएको उनको 'करिश्मा' राजनीतिमा छाउँछ कि छाउँदैन, भविष्यले बताउँला । तर के निश्चित छ भने, आफ्नो फिल्म हेरिदिन आग्रह गर्दै दर्शकसामु हात जोड्दै आएकी उनलाई चाँडै भोट माग्दै गरेको अवस्थामा देख्न पाइनेछ ।

प्रकाशित: १० माघ २०७२ २१:३२ आइतबार